२०७२ असोज ९ गते माओवादी पार्टीका लागि महत्वपूर्ण रह्यो।
त्यस दिन अध्यक्ष पुष्पकमल दाहालपछिका शीर्षनेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीसँगको झन्डै अढाई दशक लामो सम्बन्ध विच्छेद गरे। तत्कालीन एमाओवादी पार्टी भुत्ते भएकाले देशको बागडोर सम्हाल्न नसक्ने निष्कर्ष निकाल्दै ‘नयाँ शक्ति नेपाल’ नामको पार्टी घोषणा गरियो। पुरानो पार्टी परित्याग गर्नुको कारण खुलाउँदै भट्टराईले भने, 'तरकारी काट्ने चक्कुले खसी काट्न सक्दैन।'
दस वर्ष लामो युद्धको रापमा धारिलो बनेको एमाओवादीमा राजनीतिक रुपले अध्यक्ष दाहालकै एकाधिकार थियो। उनका सामु भट्टराई सानो चक्कुमा सीमित थिए।
जटिल राजनीतिक परिस्थितिका कारण माओवादी तर्फबाट प्रधानमन्त्री बन्न सफल भट्टराईलाई त्यही पार्टीबाट फेरि प्रधानमन्त्री बन्छु भन्ने त्यति आशा थिएन। दोश्रो संविधानसभामा भएको हारले पनि उनले माओवादी पार्टीमा आशा मरिसकेका थिए। त्यही भएर खसी ढाल्ने राजनीतिक खुकुरीको खोजीमा उनीबाट नयाँ राजनीतिक पार्टी घोषणा भयो।
आज जेठ ३० गते भट्टराईको त्यही नयाँ शक्ति पार्टी एक वर्ष पुग्दा उनी स्वयं भने सफलताभन्दा असफलतातर्फ अग्रसर देखिन्छन्।
गाउँ, नगर र महानगरपालिका गरी जम्मा २८३ स्थानमा भएको पहिलो चरणको स्थानीय तह चुनावमा भट्टराईको नयाँ शक्ति पार्टीले रसुवाको पार्वती कुण्ड अर्थात् एक स्थानमा मात्र सफलता हासिल गर्यो।
त्यसपछि पनि भट्टराईको राजनीतिक सक्रियता घटेको छैन, भलै अचेल उनी सञ्चारमाध्यमका समाचार शीर्षकमा कमै देखिन्छन्।
एक वर्षअघि उनले रणनीतिक रुपमा राम्रै समय पार्टी घोषणा गरेका थिए। नयाँ संविधान घोषणाले ल्याएको उथलपुथल, मधेस आन्दोलन र भारतीय नाकाबन्दीको समय थियो त्यो। राजनीतिक दलको 'सिन्डिकेट' विरुद्ध राम्रो जनमत थियो। त्यही संस्थापनविरोधी माहोल छोपेर विकासे राजनीति गर्ने उनले लक्ष्य लिएका थिए।
रणनीति सधैं सफल हुँदैन। भट्टराईको पनि भएन। र, नतिजा, आज एक वर्षपछि उनको राजनीतिक भूमिका खुम्चिएको छ। उनले दिएको विकास र सुशासनको नाराले सहरी मध्यमवर्गलाई आकर्षित गर्न सकेन। पछिल्लो स्थानीय निर्वाचनले त सहरी क्षेत्रमा उनको पार्टीको उपस्थिति निकै कम रहेको छर्लंग पार्यो। काठमाडौं महानगरपालिकामा उनको दलका उम्मेदवारले जमानतधरि बचाउन सकेनन्। अझ यसपालि त उनले चुनावमा संघीय समाजवादी फोरमसँग साँठगाँठ गरेका थिए। तैपनि चुनावमा हात लाग्यो शून्यजस्तै भयो।
नयाँ शक्तिका नेताहरु भने पार्टी अब सिद्धियो भनेर अहिल्यै निष्कर्षमा पुग्न नहुने बताउँछन्।
‘प्रदेश र संघीय चुनाव बाँकी नै छन्, हेरौं के हुन्छ,' भट्टराईनिकट नेता गंगा श्रेष्ठले मंगलबार सेतोपाटीसँग भने, 'हामीले सुधार गर्नुपर्ने धेरै छन्, पार्टी खत्तम भयो भन्ने निष्कर्ष भने गलत हो।’
पार्टीकै केही नेता भने सोचेअनुसारको दिशामा पार्टी अघि नबढेको भन्दै निराश र असन्तुष्ट छन्। यसका पछाडि केही कारण छन्।
पहिलो त, भट्टराई र उनको पार्टीलाई ‘नयाँ’ भनेर मानिसले बुझेनन्, जुन पार्टीका लागि दुर्भाग्यपूर्ण थियो। प्रधानमन्त्री पदबाट राजीनामा दिएर बालुवाटारबाट बाहिर निस्कँदा उनमा रहेको ओज सकिसकेको थियो। उनलाई भारत-परस्त भएको र इतिहासकै भ्रष्ट र ठूलो मन्त्रीमण्डल बनाएको आरोप लागेको थियो।
