अमेरिकाको टेक्सासमा भीषण वर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ८१ पुगेको छ।
शुक्रबार भारी वर्षा पछि ग्वाडेलुप नदीमा आएको बाढीमा परी हालसम्म ४० जना महिला, १२ पुरुष र २८ बालबालिकाको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी मिडिया सिएनएनका अनुसार बाढीमा अझै ४१ जना बेपत्ता छन्।
टेक्सासको केर काउन्टीस्थित ग्वाडेलुप नदी किनारमा रहेको क्याम्प मिस्टिकमा यो साता सैयौं छात्रा र उनीहरूको अभिभावक ग्रीष्मकालीन शिविरमा सहभागी थिए। क्याम्प मिस्टिकमा ग्वाडेलुप नदीको बाढी पस्दा त्यहाँ रहेका छात्रा, प्रशिक्षक, कर्मचारीको मृत्यु भएको छ।
शिविरमा सहभागी भएका २८ छात्राहरुको मृत्यु भएको बिबिसीले जनाएको छ। शिविरकै १० जना छात्रा अझै हराइरहेका छन्। एक छात्रालाई बचाउने क्रममा शिविरका निर्देशक डेक इस्टल्याण्डको पनि मृत्यु भएको छ।
मृत्यु भएकामध्ये ६८ जना केर काउन्टीका छन्। जसमा शिविरका बालबालिकासहित त्यहाँका स्थानीय पनि छन्।
बाढीमा परी ट्राविस काउन्टीमा ६ जना, बर्नेट काउन्टीका ३ जना, केन्डल काउन्टीमा २ जना, विलियमसन काउन्टीका २ जना र टम ग्रीन काउन्टीमा एक जनाको मृत्यु भएको सिएनएनले जनाएको छ।
मानिसहरू घरमा सुतिरहेको बेला बाढी आएका कारण धेरै जनधनको क्षति भएको हो। अधिकारीहरूले बाढीको पूर्वसूचना समयमै नदिएका कारण पनि ठूलो क्षति भएको हो।
टेक्सासको आपतकालीन व्यवस्थापन विभागका प्रमुख ड्यान मिलरले भने, 'हामीले धेरै ढिलो चेतावनी पठायौँ। बाढी धेरै छिटो आयो र मध्यरातमा सबै अन्धकारमा थिए। यति ठूलो क्षति हुनुमा प्राकृतिक आपदा मात्र होइन, हाम्रो अलिकति ढिलाइका कारण पनि हो।'
बाढीपछि टेक्सास नेशनल गार्ड, हवाई उद्धार टोली र स्थानीय स्वयंसेवकहरूले संयुक्त रूपमा खोजी गरिरहेका छन्। दर्जनौँ हेलिकप्टर, डुंगा र डुब्दै गरेका सवारीसाधनको सहायतामा उद्धार कार्य चलाइएको छ। हालसम्म २३० भन्दा बढी मानिसहरूलाई सकुशल उद्धार गरिएको छ।
उद्धारकर्मीहरू हिलो र भग्नावशेषबीच खोजी गरिरहँदा विषालु सर्पहरूको खतरासमेत सामना गरिरहेको बिबिसीले जनाएको छ।
त्यो क्षेत्रमा आगामी चौबीसदेखि ४८ घन्टाभित्र भीषण वर्षा हुने र बाढी आउने पूर्वसूचना पनि जारी गरिएको छ।
तस्बिरहरूः























सबै तस्बिरः सिएनएन