दोस्रो चरणको स्थानीय तह यही असार १४ गते बुधबार हुने निर्वाचनका लागि तीनवटा प्रदेशका ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा आज बिहान ८ बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा आई उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम सुरु भइसकेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।
संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा यो दोस्रो चरणको स्थानीय तह निर्वाचन हुन लागेको हो ।
प्रदेश नं १, ५ र ७ मा हुने निर्वाचनबाट एक महानगरपालिका, सात उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ वटा गाउँपालिकाबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि चार हजार ५ सय ८१ मतदानस्थल आठ हजार ३ सय ६४ मतदानकेन्द्र कायम गरिएको छ ।
राजनीतिक दलले उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधान छ ।
महिला, दलित, अल्पङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको छ । उम्मेदवारी दर्ताका लागि आज बिहान ८ देखि अपराह्न ४ बजेसम्मको समय तय गरिएको छ ।
दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदातालाई मताधिकार रहेको छ । दोस्रो चरणको निर्वाचनका लागि मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने आयोगले जानकारी दिएको छ । रासस