कोरोनाबारे गलत सूचना र प्रचार फैलिँदा यसको रोकथामबारे सही सूचना प्राप्तिबाट बञ्चित भइन्छ।
नेपालमा वर्तमान अवस्था राम्ररी हेर्ने हो भने, कोरोना संक्रमित र आशंका भएका व्यक्तिप्रति लक्षित 'अनलाइन' हिंसा, 'हेट स्पीच' बढ्नुका साथै 'अफलाइन' दुर्व्यवहारको खतरा पनि बढिरहेको छ। अनावश्यक समस्या र त्रास झेल्नु परेको छ।
साथै संसारभर जातीय विभेद र देखावटी राष्ट्रवादको स्थिति पनि बढिरहेको छ। प्रविधिसम्बन्धी अधिकारकर्मीहरूले सरकारी र गैरसरकारी निकायबाट महामारीका बहानामा गर्ने आमनिगरानीबाट हुने जोखिमबारे चिन्ता व्यक्त गर्न थालिसकेका छन्।
कोरोना महामारीले हाम्रो अफलाइन र अनलाइनमा आपसी अन्तर्क्रिया र व्यवहारमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।
हामीले दैनिकरूपमा विश्वस्तरबाट प्राप्त गर्ने सूचना र समाचार आफैंमा भारी छन्। कोरोनासम्बन्धी 'कन्स्पिरेसी थ्योरी' का साथै संक्रमण, रोकथाम र उपचारबारे प्रशस्त जानकारीसँगै भ्रामक र गलत सूचना पनि देखिन्छ। ती सूचना हाम्रो सामाजिक र धार्मिक मान्यतामा आधारित र फोटो, मिम, भिडिओ, म्यासेज, ब्लग पोष्ट र सामाजिक सञ्जालका अरू माध्यमबाट फैलिरहेका छन्।
सामाजिक सञ्जाल अहिले कुनै पनि विषयमा सूचनाको बहुस्रोत बनेको छ। डिजिटल युगको जनपरिचालन र सामाजिक परिवर्तनका लागि शक्तिशाली साधन प्रमाणित भएको छ। यद्दपी, यस्ता महामारीमा गलत सूचना र प्रचार बढाउन पनि सामाजिक सञ्जाल प्रयोग भइरहेको छ। भावनासँग जोडिएका सामग्री छिटो फैलिन्छन् र सामान्यतयाः तिनका तथ्य जाँच पनि हुँदैनन्। तनाव र भ्रमको अवस्थामा ती स्रोतको आधिकारिकता जाँच नगरी एकआपसमा आदानप्रदान गरिन्छ।
कोरोनालाई 'पहिलो सामाजिक सञ्जाल महामारी' भन्ने गरिएको छ र विश्व स्वास्थ्य संग्ठनले कोरोना सम्बन्धमा फैलिएका गलत सूचना र प्रचारका कारण यो महामारीलाई 'इन्फोडेमिक' नाम दिएको छ।
गलत सूचना र प्रचारका हानी र जोखिम के-के हुन्?
- सही सूचना पाउनबाट वञ्चित गर्छः
जनमानसमा स्वास्थ्य, भाइरसको संक्रमण र रोकथामसम्बन्धी गलत सूचना र प्रचारले अझ जेखिममा पुर्याउँछ। यो भनेको नेपालको संविधान र नेपाल पक्षराष्ट्र रहेको अन्तर्राष्ट्रिय सन्धिहरूले सुनिश्चित गरेको व्यक्तिको स्वास्थ्य र सूचनासम्बन्धी अधिकारविपरीत हुन्छ।
यसले आधिकारिक स्रोतबाट तथ्यगत सूचनालाई छायामा पार्ने गरेको छ। नेपालमा डिजिटल साक्षरता ३१ प्रतिशत (२०१९) मात्र रहेको र सूचनाको तथ्य जाँच्ने साधनबारे जनचेतना कमी र सही सूचना अभावमा आतंक र त्रास सिर्जना हुने स्थिति रहन्छ।
- लक्षित उत्पीडन र ट्रोलिङ
भाइरस संक्रमणबारे भ्रामक सूचना फैलाएका कारण लक्षित वर्ग र राष्ट्रियताका व्यक्तिमाथि अफलाइन र अनलाइनमा उत्पीडन बढेको छ। सामाजिक सञ्जालमा महामारीका कारण सहर लकडउन भएपछि काठमाडौंबाहिर जानेहरूप्रति लक्षित 'हेट स्पीच' पनि देखिन्छ। गलत सूचना प्रवाहका कारण समाजमा विद्यमान वर्गवादलाई बढावा दिएको छ।
दुष्प्रचार फैलाउनुका साथै काठमाडौं भित्रिएका विभिन्न विमानका यात्रुको सूची र व्यक्तिगत विवरण सार्वजनिक गरिएकाले ती यात्रुमाथि अनलाइन हिंसा बढ्दो छ। यो सूचीमा रहेकी १९ वर्षीय एक किशोरी जो त्यो विमानबाट यात्रा गरेकी थिइन्, उनीमाथि बलात्कारको धम्की आएको र 'स्लट शेमिङ' भएको छ।
- अभिव्यक्ति स्वतन्त्रतामा बन्देज
दुष्प्रचार र गलत सूचना भावका शब्दावलीहरूको प्रयोग यसको प्रभाव नबुझी भएको पाइन्छ। समाचारमाध्यमहरूले प्रायः झुटा वा गलत समाचारबारे प्रशारण-प्रकाशन गर्छन् तर यसको जटिलता वर्णन पर्याप्त हुँदैन। र अर्थ पनि प्रस्ट हुँदैन। यसको प्रयोग प्रतिबन्ध लगाउने कानुनको (सेन्सरशीप ल) औचित्यता सावित गर्न र अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामा बन्देज लगाउन पनि भएको पाइन्छ।
मलेसियाले २०१८ को चुनावमा गलत सूचनाविरूद्धको विधेयक पास गरेको थियो। पछिल्ला वर्षमा नेपाल सरकार आलोचित सूचना प्रविधि विधेयक र पत्रकारहरूको सामाजिक सञ्जालमा निगरानीका कारण अभिव्यक्ति स्वतन्त्रताप्रति नकारात्मक देखिन्छ। त्यसैले हामी आशा मात्र गर्न सक्छौं, दुष्प्रचार र गलत सूचना व्यवस्थापनका नाममा नेपाल सरकारले नयाँ दमनकारी कानुन नल्याओस्।
एक नेपाली नागरिक कोरोनासम्बन्धी श्रव्यदृश्य सामग्री बनाएर सेयर गरेका कारण पक्राउ परिसकेका छन्। गलत र दुष्प्रचार गरेकोमा पक्राउ गर्नु मात्र भन्दा पनि वेबसाइट वा प्रेस विज्ञप्तिमार्फत् भरपर्दाे सूचना नागरिकसमक्ष उपलब्ध गराउनु सरकारको दायित्व हो।
- राज्य र गैरराज्य निकायबाट निगरानी
कोरोना संक्रमित र सार्वजविक रूपमा हानी वा जोखिमको सम्भावना भएका व्यक्तिको निगरानी गर्नु जरुरी छ। तर कसरी गरिन्छ भन्नेमा निभर्र हुन्छ।
