लकडाउनको समय छ। यो समय चराहरूले दिल खोलेर सदुपयोग गरेका छन्। उड्न पाएका छन्। सास फेर्न र नाच्न पाएका छन्। थरिथरिका चिरबिर आवाज एकान्तपनका साथी बनेका छन्।
अरू बेला गाडीको आवाजले चराका आवाज दबिएका हुन्थे। दैनिकजसो घुरेर खुब दु:ख दिने परेवा-परेवी पनि मेरो परिवारका सदस्य भएका छन्। त्यसैले त एकबिहानै दैनिक हुने हामीबीचको झगडा साम्य भएको छ। एकअर्कालाई खुब अनुभूत गर्न पाएका छौं।
मसँगै बस्ने जोडी परेवा उज्यालो हुन नपाउँदै खुब घुर्छन्। त्यो घुरेको आवाजले पहिला म दिक्क मान्थेँ, आजभोलि रमाइलो लाग्न थालेको छ।
झगडा गर्न उनीहरूसँग भाषा नमिले पनि झ्यालको चौकसमा हातले डङडङ पारेर रिस देखाउँथेँ। कहिले सानो काठको लठ्ठीले ठ्याङ ठ्याङ पारेर पोख्थेँ। उनीहरू भुर्र उडेर जान्थे। पाँच मिनेटपछि मेलै धपाएको बिर्सेर हो या अटेर गरेर, फेरि त्यही मेरो झ्यालमा आएर घुर्न थाल्थे। म फेरि खेदाउँथेँ।
यसरी नै बिहानभरि हाम्रो दोहोरी चलिरहन्थ्यो। तर उनीहरू न मेरो झ्यालमा बसेर घुर्न छाड्छन्, न म खेदाउनै छाड्छु।
मेरो व्यवहारले दिक्क लाग्दा उनीहरू उत्तरपट्टि किचनतिरको बार्दलीमा गएर घुर्छन्। त्यो कुरा उनीहरूको घुराइको मधुरो आवाजबाट म थाहा पाउँछु।मेरो कोठाभन्दा टाढा परेकाले त्यहाँसम्म गएर उनीहरूलाई धपाउने आँट चाहिँ गर्दिनँ। त्यही भएर उनीहरू घुरिरहन्थे। एकहोरो एकै स्तरमा निरन्तर।
उनीहरूको घुर्ने तरिकामा आजभोलि फरकपन छ। टाउको घरि माथि, घरि भुइँतिर फर्काउँदै, शरीर दायाँबायाँ पार्दै घुर्छन्। कहिले वरिपरि घुम्दै घुर्दा त्यो जोडी प्राय: सँगै हुन्छ। एक्लै बसेको बेला शरीर नहल्लाई एकटकमा बसेर घुर्छ। उसको घुराइको कम्पनले घाँटीका प्वाँख थरथराएको देखिन्छ।
दिनभरि प्राय: चुपचाप बस्ने त्यो परेवा जोडीको घुराइ लकडाउनका कारण बढेको छ। छटपटी पनि बढेको छ। घरि यता घरि उता उड्छन्। छिमेकीका घरका छतसम्म पुग्ने उनीहरूको यात्रा अलि लम्बिएको छ। कहिले एकहोरो घुरघुर गरेको सुनिन्छ भने कहिलेकाहीँ कुर्लिएझैं स्वर घुमाएर घुर्छ। कहिले मधुरो आवाज निकाल्छन्। उनीहरूको घुराइमा आएको परिवर्तन म प्रस्ट महशुस गर्छु।
घुराइमा आएको परिवर्तनसँगै परेवाले आफ्नो जोडीलाई पीडा पोखेको सुनेँ। लकडाउनले कोठाबाट बाहिर कतै निस्कन नपाएको मैले उनीहरूलाई नजिकबाट नियाल्न थालेकी छु। कहिले उनीहरू सुनसान वातावरणमा खुब रम्छन्। कहिले मायाप्रिति साटासाट गर्छन्। अरू बेलाभन्दा खुसी देखिन्छन्।
परेवी परेवाको तुलनामा शान्त छिन्। तर उनलाई मेरो व्यवहारले खुब चित्त दुखेको रहेछ, मन कुँडिएको रहेछ। उनले परेवासँग गुनासो गरिन्:
हामीलाई यी मान्छेले घरको एक कुनामा पनि राम्ररी सुखसँग बस्न दिँदैनन्। कति निर्दयी छन्। आफू बस्नखान पाए यस धर्तीमा रहेका हामीजस्ता जीव-जनावर र बोटबिरुवाको ख्यालै गदैनन्। हामीलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्छन्। हामी पनि उनीहरूकै स्वार्थले यहाँ आइपुगेका हौं।
