कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा टक्कर देखिएको छ। कांग्रेस उम्मेद्वार भन्दा एमालेका मेयर उम्मेद्वार रुपेशकुमार श्रेष्ठ मात्र ११० भोटले अगाडि छन्। श्रेष्ठले ९६१२ मत प्राप्त गरेका छन्।
गणना अन्तिममा पुगेको र वडा नं ६ को आधा गणना सकिदाँ श्रेष्ठलाई कांग्रेस उम्मेद्वार केशव श्रेष्ठले पछ्याइरहेका छन्। केशवले ९५०२ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेको वडामा मधेसी समुदायको बाक्लो उपस्थिति छ। त्यसैले त्यहाँको मत विभाजित भए एमाले उम्मेद्वार जित्ने सम्भावना छ। मधेस केन्द्रीत दलले कांग्रेसको भोट काटेको अवस्थामा एमालेले बुद्धभूमीमा जीत हात पार्नेछ। साथै मत कांग्रेस तर्फ आउने सम्भावना उत्तिकै छ। कांग्रेसले मधेसी सेन्टिमेन्टको भोट पाउने सम्भावना छ। दुवै पार्टीले उपमेयरमा थारु उम्मेद्वार अगाडि सारेका छन्। मधेसी र थारु समुदायको भोट आकर्षित कता हुन्छ त्यसका लागि मतपरिणाम कुर्नुपर्ने छ।
उपमेयरमा भने कांग्रेस उपमेयर उम्मेद्वार अगाडि छिन्। कांग्रेसकी मिरा थारुले ९४६३ मत पाएकी छिन्। एमालेकी मञ्जु चौधरीले ९२४९ मत ल्याएकी छिन्। मतपरिणाम आज साँझसम्म आउने निर्वाचन अधिकृत प्रविण पौडेलले बताए।