शेरबहादुर देउवाले बुधबार चौथो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै प्रधानमन्त्रीको कुर्सीमा बसेर उनले सदाचर नीतिमा हस्ताक्षर गरे। देउवाले टेबलमा फाइल राखेर हस्ताक्षर गरिरहँदा छेउमा चार थान डिक्सनेरी (शब्दकोश) थिए। सामान्यतः कुनैपनि सरकार प्रमुखको टेबलमा डिक्सनेरी देखिदैनन्।
गत साउन तेस्रो हप्ता प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गर्दा पनि ती डिक्सनेरी त्यहीँ थिए।
त्यसो त प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीका लागि छुट्टै पुस्तकालयको व्यवस्था नभएको होइन। तर विगत लामो समयदेखि प्रधानमन्त्रीको टेबलमा नेपाली र अंग्रेजी भाषाका डिक्सनेरी कहिल्यै छुटेका छैनन्।
संयोगवश आजभन्दा २२ वर्षअगाडि पहिलो पटक प्रधानमन्त्री बन्दा देउवाले नै कार्यालयको टेबलमा डिक्सनेरी राख्न सुरु गरेका थिए। त्यसपछि श्राद्धमा बिरालो बाँध्ने चलन जस्तै जो प्रधानमन्त्री भए पनि टेबलमा चार थान डिक्सनेरी राख्ने चलन जारी छ।
किन ल्याएका थिए त देउवाले प्रधानमन्त्रीको टेबलमा डिक्सनेरी?
उनी पहिलो पटक प्रधानमन्त्री भएको बेला भारतसँगको महाकाली सन्धिको समयमा देउवाले डिक्सनेरी मगाएका थिए। भारतसँग ‘नेगोसिएसन’ चलिरहेका बेला आफू चुकिएला र आफ्नो छवि बिग्रेला भन्नेमा देउवा अत्यन्त सचेत थिए। उनी सन्धिको मस्यौदामा परेका शब्द शब्दका बारेमा आफैं आश्वस्त हुन चाहन्थे। त्यसैले, आफ्नो डेस्कमा डिक्सनेरीको खात लगाएका थिए।
देउवाको पहिलो प्रधानमन्त्रीकालमा उनको टिममा बसेर काम गरेका पत्रकार अच्युत वाग्लेले भने– त्यतिबेला ठूलो वेब्स्टर डिक्सनेरी र अक्सफोर्डको कानुनी पदावलीको डिक्सनेरी किनेर ल्यायौं। मैले मेरो घरको एउटा डिक्सनेरी पनि लगेको थिएँ। यसरी जम्मा चारवटा डिक्सनेरी भेला पारेका थियौं।
देउवा यति धेरै सचेत वा सशंकित हुनु स्वाभाविक थियो।
प्रधानमन्त्रीका रुपमा आफ्नो पहिलो दिल्ली भ्रमणका बेला गिरिजाप्रसाद कोइराला भारतसँग टनकपुर सम्झौता गरेर नेपाल फर्किए। कोइरालाले भारतसँग गुपचुप सन्धि गरेको आरोप लाग्यो। २०४८ सालको संविधानको धारा १२६ मा कुनै देशसँग प्राकृतिक श्रोत र साधन बाँडफाँडसम्बन्धी सन्धि भयो भने त्यो संसदको बहुमतले अनुमोदन गर्नुपर्छ भन्ने प्रावधान थियो। संविधानको त्यो धारा छल्न कोइरालाले टनकपुर सन्धीलाई सम्झौता भनेको भनेर विरोध भयो।
[caption id="" align="alignnone" width="675"]

प्रधानमन्त्रीको पदभार ग्रहणपछि कार्यकक्षमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र छेउमा देखिएका डिक्सनेरी। तस्बिरःसेतोपाटी[/caption]
सर्वोच्च अदालतमा मुद्दा पर्यो। सर्वोच्चका तत्कालीन प्रधानन्यायधीश विश्वनाथ उपाध्यायको बेन्चले टनकपुर सम्झौता नभएर ‘सन्धि’ नै भएको फैसला सुनायो। पहिले नै कोशी, गण्डकी ‘बेचेको’ आरोप लागेको कांग्रेसको छविमा ठूलो धक्का लाग्यो। एमालेले राष्ट्रियताको मुद्दा खुब उचाल्यो। संसद विघटनपछि भएको मध्यावधि निर्वाचनमा एमाले केही सिटले कांग्रेसलाई उछिनेर पहिलो दल बन्यो। मनमोहन अधिकारी मुलुकको पहिलो वामपन्थी प्रधानमन्त्री बने।
