कुइरेको डायरी
२०५४ भदौ २० गते। त्यो दिन सबेरै उठेर हामी चाबहिलबाट न्यूरोड जाने बस चढ्यौं। हामी भन्नाले म, राजु र गणेश। राजु र गणेश दाजुभाइ हुन्। उनीहरू दुवै मेरो होस्ट हाउसमै काम गर्थे। उमेरमा मभन्दा ३-४ वर्ष कान्छा होलान्। होस्ट हाउसमा सँगै बस्ने भएकाले हामी साथीजस्तै भइसकेका थियौं।
काठमाडौंमा बस चढ्नुको मज्जा बेग्लै हुन्थ्यो। त्यतिखेर 'टुरिस्ट'हरू बस चढेको आक्कलझुक्कल मात्र देख्थेँ। सार्वजनिक बसहरू पर्यटकका लागि हुँदै होइनन् भनेर 'काठमाडौं पोस्ट'मा एउटा लेख नै छापिएको थियो। म यसमा बिल्कुल असहमत थिएँ।
बसमा पुरुषहरूले सयौं किलो तरकारी खर्पनमा बोकिरहेको देख्थेँ। महिलाहरू काखमा बच्चा राखेर निर्धक्क दूध चुसाइरहेका हुन्थे। एउटै मान्छेले हातमा तीनवटासम्म भाले च्यापेर आनन्दले उभिएको पनि मैले देखेँ। यस्ता दृश्य हामीजस्ता विदेशीले विरलै देख्न पाएका हुन्थ्यौं। यी दृश्यमा काठमाडौंको रङ देख्न पाइन्थ्यो। एउटा जीवन्त रङ।
काठमाडौंको बसमा तीन जना प्रमुख पात्र हुन्थे। एक जना गाडी हाँक्ने, जसलाई प्रायः 'गुरुजी' भनिन्थ्यो। अर्को पैसा बटुल्ने र फिर्ता दिने। अनि अर्को पात्र ढोकाछेउ बसेर चिच्याउँदै गन्तव्यबारे जानकारी दिने। तेस्रो पात्र प्रायः फुच्चे केटा हुन्छ। ऊ बसमा को पस्यो वा ओर्लियो भनेर निगरानी राख्छ। बस हुइँकिने बेला र यात्रु झर्ने बेला ढोका ढ्याङढ्याङ गरेर सिठ्ठी बजाउनु पनि उसको काम हो।
काठमाडौंमा गुरुजीहरू बेस्सरी गाडी हुँइक्याउँछन्। गाडी चढ्दा बेला-बेला मेरो सातो जान्थ्यो। सातो गएको एउटा घटना म सुनाउँछु।
एकदिन म, मेरो साथी एम्मा र टरेसी ट्याक्सीमा यात्रा गर्दै थियौं। म अगाडिको सिटमा बसेको थिएँ। चालकले यस्तरी ट्याक्सी चलाउँदै थियो, लाग्थ्यो ऊ पागल भइसक्यो। टरेसी र एम्मा एकअर्काका हात च्याप्प समातेर 'ड्राइभ स्लो, ड्राइभ स्लो' भन्दै चिच्याइरहेका थिए। चालकले भने सुने-नसुन्यै गर्यो।
हुनु के थियो, ट्याक्सीले एउटा बालकलाई ड्याम्मै हानिदियो। बच्चालाई केही भयो कि भनेर आत्तिनुको सट्टा उल्टै बच्चालाई गाली गर्यो र ट्याक्सी हुइँक्यायो। त्यतिन्जेल टरेसी, एम्मा र म बेकाबु भइसकेका थियौं। हामीले चालकमाथि रिस फेर्न ट्याक्सीबाट ओर्लिने निर्णय गर्यौं।
