प्रमुख प्रतिपक्षी नेकपा एमालेले असार १४ गतेका लागि प्रदेश नम्बर १, २, ५ र ७ मा निर्धारित स्थानीय निर्वाचनमध्ये प्रदेश नम्बर २ को निर्वाचन पछाडि सार्ने सरकार र राजपाबीचको सहमतिप्रति आपत्ति जनाएको छ।
पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहिबार विज्ञप्ति जारी गर्दै पटक–पटकका वार्ताहरुमा समेत एमालेले कुनै पनि हालतमा निर्वाचन सार्न नहुने कुरामा जोड दिँदै आएको भए पनि सरकारले पटक पटक निर्वाचन सारेर देशलाई संकटमा लैजान लागेको बताएका छन्। 'एकै चरणमा ३१ वैशाखका लागि निर्धारित निर्वाचनमध्ये चार वटा प्रदेशमा जेठ ३१ मा निर्वाचन गर्ने निर्णयलाई नै हाम्रो पार्टीले शंकाका दृष्टिले हेर यसले देशलाई संकटमा लैजाने ठहर गरेको थियो', विज्ञप्तिमा भनिएको छ, 'पछि असार ९ र १४ मा निर्वाचन सार्दा पनि सरकारको उद्देश्य निर्वाचन गराउनमा भन्दा मुलुकलाई अनिश्चततातर्फ लैजानमा केन्द्रित थियो भन्ने कुरा यस घटनाले पुष्टि गरेको छ।'
एमालेले प्रदेश नम्बर २ मा निर्वाचन पछि सार्ने कदमले त्यहाँका जनताको आफ्ना प्रतिनिधि आफैं छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित गरेको नभई संविधान कार्यान्वयनमा गम्भीर धक्का पुर्याएको बताएको छ। 'यस घटनाले मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डकारी तत्वहरुको मनोबल बढाएको छ। कुनै ठोस कारण र औचित्यबिना निर्वाचन पर सारेर वर्तमान सत्तारुढ गठबन्धनले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको छ,' विज्ञप्तिमा भनिएको छ।
एमालेले संविधान र लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा आघात पुर्याउने यस कदमका विरुद्ध सचेत रहँदै प्रदेश नम्बर २ मा पार्टीका नियमित कामहरु अघि बढाउन मातहत कमिटीहरुलाई निर्देशन समेत दिएको छ।