समय नै अचुक ओखती हो सबै चिजको । २ वर्ष अघिको भूकम्पकका खाटा छरपस्टै छन् । टेकामा उभिएका घर, लडेका स्मारक, खालि जमिनहरु त मानव निर्मित न हुन् ढिलाचाँडो बन्लान्, आफन्त गुमाउनुको पीडाको कुनै लेखाजोखा छैन, ती पूर्नजिवीत हुने छैनन् । भुकम्पले बाँचेकालाई नि धेरै अप्ठ्यारो बनायो, बाँच्न नै हम्मेहम्मे परिस्थितिबाट गुर्जिनु प¥यो । यी सबै बीचमा आशाको दियो चै निभेन ।
भूकम्पपछि हाम्रा सम्पदा क्षेत्रहरुमा भएको नोक्शानी हेर्न र पून खोल्ने विषयमा सरोकारवालाहरुसँग छलफल गर्न कुदाइ राम्रै गरियो । तेही क्रममा पाटनको अनुभव यहाँ उल्लेख गर्न चाहे । उबेलामा बनेका स्मारकका बारेमा जानकारी राख्ने पूस्ता भनेका वरिष्ठ नागरिकहरु नै हुन् जो उमेरले पाका थिए । ती तेही क्षेत्र वरिपरि आफ्ना समय टहलिएर बिताउँदथे । केही हदसम्म समाजले अनुत्पादक मानेको त्यो पुस्ताले जम्मा भएर गफ गर्ने र समय कटाउने बाहेक अरु काममा सायदै आफूहरुलाई कसैले सम्झेको महशुस गर्न पाएका थिए ।
जब भूकम्प गयो, स्मारकहरु केही ढले, केही नराम्रोसँग भत्किए, केहीमा चिरा परे । आफ्नो घरको थिति मिलाए पछि तेही वृद्ध पुस्ता ढलेका स्मारकका अंशहरु जम्मा गर्न, मिल्नेसम्म पोको पारेर पाटन म्युजिएमको डबलीमा संग्रह गर्न लागे । स्वतस्फुर्त रुपमा ती अघि आए । केही साता अनि महिनासम्म नै बनाउने, जोड्ने काममा तल्लीन रहे । यी तिनकै अहोरात्र मिहेनतको प्रतिफल थियो कि आज हाम्रा सम्पदा केही हदसम्म ठडिएका छन् ।
सुरु मै समयको गुणगान गाउनुको नि कारण छ । ठूलो भुकम्प पश्चात पनि सानातिना भुकम्प जान छोडेन । त्रास यतिसम्म रह्यो कि घरकै माथिल्लो तल्लामा जाने आँट समेत हामी धेरैले गर्न सकेनम् । मोबाइलमा भुकम्पको थरिथरिका एप्स राख्ने, सुत्दा टेबुलमा स्टिलका गिलाँसलाई मिलाएर राखेर अलि कम्पन हुँदा नि थाहा पाइने अर्गानिक आइडियादेखि लिएर बिबिसीका रिपोर्ट, ज्योतिषका भविश्यवाणी के मात्र पढ्न बाँकि राखियो होला उबेला ।
घरका बुँइगल पुग्न खुट्टा कामेपछि पछि चिरा परेका मन्दिरका माथिल्ला ठाउँमा पुग्ने त टाढाको बात नै थियो । यो पनि समयको एक कोल्टो नै थियो । बिस्तारै समयले युटर्न गर्ने बिन्दुतिर नजकिदैं गर्दा मोबाइलबाट ती रातदिन हेरिने एप्स हराए, डिलिट भए, घरिघरि हेरिने वेभसाइट बिर्सिन थालियो अनि अघि मन्दिरका माथिल्ला सिँढी हेर्न गाह«ो अवस्थाबाट हेर्ने मात्र हैन एकअर्काका हात समात्दै, टेको हेर्दै गफ्फिने, डेटिङ्ग स्पट नि ती देवघर भइसके ।
