नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर बोलाएपछि रामचन्द्र पौडेल सपथग्रहण कार्यक्रममा उपस्थित भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले एक घन्टा अगाडि फोन गरेर ‘छलफल गरेर मिलाउँछु’ भनेपछि पौडेल समूह सपथ ग्रहण कार्यक्रममा जान तयार भएको पौडेलका सहयोगी चिरन्जिबी अधिकारीले सेतोपाटीलाई बताए।
‘सभापति जीले तपाईको यस्तो निर्णयले गलत म्यासेज जान्छ । सपथ ग्रहण कार्यक्रममा आइदिनुस्। अरु कुरा म मिलाउँछु भन्नुभयो,’ अधिकारीले भने, ‘उहाँको आग्रहअनुसार पौडेलसमूह सपथ ग्रहणमा सहभागी हुन्छन्।’
यसअघि पौडल समूहको बुधबार बिहान बसेको बैठकले देउवाले एकलौटी गरेको भन्दै सपथग्रहण कार्यक्रममा सहभागी नहुने र मन्त्री पनि सिफारिस नगर्ने निर्णय गरेको थियो ।