मुसलिम देश साउदी अरबमा लामो समयदेखि महिलाहरुलाई खेल मैदानमा गएर खेल्न अनुमति छैन्। तर, त्यो नियम परिवर्तन हुँदैछ। अब महिलाहरुले स्कुलको मैदानमा कुनै पनि खेल खेल्न सक्छन्।
साउदीमा असम्भव झै लागेको यो नियम परिवर्तन हुनुमा एउटा रोचक तथ्य जोडिएको छ। साउदीको ६५ प्रतिशत महिलामा मोटोपनाको समस्या छ। यसैकारण शिक्षा मन्त्रालयले आफ्नो आगामी शैक्षिक सत्रमा सबै सरकारी स्कुलमा केटीहरुका लागि शारीरिक शिक्षा (फिजिकल एजुकेशन) अनिवार्य लागु गर्ने भएको छ।
साउदीमा महिलाहरु लामो समयदेखि आफ्नो खेल्न पाउने अधिकारी सुनिश्चित गर्न सरकारसँग माग गर्दै आइरहेका थिए। तर, इस्लाम शरिया कानुनलाई पछ्याएको साउदी सरकार महिलाको खेल अधिकारप्रति उदासिन रहँदै आएको थियो। जसका कारण यहाँका महिलाहरु शारीरिक गतिविधिमा कम समय विताउँथे। यसले उनीहरुको शरीर अनावश्यक बढेको अध्ययनले देखाएको छ।
साउदीको १३ प्रतिशत व्यक्ति मात्र साताको एक दिन ब्यायाममा जाने गर्छन्। सरकारको नयाँ लक्ष्य छ, यसलाई बढाएर ४० प्रतिशत पुर्याउने। यसका लागि सरकारले भिजन २०३० नै लागु गरिसकेको छ।
साउदीले सन् २०१२ को लन्डन ओलम्पिकबाट खेलकुद प्रतियोगितामा महिला खेलाडी समावेश गर्न थालेको हो। उसले २०१६ को रियो ओलम्पिकमा ४ महिला खेलाडी सहभागी गराएको थियो।
साउदीमा महिलाहरुले सार्वजनिक स्थलमा हिड्दा पुरै शरीर ढाकिएको लुगा लगाएर हिड्नु पर्ने नियम छ।