फ्रान्सको पेरिसमा जारी ‘एयर शोमा’ पोर्चुगलको एयरलाइन्स कम्पनी हाइफ्लाईले दुईवटा एयरबस ‘ए३३०–२००’ अर्डर गर्यो। उक्त कम्पनीले अर्डर गरेका विमान नेपाल वायुसेवा निगमका लागि भएको नेपाली अधिकारीहरुले बताएका छन्।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले वाइड बडी विमान खरिदको लागि सम्झौता गरेको कम्पनीको मुख्य हिस्सेदार हाइफ्लाई पोर्चुगल भएको र उक्त कम्पनीले अर्डर गरेका विमान नेपाल वायुसेवा निगमकै लागि भएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए।
तर विमान निर्माता कम्पनी र अर्डरकर्ता कम्पनीले कहिकतै पनि नेपाल वायुसेवा निगमको लागि भनेर उल्लेख भने गरेका छैनन्।
एकहप्ता अगाडिमात्र आठ अर्ब नेपाली रुपैयाँ बैना पठाएको निगमले सोही रुपैयाँ पठाएपछिमात्र अर्डर स्वीकृत भएको र त्यो अर्डर निगमकै लागि भएको श्रेष्ठको भनाइ छ।
निगमले विमान खरिदको लागि जारी गरेको विश्वव्यापी टेन्डरमा अमेरिकी कम्पनी एएआर कर्पोरेशन छनौट भएको थियो। एएआरले स्पेशल पर्पोज भेहकल संस्थाको रुपमा हाई फ्लाई पोर्चुगलको अगुवाईमा हाइफ्लाई एक्स आयरल्यान्ड बनाइएको र उक्त संस्थाले विमान खरिद गर्ने श्रेष्ठले जानकारी दिए। सम्झौताको क्रममा विमान खरिदको प्रक्रिया हाइफ्लाई पोर्चुगिचले गर्ने यसअघि नै आफूहरुलाई जानकारी गराइएको श्रेष्ठले बताए।
हाइफ्लाई एक्स आयरल्यान्डमा हाईफ्लाई पोर्चुगिच, एएआर, जर्मन एभिएसन रहेका छन्। हाइफ्लाईले यसअघि नै अर्डर प्रस्तुत गरिसकेको भएपनि पैसा नपठाउँदा पास नभएको र निगमले ऋण सम्झौता गरेको, विदेशी मुद्राको अनुमति लिएको तथा सम्पूर्ण रकम पठाउने ग्यारेन्टी गरेपछि अर्डर पास भएको श्रेष्ठले जानकारी दिए।
निगमले युरोपेली विमान निर्माता कम्पनी एयरबसमा पुग्नेगरी जर्मनको नर्टनरोट फुलब्राइटको स्वामित्वमा रहेको इस्क्रो खातामार्फत पैसा पठाएको बताएको छ। पैसा प्राप्त गरेको भनेर कन्र्फमेशन इमेल उताबाट पठाइसकेको श्रेष्ठले जानकारी दिए।
निगमले विमान खरिदको लागि कर्मचारी संचय कोष र नागरिक लगानी कोषसँग समान १२ अर्ब रुपैयाँ ऋण लिने भएको छ। १५ वर्षमा तिर्नेगरी दुवै निकायसँग ऋण सम्झौता गरेको निगमले आधाआधा रकम लिएर पहिलो किस्ता पठाएको थियो।
गएको कात्तिकमा विमान किन्न प्रकाशित गरेको विश्वव्यापी टेन्डरमा एएआर कर्पोरेसनले एउटा विमानको १० करोड ४८ लाख अमेरिकी डलरको दरमा दुईवटा विमान उपलब्ध गराउने प्रस्ताव गरेको थियो। यसअनुसार निगमले दुईवटा विमान किन्न २१ अर्ब ५८ करोड नेपाली रुपैयाँ खर्चनुपर्ने छ।
एएआरले पोर्चुगलको हाइफ्लाई एयरलाइन्सको लागि भन्दै एयरबसमा अर्डर गरेको दुईवटा ‘ए३३०–२००’ सिरिजका नयाँ विमान उपलब्ध गराउने प्रस्ताव गरेको थियो। निगमले भने एक हजार घण्टासम्म उडेका विमान किन्न सकिने भन्दै टेन्डर आव्हान गरेको थियो।
खरिद सम्झौता अनुसार पहिलो वाइड बडी सन् २०१८ को मे र दोस्रो विमान जुनमा काठमाडौं आइपुग्ने छन्। निगमले दोस्रो किस्ता भने विमान आउनुभन्दा एक महिना अगाडि पठाउने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए।
विमा अर्डर भएपछि खरिद सम्झौतामा निगमले दिएको लिस्टअनुसार सिट, लेआउट निर्माणको प्रक्रिया सुरु हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए। तर यसअघि उत्पादन नम्बर नभएको भन्दै निगमले विना आधार सम्झौता गरेको अरोप लाग्दै आएको थियो। अर्डर नै नगरी उत्पादन नम्बर नहुने भन्दै कर्मचारी संचय कोषले ऋण सम्झौता गर्न आनाकानी गर्दै आएको थियो।
निगमले खरिद गर्ने जहाजमा २–२–२ फर्म्याटका ४० देखि ६० इन्चसम्मको पिच भएका १२ देखि १८ सम्म बिजनेस क्लास, २–४–२ फर्म्याटका ३० देखि ३६ इन्चसम्मको पिच भएका इकनोमिक क्लासका सिट सहित जम्मा २५० देखि २८० सम्म सिट हुनेछन्।
विमान आएपछि जापान कोरिया,अष्ट्रेलिया, सिंगापुर, ग्वान्जाउ उडान भर्ने निगमको तयारी छ। तर पहिलो वाइडवडीको पहिलो उडान भने कोरियाको इन्चोन एयरपोर्टमा गर्ने निगमले बताएको छ। हाल निगमले एउटा बोइङ र दुईवटा एयरबसबाट हप्तामा भारतका तीन शहरमा २०, हङकङ, बैंकक र क्वालालम्पुर ३र३ र दुबई,दोहामा ४÷४ वटा उडान गरी कूल ३७ वटा उडान भर्दै आएको छ।