आगामी असार १४ गते हुन लागेको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा खोटाङमा नगरपालिका प्रमुख पदमा एउटै वडाका तीनजना उम्मेदवार बनेका छन् । रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख पदका लागि वडा नं ६ नेर्पाबाट तीन दलबाट तीनैजना प्रमुख पदका उम्मेदवार बनेका हुन् ।
नेकपा एमालेबाट दीपनारायण रिजाल,
नेकपा माओवादी केन्द्रबाट दुर्गाजयन्ती राई र राप्रपाबाट निशान राई प्रमुख पदका लागि उम्मेदवार बनेका छन् । एउटै वडाबाट तीनजना प्रमुख पदका उम्मेदवार बनेपछि सबैको ध्यान वडा नं ६ मा परेको छ । यद्यपि,
एउटै वडामा तीनजना उम्मेदवार देखिए पनि जिल्लामा नेपाली काँग्रेस,
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लामा स्थानीय तहको निर्वाचनका लागि १२ दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् । एमाले उम्मेदवार रिजाल विद्यार्थीबाट राजनीति सुरु गरी पछिल्लो समय गैरसरकारी संस्था चलाएर बसेका थिए । माओवादी केन्द्रबाट उम्मेदवार बनेकी राई २०६४ सालको संविधानसभाको निर्वाचनमा समानुपातिक कोटाबाट सभासद् बनिसकेकी छन् भने २०७० सालको संविधानसभाको चुनावमा जिल्लाको १ नं क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवार भई पराजित भएकी थिइन्।राप्रपाबाट उम्मेदवार बनेका राई राप्रपाका सक्रिय सदस्य तथा राष्ट्रिय पञ्चायतका उपाध्यक्ष पर्शुराम राईका छोरा हुन् । आ–आफ्नो पार्टीले टिकट दिएपछि तीनैजना उम्मेदवार आफ्नो पक्षमा बहुमत जुटाउन जनताको घरदैलोमा पुगिरहेका छन् । रासस