काठमाडौंमा २१ वर्षे रञ्जुले चर्चा बटुलिरहँदा उता बुढाहरूको पार्टी भनेर ट्याग लागेको पार्टी राप्रपाबाट भने २२ वर्षे युवा राज बस्नेतले गाउँपालिका अध्यक्षको उम्मेद्वार बनेका छन्। बस्नेत राप्रपाकै कान्छा गाउँपालिका अध्यक्षका उम्मेद्वारसमेत हुन्।
बस्नेतले खोटाङको लामीडाँडा गाउपालिकाको लागि राप्रपाको तर्फबाट उम्मेद्वारी घोषणा गरेका हुन्।
स्पष्ट र प्रखर वक्ता रहेका बस्नेत नयाँ पुस्तामा पार्टी भित्रका प्रिय नेता पनि हुन। विभिन्न समसामयिक विषयमा गहिरो विष्लेषण गर्ने बस्नेत फरक र द्रुत गतिमा काम गर्न चाहान्छन्। राप्रपा निकट विद्यार्थी सङ्गठनका महासचिव समेत रहेका बस्नेत पार्टी भित्र सिर्जनशिल युवा नेताका रूपमा परिचित छन्।
युवा शसक्तिकरण र रोजगारीका निम्ति विविध नयाँ योजना ल्याएका बस्नेतले आफ्नो घोषणा पत्रमा समेत नितान्त नयाँ नाराहरू ल्याएका छन्। बस्नेतले घोषणा पत्रमा एकल पुरूष भत्ता, टुहुरा बालबालिकालाई भत्ता र बच्चा जन्माएको दुइ वर्षसम्म बच्चा र आमालाई पोषण सामाग्रीसहित पोषण भत्ता दिने प्रतिवद्दता जनाएका छन्।
रोजगारीका निम्ति ‘प्रयोग गरी खेतबारी -बनौ सबै रोजगारी’,‘सरकारी हैन तरकारी’,‘फलाइ नगदे अन्न-कमाऔ पैसा टन्न’‘फलाऔ तरकारी, पालौ पालौ बोका खसी-कमाऔ नगद देशमै बसी बसीलगाएत नारा ल्याएका छन्।
त्यस्तै स्वरोजगार कोष निर्माण गरी तालिम सहितको ऋण व्यावस्था गर्ने र नाफाको आएको रकम मार्फत ऋण असुली उक्त रकममा पनि निश्चित प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेका छन।
भ्रष्टचार न्युनिकरणको लागि काम र दाम एकै ठाउँबाट नगर्ने पनि प्रतिवद्धता जनाएका छन् भने सम्भब भएसम्मका कागजी काम अनलाइनकरण गर्ने र सम्पूर्ण कर असुली बैंङ्किङ सिस्टमबाट गर्ने घोषणा गरेका छन्।
खुबीको समिक्षा-इच्छा अनुसारको शिक्षा
विद्यार्थीको सत्ता -मासिक भत्ता
पढ्नलाई जोस -विद्यार्थी लोन कोष
रोजगारीको साँचो-प्राविधाक शिक्षाको खाँचो
लगायत रमाईला र उपयोगी शैक्षिक नाराहरू अघी सारेका बस्नेतले घोषणा पत्रमा यो काम गर्छु मात्र भनेका छैनन यसरी गर्छु भनेर पनि प्रतिवद्धता जनाएका छन्।
उनले गाउँमा खेर गईरहेको दुधलाई गाउँमै डेरी उद्योग स्थापना गरी हरेक घरबाट दैनिक ३ देखी ५ लिटर दुध खरिद गर्ने र अन्य उत्पादित सामाग्रीको बजार अभाब हटाउन कृषी खरिद केन्द्रको स्थापना गर्ने, हरेक नागरिकको बैङ्कमा खाता खोली नागरिकलाई बैङ्किङ प्रणालीमा जोड्ने, नागरिकलाई जीवन विमा गराउने, हरेक २० देखी ३० मिनेटको दुरी र टोलमा फर्ष्ट एड सेन्टर खोल्ने, वडा र गापा कार्यालय टाढा रहेको ठाउँमा सेवा केन्द्र खोल्ने पनि प्रतिवद्धता जनाएका छन्।
स्थानीय रावाखोलाको उच्चतम उपयोगको लागि "रावाको पानी धनको खानी" नामक नारासहित फरक फरक विधामा लगानीको प्रतिवद्धता जनाएका छन्।
रोचक त के छ भने उनी आफू गाउँपालिका अध्यक्षको उम्मेदवार बन्दै गर्दा उनका पिता चन्द्र सिहं बस्नेत चै सोही गापा वडा नं ४ धारापानीको वडा अध्यक्षको उम्मेदवार रहेका छन्।