संक्रमित र जोखिम भएका व्यक्तिबारे संकलित जानकारी प्रयोग गर्दा वैयक्तिक गोपनीयताको अधिकारलाई ध्यानमा राखेर जिम्मेवारीपूर्ण तरिकाले गर्नुपर्छ। संकलित जानकारी तथा तथ्यांक सुरक्षित र नैतिक रुपमा अभिलेखीकरण गर्नुपर्छ। हाम्रो देशमा तथ्यांक सुरक्षण कानुन (डाटा प्रोटेक्सन ल) र संयन्त्र अभावका कारण यस्तो हुने सम्भावना कम छ। आम निगरानी गर्न गोपनीयता सम्बन्धी काम गर्ने संस्था, सामाजिक सञ्जाल लगायत राज्य र गैरराज्य निकायका लागि कोरोना महामारी बहाना हुनु हुँदैन।
- अफवाह फैलने
महामारीबारे फैलिएको अफवाहका कारण बजारमा कृत्रिम अभाव सिर्जना र आत्तिएर सामान थुपार्ने काम काठमाडौंमा पनि भएको देख्न सकिन्छ। बलियो आर्थिक क्षमता भएकाले ग्यास लगायत पर्याप्त सामग्री जोहो गरिसकेका छन्। यसले विपन्न वर्गलाई झन् सीमान्तकरण र बञ्चितीकरणतर्फ धकेल्छ।
गलत सूचना फैलाउने अभिप्राय भएका समूहले यस्ता महामारी अवसर मानेर निश्चित समूहप्रति घृणा फैलाउने बहानाका रूपमा प्रयोग गर्न सक्छन्।
- भाषा र पहुँचमा अवरोध
विश्व स्वास्थ संगठनले सबै सूचना तथा जानकारी संयुक्त राष्ट्र संघको भाषामा प्रकाशन गर्छ। नेपाल सरकारले आफ्ना सूचना प्रशारण गर्न औपचारिक नेपाली भाषाको प्रयोग गर्छ। यसले यी भाषा नबुझ्ने वा बोल्न नसक्नेको पहुँचमा अवरोध पुग्छ। साथै औपचारिक नेपाली भाषा बोलीचालीको भाषाभन्दा भिन्न छ र कतिपय मातृभाषा प्रयोग गर्ने समुदायका लागि सरकारले प्रशारण गरेका सूचना बूझ्न नसकिने हुन्छन्।
कतिपयले आफ्नै पहलमा विभिन्न स्रोतलाई स्थानीय भाषामा अनुवाद गरिरहेका छन्। तर नेपाल एक बहुभाषिक राष्ट्र भएकाले राज्यले एउटै भाषामा मात्र लगानी गर्नु न्यायोचित देखिँदैन। साथै समावेशी सूचना उत्पादन हुन नसक्नाले पढ्न नसक्ने र अपांगता भएकाहरूको यी स्रोत-सामग्रीमा पहुँच पुर्याउन गाह्रो छ।
गलत सूचना र दुष्प्रचारविरूद्ध व्यक्तिगत रूपमा तपाईं के गर्न सक्नुहुन्छ?
- सामाजिक सञ्जालमा कुनै सामग्री राख्नुअघि त्यसको स्रोत जाँच गर्नुस्ः
धेरै सेयर गरिएको वा तपाईंको विश्वसनीय व्यक्तिले सेयर गरेको भरमा कुनै पनि जानकारी विश्वास नगर्नुस्। जानकारीको स्रोत जाँच गर्नुस्। के यो जानकारी आधिकारिक मिडिया वा प्रकाशनबाट आएको, राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था हो? वा तपाईंको विश्वसनीय संस्था, सामुदायिक रेडियो वा स्थानीय पत्रिकाबाट आएको हो?
यदि तपाईंले ती जानकारीको आधिकारिक स्रोत फेला पार्नुभएन भने, त्यस्ता सूचना तथा जानकारी सामाजिक सञ्जालमा नराख्नुस्। वा, अरूलाई नपठाउनुस्।
- तथ्य जाँच गर्नुस्ः
Snopes, EUvsDisInfo जस्ता प्लेटफर्मले हामीलाई तथ्य जाँच गर्न सहयोग गर्छ। साउथ एसिया चेकले नेपालको सन्दर्भमा कोरोनासम्बन्धी मिथ्या र गलत सूचनालाई प्रस्ट्याउँदै आइरहेको छ।
तपाईं यस्ता सूचना पुनः जाँच गर्न वा कुनै निवेदन खोज्न गुगल, फायरफक्स, डकडकगो (Firefox, Google, DuckDuckGo) जस्ता खोज प्रणाली प्रयोग गर्न सक्नुहुन्छ। त्यति बेलासम्म कुनै पनि सूचना सन्देश पठाउने माध्यम वा सामाजिक सञ्जालमा आदानप्रदान वा सेयर नगर्नुस्।
