कोरोनाभाइरस कहिले नियन्त्रणमा आउँछ, कसरी आउँछ भन्ने कुरा अहिले गर्भमै छ।
दक्षिण कोरिया र चीनले केही हदमा नियन्त्रण गरेका छन्। तर अन्य मुलुकमा गति बढेको छ। जुन मुलुक र समुदायले अहिले लकडाउन गरे, त्यो बुद्धिमतापूर्ण भयो। किनकि त्यहाँबाट भाइरस द्रुत रुपमा अन्यन्त्र फैलन पाएको छैन।
संसारकै ठूलो थ्रेटका रुपमा अहिले यो भाइरस देखा परेको छ। ठूला हतियार, मिसाइलभन्दा पनि यसबाटै मानिस डराउनुपर्ने अवस्था आएको छ।
मिसाइलको विकास गरेको मानिसलाई भाइरसले मास्कमा झारेको छ। सीमित घेराभित्र राखेको छ। मानिसले विकास गरेका सवारीसाधनदेखि ठूला जहाज नै यतिबेला जोखिम बनेका छन्।
शक्तिशाली ठानिएका मुलुकसहित संसारले अहिले आराम गरेको छ। मुलुकहरु लकडाउन छन्, मानिस सीमित घेराभित्र छन्। मानिस सीमित घेरामा रहँदा वातावरणीय प्रदुषणमा सुधार आएको अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन्। लाग्छ, मानिसलाई नै विनास गरेर प्रकृतिले राहत खोजेको पो हो कि।
मानिसले प्रकृतिमाथि अत्याचार गरेकाले यस्ता विपत्ति देखिँदैछन् कि। मानिसबाट मानिसमै सर्ने यो भाइरसले न त अरु जनावर, रुखबिरुवा वा किटलाई नै असर पारेको छ। हामीले जसरी पृथ्वी र प्रकृतिलाई अत्याचार गर्यौं। चाहे त्यो वायु वा भू प्रदुषण गराएर होस् वा अत्याधिक प्रयोग गरेर।
प्रकृतिलाई आफ्नै आचरणमा चल्न दिनुपर्छ, विगार्न खोज्दा मानिसलाई नै सिध्याउन सक्छ। त्यसकारण मिसाइलमा गर्ने खर्च अब प्रकृति संरक्षणका लागि गर्नुपर्ने बेला आएको छ।
प्राकृतिक हिसावले पृथ्वी नै एउटा ग्लोबल भिलेज हो। तर शक्तिका लागि मानिसले रेखाङ्कन गरेर निश्चित क्षेत्रमा अधिपत्य जमाउन खोजेको छ।
सानो डाँडा पनि रेखाङ्कन गरेर, त्यसलाई सक्दो दोहन गर्ने प्रयास भइरहेको छ। रुखविरुवादेखि ढुंगा, माटोसम्म दोहन हुन थालेको छ। यो दोहनबाट अन्ततः असर पर्ने मानिसलाई नै हो। कोरोनाको विपत्तिबाट पृथ्वी र प्रकृतिलाई हानी नगर, संरक्षण गर भन्ने पाठ सिक्नुपर्छ।
भाइरसले गरिब, धनी, शक्तिहीन वा शक्तिशाली केही पनि छुट्याउँदैन। आज धनी र शक्तिशाली भनिएका अमेरिका, बेलायतजस्ता मुलुकमा पनि ग्रस्त बिरामीलाई सुताउने बेड, भेन्टिलेटरजस्ता आवश्यक इक्वीपमेन्ट अपर्याप्त भएको छ। कतिपय राजनेता संक्रमित नै भइसके संक्रमित नभएकाहरु त्रसित छन्।
विश्वमा आज जुन मुद्रा, मुलुक वा व्यक्ति शक्तिशाली भएका छन्, भोलि अर्को विकल्प हुन सक्छ भन्ने संकेत कोरोनाभाइरसले दिएको छ।
धनी जीवन जिउने वा गरीब र भोकमरीमा जिउने कसैलाई पनि भाइरसले छुट्याएको छैन। एक व्यक्तिमा देखिने भाइरसले अन्ततः मानव अस्तित्व नै समाप्त हुन सक्छ भन्ने खतराको घण्टी यसले बजाएको छ।
त्यसकारण कसैले कसैलाई आर्थिक विभेद नगर, अरुको कल्याण नै आफ्नो कल्याण हो भन्ने सन्देश शक्ति र पहुँचमा रहेका वा राजनीति गर्नेलाई दिएको छ। मानवताको भावना महसुस गर्न सिकाएको छ।
आफूलाई हामी विभिन्न देश वा धर्म मान्ने मानिस ठान्छौं। तर पृथ्वी नै ग्लोबल भिलेज हो भने, वास्तविक धर्म मानवता हो भन्ने पाठ कोरोनाबाट सिकौँ।
