नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनै तहको निर्वाचनपछि मात्र पार्टी सरकारमा जाने बताएका छन्।
नेकपा एमाले ३ नं प्रदेश कमिटीले आज स्थानीय तहको निर्वाचनमा ३ नं प्रदेशभर एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा उनले भने, “स्थानीय तह, प्रदेश र सङ्घको चुनाव सकिएपछि अरु सबै दलहरु मिले पनि सरकारमा जानबाट एमालेलाई रोक्न सक्दैन ।”
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलगायतका दलहरु मिलेर एमालेलाई प्रतिपक्षमा राखेजस्तो अवस्था तीनै तहको निर्वाचनपछि नहुने उनले बताए।
उनले भरतपुरमा मतपत्र च्यातिएको, भक्तपुरको चाँगुनारायण नगरपालिकामा मतगणना स्थगित गरिएको र एमालेले जित्ने ठाउँमा सत्तारुढ दलले षड्यन्त्र गरेको आरोप लगाए।
“अरुले दौडेर जित्ने अवस्था छैन, छिर्के लगाएर लडाउने काम भएको छ, ललितपुरमा त्यही काम भएको हो, जितेको मान्छेलाई हराइएको छ” – पार्टीको सजगतामा कमी भएको तथ्य औँल्याउँदै उनले भने।
अध्यक्ष ओलीले जनप्रतिनिधिलाई संविधान पढ्न र जिम्मेवारीपूर्वक काम गर्न सुझाव दिँदै स्थानीय सरकार पहिलेको स्थानीय निकायजस्तो नभएको हुँदा संविधानले तोकेको जिम्मेवारी पूरा गर्न जनप्रतिनिधि सक्रिय हुनुपर्ने बताए । “संविधान पढ्नुभएको थिएन होला, अब संविधानको सबै पाना पल्टाउनुपर्छ, अनुसूची भनेको के हो थाहा पाउनुपर्छ” – अध्यक्ष ओलीले थपे।
स्थानीय तहमा उपाध्यक्षले न्यायिक समितिको नेतृत्व गर्नुपर्ने स्मरण गराउँदै उनले भने “तपाईंहरुले न्यायाधीशको काम गर्नुपर्छ । निष्पक्ष रुपमा गर्नुहोला । जोखाना हेरेर हुँदैन । जितेर अबिर लाउनुभयो तर अब प्रमाणित गरेर देखाउनुपर्ने बेला भयो ।”
अध्यक्ष ओलीले निर्वाचित महिलालाई घरव्यवहार धान्ने र स्थानीय तह कुशलतापूर्वक सञ्चालन गर्ने दोहोरो जिम्मेवारी आइपरेको पनि उल्लेख गरे । रासस