नेपाली काँग्रेसले बुधबारसम्ममा स्थानीय तह दोस्रो चरणको निर्वाचनको उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ।
मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बुधबारसम्ममा स्थानीय तह दोस्रो चरणको निर्वाचनको उम्मेदवारी तय गरिसक्ने निर्णय गरेको हो। बैठकमा प्रदेश नम्बर २ का उम्मेदवारको विषयमा विशेष जोड दिएर छलफल गरिएको थियो। प्रदेश नम्बर २ को ८ जिल्लामा पार्टीले दिने उम्मेदवारीको विषयमा विशेष जोड दिएर छलफल भइरहेको नेता महेश आचार्यले जानकारी दिए।
कांग्रेसले विवादित ठाउँमा भने सम्बन्धित पार्टी समितिकै सहमतिमा उम्मेदवारको टुंगो लगाउने मापदण्ड नै तय गरेको छ। पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा व्यस्त भएकाले आजै उम्मेदवारको टुंगो लगाउन सक्ने अवस्था नरहेको नेता महेश आचार्यले जानकारी दिए।
नेपाली काँग्रेसले दोस्रो चरणको निर्वाचनमा तालमेल गरेर जाने अधिकार पनि स्थानीय पार्टी समितिलाई दिएको छ। आगामी असार १४ गते ४ सय ६१ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ।