नेपाल टेलिमकममा दुई वटा गुनासो सधैं आइरहन्छ, ‘एडिएसएलमा समस्या आयो’ र ‘सिडिएमएले टावर टिपेन।’ जति मर्मत गरे पनि फेरि समस्या आइपर्ने भएरै टेलिकमले ‘एडिएसएल इन्टरनेट’ र ‘सिडिएमए फोन’ लगायतका केही प्रविधिमा थप लगानी नगर्ने लक्ष्य लिएको छ।
तर टेलिकम र ग्राहक दुवै यस प्रविधिबाट व्याकुल हुँदा पनि एडिएसएल इन्टरनेट जोड्ने र सिडिएमए फोन लिनेको संख्या घट्नुको साटो वर्षेनि बढ्दै गएको छ।
तार वा अप्टिकलमा लगातार देखिने समस्या, सुस्त गतिको नेट चल्ने गुनासो तथा विश्वका अधिकांश राष्ट्रहरुबाट सिडिएमए प्रविधि ‘फेज आउट’ भइसकेको अवस्थामा समेत नेपालमा वर्षेनि ग्राहक बढिरहेको देखिन्छ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार २०७३ को फागुनमा एडिएसल इन्टनेटका ग्राहक संख्या १ लाख ८१ हजार पुगेको छ, जुन २०६८ मा ८१ हजार मात्र थियो। २०६८ देखि २०७३ सम्मको पाँच वर्षको अवधिमा एडिएसएल सेवा लिनेमा एक लाख ग्राहक थपिएका देखिन्छन्।त्यस्तै, २०६८ मा सिडिएमए प्रयोगकर्ताको संख्या ८ लाख ४८ हजार रहेकोमा २०७३ सम्म ६ लाख ३१ हजारले बढेर १४ लाख ७९ हजार पुगेको छ।
यस अवधिमै जिएसएम (मोबाइल फोन) प्रयोगकर्ताको संख्या भारी रुपमा वृद्धि भएको छ। २०६८ मा १ करोड ३३ लाख ६६ हजार संख्या रहेकोमा २०७३ मा ३ करोड १३ लाख ४६ हजार पुगेको छ।
२०६८ सालमा मोबाइल प्रविधि (जिएसएम र सिडिएमए) ५३ प्रतिशत जनसंख्यामा पुगेकोमा हाल बढेर १२३ प्रतिशतमा पुगेको छ। मोबाइल प्रयोगकर्ता जनसंख्याभन्दा धेरै देखिँदा ल्याण्डलाइन, एडिएसएल तथा सिडिएमए प्रविधिलाई कुनै पनि प्रभाव परेको देखिँदैन।
मोबाइल फोनले फिक्स्ड टेलिफोनलाई छ वर्षमा केबल ३ प्रतिशत हिस्सामा खुम्चाइराखे पनि फिक्स्ड टेलिफोन (पिएसटिएन र डब्लुएलएल फोन) तथा सिडिएमए का ग्राहक भने घटेका छैनन्।
नेपाल टेलिकमले सिडिएमए, फिक्स्ड ल्याण्डलाइन, एडिएसएल, डायलअप लगायतका पुरानो प्रविधिलाई आवश्यक उपकरण नै पाइन छाडेको तथा विश्वका अधिकांश देशबाट विस्थापित भइसकेकाले यसमा थप लगानी नगर्ने र क्रमिक रुपमा बन्द गर्ने योजना बनाएको छ। यद्यपी ग्राहक संख्या बढ्दै गएपछि यसमा सामान्यः सुधार गर्न टेलिकम लागिपरेको छ।
डाटा वा इन्टरनेटको बजारमा जिपिआरएस पश्चात सिडिएमए आइएक्स, इभिडियो र एडिएसएलको मुख्य बजार हिस्सा रहेको छ।
अहिले पनि धेरै स्थानमा इन्टरनेटको सेवामा अन्य विकल्प नहुनु तथा तुलनात्मक रुपमा सस्तो हुनाले पनि एडिएसएललाई हटाई हाल्ने अवस्था नरहेको टेलिकमका सहप्रवक्ता सोभन अधिकारी बताउँछन्।
टेलिकमले हाल ल्यान्डलाइन सेवाको पुरानो टिडिएम प्रणालीलाई रुपान्तरण गरिरहेको छ। यसको लागि टिडिएम माइग्रेसन आयोजना संचालन गरिरहेको टेलिकमले एक्स्चेन्ज सेन्टरहरुबीचको दुरी घटाउने, पुरानो तारलाई प्रतिस्थापन गर्ने जस्ता कार्यक्रमहरु संचालन गरिरहेको छ।
हाल औसत ७ किलोमिटरको दुरीमा रहेका त्यस्ता सेन्टरको कारणले एडिएसएल तथा भ्वाइसको गुणस्तर राम्रो नभएकोले यो आयोजना संचालन गरिएको अधिकारीले जानकारी दिए। आइएमएस प्रणालीमा आधारित प्रविधि जडान गरी अप्टिकल फाइबर पनि सँगै विस्तार हुँदै जानेछ। तर सेवा प्रभावित नहुनेगरी फेजवाइज हिसाबले संचालन हुने भएकोले केही समय लाग्ने अधिकारीले बताए।
यसरी नयाँ प्रविधिमा रुपान्तरण भएपछि एडिएसलको अधिकतम ब्यान्डवीथ क्षमताको उपयोग गर्न सकिने र त्यसबाट उपभोक्ताहरुले लाभ लिने टेलिकमको विश्वास छ। हालका तारहरु पुराना भएको र त्यस्ता ठाउँमा नयाँ राख्ने, पहिलेको भन्दा गुणस्तरीय राख्ने र सँगै अप्टिकल पनि राखिने टेलिकमले जनाएको छ। जहाँ उपभोक्ताले आफ्नो रुची अनुसारको छनौट गर्न पाउनेछन्।
सुधार आयोजना देशभर एकपटक चालु रहेकोले अहिले सम्पन्न भएका केही ठाउँमा परिणाम पनि देखिएको उनले बताए। केही समयभित्र एडिएसलमा धेरै सुधार आउने अधिकारीको भनाइ छ। टेलिकमले जति भन्छ त्यति नै इन्टरनेट दिने र अन्यको तुलनामा धेरै सस्तो भएकोले उपभोक्ताहरुलाई इन्टरनेटको मज्जा एडिएसएलले दिने उनले बताए।
तर टेलिकमको सबैभन्दा बढी फोकस भने अप्टिकलमै हुने देखिएको छ। उसले हालको सबै संजालमा केवलसँगै अप्टिकल पनि विस्तार गर्ने जनाएको छ। प्रत्येक स्थानमा ब्यान्डवीथको आवश्यकताअनुसार अप्टिकल वा केवल जेसुकैको पनि सेवा लिन सक्नेगरी पुर्वाधारमा लगानी गर्ने योजना टेलिकमको छ।
इन्टरनेटको विकासमा मुलुकले मारेको फड्को र २०६५ मा केबल ०.४० प्रतिशत जनसंख्या इन्टरनेटसँग जोडिएकोमा २०७३ सम्मको ९ वर्षको अवधिमा ५०.०८ पुग्नु तथा करिब १३० प्रतिशत फोनको पहुँचमा पुग्नुमा एडिएसएसएल तथा सिडिएमएको भूमिका महत्वपूर्ण रहेको टेलिकमले जनाएको छ।