दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्रले एक-एक वटा मधेसी पार्टी समातेर तालमेल गरेपछि पूर्वाञ्चलको एक मात्र महानगरपालिका विराटनगरको चुनाव रोमाञ्चक बन्दै गएको छ। असार १४ मा हुने चुनावमा कांग्रेस, एमाले र नेपाल लोकतान्त्रिक फोरमको गठबन्धन तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।
पछिल्लो संविधानसभा निर्वाचनमा विराटनगरमा पर्ने तीन वटै क्षेत्रको परिणाम हेर्दा कांग्रेस बलियो देखिन्छ।
महानगरमा पनि कांग्रेस बलियो भएकै कारण दुई वामपन्थी पार्टीले दुई मधेसी पार्टीसँग कांग्रेसका विरूद्ध चुनावी गठबन्धन गरेका हुन्।
एमालेसँग तालमेल गरेको विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक संविधानसभा चुनावमा यो क्षेत्रको दोस्रो पार्टी थियो। एमाले आफैं यहाँ तेस्रो स्थानमा थियो। तालमेल गरेर एमालेले मेयरमा विनोद ढकाल र फोरम लोकतान्त्रिकले उपमेयरमा सूची चौधरीलाई उठाएका छन्।
तराई आन्दोलनका नेता उपेन्द्र यादवको पार्टी संघीय समाजवादी फोरम विराटनगरको राजनीतिमा तेस्रो महत्वपूर्ण शक्ति हो। उसले माओवादी केन्द्रसँग तालमेल गरेर मेयरमा आफ्नो उम्मेद्वार उठाएको छ भने उपमेयर माओवादी केन्द्रलाई छोडेको छ। फोरमका उमेश यादव मेयर र माओवादीबाट नमिता न्यौपाने उपमेयरमा उठेका छन्।
चार वटा पार्टीले दुई वटा अलायन्स बनाए पनि कांग्रेस एक्लै छ। उसले मेयरमा भीमप्रसाद पराजुली र उपमेयरमा इन्द्रा कार्कीलाई उठाएर एक्लै प्रतिस्पर्धामा छ।
दोस्रो संविधानसभामा कांग्रेसले विराटनगरका बजार र छेउछाउका गाँउ मिसिएका क्षेत्र नम्बर ५, ६ र ७ बाट ५० हजार भोट ल्याएको थियो। यी तीन क्षेत्रमा कांग्रेसका अमृत अर्याल, महेश आचार्य र शेखर कोइरालाले जितेका थिए।
महानगरमा क्षेत्र भित्रबाट मात्रै कांग्रेसले पछिल्लो संविधानसभा चुनावमा करिब ३० हजार मत ल्याएको थियो।
यसपाली काठमाडौं महानगरमा जस्तो कांग्रेसको भोट काट्ने उमेद्वारहरू नभएको र विराटनगरमा पुरानै पार्टीबीच प्रतिस्पर्धा रहेकोले कांग्रेस चुनाव जित्नेमा आत्मविश्वासी देखिन्छ।
कांग्रेस नेता मिनेन्द्र रिजालले विराटनगरमा दुई वटै गठबन्धनलाई पछि पारेर कांग्रेसले जित्ने दाबी गरे।
‘अरु पार्टी कांग्रेसभन्दा कमजोर भएकै कारणले उहाँहरु अलायन्समा जानुभयो। विराटनगरमा कांग्रेस बलियो हो भन्ने त्यसैले नै पुष्टी गर्छ,’ उनले सेतोपाटीसँग भने।
यसअघिका चुनावमा विराटनगरमा दोस्रो र तेस्रो स्थान ल्याएका दुवै फोरम र राष्ट्रिय रूपमा दोस्रो र तेस्रो पार्टीको तालमेलका कारण यहाँको चुनावी प्रतिस्पर्धा रोमाञ्चक हुनेछ।
यद्यपी चार पार्टी, दुई अलायन्स हुँदा कांग्रेस ढुक्क भएर बस्न सक्ने छैन। 'कांग्रेस विरुद्ध दुई वटा अलाइन्स बनेपछि प्रतिस्पर्धा बढेको छ। यसको अर्थ हामीले हार्छौं भन्ने होइन,’ नेता रिजालले भने, ‘हामी जित्छौँ तर कांग्रेसलाई सन्देश चैँ हामी एकजुट भएर चुनावमा जानुपर्छ भन्ने हो।’
दुई-दुई वटा अलायन्ससँग भिडेपछि कांग्रेस कमजोर हुने प्रतिस्पर्धी दलहरुको हिसाब छ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मोरङ अध्यक्ष भक्तिनाथ माझीले एमालेसँगको आफ्नो गठबन्धन्ले नै यहाँ जित्ने बताए।
'चुनाव जित्ने आधार संगठन हो। हामी दुवैको संगठन विराटनगमा राम्रो छ। त्यस्तै, स्थानीय निकाय निर्वाचनमा एमाले पक्षमा देशभर जनलहर आएको छ, त्यसकारण कांग्रेसले यहाँ जित्न सक्दैन,’ उनले भने, ‘विगतको चुनावी परिणामले यो निर्वाचनमा कसले जित्छ भन्न मिल्दैन।’