म अलिक सानो थिएँ। भर्खर उड्न सक्ने भएको थिएँ। त्यति नै खेर मलाई पालेको घरवालाले बेच्यो। कतिमा बेच्यो याद छैन। एकरात मलाई किन्ने मानिसले आफ्नो घरमा राखे। बाँसको चोयाले बुनेको पेरेङ्गोभित्र कोचारिएको थियो मलाई। यसरी खुम्चिएर बस्दा मेरो पखेटा र शरीर साह्रै दुखेको थियो। रातभरि उनले मलाई अलिकति चामल दिएर त्यही पेरेङ्गोमा राखे।
मसँगै मेरी बहिनी पनि थिइन्। बिहान नहुँदै हामीलाई एउटा मन्दिरमा लगेर आफ्नो र परिवारको सुस्वास्थ्यको कामना गदै उडाइयो। भगवानका नाममा चढाएको बहानामा भए पनि पेरेङ्गोबाट निस्कन पाएकोमा म खुसी हुँदै उडेको थिएँ। दुई दिनदेखि खुम्चिएर बसेको मेरो शरीर र पखेटा फिजाउन पाउँदा साह्रै आनन्द अनुभूत भएको थियो।
त्यो आनन्द धेरै बेर टिकेन। पछि थाहा भयो, त्यहाँ त मजस्ता कयौं परेवा-परेवी अलपत्र पारिएका रहेछन्। मजस्तै छाडिएका रहेछन्। खान पनि मुश्किलले मिल्ने। कतिले धपाउँदा रहेछन्, अहिले यहाँ हामीलाई धपाएजस्तै। मारेर खाँदा पनि रहेछन्। साह्रै दु:ख लाग्यो।
म त्यसैबाट वैरागिएर यहाँसम्म आइपुगेकी हुँ। मेरी बहिनी कता गई अत्तोपत्तो छैन। यहाँ पनि हामीलाई एकछाक खान त परै जाओस्, घरको यसो कुनामा बस्न पनि दिँदैनन्।
परेवीको कुराले परेवा भावुक भइसकेको थियो। उसले भन्यो:
हो नि परेवी, हाम्रो पनि जीवन छ। हामी उनीहरूभन्दा फरक छौं भन्दैमा हाँसीखुसी जीवन बिताउने अधिकार नै नभएझैं गर्छन्। उनीहरूजस्तै यो धर्ती हाम्रो पनि त घर हो नि। हामी यहाँ नबसेर कहाँ बस्नु। हामी बाँच्न न रुपैयाँ पैसा चाहिन्छ न त वातावरण विनाश गरेका छौं। विकासका नाममा रजाइँ पनि त गरेका छैनौं नि।
मानिस आफूलाई धर्तीको सर्वश्रेष्ठ प्राणी दाबी गर्छन्, अर्कातिर त्यत्तिकै निष्ठुरी र स्वार्थी छन्। नत्र हेर न, जाबो घरको एउटा कुनामा बसेर हामीलाई घुर्न पनि दिँदैन। न हामीले खाना मागेका छौं न पानी मागेका छौं। न उनीहरूको भाग खोस्न गएका छौं। आखिर किन यसरी हाम्रो खेदो गर्छन्। मलाई पनि मानिसले भगवानका नाममा छाडिएको हो नि। तर यो लकडाउन मान्छेका लागि पीडादायी भए पनि हामीलाई निक्कै आनन्द चाहिँ भएको छ।
परेवीले मुहार मलिन पार्दै भनिन्:
हो नि, हेर त काग, कोइली, यो भंगेरा र अरू थुप्रै चरा कसरी रमाएका छन्। कहिल्यै नदेखेका चरा पनि सुनसान खुला आकाशमा उडेका छन्। उनीहरूले चैनको सास फेरेका छन्। आवाज पनि साह्रै स्पष्टसँग पो सुनिएको छ त।
जवाफमा परेवाले भन्यो:
परेवी तिम्रो कुरा ठिक हो। एकातिर हामी रमाएका छौं, अर्कातिर हाम्रा धेरै छिमेकी जनवार भोकभोकै पनि भएका छन्। सामान्य समयमा जुठो नै खाएर पनि ज्यान धानेका थिए। अहिले धन्न केही दानी मानिसले उनीहरूलाई खाना बाँडेको खबर सुनेँ।
अहिले हामी खुसी भएर रम्ने समय होइन। संसारभरि मानिसले ज्यान गुमाएका गुमाएकै छन्। उनीहरू बेचैन छन्। आफन्त गुमाएका छन्। धन्न नेपालमा त्यसको प्रभाव अरू देशको जस्तो भयावह छैन। यस्तो संवेदनशील र विपदको समय सबैले होस्टेमा हैसे थपेर विपद सामना गर्नुपर्नेमा मानिसहरू निर्दयी र स्वार्थी बनेको देख्दा मलाई उदेक लागेको छ।