दोस्रो, पार्टीबाहिर बौद्धिक नेताका रुपमा परिचित भए पनि उनी सांगठनिक कलामा कमजोर देखिए। माओवादीबाट आएका कार्यकर्ता र ‘प्रजातान्त्रिक’ पृष्ठभूमिका मानिसबीच भित्रभित्रै द्वन्द्वको अवस्था सिर्जना भयो, जसलाई उनले सुल्झाउन सकेनन्।
पुराना र नयाँबीचको त्यही द्वन्द्व बेला पूर्व माओवादी नेता-कार्यकर्ताले आफूलाई पार्टीको आधार वा ‘बेस’ भएको दाबी गरे। पार्टीमा नयाँ आएका स्वच्छ छविका रुपमा परिचित मानिस केवल ‘फेस’ भएको उनीहरुको तर्क थियो। उता ‘फेस’वालाहरुले भने माओवादीबाट आएका पुराना मानिस नै नेतृत्वमा रहने हो भने नयाँ पार्टी बेकामे हुने दाबी प्रस्तुत गरे।
यही द्वन्द्व क्रममा पूर्वसचिव रामेश्वर खनाल लगायत पार्टीबाट बाहिरिए। पार्टीले ‘वाम-प्रजातान्त्रिक’ गठबन्धनको कुरा गरेको थियो। तर, नयाँ र पुरानाबीचको किचलोले माओवादीबाट आएका ‘वाम’ बाँकी रहे भने ‘प्रजातान्त्रिक’ धारका मानिस बाहिरिए।
तेस्रो, अन्य पार्टी छाडेर चर्को जातीय मुद्दा बोकेका नेता पनि नयाँ शक्तिमा मिसिए। जातीय मुद्दालाई प्रधानता दिँदै पार्टीलाई जातीय ‘क्लस्टरिङ’ गरेको भट्टराईलाई आरोप लाग्यो। वास्तवमा सहरिया मध्यम वर्गमा प्रभाव पार्न छाडेपछि भट्टराईले अझै चर्को स्वरमा जातीय मुद्दाका कुरा गर्न थालेका हुन्। हुँदाहुँदा जातिवादले उनको आर्थिक समृद्धिको मुद्दालाई नै ओझल पार्यो। यसले राजनीतिक स्थायित्व चाहने सहरिया मतदातालाई झनै चिढ्यायो।
त्यही बेला चर्को जातिवादलाई प्रश्रय दिएको र आर्थिक पारदर्शिता नभएको भन्दै मुमाराम खनाल लगायतका नेता पार्टीबाट अलग्गिए।
वास्तवमा जातिवादको मुद्दाले भट्टराईलाई मधेसी मोर्चासँग मात्र नजिक बनायो। तर, मधेसको मुद्दा बोकेको मधेसी मोर्चा हुँदाहुँदै मधेसवादी मतदाता पनि उनीप्रति आकर्षित भएनन्। उनले मधेसी मोर्चासँग मिलेर स्थानीय चुनावविरुद्ध लिएको अडानले पनि धेरै मतदातालाई चिढ्याउने काम गर्यो।
पहिलो चरणको चुनावमा विवेकशील नेपाली र साझा पार्टीजस्ता नयाँ राजनीतिक दल वा वैकल्पिक शक्तिले सहरी क्षेत्रमा उलेख्य मत प्राप्त गरेको बेला बाबुरामको पार्टीका उम्मेदवारले जमानतधरि जोगाउन सकेनन्।
पार्टी स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा जारी विज्ञप्तिमा भट्टराईले ती दुई पार्टीलाई संकेत गर्दै ‘वैकल्पिक शक्तिका रुपमा उदीयमान कतिपय पार्टीहरु वैचारिक अस्पष्टता र दिशाहीनताका बीचमा क्षणिक लोकरिझ्याइँ वा लोकप्रियतावाद (पपुलिज्म) मा रमाइरहेको’ बताएका छन्। तर, यथार्थ के हो भने विवेकशील र साझा पार्टीको आत्मबल उच्च छ, नयाँ शक्तिको कमजोर।
समाजवादी संघीय फोरमसँग मिलेर चुनाव लड्ने निर्णय लिएको नयाँ शक्तिले तराईमा केही सफलता प्राप्त गर्न सक्छ, जसको श्रेय संघीय समाजवादी फोरमलाई नै जानेछ।
नयाँ शक्तिका नेताहरु अब दोस्रो चरणको निर्वाचनपछि पार्टीले केन्द्रीय परिषद बैठकमा नयाँ नीति र रणनीति लिने बताउँछन्।
‘दोस्रो चरणको निर्वाचनपछि पार्टीले समीक्षा गर्नेछ र आगामी बाटो तय गर्नेछ,’ पार्टी नेता गंगा श्रेष्ठले भने, ‘प्रादेशिक, संघीयजस्ता महत्वपूर्ण चुनाव हुन बाँकी छन्। त्यसअघि कमजोरी सच्याउने र संगठन विस्तार तथा नयाँ रणनीति लिने काम हुने छन्।’
भट्टराईका लागि यो नयाँ बाटो सहज भने छैन।
‘वैकल्पिक राजनीतिक शक्ति’ को अवधारणाबमोजिम सहरी क्षेत्रमा उनले पकड जमाउन सकेका छैनन्। त्यसैले, दोस्रो चरणको निर्वाचनपछि उनले लिने रणनीतिले पार्टीलाई सशक्त ढंगले राष्ट्रिय राजनीतिमा ल्याउँछ कि ल्याउँदैन हेर्न बाँकी नै छ।