विराटनगर महानगरपालिका बन्नुमा विजय गच्छदारको योगदान यहाँका जनताले नबिर्सेको उनले दाबी गरे। ‘त्यसैले पनि हामीलाई भोट आउँछ। राष्ट्रिय राजनीतिमा पनि हाम्रो भूमिका महत्वपूर्ण छ,’ उनले भने।
दोस्रो संविधानसभामा पाएको मतलाई आधार मान्दा उनीहरु दुवै पार्टीको पोल्टामा करिब २० हजार भोट हुने अनुमान गर्न सकिन्छ। दोस्रो संविधानसभा चुनावमा विराटनगरमा पर्ने ६ र ७ नम्बर क्षेत्रमा फोरम लोकतान्त्रिक दोस्रो भएको थियो। दुवै क्षेत्रमा उसले पाएको मत जोड्दा १७ हजार हाराहारी हुन्छ।
यी क्षेत्रका ग्रामीण वस्तीबाट फोरमलाई धेरै मत आएको थियो। तर संसदीय निर्वाचन क्षेत्रका अधिकांश ठाउँ महानगरमा पर्दैनन्।
दोस्रो संविधानसभामा नगरबाट उनीहरुलाई कति भोट आए भन्ने कुराले फरक पार्ने कांग्रेस नेताहरुको भनाई छ। महानगरमा फोरम लोकतान्त्रिकको मत १० हजार अनुमान गरिएको छ। एमालेको पनि जोडेर हेर्दा करिब २० हजार मत पुग्ने देखिन्छ।
विराटनगरमा तराई मधेसकै राजनीति गर्ने संघीय समाजवादी फोरम र संविधानसभाको तेस्रो ठूलो दल माओवादी केन्द्रको संयुक्त मोर्चा पनि चुनावमा उत्रिएको छ।
एमाले र फोरम लोकतान्त्रिकको गठबन्धन भन्दा पनि आफ्नो अलायन्स बलियो भएको संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष उमेश यादवले बताए।
उनी महानगरका लागि संघीय समाजवादी फोरम र माओवादी केन्द्रका संयुक्त मेयरका उम्मेद्वार हुन्। उनले त झन् विराटनगरमा आफ्नो दलले मात्र एक्लै जित्न सक्ने दाबी गरे।
विराटनगर महानगरमा यो गठबन्धनको पनि २० हजार हाराहारी नै मत पाउने अड्कल गर्न सकिन्छ। हुन त दोस्रो संविधानसभामा गाँउ क्षेत्र समेत जोडिएको पाँच नम्बरमा मात्रै उपेन्द्र यादवले २२ हजार भोट ल्याएर दोस्रो भएका थिए। महानगरमा भने उनको कम भोट छ।
'हामी यसपालीको स्थानीय निकाय चुनाव जित्दैछौं। विगतमा दोस्रो संविधानसभा निर्वाचनमा टेक्निकल कारण हारेका हौं’, उमेश यादवले भने, 'तीन क्षेत्रमा थोरै थोरै मतले हारेका थियौं। हामीले एक्लै जित्ने हुँदाहुँदै माओवादी केन्द्रसँग एलाइन्स गर्ने अवस्था आयो। माओवादी केन्द्र परिवर्तनकारी शक्ति हो, संघीय समाजवादी फोरम पनि परिवर्तनकारी शक्ति नै हो। दुबै शक्ति एकठाउँ हुँदा जित्ने सम्भावना झन् बलियो भएको छ।'
संविधानसभामै पाएको मत र महानगरमा उसको प्रभावका हिसाबले कांग्रेस बलियो देखिए पनि दुई अलायन्सले उसको मत काट्न सक्ने अनुमान धेरैको छ।
तर दुवै मधेसी पार्टीले एक अर्कासँग नभएर बामपन्थी पार्टीहरुसँग तालमेल गरेकाले कांग्रेसलाई गाह्रो नहुने नेता रिजालले बताए।
'दुई वटा मधेशवादी पार्टी एक भएर उठेको भए त्यो हाम्रा लागि बढी चुनौतिपूर्ण हुन्थ्यो,' उनले भने, 'एमाले र संघीय समाजवादी फोरम मिलेको भए त्यो पनि हाम्रा लागि अहिलेको गठबन्धन भन्दा अफ्ठेरो हुन्थ्यो।’
कांग्रेसको एउटा चुनौती आन्तरिक एकता हो।
मेयरको चुनावमा पाँच नम्बर क्षेत्रबाट निर्वाचित सांसद अमृत अर्याल पनि आकांक्षी थिए। प्रधानमन्त्री शेर बहादुर देउवा पनि उनैलाई टिकट दिने पक्षमा थिए। तर, कोइराला परिवारसँग नजिक रहेका विराटनगर कांग्रेसका नगर सभापति भीम पराजुलीले टिकट पाए।
यदि अर्यालले खुलेर पारजुलीलाई सघाएनन् भने उनलाई जित निकाल्न कठिन हुने कांग्रेसीहरूनै बताउँछन्।
जम्मा १९ वडा भएको महानगरपालिकामा कूल १ लाख १२ हजार ८ सय ३२ मतदाता छन्।