नुवाकोट विदुर नगरपालिकाका जनप्रतिनिधिले कानुन विपरीत सञ्चालित बालुवा उत्खनन बन्द गराएका छन् । विदुर नगरपालिकाभित्र लामो सयमदेखि सञ्चालनमा रहेका अवैध बालुवाको उत्खननलाई वैधानिक रुपमा सञ्चालन गराउन अभियान सुरु भएको हो ।
नगर प्रमुख सञ्जु पण्डितले अवैध रुपमा सञ्चालित खानी बन्दपछि पुनर्निर्माणमा आवश्यक निर्माण सामग्रीको अभाव सिर्जना हुन नदिन नयाँ व्यवस्था गर्ने योजना बनाइएको बताए।
नगरपालिकाभित्र पर्ने त्रिशूली नदी र तादी, सामरी लगायत खोलामा उत्खनन् गर्दै आएकालाई नियन्त्रण गरी वैधानिक बाटोमा ल्याउन सुरु गरिएको वडा नं ५ का वडाध्यक्ष शिवकुमार चित्रकारले जानकारी दिए।
खानी उत्खननका लागि पकेट क्षेत्र मानिएको खम्बाक्याम्प, मान्द्रेढुङ्गा बुनीबेसी लगायतको स्थानमा अवैध रुपमा सञ्चालित छवटा खानी बन्द गरी संलग्न स्काभेक्टर र टिपरलाई कारबाही गर्न प्रहरीलाई बुझाएको ६ नं वडाध्यक्ष राजु सडौलाले बताए। रासस