संयोग कस्तो भने, त्यही दिन हाम्रो साथी गेभलाई पनि मोटरसाइकलले हानेको रहेछ। उसलाई त्यतिविधि चोट लागेको थिएन, तर ऊ नमज्जाले डराएको थियो। त्यही साँझ मैले नेपालीमा 'विस्तारै ट्याक्सी चलाउनुस्, नत्र म ओर्लिन्छु' भन्न सिकेँ। हरेकपल्ट ट्याक्सी चढ्नैबित्तिकै म यही वाक्य चालकलाई भन्थे, जुन आजसम्म छुटेको छैन।
अब त्यही दिनको कुरा सुनाउँछु। गणेश, राजु र म बसबाट ओर्लेर न्युरोड पुग्यौं। राजु विशालबजार जान हतारियो। नेपालमा 'एस्केलेटर' भएको एउटै मात्र सपिङ मल त्यही थियो। एस्केलेटरमा एउटा परिवार तलमाथि गरेको गर्यै थियो। उनीहरू अलिकति आत्तिएका र अलिकति हतास देखिन्थे। तर अत्यन्त रमाइरहेका थिए भन्न सकिन्थ्यो। सायद उनीहरू सहरभित्रका थिएनन्। उनीहरूको लवाइ काठमाडौंकाहरूको भन्दा अलि बेग्लै थियो।
राजु र गणेश पनि एस्केलेटर चढ्न हौसिए। राजु दंग परेर चढ्यो र मलाई फोटो खिच्न लगायो। फोटो खिच्न पर्याप्त उज्यालो थिएन। अहिलेजस्तो म्यानुअल डिजिटल क्यामरा पनि थिएन। त्यसैले एस्केलेटरमा रमाउँदै गरेको राजुको फोटो धमिलो आयो। उता राजु भने पोज दिएको दियै।
पछि ऊ हतारहतार म भएतिर आयो। आफ्ना फोटा हेर्न निकै उत्सुक थियो। अघि धपक्क बलिरहेको उसको उज्यालो अनुहार एक्कासि अँध्यारो भयो। मेरो क्यामरामा कैद भएका उसका 'ब्ल्याक एन्ड ह्वाइट' फोटाले उसको मन खिस्रिक्क बनाएको थियो। त्यो दिनदेखि उसले मलाई कहिल्यै फोटो खिचिदेऊ भनेन।
विशालबजार घुमेर निस्केपछि हामी एउटा सानो गल्लीमा पस्यौं। त्यहाँ एउटा ठूलो ढुंगामाथि थरीथरी रङका 'ब्रा' सजाएर राखिएका थिए। राजुले अत्यन्त उत्साहित भएर मलाई 'त्यो के हो र कसरी प्रयोग गर्ने' भनेर सोध्यो?
मैले भनेँ, 'यी महिलाहरूले लगाउने भित्री वस्त्र हुन् जसलाई ब्रा भनिन्छ।'
टुटेफुटेको नेपालीमा मैले सकेसम्म बुझाउने गरी भनेकाले उसले राम्रैसँग बुझेको अनुमान गरेँ।
एकैछिनपछि उसले लजाउँदै भन्यो, 'मेरो त गर्लफ्रेन्ड छ नि!'
राजुको त्यो स्वीकारोक्ति मेरो लागि 'सरप्राइज' थियो। कसरी सम्भव हुनसक्छ? ऊ त्यति बाहिर हिडँडुल गर्दैन थियो। कहिल्यै केटीको कुरा गरेको पनि थाहा थिएन।
सोधिहालेँ, 'गलफ्रेन्डको नाम के हो?'
राजुको अनुहार लाजले रातोपिरो हुँदै थियो। ऊ यति लजाएको थियो, शिर निहुराएर भुइँमा हेरेको हेर्यै भन्यो, 'मलाई थाहा छैन। हामीले एकअर्कासँग बोलेका पनि छैनौं।'
'लौ! त्यसो भए बोल्दै नबोलेको केटी गर्लफ्रेन्ड कसरी भयो त?'
