साहित्यकार डा मोदनाथ प्रश्रितले साहित्यकारले तराई– पहाड र हिमाल जोड्नसक्ने सिर्जना गर्नुपर्ने बताएका छन्।
उनको ७६ औं जन्मोत्सवका अवसरमा ‘प्रश्रित प्रतिष्ठान’ उपत्यका शाखाले आयोजना गरेको शुभकामना एवम् सांस्कृतिक परिचर्चा कार्यक्रममा साहित्यकार प्रश्रितले संस्कृतिविद् सत्यमोहन जोशी विचारक, चिन्तक र साधक भएकाले उनका कृतिले मुलुकका सबै संस्कृति र भावनालाई समेट्न सकेको र त्यसभित्रका अन्तरसम्बन्ध र अन्तर कलहबारे मेहिन विश्लेषण गरी समाजले सिक्नुपर्ने सन्देश दिएको बताए।
साहित्यकार प्रश्रितले विज्ञानको क्षेत्रमा काम गर्नेलाई समाजले विश्वकर्मा, कामी र सार्की भनेर अछुत व्यवहार गरेको देखेर आफूले त्यसैबाट प्रेरणा लिएर साहित्य सिर्जना गरेको बताए।
उनले देव र दानवका कथाका नाममा समाज ग्रस्त भएकाले मृत्युपछि स्वर्गमा पुग्ने बाटो तय गर्नमा बढी ध्यान हुने विसङ्गत चिन्तनका कारण समाजमा प्रगति हुन नसकेका बारेमा आफूले देवासुर सङ्ग्राममाम उल्लेख गरेको बताए।
समाज पछ्यौटे र शासन व्यवस्था सामन्ती निरङ्कुश भएको समयमा प्रश्रितका कृतिले सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको सहभागीहरुले बताए। प्रश्रितका ‘मानव’, ‘देवासुर सङ्ग्राम’, ‘नारी बन्धन र मुक्ति’, ‘जीवाणुदेखि मानवसम्म’, ‘आमाका आँशु’ आदि लोकप्रिय कृति छन्।
समालोचक प्रा राजेन्द्र सुवेदीले अग्लो परैबाट देखिन्छ, माथिबाट केही खस्यो भने अग्लोमैपर्छ भने झैँ प्रश्रित असल सिर्जनाबाट उचाइ प्राप्त व्यक्ति भएकाले केही कमजोरी भएमा पनि उनकै टाउकामा खस्ने टिप्पणी गरे।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले समाजलाई सही बाटोमा लान सन्देश दिने प्रश्रितका कृति अमूल्य भएको बताए।
अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष डा ईश्वरचन्द्र ज्ञवालीले प्रश्रितले साहित्यका विविध विधा र सांस्कृतिक रुपान्तरणका क्षेत्रमा योगदान दिएको बताए।
सो प्रतिष्ठानका उपत्यका शाखाका अध्यक्ष प्राडा कृष्णप्रसाद घिमिरे प्रश्रितका कृति र व्यक्तित्वलाई देशव्यापी बनाउन सकिए सामाजिक रुपान्तरणमा टेवा पुग्ने बताए। रासस