नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुली उम्मेदवार बनाउने भएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विराटनगर नगर समितिका सभापति पराजुलीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो। विराटनगरको मेयरका लागि सांसद अमृत अर्याल र नेतृ डिला संग्रौला पनि दाबेदार थिए।
पराजुली महेन्द्र मोरङ क्याम्पसका पूर्व स्ववियू सभापति पनि हुन्। २०५५ सालको स्ववियू निर्वाचनमा नेविसंघले टिकट नदिएपछि उनी बागी उम्मेदवार बनेका थिए।
बैठकले विराटनगरको उपमेयरमा इन्दिरा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कार्की मोरङ–६ की कांग्रेस महासमिति सदस्य हुन्।
एमालेले यसअघि नै विनोद ढकाललाई महानगरको मेयर उम्मेदवार बनाएको छ। अन्य पार्टीसँग तालमेलको सम्भावना रहेको भन्दै एमालेले विराटनगरमा उपमेयरको उम्मेदवार बनाएको छैन।