राजुले मुसुक्क हाँस्दै भन्यो, 'म उसलाई हेर्छु, ऊ पनि मलाई हेर्छे। हामी एकअर्कासँग आँखा जुधाउँछौं। ऊ नै मेरो गलफ्रेन्ड हो।'
'कहिलेकाहीँ त फर्कीफर्की हेर्छे,' उसले थप पुष्टिसहित जवाफ फर्कायो।
'मैले पनि काठमाडौंमा धेरै केटीहरूलाई हेरेको छु। उनीहरू पनि मलाई फर्कीफर्की हेर्छन्। के ती सबै मेरा गलफ्रेन्ड भए? ल राजु भन, ती सबै महिला गन्ने हो भने त मलाई नेपाल सरकारले देशै निकाला गरिसक्थ्यो होला नि है,' हामी गललल हाँस्यौं।
हाँसो ठट्टासँगै हामी असनतिर चहार्न थाल्यौं। राजुले आफ्नी बहिनीका लागि कुर्तासलवार किन्ने भन्यो। हामी एउटा कपडा पसल छिर्यौं। पसलेले सबै ६-७ सयभन्दा महँगा कपडा देखाए। राजुसँग ३ सय ५० रुपैयाँ मात्र थियो। म अचम्म परेँ, उसले कसरी किन्ला भनेर।
अझ अनौठो कुरा त, पसलेले राजुलाई हैन, मलाई हेर्दै मोलतोल गरिरहेको थियो। त्यो पनि अंग्रेजी भाषामै। मानौं पैसा राजुले हैन, मैले दिनुपर्ने हो। मलाई एकदम असहज लागिरहेको थियो। पसले पनि घरिघरि मलाई हेर्दै 'तपाईंको सामान प्याक गरिदिऊँ' भनेर दोहोर्याइरह्यो।
सायद राजु चाहन्थ्यो, मैले उसको बहिनीका लागि कुर्तासलवार किन्दिऊँ। त्यसैले उसले मलाई न्युरोड घुम्न जाऊँ भनेर जिद्दी गरेको थियो। उसले कुर्तासलवार किनेरै छाड्यो। मैले नपुग रकम दिएँ। मेरो गोजीमा पनि धेरै पैसा थिएन।
घर फर्किने बेला मैले बाटोमा गुडिरहेको टेम्पोको बम्परमा एउटा बुट झुन्डिएको देखेँ।
राजुले भन्यो, 'यसरी गाडीमा एउटा मात्र चप्पल, जुत्ता झुन्ड्याउनु भनेको चालक थुप्रै दुर्घटनामा परिसक्यो भनेर बुझाउन हो। यस्ता बुट पुलिसले बाटोमा हिड्नेहरूलाई सतर्क गराउन पनि झुन्ड्याएका हुन्छन् रे!'
बुटको यस्तो राज थाहा पाएर म छक्क परेँ। मैले पछि प्यामलाई त्यो कुरा सुनाएँ। तर प्यामले फरक कारण बताइन्। त्यस्ता जुत्ताहरू चालकले दुर्घटना नहोस् भनेर राख्छन् रे।
काठमाडौंका अधिकांश पसलका ढोका र दलिनमा कागती र खुर्सानीका माला झुन्ड्याएर राखेको पनि प्रशस्तै देख्न पाइन्थ्यो। त्यो उनीहरूको व्यवसायमा अरूको आँखा नलागोस् भनेर 'शैतानी दृष्टि' बाट बचाउन झुन्ड्याएको रे।
जेहोस् हामी पाँच घन्टा डुलेपछि चाबहिलको होस्ट हाउस अर्थात् घर फर्कियौं। घरकी हजुरआमाले मलाई पूजाको प्रसाद खान दिनुभयो। त्यसअघि मैले कहिल्यै यस्तो प्रसाद खाएको थिइनँ। त्यसैले प्रसाद कसरी खाने भनेर रनभुल्ल परेँ।
नेपालमा हरेक खानेकुरा खाने फरक शैली हुन्छ। मैले खाएको तरिकाले कसैलाई चोट नपुगोस् भन्ने चाहन्थेँ। मैले प्रसाद ढोगेर दाहिने हातले खाएँ। प्रोगाम हाउसमा गुरुहरूले भनेका थिए, 'खानेकुरा, सामान कहिल्यै देब्रे हातले लिनु र दिनु हुँदैन। सधैं दाहिने हात प्रयोग गर्नुपर्छ।'
देब्रे हातले खानुहुन्न भनेर मैले त्यहीँबाट सिकेँ। त्यस्ता धेरै नेपाली चलन मैले आफूमा समेटेको छु। भान्छामा काम गर्ने बेला श्रीमतीलाई कहिल्यै सोझै हातमा खुर्सानी दिन्नँ। यसरी हातमा खुर्सानी दियो भने लिने-दिनेको झगडा पर्छ रे! श्रीमती 'केही हुन्न, हातमै दिनुस्' भन्छिन्। म श्रीमतीसँग झगडा गर्ने जोखिम किन मोलूँ!
