प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सम्पूर्ण तयारी भइसकेकाले अब असार १४ गते नै दोस्रो चरणको स्थानीय निर्वाचन हुने दावी गरेका छन्।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आयुक्त यादवले असार १४ गते निर्वाचन हुँदैन वा सर्छ भनेर यसको विपक्षमा नबोल्न पनि आग्रह गरेका छन्।
उनले निर्वाचनको विपक्षमा कसैलेपनि कुरा गर्न नहुने बताउँदै भने, ‘मुलुक निर्वाचनमा गइसकेको छ, असार १४ गते नै हुन्छ, ढुक्क हुनुहोस्। असार २ गते मनोनयन हुन्छ र १४ गते निर्वाचन हुन्छ। आयोग अब यसबाट एक इन्च पनि ब्याक हुँदैन। चारवटै प्रदेशमा एकै चरणमा हुन्छ, यसको सम्पूर्ण तयारी आयोगले गरिसकेको छ।’
यादवले चुनावको मुखामा आएर निर्वाचनको विपक्षमा कुनै कुरा नगर्न चेतावनी दिएका छन्। उनले सबै जिल्लामा निर्वाचन सामाग्री पुर्याई सकिएको र संवेदनशीलताको आधारमा अनुगमन टोली पनि खटाइसकिएको जानकारी दिए।
यादवले अब स्थानीय तहको संख्या थपेमा चाँहि निर्वाचन गर्न नसकिने बताए। उनले भने,‘सबै तयारी भैसकेको छ। अब आएर स्थानीय तहको संख्या थप्ने भन्ने कुरा सम्भव छैन। अब त मत खसाल्न मात्र बाँकी छ।’
उनले ४६१ स्थानमा एकै चरणमा निर्वाचन हुने पनि दावी गरे। यादवले निर्वाचन आचारसंहिता कार्यान्वयनको लागि प्रभावकारी रुपमा काम गरिरहेको जानकारी गराउँदै अब चुनाव चिन्ह पनि दिन नसकिने स्पष्ट पारे। उनले भने,‘चुनाव अघि अब मिति सार्ने काम र चुनाव चिन्ह दिन सकिँदैन।’
उनले राजपा नेपाललगायत केही दलहरुले निर्वाचनबारे असहमति राखेकोबारे टिप्प्णी गर्दै उनीहरुको माग सम्बोधन गर्न अधिकतम प्रयास भइरहेको बताए। उनीहरुलाई निर्वाचनमा आउन आग्रह गरिरहेको पनि बताए।