अधिकारीको अल्पमतको सरकारलाई ९ महिनामै ढालेर देउवा प्रधानमन्त्री बनेका थिए। भारतसँग हुन लागेको महाकाली सन्धिमा आफू चुक्छु कि भन्ने स्वाभाविक चिन्ता उनमा थियो। भारतले कोइरालालाई ‘शब्दजाल’ मा फसाएको कांग्रेसको बुझाइ थियो। कांग्रेसका अर्का प्रधानमन्त्री फेरि शब्दजालमा फस्न चाहन्न थिए। त्यसैले, उनले आफ्नो डेस्कमा शब्दकोषको खात लगाए।
महाकालीका सन्धिमा ‘फसिएला’ भन्ने देउवाको त्यो बेला ठूलो चिन्ता रहेको सम्झँदै पत्रकार वाग्लेले भने, ‘शब्द शब्दमा राति एक/दुई बजेसम्म छलफल चल्थ्यो। सौदाबाजी हुन सक्ने शब्दको खोजी भैरहन्थ्यो।’
वाग्लेले सिंहदरबारमा एक रात अबेरसम्म एउटा शब्दमा भएको छलफल सम्झिए। सन्धिको मस्यौदामा एक ठाउँमा अंग्रेजी शब्द ‘इक्युइटेबल’ ठिक हुन्छ कि ‘इक्वल’ भन्नेमा धेरै छलफल भयो। विवाद परियोजनाको लाभ दुवै देशबीच ‘इक्युइटेबल’ वितरण हुने कि ‘इक्वल’ वितरण हुने भन्ने थियो।
‘एक साँझ प्रधानमन्त्री देउवा, प्रदीप गिरी, जलश्रोत मन्त्रालयका अरुणध्वज अधिकारी र म बसेर धेरै अबेरसम्म छलफल गर्यौं,’ उनले भने, ‘इक्युइटेबल शब्दको अर्थ के हुन्छ भनेर डिक्सनेरीमा कन्फर्म गर्न खोज्दा प्रधानमन्त्रीले चासो राखेर घोप्टी, घोप्टी हेरेको मलाई याद छ।’
‘अन्ततः हामीले ’इक्वल’ शब्द ठिक हुन्छ भन्ने निस्कर्ष निकाल्यौं,’ वाग्लेले भने, ‘प्रधानमन्त्रीले मलाई पनि त्यो शब्द ठिक लाग्यो भन्नुभयो।’
दुई देशबीच सन्धि सम्पन्न भैसकेपछि भारतका पूर्व विदेश सचिव जे एन दीक्षितले ‘मेनस्ट्रिम’ भन्ने म्यागजिनमामा उक्त सन्धिका बारेमा ‘महाकाली ट्रिटीः अ वाटरसेड इन नेपाल–इन्डिया रिलेसन्स’ भन्ने शीर्षकमा एउटा लेख लेखेछन्।
उक्त लेखमा प्रयोग भएका कतिपय शब्दावलीले के भन्न खोजेको हो भनेर प्रधानमन्त्री कार्यालयमा पछि फेरि डिक्सनेरी हेरेको वाग्ले सम्झन्छन्।
गत साल राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो टेबलमा रहेका डिक्सनेरीमा हस्तारक्षर गरेर लाइब्रेरीमा दिएका थिए। त्यसपछि प्रधानमन्त्री कार्यालयले नयाँ डिक्सनेरी किनेको थियो।
‘राजीनामा दिएपछि उहाँले ती डिक्सनेरीमा हस्ताक्षर गरेर लाइब्रेरीलाई दिनुभएछ,’ कार्यालयका एक कर्मचारीले भने, ‘पूर्वप्रधानमन्त्रीले हस्ताक्षर गरेको डिक्सनेरी नयाँ प्रधानमन्त्रीलाई दिन अप्ठेरो लागेर नयाँ किनेका हौँ।’
डिक्सनेरी फेरिए पनि डिक्सनेरी राख्न सुरु गरेका देउवा फेरि त्यही कुर्सीमा आइपुगेका छन्। उनको यो कार्यकालमा भारत वा चीनसँग त्यस्तै गम्भीर प्रकृतिका सन्धी सम्झौता गर्नुपर्ने अवस्था आउला वा नआउला।
यो कार्यकालमा देउवालाई ती डिक्सनेरी हेर्नुपर्ने आवश्यकता पर्ला वा नपर्ला तर ती डिक्सनेरी त्यहाँ राख्ने चलन आफैंले सुरु गरेको भने उनले पक्कै सम्झेलान्।