प्रसाद खाएपछि म शौच गर्न गएँ। अचम्मको कुरा के भने, २२ वर्ष अगाडि नै मेरो होस्ट हाउसमा पश्चिमा शैलीको शौचालय थियो। अझ ट्वाइलेट पेपर पनि राखिन्थ्यो, त्यो पनि गुलाबी रङको। नेपालीहरू त शौच गर्दा कागज प्रयोग गर्थेनन्। बाल्टिनमा पानी र लोटा नेपालीको शौचालयमा अनिवार्य हुन्छ।
पश्चिमा शैलीको शौचालयमा शौच त गरेँ, फ्लसले काम गरेन। जतिसुकै कोशिस गरे पनि काम गरेन। केही सीप नलागेपछि मैले जुक्ति लाएँ। नेपालीहरूको शौचालयमा धारा र बाल्टिन त पक्कै हुन्छ। बाल्टिन थापेर पानी भर्दै खन्याउँदै फ्लस गर्ने भएँ। तीस बाल्टिन पानी खन्याएँ होला, फ्लस भएन। मैले विभिन्न तरिका र कोणबाट पानी खन्याएँ, भएन।
होस्ट हाउसमा बस्न थालेको दुई साता पनि भएको छैन। घरकाले मैले फ्लस बिगारेको ठान्ने हो कि भन्ने मनमा कत्रो डर थियो। मैले सबै नियालेँ, केही बिग्रेको थिएन। आधा घन्टादेखि म त्यही फ्लसमा अल्झिएर ट्वाइलेटमा कैद भएर बसेँ। रिसको झोंकमा मुड्कीले फ्लसमा जोडले हिर्काएँ। तुरुन्तै पानी ह्वाललल बगेर फ्लस भयो। पानीको फोहोरा यस्तो जोडले बगेको थियो, पानी कताबाट कसरी गयो थाहै पाइनँ। जे होस्, मेरो मुड्कीले जादू गरिदियो।
पानीको फोहोराले मेरो शरीर निथ्रुक्कै भिजेको थियो। म नुहाउन थालेँ। शरीरमा साबुन दलेर पखाल्न खोजेको त पानी नै सकिइसकेछ। मैले तीस बाल्टिन पानी फ्लस गर्न हालेको थिएँ नि, त्यसैले सकियो होला।
यसैबीच धाराबाट पानी चुहिएर बाथरुम पनि जलमग्न भइसकेछ। पानी बाहिर निस्कियो भने सिधै हजुरआमाको कोठामा जान्छ। अघि भर्खर माया गरेर मलाई पहिलोपटक पूजाको प्रसाद दिनुभएको थियो। उहाँको कोठा भिज्यो भने मलाई कहिल्यै माफ गर्नुहुने छैन। साबुनसहितको शरीर अब म कसरी पखालूँ। सोच्दा सोच्दै म थाकेँ।
गर्न के नै सक्थेँ र! चुहिएको धारा बेस्सरी बन्द गरेँ। नुहाएर फेर्न ल्याएको टिसर्टले भुइँको पानी पुछ्दै सफा गरेँ। 'सिन्क'मा पानी थाप्दै टाउको र जिउको साबुन पखालेँ। अनि पाइन्ट र गन्जी मात्र लगाएर हतारहतार बाथरुमबाट निस्केर आफ्नो कोठा पसेँ।
मेरो विजोग त भएकै थियो, जे होस् पानी बगेर हजुरआमाको कोठामा जान पाएन, त्यसैमा सन्तोक भयो।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)