पश्चिम नेपालका आदिवासी थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमियाका बिरामीहरुको पहिचान र उपचारलाई प्रभावकारी बनाउन बाँकेकोे बैजापुर र टिटिहिरियामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
सिकलसेल एनिमियाका बिरामीहरुमा हात खुटटा र शरीरका जोर्नी दुख्ने , रगतको कमी हुने जस्ता लक्ष्यण देखिन्छ। यो बंशाणुगत रोग हो।
सिकलसेल एनिमिया रोग लागे पनि जनचेतनाको कमी तथा आर्थिक अभावका कारणले उपचार सेवा पाउन नसकेका बिरामीहरुको पहिचान गरी उनीहरुलाई निःशुल्क उपचार सेवा पुराउने उद्देश्यले शिबिर आयोजना गरिएको हो।
शिविरमा सिकलसेलका बारेमा जानकारी दिनुका साथै ४ सय ५० जनाको स्वास्थ्य परीक्षण गरि रगतको नमुना संकलन गरिएको छ।
सिकलसेल एनिमिया रोग भए नभएको एकिन गर्नका लागि रगतको परीक्षण गर्नुपर्ने भएकाले रगतको नमुना संकलन गरिएको हो। रगतको परीक्षण पछि सिकलसेल भए नभएको एकिन गर्न सकिने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक राम बहादुर चन्दले बताए।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले बैजापुर र टिटहरियामा आयोजना गरेको शिविरमा ५ वर्षका बालबालिकादेखि ७० वर्षका जेष्ठ नागरिकले सिकलसेल एनिमियाको परीक्षण गराएका थिए।
एक अध्ययन अनुसार थारु समुदायको कुल जनसंख्याको करिब १० प्रतिशतमा सिकलसेल एनिमिया सम्बन्धी समस्या देखिएको छ।
सरकारले सिकलसेलका एक जना बिरामीको उपचारका लागि १ लाख रुपैया उपलब्ध गराउँदै आएको छ।
नेपालगन्जको भेरी अंचल अस्पतालमा सिकलसेल भएका बिरामीहरुले निःशुल्क स्बास्थ्य चेक जाँच, परीक्षण तथा औषधी पाउदै आएका छन्।
हाल सम्म ३ सय ५० जना भन्दा बिरामीहरुले भेरी अंचल अस्पतालबाट निःशुल्क उपचार सेवा पाई रहेका छन्।