दुई हप्ता लामो भाइरससँगको युद्ध जितेर अहिले यत्तिको लेख्नसक्ने भएकी छु। कोरोना भाइरसले तनमन दुवैलाई नराम्रोसँग गलायो तर जीवनदेखि हरेश खुवाउन सकेन।
चीनमा २०१९ डिसेम्बरमा देखिएको कोरोना त्यसको दुई महिनापछि अमेरिकासम्म आइपुगेको थियो। म यहीँ बस्छु। राष्ट्रपति ट्रम्पले अमेरिकालाई भाइरसले असर गर्दैन भनेर बारम्बार भनिरहन्थे। वासिङ्टन, क्यालिफोर्निया हुँदै न्यूयोर्कसम्म आइपुग्दा कोरोनाको क्षमता र क्षतिको सामान्य अनुमान भने धेरैलाई भएको थियो।
कोरोनाको मारमा सबभन्दा पहिले त स्वास्थ्यकर्मी नै थिए र छन्। त्यसको भुक्तभोगी म आफैं हुँ।
डर बोकेर काममा जानु, आएर त्यो डरलाई तातोपानी र साबुनले घोटीघोटी पखाल्नु दिनचर्या नै बनेको थियो।
एकदिन कोरोनाले मलाई दर्शन दिएरै छोड्यो।
'कोठा ३२७ र ११७ मा बसेका बिरामीको ज्वरो नियन्त्रण भएको छैन। सुख्खा खोकी पनि लागिरहेको छ पिपिई राख्नू है,' हाकिमले यसोभन्दा मेरो मन चिसो भएको थियो।
मैले काम गर्ने ठाउँमा कोरोना दैलो नाघेर मझेरीमै आइपुग्दा पनि कुनै पूर्वतयारी थिएन। एन-९५ मास्कको जोहो गरिएको थिएन, बजारमा पाइने कुरै भएन। सर्जिकल मास्कले नै काम चलाउँदै गइयो। सुरक्षीत हुने अरू उपकरण थिएनन्। दर्के झरीमा कर्कलोको पात ओडेर जोगिन खोजे जसरी के हुन्थ्यो र? भाइरसको सिकार हुनु बाहेक हामीसँग कुनै उपाय थिएन।
ज्वरो नघटेका बिरामीलाई रेखदेख गर्नेहरूले पिपिई चलाउने निर्णय हुँदै थियो। त्यहीबेला सिडिसी (सेन्ट्रल डिजीज कन्ट्रोल)बाट 'स्पेसिमेन' पठाए ती बिरामीको टेस्ट गरिदिने भनेर फोन आयो।
दुई हप्ता अघि बिहीबारको कुरा हो।
सर्जिकल मास्क र पन्जा लगाएर बिरामीको 'स्पेसिमेन' लिन गएकी थिएँ। दुइटा नासल स्वाब गरेर पठाएँ अनि घर आएँ। उसो त मलाई बुधबारदेखि नै मन्द शरीर दुख्ने, टाउको दुख्ने भइरहेको थियो। शुक्रबार, शनिबार आफ्नो छुट्टि भए पनि यसपालि सहजै मिल्नेवाला थिएन। एसिटामिनोफिन खाएँ। मौसमी एलर्जी हो भने त आइतबारसम्म निको भइहाल्छु भनेर काममा गएँ। यो महामारीको समयमा स्टाफको कमी थियो।
बिहीबार घर आउनासाथ नुवाइ-धुवाइ सकें, कपडा धुन हालें र आराम गरें। शरीरको दुखाइ र थकान कम भएन। खान खासै मन लागेन। हजार मिलिग्राम एसिटामिनोफिन खाएँ।
शुक्रबार बिहान उठ्दा घाँटी बेजोडले दुखेको थियो। दुखाइको यस्तो अनुभव मैले पहिलो पटक गरेकी थिएँ। फेरि पेनकिलर खाएर काममा पुगें। तर आधा दिनपछि काम गर्नै सकिनँ।
मलाई कोभिड-१९ को शंका भैसकेको थियो। लक्षणहरू सबै आफूमा मिल्न थालेको थियो, घाँटी दुख्ने, छोटो दूरीको हिँडाइमा पनि सास बढ्ने, लामो सास फेर्दा छाती दुख्ने, साँझपख खोकी लाग्ने, जिउ दुख्ने, ज्वरो आउने भएको थियो। मैले नपत्याए पनि त्यो जिण्डो भाइरसले मलाई संक्रमित बनाएरै छोड्यो।
म घरमै क्वारेन्टिनमा बस्न थालें। आफूले एउटा कोठा र बाथरूम प्रयोग गर्ने, छोरा-छोरीलाई एउटा कोठा र बाथरूम।
कोरोना जाँच्न भने आँट आएको थिएन।
शुक्रबार र शनिबार धेरै गाह्रो भयो। अर्जेन्ट केयरमा कार्यरत परिचारिका देवरानीले जँचाउन कर गरिन्। हिम्मत जुटाएर नजिकै अर्जेन्ट केयरमा फोन गरें। आफू आउन लागेको र कोभिड-१९ मा एक्सपोज भएको जानकारी गराएँ।
संभावित कोभिड-१९ बिरामीले फोनमा जानकारी गराएपछि फोनबाटै भर्ना गराउने रहेछन्। पार्किंङ लटमै बसेर फोन गर्ने र भित्र आउने अनुमति नभएसम्म गाडीमै पर्खन पर्ने रहेछ।
गाडी पछाडिको ढोकामा पार्क गर्ने निर्देशन थियो।
'मास्क छ?'
