ललितपुरको लगनखेलबाट धर्म प्रचार गरिरहेको आरोपमा अमेरिकी नागरिक पक्राउ परेका छन्।
सोमबार राति अध्यागमन विभागको टोलीले इसाई धर्म प्रचार गरिरहेको आरोपमा अमेरिकी नागरिकलाई पक्राउ गरेको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।
पक्राउ पर्नेमा डानियल एस कोरनी छन्।
उनी सन् २०१५ देखि नै नेपाल आउ जाउ गरिरहेका थिए। पछिल्लो समय ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए।
लगनखेलको बसपार्कमा उभिएर उनले बाइबल पढेर इसाई धर्मको प्रचार गरिरहेको भिडिओ विभागको टोलीले पाएको थियो।
उक्त भिडिओ पाएपछि विभागले पक्राउ गर्न टोली पठाएको थियो।
महानिर्देशक तिवारीले उनीमाथि अनुसन्धान गरिरहेको बताए। अनुसन्धानपछि नेपाल फर्किन नपाउने गरी डिपोर्ट गर्न सकिने उनले बताए।
विभागका प्रवक्ता टिकाराम भट्टराईका अनुसार डानियल सुरूमा पर्यटक भिसामा आएका थिए। तर पछि उनले पटकपटक भिसा परिवर्तन गरेको देखिएको थियो।
‘सुरूमा पर्यटक भिसामा रहेका उनी कहिले विजनेश भिसामा, कहिले स्टडी भिसामा बसेको पाइएको छ,’ ढकालले भने, ‘भैँसेपाटीमै नेपालीहरूसँग मिलेर बालगृह पनि चलाइरहेको र पब्लिकेशन्स पनि चलाइरहेको पाइएको छ।’
भैँसेपाटीस्थित मन्त्री निवासबाट दुई सय मिटर दुरीमा रहेको एउटा पाँच तले भवनको सबैभन्दा माथिल्लो तलामा आफू बस्ने र तल्लो तलामा बालगृह सन्चालन गर्ने अमेरिकी नागरिक कर्नीसँग अरू अमेरिकी पनि सहभागी रहेको अध्यागनको भनाइ छ।
उनीसहितले सन्चालन गरेको बालगृहमा मुगु लगायतका जिल्लाबाट ल्याइएका २० जना बालबालिका रहेको र उनीहरू मार्फत इसाइ धर्म प्रचार गरेको पाइएको विभागको भनाइ छ।
‘बालबालिका प्रयोग गरेर बाइबल बाँड्ने, पर्चा, पोस्टरहरु टाँस्ने काम गरेको पाइएको छ,’ उनले भने ‘विश्वभाषा क्याम्पसमा पढ्न भन्दै भर्ना भएका उनले पढाइ पनि पूरा नगरेको देखिएको छ।’
उनीसँगै अरु थप दुई जना अमेरिकी नागरिक पनि त्यस्तै कार्यमा संलग्न रहेको पाइएको र उनीहरुको पनि खोजी भइरहेको अध्यागमन विभागले जानकारी दिएको छ।