उखुको अभाव भएपछि सिरहाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी उद्योग बन्द भएको छ।
आवश्यकताअनुसार उखु पाउन छाडेपछि जिल्लाको एकमात्र उक्त चिनी उद्योग बन्द भएको हो।
हिमालय चिनी मिलले गत २०७३ मङ्सिरदेखि चिनी उत्पादन थालेको थियो । दैनिक २५ लाख क्विन्टल उखु चाहिए पनि अहिले उखुखेतीको समय नभएकाले उखुको अभावमा उद्योग बन्द गर्नुपरेको हिमालय चिनी मिलका उखु प्रबन्धक अवधकिशोर यादवले जानकारी दिए।
“भर्खर किसानले खेतमा उखु लगाएका छन्, उखु तयार नहुन्जेलसम्मका लागि मिल बन्द गरिएको हो, उखु पाउन थालेपछि पुनः मिल सञ्चालनमा ल्याइने छ,” उनले भने। उक्त मिलमा गुणस्तरीय चिनी उत्पादन गर्ने उपकरण रिफायनरिङ जडान गरिएको मिल व्यवस्थापनले जनाएको छ।
दैनिक २५ हजार क्विन्टल चिनी उत्पादन गर्ने क्षमता रहेको उक्त मिलले हालसम्ममा ४७ हजार क्विन्टल चिनी उत्पादन गरी बिक्री गर्न सफल भएको यादवको भनाइ छ । जिल्लामा करिब २५ हजार बिगाहा जग्गामा उखुखेती गरिँदै आएको छ । रासस