२०७२ को भुइँचालोमा हामीलाई सबभन्दा धेरै खड्किएको स्थानीय सरकारको अभाव थियो। त्यति बेला धेरैले कुरा गर्थे, स्थानीय सरकार भएको भए धेरै सहज हुन्थ्यो। उद्दारदेखि राहत वितरणसम्म सहज हुने विश्वास थियो।
कोरोना भाइरसको महामारी चलिरहेका बेला हामीसँग देशभरि बलिया स्थानीय सरकार छन्। के यिनले हाम्रो अपेक्षाअनुरूप काम गरिरहेका छन्?
म ललितपुरको गोदावरी नगरपालिकामा बस्छु। मेरो पुर्खौली घर बेलका नगरपालिका, उदयपुर हो। यी दुई नगरपालिकाले गरिरहेका प्रयासलाई मैले नजिकबाट नियालेको छु।
कुरा गरौं अहिले म बसिरहेको गोदावरी नगरपालिकाको।
गत साता नेपाल सरकारको ‘लक-डाउन’ सुरू भएलगत्तै गोदावरीका मेयर गजेन्द्र महर्जनले आफ्नो गाडी एम्बुलेन्सका रूपमा प्रयोग गर्ने घोषणा गरे। यसका लागि फोन नम्बर राखिदिए। त्यसको केही दिनपछि उनले खाद्यान्न, पानी लगायत अत्यावश्यक वस्तुको उपलब्धताबारे जानकारी दिए। कुन ठाउँको कुन पसल खुल्ला छ, फोन नम्बर र अहिले स्टोरमा रहेका सामानको ‘स्टोरेज’ कति छ सबै जानकारी दिए।
यसले मजस्ता नगरबासीलाई आत्तिनुपर्ने स्थिति छैन भनेर भर दियो। सामानको स्टोरेज राम्रै रहेछ। तत्काललाई आवश्यकीय सामानबाहेक ‘ओभर स्टोरेज’ गर्न नपर्ने रहेछ भनेर सूचना दियो।
नगरका तर्फबाट आएका माइकिङ गर्ने सन्देशवाहकका कुराले पनि केही राहत दियो। यो विपद बेला सामान अभाव हुन नदिन ‘अनुगमन’ समिति गठन गरे, अनि त्यसका संयोजक मेयर आफैं बसे। उनी यसमा दिनरात खटिइरहेका देखिन्छन्। स्थानीय स्वास्थ्य चौकीमा 'आइसोलेसन' वार्डको व्यवस्था पनि गरेका छन्।
सूचना नै राहत हो भन्ने उदाहरण गोदावरीले राम्रैसँग देखाएको छ। समयमै दिइएको जानकारीले कम्तिमा मान्छेमा ढुक्क हुने अवस्था सिर्जना गरेको छ। ठैवका केही स्टोर- फुल्चोकी स्टोर, अतिथि स्टोर लगायतले त आफ्ना ग्राहकलाई अरूलाई अप्ठ्यारो नपरोस् भनेर सीमित सामान मात्र दिए। जस्तो- नुन बढीमा दुई पोका। अझ मिलेसम्म एक पोका मात्र लानुस् है भनेर पनि भने। यस्तै प्रयासले हो विपद बेला सहयोग गर्ने।
त्यस्तै, मेरो पुर्खौली घर भएको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा ‘स्वस्तिक’ को सक्रियता पनि कम छैन।
उनी महामारीबाट पार पाउन स्थानीय स्तरमा गर्न सकिने हरप्रयास गरिरहेका छन्। आइसोलेसन वार्ड स्थापनादेखि डाक्टरलाई चाहिने अत्यावश्यक वस्तु जोहो गर्न आफैं लागेका छन्।
खाद्यान्न आपूर्तिमा उद्योग वाणिज्य संघ र बेलका नगरपालिका सहकार्य गर्दै अगाडि बढेका छन्। पसलहरू खोलेर ‘सामाजिक दुरी’ कायम गराउँदै सावधानीसाथ सहयोग गरिरहेका छन्।
नगर प्रमुख थापाको पहलकै कारण बेलकाले गाउँ-गाउँ र नाका-नाका गएर ज्वरो नाप्ने काम गरिरहेको छ। अन्त पिपिई अभावको कुरा चलिरहेका बेला बेलकामा २५ थान ल्याएर उपचार र टोलटोलमा खटिएका स्वास्थ्यकर्मीले प्रयोग गरिरहेका छन्। उनले आफ्नो सामाजिक सञ्जालबाट पनि विभिन्न सूचना दिइरहेका छन्।
मास्क अभाव देखिने भएपछि नगरपालिकाकै पहलमा उत्पादन गरी गाउँ-गाउँसम्म पुर्याइएको थियो।
कतार एयरलाइन्सबाट आएकामा कोरिना देखिएलगत्तै यो नगरपालिका विदेशबाट आएकाहरू पहिचान गरी उपचारमा जुटेको छ। शंकास्पद केहीलाई धरानस्थित बिपी मेमोरियल अस्पताल लगिएको छ।
विपद परेका बेला नै हो, नेतृत्वको सही परख हुने। नगरले आफ्ना स्रोतहरू प्रयोग गर्नुपर्ने बेला यही हो। केन्द्र तथा प्रदेशको मुख नताकी आफैंले केही गर्ने बेला हो। अहिले वडा-वडासम्म स्थानीय सरकारको सञ्जाल छ। स्थानीय सरकारले चाहे को कहाँबाट कहिले आयो पत्ता लगाउन गाह्रो छैन। वडा सदस्यहरू गाउँ-गाउँ फैलिएका छन्। को कहाँबाट आए भन्ने दुई-चार जनालाई सोधे तत्काल पत्ता लाग्छ।
यस्तो बेला प्रतिपक्षले पनि सहयोग गर्नुपर्छ। सोचुम् त, चुनाव लडेका वडाध्यक्ष कति थिए, वडा सदस्यहरू कति थिए। ती सबैलाई सँगै लिएर हिँड्न सके मान्छे पत्ता लगाउन कुनै महाभारत छैन।
जनताको जीवनयापन सहज बनाउन पनि स्थानीय सरकारले त्यत्तिकै भूमिका खेल्न सक्छन्। अहिले गाउँ-गाउँमा पसल छ। अझ भनौं घरैपिच्छे पसल देखिन्छ। अहिलेलाई एक-दुई रुपैयाँ महँगो भए पनि नजिकैको पसलबाट सामान किन्न आह्वान गर्ने। हरेक नगरले अनुगमन गर्ने। बरु पसलमा सामान सकिएको भए नगरले सहकार्य गरेर सामान ल्याउन मद्दत गरिदिने। यसले महामारीसँग जुध्न सहज हुन्छ।
टेस्टिङ किटहरू पनि गाउँ-गाउँ पुर्याउन जरुरी छ। जो जहाँ छन्, तिनलाई त्यहीँ जाँच्ने र सम्भव भएसम्म त्यतै स्थापना गरिएको ‘आइसोलेसन वार्ड’ मा भर्ना गर्ने। यसमा पनि स्थानीय सरकारले नै हो भूमिका खेल्न सक्ने।
स्थानीय सरकारलाई जति सक्रिय बनाउछौं, त्यति नै सहज हुन्छ यो महामारीसँग जुध्न। स्थानीय नेतृत्वको पनि यो परीक्षाको घडी हो। यसमा उनीहरूले आफूलाई अब्बल देखाउने गरी काम गर्न आवश्यक छ।
यी पनि पढ्नुस्ः