(सिद्धार्थ मुखर्जी क्यान्सर चिकित्सक तथा मेडिकल अनुसन्धाता हुन्। उनको ‘दी इम्पेरर अफ अल म्यालाडिजः अ बायोग्राफी अफ क्यान्सर’ किताबले सन् २०११ मा गैरआख्यानतर्फ पुलिट्जर पुरस्कार जितेको थियो। उनको ‘द जिनः एन इन्टिमेट हिस्ट्री’ भन्ने अर्को किताब पनि प्रकाशित छ। मुखर्जीको यो लेख हामीले ‘द न्यूयोर्कर’ बाट भावानुवाद गरेका हौं।)
...
फेब्रुअरी तेस्रो साता, चीनमा कोरोना भाइरसको डढेलो सल्किँदै थियो। म त्यो बेला भारतको कोलकातामा थिएँ।
एकाबिहानै आकाशमा घामको डल्लो आफ्नो प्रचण्ड ताप बर्साउँदै थियो। तातो हावामा यताउति नाचिरहेका काला चंगाहरूसँगै मेरा आँखा पनि नाच्दै थिए।
म होटलबाट शितला देवीको दर्शन गर्न निस्केँ। उनको नाउँको अर्थ शितल हो। यज्ञमा आहुती दिएपछि बचेको चिसो भष्मबाट शितला देवी प्रकट भएकी हुन् भन्ने किम्बदन्ती छ।
गृष्म याममा जब कोलकाता सहर आगोको भुङ्ग्रोमा परेको फलामझैं रापिन्छ, त्यही रापले जब यहाँका मान्छे लल्याकलुलुक हुन्छन्, तब उनीहरूको उद्धार गर्न शितला देवी प्रकट हुन्छिन्। तातो हावा मात्र होइन, शितला देवीले हाम्रो मनभित्रको तातो जलन पनि भष्म पारिदिन्छिन्– यहाँका मान्छे यस्तै विश्वास गर्छन्।
विश्वास त अरू पनि धेरै छ — उनी केटाकेटीलाई ठेउलाबाट बचाउँछिन्। दुखाइबाट राहत दिन्छिन्। र, यो लोकलाई महामारीको विघ्नबाट जोगाउँछिन्।
उनको सानो मन्दिर कोलकाता मेडिकल कलेजबाट अलिकति मात्र पर छ। मूर्तिमा उनी गधामा सवार भएको देखिन्छ। उनको एउटा हातमा शितल जल भरिएको भाँडो छ। उनी यही शितल जलका लागि सयौं वर्षदेखि चिनिँदै आएकी छन्।
‘यो मन्दिर दुई सय पचास वर्ष पुरानो हो,’ त्यहाँका एक संरक्षक मलाई भन्दै थिए।
त्यो बेला केही ब्राह्मणहरू गंगा किनारको समथर मैदानमा तलमाथि भौंतारिँदै ‘खोप’ लगाउने चलन बसाउँदै थिए, जसलाई महामारीबाट बच्ने पहिलो खोप मानिन्छ। उनीहरू ठेउलाका बिरामीको खटिरा निचोरेर पिप निकाल्थे, त्यसलाई स्वस्थ मान्छेको छालामा घसिदिन्थे र माथिबाट पातलो कपडा बेरिदिन्थे।
मैले प्राचीन ‘खोप’ को यो भारतीय अभ्यास अरबी चिकित्सकबाट थाहा पाएको हुँ। उनले चिनियाँबाट थाहा पाएका रहेछन्।
सन् ११०० सम्म चीनका स्वास्थ्यकर्मीहरू के विश्वास गर्थे भने, जो मान्छे ठेउला लागेर पनि मर्दैन, उसलाई अर्को कुनै रोगले छुन सक्दैन। त्यस्ता बिरामीलाई छुँदा मात्र पनि नयाँ बिरामीको रोग निको हुन्छ।
त्यही भएर उनीहरू ठेउलामा बाँचेकाहरूको सूची राख्थे। अर्कोचोटि महामारी फैलिँदै उपचारको जिम्मा सूचीमा नाउँ परेकाहरूको हुन्थ्यो। तत्कालीन चिनियाँ चिकित्सकहरू ठेउलाका खटिराको पाप्रा पिसेर पिठो बनाउँथे र त्यही पिठो चाँदीको लामो पाइपबाट केटाकेटीको नाकभित्र छिराउँथे।
बिरामीको खटिराबाट निकालिने पिप वा पाप्रामा रोग संक्रमण गराउने जीवित भाइरस हुन्छ। त्यही जीवित भाइरसले नयाँ बिरामी निको पार्छ भन्ने चिनियाँ विश्वास थियो।
यसरी बिरामीको शरीरभित्र जीवित भाइरस पसालेर उपचार गर्नु आकाशमा डोरी टाँगेर त्यसमाथि ढलपल हिँड्नुजस्तै थियो। कसैगरी पाउडरमा भाइरसको मात्रा बढी भयो भने केटाकेटीलाई ठेउलाले च्याप्पै समात्थ्यो। यस्तो घटना सयमा एउटा हुन्थ्यो। मात्रा सही पर्यो भने उसलाई सामान्य लक्षण देखिन्थ्यो, अनि आफैं निको हुन्थ्यो। त्यसपछि उसले जीवनपर्यन्त ठेउला प्रकोपबाट छुटकारा पाउँथ्यो।
सन् १७०० मा आइपुग्दा ठेउला रोकथामको यो चिनियाँ अभ्यास अरब मुलकहरूमा पनि फैलियो। सन् १७६० को दशकमा सुडानका आमाहरू आफ्ना छोरा वा छोरीका लागि ठेउला खटिराको पिप वा पाप्रा अर्को आमासँग किन्ने गर्थे।
सन् १७१५ मा टर्कीस्थित बेलायती राजदूतकी श्रीमती लेडी म्यारी वट्ले मोन्टागुलाई यही रोग लाग्यो। उनको सेतो चम्किलो छाला दागधब्बाले कालो देखिँदै गयो। उनले टर्कीको गाउँघरतिर प्रचलित यो खोपबारे थाहा पाइन्। उनले खोप लगाउने तरिका वर्णन गर्दै आफ्ना साथीहरूलाई चिठी लेखिन्– ‘एक जना वृद्ध महिला ठेउला खटिराबाट निकालेको पिप र पाप्रा लिएर आउँछिन् र बिरामीको कुन नसामा प्रयोग गरूँ भनेर सोध्छिन्।’
जसै त्यो भाइरसयुक्त पिप वा पाप्रा बिरामीको शरीरमा प्रवेश गर्छ, ऊ केही दिनसम्म ज्वरोले थला पर्छ, लेडी म्यारी लेख्छिन्, ‘ज्वरोबाट ब्युझिँदा ऊ पूर्ण स्वस्थ भइसकेको हुन्छ। उनीहरूको अनुहारमा बीस–तीसवटा मात्र खटिरा बाँकी हुन्छन्। त्यसको आठ दिनपछि उनीहरू बिरामी हुनुभन्दा पहिलेकै अवस्थामा फर्कन्छन्।’
यही उपायबाट बर्सेनि हजार जनाको सुरक्षित उपचार गर्दै रोग काबूमा राख्न सफल भएको उनको भनाइ छ।
‘म यो अभ्यास सुरक्षित छ भन्नेमा विश्वस्त भएँ,’ उनी थप्छिन्, ‘यही तरिका म अब आफ्नो छोरामा प्रयोग गर्न तयार छु।’
धन्न, उनको छोरालाई कहिल्यै ठेउला लागेन।
त्यो घटनाको सयौं वर्षपछि हाम्रो जीव विज्ञानले सरुवारोग उपचारमा थुप्रै नयाँ–नयाँ आविष्कार गरिसक्यो। ठेउला मात्र होइन, आजभन्दा केही दशकअघिसम्म जुन सरुवारोगले महामारीको रूप लिन्थ्यो, आज त्यसलाई नियन्त्रण गर्ने खोप र औषधिहरू सर्वसुलभ छन्।
कोरोना भाइरस भने सबैका निम्ति अचम्मलाग्दो ‘पजल’ बनेको छ।
कसरी यो भाइरस आफ्नो उद्गम सहर चीनको वुहानबाट उडेर इटाली पुग्यो? कसरी यसले वन खाने डढेलोजस्तो इटालीलाई खाँदैछ? यो भाइरसलाई मान्छेमा सार्ने जीव कुन होला?
आजको मितिमा यी तीन प्रश्नबारे हामीलाई चाख भए पनि यसबारे जानिरहनु त्यति जरूरी छैन, जति जरूरी अर्का तीन प्रश्नको छ, जसका बारेमा म यहाँ चर्चा गर्दैछु। ती तीन प्रश्नको जवाफले नै कोरोना भाइरसबाट संक्रमित बिरामीलाई अलगथलग राख्ने, उपचार गर्ने र यो महामारी व्यवस्थापनको तरिका बदल्नेछ।
पहिलो प्रश्न, मान्छे यो भाइरससँग जति धेरै सम्पर्कमा आउँछ, के त्यहीअनुसार संक्रमणको जोखिम कति बढ्छ भनेर भन्न सकिन्छ?
दोस्रो, सुरूमा जति धेरै भाइरस शरीरमा छिर्यो, के त्यसले शरीरलाई त्यति धेरै आक्रान्त बनाउँछ?
तेस्रो, भाइरसले बिरामीलाई कसरी च्यापेको छ भन्ने कुराले अरू मानिसमा सर्न सक्ने जोखिम निर्धारण गर्छ कि गर्दैन?
अहिले महामारीको प्रारम्भिक चरणमा हामीले संसारभरि कति मानिसमा यो भाइरस सल्कियो भन्ने मापन गरिरहेका छौं। जसै महामारीको गति बढ्ला, हामीले संक्रमित व्यक्तिभित्र भाइरसको मात्रा पनि हिसाब गर्नुपर्नेछ।
अधिकांश सरुवारोग विशेषज्ञहरूले तथ्यांक अभावका कारण यो महामारीलाई अहिलेसम्म तीनवटा दृष्टिले मात्र हेरेका छन्– मान्छेहरू भाइरसको सम्पर्कमा आएका छन् कि छैनन्? संक्रमित छन् कि असंक्रमित? लक्षण देखिएको छ कि छैन?
हालसालै ‘वासिङ्टन पोष्ट’ ले संक्रमणको अवस्था देखाउन एउटा अनलाइन ग्राफिक्स प्रसारण गरेको थियो, जसमा सहरका मान्छेलाई आकाशमा उडिरहेको थोप्लोका रूपमा चित्रण गरिएको थियो। खैरो थोप्लो भनेका असंक्रमित व्यक्ति, रातो थोप्लो संक्रमित व्यक्ति। तिनै व्यक्तिमा जब रोग प्रतिरोधात्मक शक्ति विकास हुन्छ, उसको रङ गुलाबी हुँदै जान्छ।
यो अनलाइन ग्राफिक्सअनुसार, प्रत्येक रातो थोप्लोले जब खैरो थोप्लोलाई छुन्छ वा उसको सम्पर्कमा आउँछ, भाइरस एउटाबाट अर्कोमा सल्किन्छ। बाहिरबाट कुनै हस्तक्षेप नगर्ने हो भने विस्तारै सबै थोप्लो खैरोबाट रातोमा परिणत हुन्छ। जब हामी बाहिरी हस्तक्षेपका रूपमा सामाजिक दुरी कायम राख्छौं र संक्रमित व्यक्तिलाई अरूको सम्पर्कबाट अलग्याउँछौं, तब खैरो र रातो थोप्लोबीच दुरी घट्दै जान्छ। यसले ग्राफिक्समा रातो थोप्लो बढ्ने क्रम कम हुँदै जान्छ।
यो कुनै पनि समुदायबीच कसरी भाइरस संक्रमण फैलिन्छ भनेर हेर्ने एउटा तरिका हो। तर, यति मात्र हेराइले हामी समस्याको जडसम्म पुग्न सक्दैनौं।
म पेसाले डाक्टर हुँ। मैले भाइरल प्रतिरोधात्मक क्षमतामा तालिम लिएको छु। मभित्र चिकित्सा क्षेत्रमा अनुसन्धान गर्ने हुटहुटी छ।
एक डाक्टर र मेडिकल अनुसन्धाताका रूपमा रातो थोप्लोले खैरो थोप्लोलाई छुनेबित्तिकै खैरो पनि रातोमा परिणत भएको विवरणभन्दा त्यो प्रत्येक रातो थोप्लोभित्र के चल्दैछ भन्ने मलाई जान्नुछ। त्यो रातो थोप्लोभित्र भाइरसको मात्रा कति छ? त्यसभित्र भाइरस कुन रफ्तारमा बढ्दैछ? ऊ खैरो थोप्लोसँग कति बेर सम्पर्कमा आउँदा भाइरस सर्ने सम्भावना कति हुन्छ? रातो थोप्लो कति बेर रातो रहिरहन्छ, अर्थात् संक्रमित व्यक्ति कति बेरसम्म संक्रमित रहन्छ? र, प्रत्येक बिरामीपिच्छे भाइरसको प्रभाव कस्तो हुँदै जान्छ?
एचआइभी एड्स, सार्स, ठेउला लगायतमा भाइरसको प्रकृति विश्लेषण गरिएका छन्। सन् १९९० दशकमा अनुसन्धाताहरूले एचआइभी संक्रमित बिरामीको रगतमा भाइरसको संख्या नाप्ने विधि पत्ता लगाएका थिए। यसबाट एचआइभी भाइरसको विशिष्ट गुण हामीले थाहा पायौं।
संक्रमणपछि बिरामीको रगतमा भाइरसको संख्या द्रुत गतिले बढ्न थाल्छ। यो संख्या जति धेरै भयो, बिरामीलाई भाइरसको मार खप्न उति गाह्रो हुन्छ। ऊ सिकिस्त हुँदै जान्छ। तर, जसरी मान्छेको उचाइ कुनै एउटा निश्चित विन्दुमा पुगेपछि रोकिन्छ, त्यस्तै द्रुत गतिले बढेको भाइरस संख्या पनि कुनै एउटा विन्दुमा पुगेर स्थिर हुन्छ। मान्छेको उचाइजस्तै यो स्थिर विन्दु बिरामीअनुसार फरक पर्छ।
मानौं, कुनै बिरामीमा यो स्थिर विन्दु निकै माथि पुग्यो भने उसको रोग प्रतिरोधात्मक क्षमतामा छिट्टै ह्रास आउँछ। ऊ भाइरस संक्रमण भएको कम समयमै ‘एचआइभी–एड्स’ ले निकै ग्रसित हुन्छ। कसैको त कम समयमै मृत्युसम्म हुन सक्छ। कुनै बिरामीमा भाइरसको स्थिर विन्दु कममै सीमित रह्यो भने, उसको प्रतिरोधात्मक क्षमता घट्न समय लाग्छ। त्यस्ता बिरामी लामो समयसम्म रोगले थला पर्दैनन्।
