बैतडीमा ३१ वटा मतदानस्थल संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्लामा रहेका १२० मतदानस्थलमध्ये ३१ स्थल संवेदनशील रहेको जनाइएको छ ।
चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजबुत बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी पौडेलले अति विकट, खुल्ला सीमाका कारण हुनसक्ने आपराधिक घटनालाई मध्यनजर गर्दै मतदान केन्द्रको सुरक्षा स्थितिको वर्गीकरण गरिएको बताए। सुरक्षा संवेदनशीलताको हिसाबमा जिल्लामा अति संवेदनशील मतदान केन्द्र नरहेको बताइएको छ ।
बैतडीमा १२० मतदानस्थल एवम् १७४ मतदान केन्द्र तय गरिएको छ । चार नगरपालिका र छ गाउँपालिका रहेको बैतडीमा एकलाख २४ हजार ८२४ जना मतदाता छन् ।
मदिरा सेवन तथा बेचबिखनमा रोकः
यसैबीच, स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै बैतडीमा मदिरा सेवन तथा बेचबिखनमा रोक लगाइने भएको छ ।
जिल्लामा मदिराले विकृति विसङ्गीत बढ्दै गएकाले असार ५ गतेदेखि मदिरा सेवन तथा विक्री वितरणमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न असार ५ गतेदेखि २० गतेसम्म जिल्लामा मदिरा विक्री वितरणमा पूर्णतया बन्देज लगाउने पौडेलले बताए। जिल्लामा अधिकांश झैझगडा र अपराधजन्य घटना मदिरा सेवनबाट हुने गरेकाले मदिरा विक्री वितरणमा रोक लगाइएको बताइएको छ ।
मदिरा सेवनले चुनावमा असर पर्ने बताउँदै प्रजिअ पौडेलले चुनावलाई धाँधलीरहितरुपमा सम्पन्न गर्न राजनीतिक दलले पनि साथ दिनुपर्ने बताएका छन्।
असार ५ गतेदेखि जिल्लाभर मदिरा बेचबिखन र सेवन गर्न नपाइने भएकाले कसैले मदिरा बेचबिखन गरे कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस