सोमबार सार्वजनिक भएका दुई तस्बिरमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दायाँ हातमा ब्यान्डेज लगाएको देखिन्छ।
दिउँसो २०४२ सालको बमकाण्डका कमाण्डर जितेन्द्र महासेठलाई पार्टी प्रवेश गराएर हात मिलाउँदा र साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा पनि उनको हातमा व्यान्डेज देखिएपछि के भएको हो भनेर हामीले दाहाल पुत्र प्रकाशलाई सोधेका थियौं।
प्रकाशले प्रधानमन्त्री हुँदै बालुवाटारमा टेबल टेनिस खेल्दा उनको दायाँ हात मर्किएको बताए। ‘बुवा छिटो छिटो टेबल टेनिस खेल्नुहुन्छ, बालुवाटार हुँदा नै हात मर्किएको थियो’, प्रकाशले भने, ‘अहिले त सामान्य भइसकेको छ।’
देउवा प्रधानमन्त्री भएपछि दाहालले पाँच दिन अघि बालुवाटार छोडेका थिए।
दाहालले बिहान प्रायः टेबलटेनिस खेल्ने गर्छन्।