भाइरसको यो प्रकृतिले हामीलाई एचआइभी–एड्सको जोखिम र निवारणका उपायको ज्ञान दियो।
भाइरसको आनीबानी फरक हुन्छ। एचआइभीको आनीबानी सार्ससँग मिल्दैन, सार्सको कोभिड-१९ सँग मिल्दैन। एचआइभी भाइरसले सिधै बिरामीको रोग प्रतिरोधात्मक क्षमतामा हिर्काउँछ, जसले संक्रमणको असर जटिल हुँदै जान्छ। अन्य भाइरसले पनि केही न केही मात्रामा यो असर देखाउँछ।
हाम्रो रोग प्रतिरोधात्मक शक्तिले भाइरसको वृद्धिसँग जुध्ने र परास्त गर्ने क्षमता देखायो भने भाइरसको संख्या त्यति धेरै बढ्न पाउँदैन। यसले संक्रमणको असर बल्झिँदैन। जो व्यक्ति सुरूमा कम भाइरसको सम्पर्कमा आउँछ, उसलाई संक्रमणले आक्रान्त बनाउने जोखिम कम हुन सक्छ। त्यस्तो व्यक्तिमा भाइरसको संख्या उच्च गतिले बढ्न पाउँदैन।
यसविपरीत, तपाईं धेरै भाइरसको सम्पर्कमा आउनुभयो भने, त्यो भाइरस शरीरभित्र प्रवेश गरिसकेपछि उच्च गतिमा बढ्न थाल्छ। तपाईंको प्रतिरोधात्मक क्षमताले त्योसँग लड्न–भिड्न सक्दैन। तपाईंलाई संक्रमणले छिट्टै आक्रान्त बनाउँछ।
अमेरिकाको फ्रेड हट्चिन्सन क्यान्सर रिसर्च सेन्टर र युनिभर्सिटी अफ वासिङ्टनले भाइरससँग सम्पर्क र त्यसले सिर्जना गर्ने महामारीको सम्बन्धबारे अनुसन्धान गरेको थियो। सन् २०१८ मा सरुवारोग विशेषज्ञ ब्रायन मेयर उक्त अनुसन्धान टोलीमा सामेल हुन पुगे। मध्य–तीस वर्ष उमेरका मेयर सुस्तरी बोल्छन्, तर प्रस्ट बोल्छन्। उनी एक–एक शब्द तौलेर प्रयोग गर्छन्। लामो–लामो वाक्य विस्तारै भन्छन्।
‘कुनै पनि रोग फैलिँदा भाइरसको सुरूआती संख्या पत्ता लगाउन असम्भवजस्तै हुन्छ, किनभने संक्रमण हुनुअघिसम्म तपाईंलाई त्यसबारे थाहै हुँदैन। तपाईंले थाहा पाउँदासम्म ऊ भाइरसबाट संक्रमित भइसकेको हुन्छ,’ उनले मसँग भने।
उनले यसलाई गाडीको ‘रिअर–भ्यू’ ऐनासँग दाँजे। चालकले दायाँबायाँबाट कुनै अर्को गाडी आइरहेको छ कि छैन भनेर ‘रिअर–भ्यू’ मा हेर्न सक्छ। तर, जति बेला अर्को गाडी ऐनानजिक देखिन्छ, त्यति बेलासम्म त्यो एकदमै नजिक आइसकेको हुन्छ।
भाइरस संक्रमण पनि त्यस्तै हो, उनले भने, ‘जब कुनै व्यक्ति बिरामी भएर हाम्रो अगाडि आइपुग्छ, तबसम्म उसले संक्रमण सार्ने जोखिमपूर्ण अवधि पार गरिसकेको हुन्छ।’
यिनै अनुसन्धाताले युगान्डाको कम्पालामा एउटा फरक घटना फेला पारे। केही वर्षअघि त्यहाँ नयाँ आमाहरूको दूधबाट नवजात शिशुमा ‘एचएचभी–६’ भन्ने भाइरस फैलिरहेको थियो। यसले बच्चालाई ज्वरो आउनुका साथै जीउभरि राता धब्बाहरू देखा पर्थे। बालरोग विशेषज्ञ सोरेन गान्ट र उनको टिमले ती आमा र शिशुहरूको स्वास्थ्य परीक्षण गरे। लगातार एक वर्ष ती आमाको र्यालको नमूना लिएर भाइरसको मात्रा परीक्षण गरियो।
यो परीक्षणबाट दुइटा कुरा पत्ता लाग्यो– पहिलो, आमाले एकचोटि दूध खुवाउँदा कति भाइरस बच्चामा सर्छ? र, दोस्रो, कति भाइरस शरीरमा प्रवेश गरेपछि बच्चा संक्रमणले आक्रान्त हुन्छ?