क्षति र राहत,
कोरोना संक्रमणको जुन गति छ, यसमा पिक प्वाइन्ट नै कति हो भन्न सकिने अवस्था छैन। संसारको अर्थतन्त्रमा धेरै क्षति पुगिसक्यो, अझै बढ्ने अनुमान छ।
विश्वको जिडिपीमा यसले कम्तीमा २ प्रतिशत क्षति पुर्याउने विज्ञहरुले अनुमान गर्न थालेका छन्। मेरो विचारमा २ प्रतिशतले मान्दैन। अब क्षतिपूर्तिका लागि कहाँबाट बजेटको स्रोत जुटाउने, कहाँ कति छुट्याउने भन्नेमा सबै देशलाई सोच्न बाध्य बनाएको छ।
नेपालमा यसले ट्राभल, ट्रेकिङ वा होटल क्षेत्रलाई मात्र नभएर हरेक क्षेत्रलाई असर पार्छ। कति एयरलाइन्स, उद्योगधन्दा, होटल रेष्टुरेन्ट,
निर्माण क्षेत्र बन्द छन्। दैनिक ज्यालादारी गर्नेलाई यसले ठूलो असर पारेको छ। बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरु पनि मर्कामा छन्।
राष्ट्र बैंकले चैत मसान्तसम्म बुझाउनुपर्ने किस्तालाई लम्ब्याइदिने र व्याज भुक्तानीका लागि पनि ताकेता नगर्नु भनेको छ। बैंकहरुले ऋण डिफल्ट नहुनेगरी अवधि लम्ब्याइदिनुपर्छ भन्ने हो।
तर नबुझिकन केही अनलाइनले एक किस्ताको व्याज मिनाहा हुने भनेर हल्ला फैलाए। मिनाहा भएको होइन, प्रभावितले चैत मसान्तभित्रै तिर्न नपर्ने सुविधा हो। राज्यले नै भोलि ब्याज मिनाहको सहुलियत दिन सक्यो भने अलग कुरा हो।
त्यस्तै कर्जा पुर्नताजकीकरण गर्दा बैंकहरुले प्रोभिजन गर्नुपर्ने हुन्छ, यदी प्रोभिजन गर्नु नपर्ने सुविधा दिइयो भने कर्जा पुर्नताजकीकरण पनि हुने भयो।
उद्योगी व्यवसायीलाई भोलि ट्याक्समा तथा बैंकको व्याजमा पनि रिल्याक्सेसन आउला। १८ सम्म त लकडाउनमै छौं। त्यसपछि ज्यालादारी गर्नेलाई के राहत दिने, उद्योगी व्यवसायीलाई दिने सहुलियत लगायत अन्य क्षतिपूर्तिका विषयमा परामर्श, अध्ययन होला।
ग्राहकलाई सुझाव,
अहिलेको समय भनेको पहिले बाचौं, त्यसपछि बचाऔं, अनि सेवा गरौं भन्ने हो। यस्तो अवस्थामा पनि हामीले केही शाखाहरु सीमित घण्टाका लागि संचालन गरिरहेका छौँ। ८—१० वटा शाखा ११ बजेदेखि १ बजेसम्म खुलाएका छौं।
यस्तो बेला शाखामा नआइकन डिजिटल कारोबार गर्नु उपर्युक्त हुन्छ। घरघरमा सामान डेलिभरी हुन थालेको छ। विभिन्न विद्युतीय भुक्तानीका माध्यमबाट रकम तिर्न सकिन्छ।
आफ्नो खाताबाट सिधै रकम तिर्ने बानी बसाल्यौं भने रकम झिक्न बैंक वा एटिएममा धाउनु परेन। यसले बैंक, एटिएम वा नोटबाट हुने भाइरसको जोखिम न्यूनीकरण हुन्छ। यो बेला डिजिटल्ली कारोबार गरौँ।
म्युजिकल चेयर रोकिएजस्तो एक्कासी लक डाउन हुँदा कतिपय ग्राहकलाई एक्कासी समस्या थपियो। क्लियरेन्स, एलसी खोल्नुपर्ने वा रकम ट्रान्सफर गर्नुपर्ने, ग्यारेन्टी नवीकरण गर्नेजस्ता कार्य अवरुद्ध नगर्न केही शाखा २ घण्टा खुलाएका छौँ।
पूर्ण सतर्कताका साथ, सेनिटाइजर प्रयोग गरी, एकअर्कासँग दुरी कायम राखी कारोबार गर्न सकिनेछ। बैंकका १५४ एटिएम काउन्टर छन्। जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क नलााग्ने व्यवस्था गरेका छौँ।
(सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालसँग सेतोपाटीका कमल नेपालले गरेको कुराकानीमा आधारित)