यदि तपाईंले आफ्नो अनलाइन समूहबीच त्यस्ता गलत सूचना भेट्नुभयो भने, उनीहरूलाई त्यसबारे जानकारी गराउनुस् र ती गलत सूचना मेटाउन वा सेयर नगर्न प्रोत्साहन गर्नुस्।
- मानवीय व्यवहार परिवर्तन गर्न काम गनुर्स्ः
सूचना-जानकारीहरू अधिक मात्रामा प्रवाह भइरहेको अवस्थामा हामीले गलत सूचना उपभोग र आदानप्रदान गर्दा मानवीय व्यवहार परिवर्तनबारे चनाखो हुनुपर्छ। तथ्य जाँच र गलत कुराको स्रोत पहिल्याउन जरूरी छ। यसो गर्दा उपभोक्ताले पाउने सूचना र तिनका स्रोतबारे शंका वा जिज्ञासा मेटाउन पनि प्राथमिकता दिनुपर्छ।
- सञ्चार माध्यम र सामाजिक सञ्जालको जिम्मेवारीपूर्वक प्रयोग गर्नुस्ः
सञ्चार माध्यमहरूले गलत सूचना हटाउन वा तथ्य जाँच गरेर मात्र प्रशारण गर्न सक्छन्। लेखहरूको शीर्षक ध्यानाकर्षण र क्लिक मात्र प्राप्त गर्न नबनाई सुर्धान सकिन्छ।
जब तपाईंले आफ्नो समूह वा समुदायमा गलत सूचना प्रवाह भएको पाउनुहुन्छ, तब उनीहरूलाई विश्वसनीय स्रोततर्फ निर्देशित गर्नुस्। वा उनीहरूले बुझ्ने भाषामा सूचना तथा जानकारीका सामग्री उपलब्ध गराउनुस्।
WHO Information Network for Epidemics, COVID-19 Nepal and Nepal Corona Information केही भरपर्दा स्रोत हुन्।
यहाँनिर मानिसहरूलाई उनीहरू वरिपरि रहेका सम्पूर्ण सूचनाको सत्यतथ्य कसरी पहिचान गर्ने भन्ने थाहा पाउन प्रविधि सम्बन्धी साक्षरताको महत्व हुन्छ। साथै सरकारले पनि जनसाधारण समक्ष सही सूचना-तथ्य प्रशारण गर्न र गलत-अफवाहपूर्ण जानकारी प्रचार नियन्त्रण गर्न आमसञ्चारहरूलाई परिचालन गर्नसक्छ।
- प्रविधिको प्रयोग गर्नुस्ः
हामीले तथ्य जाँच्ने र प्रमाणीकरण गर्ने उपकरणहरू प्रयोगमा ल्याउन सक्छौं। यस्ता उपकरण निर्माण गर्न अन्य सरोकारवालाले आर्थिक सहयोग वा जनशक्ति उपलब्ध गराएर प्राविधिक कम्पनीहरूलाई सहयोग गर्न सकिन्छ। हामीलाई त्यस्ता गलत सूचना फैलाउने व्यक्तिविरूद्ध कानुनसँगै संयन्त्र र प्रविधिको आवश्यकता पर्छ।
- सामाजिक सञ्जाललाई सहयोग गरौं र तिनलाई जवाफदेही बनाऔंः
यदि तपाईंलाई सामाजिक सञ्जालका सामग्री गलत छन् जस्तो लाग्छ भने त्यसको रिपोर्ट गर्नुस्। सामाजिक सञ्जालहरू पनि गलत सूचनाको विरोध गरिरहेका छन्। फेसबुक र ट्विटर जस्ता कम्पनीहरू सामाजिक सञ्जालका सामग्री नियन्त्रण र कोरोनाबारे गलत सूचना राक्ने प्रयास गरिरहेका छन्।
तसर्थ, हामी पनि हाम्रो भागको काम गर्न सक्छौं। सामाजिक सञ्जालका प्रयासहरूको समर्थन वा चर्चा गरिरहँदा हामीलाई अंग्रेजीबाहेकका सामाजिक सञ्जालको सामग्री नियन्त्रणको पनि आवश्यकता पर्छ।
(शुभ कायस्थ, नेपालमा लैंगिक र यौनिकताको दृष्टिकोणबाट प्रविधिसम्बन्धी अधिकारबारे काम गर्ने संस्था 'बडी एन्ड डाटा' का कार्यकारी निर्देशक हुन्।)