‘यो तथ्यांकबाट हामीले के थाहा पायौं भने, बच्चामा जति धेरै एचएचभी–६ भाइरस सर्छ, उसमा संक्रमणको असर उति धेरै देखिन्छ,’ सरुवारोग विशेषज्ञ मेयरले भने।
उनले यो पनि भने, ‘धेरै भाइरस सरेको छ भने तपाईंले तुलनात्मक रूपमा धेरै मान्छेलाई संक्रमण गराउन सक्नुहुन्छ।’
यसमा अर्को पक्ष पनि छ– भाइरस बोकेर हिँड्ने मान्छेको प्रतिरोधात्मक क्षमताले पार्ने असर।
भाइरसको आक्रमण र प्रतिरोधात्मक क्षमताको प्रत्याक्रमण दुई विपरीत शक्ति हुन्। सन् १९०० दशकका रुसी विशेषज्ञ इल्या मेट्नीकफले यसलाई मानव शरीरभित्रको ‘संघर्ष’ भनेका छन्। उनी जीवाणु र मान्छेको प्रतिरोधात्मक क्षमतालाई सदियौंदेखि जारी लडाइँका रूपमा वर्णन गर्छन्।
यसले दोस्रो प्रश्न खडा गर्छ — के धेरै भाइरस शरीरमा छिर्यो भने शरीर त्यति धेरै आक्रान्त हुन्छ?
यो प्रश्नमा चर्चा गर्नुअघि ३३ वर्षीय चिनियाँ आँखारोग विशेषज्ञ ली वेनलियाङको तस्बिर सम्झौं। कोरोना भाइरस संक्रमणले अन्तिम अवस्थामा पुगेका उनको अनुहार मृत्युअघि गाढा रातो भएको थियो। उनको शरीरबाट चिटचिट पसिना आइरहेको थियो। उनलाई मास्कभित्र सास फेर्न मुश्किल भइरहेको थियो।
कोरोना संक्रमणले नै वुहानको जियाङबेई अस्पतालका २९ वर्षीया डाक्टर जिया सिसीको पनि असामयिक निधन भयो। उनको दुईवर्षे बच्चा थियो। टाइम्समा प्रकाशित समाचारअनुसार डाक्टर जियालाई ‘सिचुआन हटपट’ खान खुब मन पर्थ्यो।
वुहानकै २९ वर्षीया नर्स पनि कोरोना संक्रमणले यति ग्रस्त भइन्, अन्तिम समयमा उनको होसहवास हराएको थियो। उनले भनेकी थिइन्, ‘मलाई मृत्युको धारमा हिँडेजस्तो लाग्दैछ।’
बीस र तीस दशक उमेरका यी चिनियाँ स्वास्थ्यकर्मीलाई जब कोरोना भाइरसले आक्रमण गर्यो, त्यसको असर सामान्य रुघाखोकीमा सीमित रहेन। उनीहरूमा भाइरसले गम्भीर लक्षण देखायो र ज्यानै लियो। यसको मतलब, के यी स्वास्थ्यकर्मी धेरै भाइरसको सम्पर्कमा आएर यतिविधि आक्रान्त भएका थिए?
अमेरिकामा पनि यस्तै स्थिति देखिन्छ। त्यहाँ कम्तिमा दुई जना इमर्जेन्सी डाक्टर, जो यो महामारीविरुद्ध अग्रपंक्तिमा लडिरहेका थिए, उनीहरू दुवै गम्भीर बिरामी भए। दुवै ४० वर्ष उमेरका थिए।
उता, वुहान र इटालीबाट प्राप्त तथ्यांकलाई आधार मान्ने हो भने, त्यहाँ स्वास्थ्यकर्मीहरूको मृत्युदर खासै धेरै छैन। तर, जो–जो मारिए, के उनीहरूमा संक्रमणको असर निकै गम्भीर थियो?
