नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार १२ वर्षपछि चौथो पटक प्रधानमन्त्री बने। राजाले दोस्रो पटक प्रधानमन्त्री नियुक्त गरेको उनको तेस्रो कार्यकाल र अहिलेको कार्यकालमा धेरै फरक छ तर एउटा कुरा भने उस्तै छ, उनको सुरक्षाको जिम्मा तिनैले लिनेछन् जसले १२ वर्ष अघि उनलाई सुरक्षा दिएका थिए।
नेपाली सेनाले प्रधानमन्त्री देउवाको सुरक्षा कमाण्ड सम्हाल्न प्रमुख सेनानी अनुपविक्रम राणालाई खटाएको छ। राणा २०६१ सालमा देउवा प्रधानमन्त्री हुँदा उनका एडिसी थिए। त्यतिबेला प्रधानमन्त्रीको सुरक्षाका लागि सेनाले सहसेनानी पठाउने चलन थियो।
२०६३ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्दा सेनाले प्रधानमन्त्रीको एडिसीमा सेनानीको कमाण्डमा टोली पठाउन थाल्यो।
पहिलो संविधान सभाको निर्वाचनपछि पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको एडिसीमा नेपाली सेनाका प्रमुख सेनानीलाई पठाउन थालियो।
त्यतिबेला प्रधानमन्त्री दाहालको एडिसीमा प्रमुख सेनानी अरुण पाल खटेका थिए। उनलाई सघाउन सेनानी सुनिलसिंह राठौर पठाइएको थियो।
गत वर्ष प्रधानमन्त्री हुँदा दाहालले त्यतिबेला आफ्नो सुरक्षामा खटेका राठौरलाई एडिसी बनाउन चाहेका थिए। तर सेनाले त्यतिन्जेल प्रमुख सेनानीमा बढुवा भएका राठौरलाई प्रधानमन्त्रीको एडिसीमा पठाएन। प्रमुख सेनानी पवन खत्रीलाई प्रधानमन्त्रीको एडिसीको जिम्मेवारी दियो।
नेपाली सेनाका प्रवक्ता झंकर कडायतले राणालाई प्रधानमन्त्री देउवाको एडिसी पठाउने निर्णय भएको जानकारी दिए। ‘प्रधानमन्त्री फेरिदा एडिसी फेरिनु सामान्य हो’, कडायतले भने, ‘कसैले यसलाई पठाऊ उसलाई पठाऊ भनेर सेनाले पठाउने होइन। जो उपयुक्त लाग्छ उसैलाई पठाउँछ।’
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले राणालाई नै एडिसी बनाउन चाहेका थिए। देउवाको चाहना बुझेर सेनाले १२ वर्षपछि राणालाई फेरि देउवाको सुरक्षा सम्हाल्न पठाएको हो।