चैत १८ गते बारा जिल्लामा एक युवकलाई ज्वरो आएछ। नर्सिङ होमका चिकित्सकले उपचार गर्न मानेनछन्। उनलाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै ज्यान गएछ। उपचार नपाएर ज्यान गुमाउने उनी एक्ला होइनन्।
गहभरि आँशु पर्दै परेवीले भनिन्:
निजी अस्पतालका स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न नमान्ने। रातदिन बिरामीको सेवामा लागेका सिन्धुली र घोराहीका स्वास्थ्यकर्मीलाई कोरोना सार्छन् भनेर घरबेटीले डेराबाट निकाल्ने, बस्न नदिने।
मर्दा मलामी पनि पाउन छाडेछन्। जिउँदाको जन्ती मर्दाको मलामी भन्थे मानिसहरू तर विपत्तिमा मलामी पनि जाँदैन रहेछन्।
आफू बाँचे र सुरक्षित भएपछि मान्छेलाई पुग्दो रहेछ। अस्ति चीनको वुहानबाट सरकारले जहाज पठाएर आफ्नो जनता उद्धार गरेको थियो। १४ दिन क्वारेन्टाइनमा राखेर विदा गर्यो। तर महाकालीपारि भारतको धार्चुलाबाट दार्चुला फर्कन साढे सात सय नेपाली अनुनय-विनय गरिरहेका छन्। एक-दुई जनाले त ज्यान बाजी थापेर पौडिँदै महाकाली नदी तरे।
यता भैरहवाको सुनौली नाकामा पनि आफ्नो देश फर्कन पाउँ भन्दै अनुरोध गरिरहेका छन्। सरकार चलाउनेहरू कानमा तेल हालेर बसेका छन्। शक्ति र सत्ताको आसपास भएका मान्छे उनीहरूको नजरमा परे। सुन्दैछु अमेरिका, अष्ट्रेलिया हुनेको उद्धारको चर्चा चलिरहेको छ रे। आफ्नो पाखुरी बजारेर खानेलाई त सरकारले पनि हेप्नु हेप्यो। चित्कार सुनेन। आफ्नै देशका नागरिक पनि कोही काखा कोही पाखा भए।
समय-समयमा यस्ता महामारी संसारभरिका मानिसले खेप्दै आएका छन्। महामारीले गरिब, सीमान्तकृत र धनी नभने पनि त्यसको मारमा त बढीजसो गरिबहरू नै परेका छन्। हुन त यस्तो आपत बेला स्वास्थ्य सामग्री खरिद गर्दा कमिसन खान सक्नेसँग के नै आसा गर्न सकिन्छ र?
सरकारमा बस्नेहरू त यस्ता छन् भने बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मी र डेराबाट निकाल्ने घरबेटीलाई के गुनासो गर्नु?
त्यति मात्र कहाँ हो र परेवा, प्युठानमा त एक वडाध्यक्षले कोरोना संक्रमितहरु गाउँ नआऊन् भनेर झोलुङे पुल नै भत्काउन लगाएछन्। महामारी बेला त मानिसहरूबीच आफ्नोपन र नैतिकताको परिभाषा नै बदलिँदो रहेछ। हामी चराचुरुंगी र जीवजन्तुको त कुरै छाडौं।
सरकारको आलोचना सहन नसकेर एक मन्त्रीले भने, ‘गिद्धहरू गीत गाउँदैनन्, उनीहरू फूलतिर हेर्दैनन्, सिनो मात्रै हेर्छन्।’ तर परेवाजी, मेरो विचारमा गिद्धहरु गीत गाउँछन्। उनीहरूको गीत पदासीनहरूले सुन्दैनन्, बुझ्दैनन् र फूलको अस्तित्व जोगाएको देख्दैनन्।
समाजमा फैलिएको सिनोको दुर्गन्ध पचाएर कोरोनाजस्तो महामारी फैलिनबाट जोगाएको गुन उनीहरूलाई सहिनसक्नु भएको छ। मानवीयता, आफ्नोपन र नैतिकता संकटमा परेको छ। यो संकट कम गर्न समाजका हरेक वर्गका मानिस, चराचर जगत, विश्वास गरिएका भगवान, आत्मा, भूतप्रेतको पनि अस्तित्व जोगाउन जरुरी छ। सबैले एकअर्काको सम्मान गरे र अस्तित्व स्वीकारे महामारी सामना गर्न र जुध्न सहज हुन सक्छ।
लकडाउनले अत्यन्तै गम्भीर र संवेदनशील परेवा र परेवीले आफ्नो संवाद टुंग्याए। उनीहरूमा पनि बेचैनी थियो। पीडा थियो। त्यो पीडा भुल्न उनीहरू निलो खुला आकाशको आनन्द लिन यात्रामा निस्किए।