वलवान समयले सबै बिर्सायो । डर बिर्सायो राम्रो भयो । अनि ती डरसँगै घर राम्रो मात्र हैन बलियो बनाउने, सार्वजनिक संरचनाहरु बनाउँदा भनिएको अनुसार नबने दण्डित गर्ने, ठेकेदारका लाइसेन्स नै रद्ध गरिनुपर्छ भन्ने सही पहलकदमी पनि सेलाए । एक युगल जोडीले हातमा हात समाइ त्यही बुढो ढल्न लागेको स्मारकमा आफ्नो प्रेमलाई अभिब्यक्त गरिराख्दा, मलजल भइराख्दा देश र देशवासीका प्रेममा लेखिएका दार्शनिक, मार्मिक, कारुणिक शब्दहरु नहराऊन्, नबिर्सियून् ।
काठमाण्डौं आइपुग्ने दशमध्ये आठ पर्यटक पुग्ने अनि पुग्न रहर गर्ने ठाउँ यी दरवार क्षेत्रहरु, मन्दिरहरु, स्तुपाहरु नै हुन् । यिनकै आशिर्वादले काठमाण्डौं उपत्यकाले आफ्नो परिचय पाएको छ, धेरैका मनमा अमिट छाप खिचेको छ । ती अघि चर्चा गरिएका ४ बीस उमेर कटेकालाई घरका पूननिर्माण भन्दा सम्पदाको पूननिर्माणले तानेको छ अझै त्यसलाई बलियो कसरी बनाउने मै लागेका छन् अनि नयाँ पुस्ता त्यही स्मारकमा बसेर गफ चुट्दै देश बिग्रियो भनेर बाहिर जाने कसरीको ध्याउन्नमा छ । यो परसपर कुरो नसुन्ने विमेल हुने दुई पुस्तालाई मेल गराउने कोसेढुङ्गा यही सम्पदाहरु हुन सक्छ ।
लिच्छवीकालिन नेपाल समुन्नत सम्पन्न थियो । मल्लकालमा पनि यो साख केही हदसम्म अडिएको थियो । शहरका राजाहरुबीच आफ्नो शहर राम्रो देखाउने होड नै चलेको थियो । अनि बाँकि समयको इतिहास हाम्रै अगाडि छ । पूर्खाले बनाएका यी आस्थाका केन्द्र, धरोहरहरुलाई मर्मत समेत गर्ने ल्याकत नराख्नु जतिको क्षयीकरण सायद अरु केहीले गर्न सक्ला । ज्ञानको प्रसारण एक पुस्ताबाट अर्कोमा हुन जरुरी हुन्छ । उदाहरणका लागि कृष्ण मन्दिर हाम्रो नविन निर्माण तरिकाले निश्चय भएको हैन । चाकु, तिल जस्ता मिलेर त्यत्रो संरचना कसरी बन्यो भन्ने जापानी अनुसन्धानकर्ताको चासोको विषय भयो तर त्यसलाई देखाइ देखाइ त्यही कामबाट जिविकोपार्जन गर्ने, रकम असुल्ने नगरपालिका वा स्थानिय निकायले यो ज्ञानको नयाँ पुस्तामा प्रसारण कसरी गर्ने सोच कम नै राख्यो वा राख्दै राखेन ।
आगामी दिनहरुमा ती डेटिङ्ग स्पटलाई जोगाउने, प्रचार गर्ने अनि त्यही मार्फत आर्थिकोपार्जन गर्ने काममा नयाँ पुस्ताको चाख बढाउन पुराना पुस्ताले पनि मिहेनत गर्न उति नै आवश्यक छ । नयाँ पुस्ताले जानेन, गरेन भनेर मुरमुरिनुभन्दा उनीहरुलाई सहभागी गराई सक्षम बनाउँदै अघि बढाए सम्पदा सुरक्षित अनि संरक्षित हुने थिए ।