‘वृद्धावस्थाका व्यक्तिहरूमा मृत्युदर धेरै छ भन्ने हामीलाई थाहा छ,’ बेयलर कलेज अफ मेडिसिनका सरुवारोग विशेषज्ञ पिटर होटेजले सिएनएनलाई भनेका थिए, ‘तर अचम्मलाग्दो कुरा, बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहेर उपचार गर्ने युवा स्वास्थ्यकर्मीहरूमा भने यसको गम्भीर असर देखिएको छ। हामीले यसको कारण बुझेका छैनौं।’
यो अवस्था बुझ्न हामी इन्फ्लुएन्जा भाइरसमा गरिएको एक अनुसन्धानलाई आधारका रूपमा लिन सक्छौं।
जनावरमा गरिएको उक्त अनुसन्धानले जति धेरै भाइरस सर्यो, संक्रमणको असर उति धेरै हुने देखाएको थियो। वैज्ञानिकहरूले केही खास किसिमका इन्फ्लुएन्जा भाइरसबाट मुसालाई संक्रमित गराएका थिए। जुन मुसामा धेरै भाइरस सारियो, उसमा रोगको लक्षण एकदमै धेरै देखियो।
सबै किसिमका भाइरसमा यो असर समान छैन। निमोनिया गराउने भाइरसको संख्या र रोगको लक्षण दाँज्दा साना केटाकेटीहरूमा उल्टो नतिजा आयो। जबकि, अर्को एउटा अध्ययनले नवजात शिशुहरूमा भाइरसको संख्या जति धेरै भयो, लक्षण उति गहिरो हुने देखाएको थियो।
कोरोना भाइरसले देखाउने प्रतिक्रियाबारे हामीलाई जे–जति थाहा छ, त्यस आधारमा भन्दा यसको असर इन्फ्लुएन्जा भाइरससँग मिल्दोजुल्दो देखिन्छ।
अहिले जुन कोरोना भाइरसले कोभिड–१९ भन्ने महामारी फैलाइरहेको छ, सन् २००४ मा यही जातको भाइरसले सार्स फैलाएको थियो। त्यति बेला हङकङको एउटा टिमले बिरामीको घाँटीभित्र भाइरसको संख्या कति छ भनी परीक्षण गरेको थियो। भाइरस धेरै भएका बिरामीमा श्वासप्रश्वासको समस्या उति चर्को पाइयो। जसको घाँटीभित्र भाइरसको मात्रा कम पाइयो, ती सबैजसो बिरामीमा खासै गम्भीर लक्षण थिएन।
उनीहरूलाई दुई महिनाको फलोअपमा राखियो। ती सबै अहिले पनि जीवित छन्। जबकि, भाइरसको संख्या उच्च रहेका बिरामीको मृत्युदर २० देखि ४० प्रतिशत थियो। सबै उमेर समूहका बिरामीमा यही नतिजा देखिएको अनुसन्धान टिमले जनाएको छ।
यति मात्र होइन, ‘क्रिमियन कंगो हेमोरेजिक फिभर’ भनिने अर्को गम्भीर भाइरल रोगको असर पनि यस्तै रहेको अनुसन्धानले देखाएको छ। यो अनुसन्धानको निष्कर्ष छ– मान्छे सुरूमा जति धेरै भाइरसको सम्पर्कमा आउँछ, उसको मृत्युको सम्भावना उति बढी हुन्छ।
दादुरा रोगमा गरिएको अनुसन्धानले यसलाई अझ प्रस्ट पार्छ।
‘दादुरा र कोभिड–१९ भनेका दुई भिन्न रोग हुन्। यी रोग सल्काउने भाइरस फरक छन्। बिरामीमा देखिने लक्षण पनि फरक छ,’ नेदरल्यान्ड्सको इरासमस विश्वविद्यालयका भाइरल विशेषज्ञ रि डे स्वार्टले भने, ‘तर दादुरामा जति धेरै भाइरससँग सम्पर्क भयो, रोग उति जटिल हुन्छ भन्ने प्रस्ट देखिएको छ।’
उनले अगाडि भने, ‘भाइरस र मान्छेको प्रतिरोधात्मक क्षमताबीच आपसमा प्रतिस्पर्धा चल्दै आएको छ। भाइरस त्यस्तो ठाउँको खोजीमा हुन्छ, जहाँ उसको संख्या तीव्र गतिले बढ्न सकोस्। हाम्रो प्रतिरोधात्मक क्षमताले भाइरसलाई त्यस्तो मौका दिँदैन।’
‘यो प्रतिस्पर्धामा जब मान्छे एकैचोटि धेरै भाइरसको सम्पर्कमा आउँछ, उसको प्रतिरोधात्मक क्षमता लाचार हुन्छ। उसले भाइरसको आक्रमण प्रतिरोध गर्न सक्दैन। यस्तोमा भाइरसले तीव्र गतिमा आफ्नो संख्या बढाउन थाल्छ र मान्छे संक्रमणले आक्रान्त हुन्छ,’ उनले भने।
उनले आफ्नो तर्क पुष्टि गर्न सन् १९९४ को एउटा अध्ययनको निष्कर्ष विस्तार लगाए, जसमा बाँदरहरूलाई दादुरा भाइरसको विभिन्न मात्रा दिइएको थियो। यसबाट के देखियो भने, जुन बाँदरलाई उच्च मात्रामा भाइरस दिइयो, त्यो एकदमै छिटो दादुराबाट ग्रसित भयो।
मान्छेमा यसको सबभन्दा राम्रो प्रमाण उप–सहारा अफ्रिकाको अध्ययनले देखाएको थियो, रि डे स्वार्टले भने, ‘जसलाई घरभित्र भाइरस सर्छ, उसमा भाइरसको संख्या अत्यधिक हुन्छ। मानौं, एउटा बच्चा दादुराले ग्रसित छ। ऊसँग एउटै ओछ्यानमा सुत्ने आमालाई धेरै भाइरस सर्न सक्छ। ती आमा दादुराले धेरै बिरामी पर्न सक्छे। तर, त्यही बच्चालाई बाहिर सडक वा खैल मैदानबाट भाइरस सरेको हो भने उसमा भाइरसको संख्या कम हुन्छ, त्यस्तो बच्चा रोगले कम ग्रस्त हुन्छ।’
मैले भाइरल संक्रमणको यो विशेषताबारे हार्वर्ड विश्वविद्यालयका भाइरल विशेषज्ञ ड्यान बारुचसँग कुरा गरेको थिएँ। उनको प्रयोगशालाले ‘सार्स–सिओभी–२’ भाइरसविरुद्ध खोप बनाउने काम गरिरहेको छ। अहिले कोभिड–१९ फैलाउने भाइरस पनि यही जातको हो।
‘अहिलेको हाम्रो अध्ययन भाइरसको सुरूको संख्या र पछि बिरामीको फोक्सोमा देखिने संख्याबीच के सम्बन्ध छ भनी पहिल्याउनमा केन्द्रित छ,’ उनलाई यी दुईबीच गहिरो सम्बन्ध छ भन्ने विश्वास छ।
‘जति धेरै भाइरससँग सम्पर्क भयो, मान्छेलाई उति धेरै रोगले आक्रान्त बनाउन सक्छ, तर अहिलेसम्म यो अनुमान मात्र हो,’ उनले भने, ‘यो सम्बन्धलाई हामीले ठोस रूपमा केलाउन बाँकी नै छ।’
अब तेस्रो प्रश्नबारे कुरा गरौं– भाइरसले बिरामीलाई कसरी च्यापेको छ भन्ने कुराले अरू मानिसमा सर्न सक्ने जोखिम निर्धारण गर्छ कि गर्दैन?
