वर्खायाम सुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाव बढ्दै गएपछि कालीगण्डकी नदीमा (र्याफ्टिङ) जलयात्रा रोकिएको छ ।
विशेषगरी चैत, वैशाख र जेठ महिनामा यामअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको दोस्रो सातादेखि नै भारी वर्षा हुन थालेपछि र्याफ्टिङ प्रभावित बनेको हो ।
विगतका वर्षहरुमा कालीगण्डकी नदीमा अङ्ग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (र्याफ्टिङ्ग) सहजरुपमा सञ्चालन गरिएपनि यस वर्ष बर्सातको समय छिटो सुरु भएका कारण र्याफ्टिङ सञ्चालन गर्न नसक्दा पर्यटकलाई फर्काउनुपर्ने अवस्था आएको नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीज, पोखराका अध्यक्ष नीमबहादुर मगरले जानकारी दिए।
“अघिल्लो वर्ष मे महिनाभरि र्याफ्टिङ गर्न सकेका थियौँ”, उनले भने, “यस वर्ष मे महिनामा कुनै पनि कम्पनी कालीगण्डकी नदीमा पुग्न सकेनन् ।” उनले स्थानीय तहको निर्वाचनले समेत र्याफ्टिङ प्रभावित बनेको जानकारी दिए।
वर्षाको समाप्तिसँगै असोजको पहिलो साता अर्थात सेप्टेम्बरदेखि पुनः सञ्चालनमा आउने उनले बताए। नेपालका त्रिशूली, लोअर सेती लगायतका अन्य नदीमा समेत र्याफ्टिङ सञ्चालन हुने गरे तापनि यस वर्ष चीनमा मे १६ देखि १८ सम्म आयोजित र्याफ्टिङ फ्यामिली म्याचमा भाग लिनका लागि नेपाली टोली त्यहाँ जाने तयारी गरेको उनले बताए।
कालीगण्डकी नदी छोटो र पारिवारिक जलयात्राका लागि उपयुक्त मानिँदै आएको छ । लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । र्याफ्टिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटक संगै स्वेदशी पर्यटकको आकर्षण बढ्दै गएको छ । पर्वतको कुश्मा नगरपालिका–२ पाङस्थित नयाँपुल तथा मालढुङ्गाबाट सुरु हुने र्याफ्टिङ स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ ।
तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रुपमा रहेको छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्ट्रेलिया, युरोपेली मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ । रासस