सोसल मिडिया बहस
म राष्ट्रिय सभा सांसद भएको दुई वर्ष पुग्दैछ। सांसद भएपछि मैले सामाजिक सञ्जाल प्रयोगमा फरक महशुस गरें। पहिले धेरैजसो स्टेज कार्यक्रमबारे फेसबुकमा पोस्ट गर्थें भने अहिले संसदमा भएको गतिविधि, राजनीतिक गतिविधि पोस्ट गर्छु।
अर्को कुरा सांसद भएपछि फोटो र स्टाटसमा लाइक र कमेन्ट पनि घटेको छ। पहिले गीतसंगीतमा बढी सक्रिय हुँदा वा रेडियो नेपालमै काम गर्दा पनि लाइक र कमेन्ट धेरै आउँथ्यो।
अहिले सामाजिक सञ्जालमा राजनीतिक लेख बढी हेर्छु। कहिलेकाहीँ अरूले लेखेका स्टाटसले पनि मलाई छुन्छ।
सामाजिक सञ्जालमा म एक्टिभ नै छु। फेसबुक, ट्वीटर, इन्स्टाग्राम चलाउँछु। टिकटक पनि छ। सांसद हुनु अगाडि नै टिकटक बनाएकी थिएँ।
टिकटक पनि राम्रो माध्यम हो। एकैछिन भए पनि मान्छेलाई मनोरञ्जन दिन्छ। बाहिर कार्यक्रमतिर जाँदा मलाई पनि दिदीबहिनीहरूले टिकटक बनाऔं न भन्नुहुन्छ।
सामाजिक सञ्जालमा धेरैबेर भुल्दिनँ। आफ्नोबारे केही जानकारी दिनुपर्यो भने फेसबुक पेज प्रयोग गर्छु। संसदमा जाँदा छलफल सुरू भएको छैन भने पनि फेसबुक खोलेर समाचार हेर्छु।
युट्युबमा चाहिँ बढी स्वास्थ्यसम्बन्धी टिप्स हेर्छु। कसैको नयाँ गीत आएको छ भने त्यो पनि हेरिरहेको हुन्छु।
अहिले सामाजिक सञ्जालका कन्टेन्टलाई लिएर मान्छे सन्तुष्ट छैनन्। सामाजिक सञ्जालको उद्देश्यअनुसार यसको प्रयोग नभएजस्तो लाग्छ।
म आफैंले पनि यो कुरा भोगेको छु। कुनै कार्यक्रममा जाँदा कसैले कोमल वलीज्यू मंसिर आयो नि भनेर सोध्नुहुन्छ। तर कोमल वलीको फलानोसँग बिहे हुँदैछ भनेर समाचार आइदिन्छ। त्यो देखेरचाहिँ मलाई पनि आश्चर्य लाग्छ।
यस्तो कुराले मलाई पनि फरक पर्छ तर नपरेजस्तो मात्र गर्ने हो। मेरै आमाले पनि फलानोसँग तिम्रो नाम जोडिएर आएको रैछ नि भनेर सोध्नुहुन्छ। यो कुराले मलाई फरक नपरे पनि मेरो आमालाई त चित्त दुख्दो रैछ।
सामाजिक सञ्जालमा आफ्ना विचार वा कुरा मज्जाले राख्न पाइन्छ। यो त्यसैको लागि बनाइएको हो तर अरूलाई त्यसले कतै चोट पुग्छ कि भन्ने पनि ख्याल गर्नुपर्छ।
मेरै विषयमा पनि लेख्न डराउनु पर्दैन। मलाई गाली, आलोचना सबै गर्न पाउनुहुन्छ तर त्यसको कारण खुलाउनुपर्छ।
केही समयअघि सामाजिक सञ्जालमा बोलेकै कारण गायिका आस्था राउत पक्राउ परिन्। मैले पनि त्यो घटनाको भिडिओ हेरें तर उनले त्यहाँ कुनै अपशब्द वा गालीगलौज गरेको देखिँदैन। सामान्य भनाभन भएको आधारमा पक्राउ गर्नु गलत थियो।
एउटा नागरिकविरूद्ध त्यसरी राज्य उत्रिनु हुँदैन। राज्य भनेको सधैं नागरिकप्रति संयम हुनुपर्छ। राज्यले सधैँ नागरिकलाई आफू सुरक्षित छु है भन्ने प्रत्याभूति गराउनुपर्छ।
२०६३ सालमा मेरै गीत 'पोइल जान पाम' पनि प्रतिबन्ध लागेको थियो। नेपाल टेलिभिजनले गीतको प्रोमो पनि बजाएन। गीत अश्लिल छ भनियो, जलाइयो। मेरै ठाउँ दाङमा पनि प्रतिबन्ध लगाइयो।
त्यो घटनाले मलाई ठूलै चोट पर्यो। फोन अफ गरेर बसें। पछि बुवाले गीत राम्रो छ, यसरी फोन अफ गरेर बस्ने होइन, तिमीले त आँखामा आँखा मिलाएर प्रतिवाद गर्न सक्नुपर्छ भन्नुभयो। त्यसपछि म बाहिर निस्किएँ। त्यही वर्ष मैले सबैभन्दा धेरै स्टेज सो गरें।
केही समयअघि पशुपति शर्माले पनि आफ्नो गीत हटाउनु पर्यो। तर यस्तो कुरालाई सुधार्दै जाने हो। हामीले यस्तै हो भनेर बस्नु हुँदैन। हामी 'ओपन' हुनुपर्छ।
तर सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि केही लेख्नु वा भन्नुअगाडि ध्यान दिनुपर्छ। म आफैं पनि अहिले हरेक कुरा लेख्दा ध्यान दिन्छु। पहिले पनि ध्यान दिएर लेख्नुपर्ने रैछ भन्ने अहिले महसुस हुन्छ।
(राष्ट्रिय सभा सांसद कोमल वलीसँग सेतोपाटीका लागि विवेक राईले गरेको कुराकानीमा आधारित।)