यसका लागि हामीलाई सार्सका बिरामीमा गणना गरिएको भाइरस संख्याको खाँचो पर्छ। एक जर्मन अध्ययनले लक्षण देखिएका वा नदेखिएका दुवैथरि व्यक्तिको र्याल परीक्षण गरेर भाइरसको संख्या गणना गरेको थियो। सुरूमा के पाइयो भने, रोगको लक्षण देखिएकाभन्दा नदेखिएका व्यक्तिको र्यालमा भाइरसको संख्या अलिकति बढी थियो।
यो नतिजाबाट सबै अचम्ममा परे। तर, त्यति बेला जम्मा सात जना बिरामीमा यो अध्ययन गरिएको थियो। अध्ययन गरिरहेको फ्रयांकफर्टस्थित इन्स्टिच्यूट अफ मेडिकल भाइरोलोजीका निर्देशक सान्द्रा सिसेकले मलाई भनिन्, ‘जब हामीले धेरै बिरामीमा यो परीक्षण गर्यौं, दुवै समूहका व्यक्ति (लक्षण देखिएका वा नदेखिएका) मा नतिजा खासै फरक आएन।’
उनका अनुसार, मान्छेको र्यालबाट यो सम्बन्ध छुट्टयाउन मुश्किल पर्छ। मुखको र्यालमा पाइने भाइरस गणनामा अरू धेरै कुराले असर पार्छ। खासगरी त्यो र्याल कसरी निकालियो भन्ने कुराले भाइरसको मात्रा घटीबढी हुनसक्छ।
‘यही परीक्षण हामीले मान्छेको रगतमा गर्यौं भने, रगतमा पाइने भाइरसको संख्याले यो सम्बन्ध अलि बढी पुष्टि गर्न सक्छ,’ उनले भनिन्।
फ्रेड हच्किन्सन सेन्टरका क्लिनिकल भाइरल विशेषज्ञ जोशुआ स्किफर ‘एचएचभी–६’ भाइरससम्बन्धी एक अध्ययनका उप–लेखकसमेत हुन्। उनको अध्ययनअनुसार सिंगान परीक्षणबाट श्वासप्रश्वासका भाइरसको मात्रामा बढी एकरुपता र विश्वसनीयता पाइएको छ। यसले रोगको लक्षण र रोग सार्ने जोखिम भाइरसको संख्यामा भर पर्छ भन्ने राम्ररी देखाउँछ।
हङकङ विश्वविद्यालय र नानचाङ विश्वविद्यालयका अनुसन्धाताले यही मार्चमा कोभिड–१९ का केही जटिल गम्भीर बिरामीको सिंगान, खकार र र्याल परीक्षण गरी भाइरसको संख्या गणना गरेका थिए। मध्यम लक्षण देखिएका बिरामीको दाँजोमा गम्भीर बिरामीमा भाइरसको संख्या औसत ६० गुणा बढी पाइएको थियो।
कोरोना भाइरसले ल्याएको यो पछिल्लो महामारी बढ्ने क्रमसँगै यसबारे बढीभन्दा बढी तथ्यांक उपलब्ध हुँदै जानेछ। त्यसपछि बल्ल हामी माथिका प्रश्नमा तुलनात्मक रूपले ठोस जवाफ दिन सक्नेछौं। सुरूमा बढी भाइरसको सम्पर्कमा आउँदा रोगको लक्षण जटिल हुन्छ कि हुँदैन र त्यस्ता बिरामीले अरू धेरैलाई भाइरस सार्न सक्छ कि सक्दैन भन्ने कुरा त्यसपछि यकिनसाथ भन्न सकिनेछ।
हामीले अब कोरोना भाइरसलाई आकाशबाट चराको आँखाले होइन, जीवाणुको सूक्ष्म–नजरले हेर्नुपर्नेछ। यी प्रश्नको जवाफले नै आगामी दिनमा भाइरस संक्रमित बिरामीको उपचार, अस्पताल निर्माण र जनसंख्या व्यवस्थापनको बाटो तय गर्नेछ।
एकचोटि हामी धेरै भाइरसको सम्पर्कमा आउनेलाई रोगले धेरै थला पार्छ भन्ने अवधारणा मानेर हेरौं।
अहिले डाक्टर र नर्सहरू कोरोना भाइरसको सबभन्दा बढी सम्पर्कमा छन्। उनीहरूले मास्क, पञ्जा, गाउन लगायत सुरक्षा उपकरण प्रयोग गर्दागर्दै पनि आफूलाई संक्रमणबाट बचाउन सकेका छैनन्। जुन ठाउँमा यस्ता सुरक्षा उपकरण पर्याप्त उपलब्ध छैनन्, त्यहाँका स्वास्थ्यकर्मी पनि अग्रपंक्तिमा रहेर महामारीविरुद्ध लडिरहेकै छन्।
ती सबै स्वास्थ्यकर्मीको जोखिम कम गर्न उनीहरूको शरीरमा भाइरसको संख्या गणना गर्न सकिन्छ। कोही बारम्बार भाइरसको सम्पर्कमा आइरहेको छ भने उसलाई तत्काल उपचार गरेर रोगग्रस्त हुनबाट बचाउन सकिन्छ।
यो महामारी बेला हामीले रोगको लक्षण देखिएका बिरामी वा तिनको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूमा भाइरसको संख्या गणना गर्यौं भने उनीहरूलाई तत्काल प्राथमिकतासाथ उपचार गर्न सक्छौं। उपचार सामग्री र चिकित्सकहरू अभाव हुँदै गएको समयमा कुन बिरामीलाई छिटोभन्दा छिटो सघन उपचारको खाँचो छ भनी छुट्टयाउन यो विधि प्रभावकारी हुनसक्छ।
हामीले यसरी व्यक्तिपिच्छे भाइरसको संख्या गणना गर्न थाल्यौं भने कोभिड–१९ को उपचार पद्धति परिवर्तन हुन सक्छ। यस्तो परीक्षण गर्न खासै महँगो पर्दैन। हामीसँग उपलब्ध प्रयोगशालाहरूमा सजिलै गर्न सकिन्छ।
हामी अब दुई चरणको प्रक्रिया अनुमान गरौं — पहिलो, संक्रमित बिरामी पहिचान गर्ने। त्यसपछि उनीहरूको सिंगान, र्याल र खकारमा भाइरसको संख्या गणना गर्ने। खासगरी त्यस्ता बिरामीको, जसलाई सघन उपचारको खाँचो छ। यसले कुन बिरामीलाई कुन स्तरको उपचार गर्नुपर्छ भनी यकिन गर्न सजिलो हुनेछ।
हामीले रोग लागेर निको भइसकेका बिरामी पनि पहिचान गर्नुपर्नेछ, जसको रगतमा कोरोना भाइरससँग जुध्ने प्रतिरोधात्मक क्षमता विकास भइसकेको हुन्छ। उनीहरूको रगत परीक्षण गरेर भाइरससँग लड्ने ‘एन्टिबडी’ मापन गर्न सकिन्छ।
त्यस्ता व्यक्ति स्वास्थ्यकर्मी हुन् भने महामारीविरुद्धको लडाइँमा अग्रपंक्तिमा उभ्याउन सकिन्छ। उनीहरूले आफू बिरामी नभइकन पूर्ण सुरक्षित रूपमा अरू बिरामीको उपचार गर्न सक्छन्। यसले कोरोनाविरुद्धको उपचार प्रभावकारी हुनेछ।
आजभन्दा ९२० वर्षअघि बाह्रौं शताब्दीमा चिनियाँहरूले ठेउलाको महामारी फैलिँदा यही विधि अपनाएका थिए।
त्यो बिहान कोलकाताको शितला देवी मन्दिर दर्शन गर्न जाँदा मैले एक जना आमालाई देखेँ। उनी सात दिनदेखि ज्वरोले थला परेको आफ्नो बच्चा लिएर आएकी थिइन्। शितला देवीले संसारलाई महामारीको तापबाट शितल प्रदान गर्छिन् भन्ने यहाँको जनविश्वास छ। ती आमा त्यही विश्वास पछ्याउँदै आफ्नो सन्तानको सुस्वाथ्यका लागि शितला देवीको प्रार्थना गर्दै थिइन्।
प्रार्थना आफ्नो ठाउँमा छँदैछ, कोरोना भाइरसविरुद्धको लडाइँमा विज्ञानले भने भाइरसको गति पछ्याउनु पर्नेछ। भाइरसको गति उसको संख्याले बढ्छ। संख्या जति बढी हुँदै गयो, भाइरसको असर उति तीव्र हुँदै जान्छ।
यो लडाइँ जित्न अब संसारभरिका बिरामीको संख्या मात्र होइन, ती प्रत्येक बिरामीमा भाइरसको संख्या पनि थाहा पाउनुपर्छ।