'सर्जिकल मात्रै छ।'
'त्यही भए पनि लगाएर बस्नुस। हाम्रो परिचारिका बाहिरै आउँछन् र टेस्ट गर्छन्।'
फोन राखेको १० मिनेटमा २ परिचारिका पिपिई लगाएर गाडी मै आए।
'पहिले फ्लू र स्ट्रेप थ्रोट क्लियर आउनु पर्छ अनि मात्र कोभिड -१९ टेस्ट क्वालिफाई हुन्छ,' उनीहरूले भने।
'म बिरामी छु, जे गर्नु पर्ने हो गर्नुस!'
नाक र घाँटीको स्याम्पल लिएर मलाई पन्ध्र मिनेट पर्खिन भने। मैले गाडी मै पर्खिरहेँ। पन्ध्र मिनटपछि एक पुरूष परिचारिकाले भित्र आउन इशारा गरे।
यो भन्दा पहिले पनि म धेरै पटक यहाँ आएकी थिएँ। त्यो दिन भने भिन्नै तनाव महशुस भयो। सबैतिर प्लास्टिकका पर्दा, प्रत्येक कर्मचारीका नजर सशंकित र अन्जान परिणामसँग भयभित! पहिले यहीँ ठाउँमा बिरामी परेर आउँदा अब ठीक हुन्छु भन्ने विश्वास हुन्थ्यो। अहिले कतै छोइएला र भाइरसले आक्रमण गर्ला भनेर सचेत भैरहन पर्ने।
उस्तै प्रकृतिको काम हुने भएपनि यो अर्जेन्ट केयर जस्तो व्यवस्थित मैले काम गर्ने ठाउँ थिएन। र त मलाई सजिलै कोरोना लाग्यो। सर्जिकल मास्कको भरमा स्वाब लिन तम्सिएकी थिएँ, म साँच्चै गोर्खे नै थिएँ।
'तपाईंको दुवै टेस्ट नेगेटिभ आयो, अब कोभिड-१९ टेस्ट गर्नुपर्ने भयो!' परिचारिकाले भने।
भय मिश्रित 'हस्' मा टाउको हल्लाएर अनुमति दिएँ। मुटु काम्यो। यसरी यतिका मान्छे प्रत्येक घण्टा मरिरहेका छन्। विश्वको के कुरा भयो! न्यूयोर्कको समाचारले रातको निन्द्रा लुटेको थियो मेरो। इटली, इरान, स्पेनका समाचार हेर्न बन्दै गरिसकेकी थिएँ।
केही मिनेटपछि फिजिसियन असिस्टेन्ट आए। अल्लि पर बसेर मलाई सबै कुरा सोधे। जाँचे। कोरोना भएको पुष्टि भैसकेको थियो। मलाई ढाडस दिए। कसरी बस्ने के गर्ने श्वासप्रश्वासमा समस्या भए कुन औषधि प्रयोग गर्ने jस्तारमा बताए।
'सास फेर्न गाह्रो भए तुरून्तै हस्पिटल जाने तर जानुअघि म यो कारणले आउँदैछु भनेर खबर गर्नू है,' उनले सम्झाए।
उनी यस्तै सुझाव दिँदै गए मलाई भने एउटा अनिश्चित डर र त्रासले गाँज्दै थियो। मान्छे भविष्यको कुनै ज्ञान नहुँदा मात्रै खुसीसाथ बाँच्दो रहेछ। भरे के हुन्छ, कहिलेसम्म मात्र बाँचिन्छ भन्ने ज्ञान भए त मान्छे निस्फिक्री हुन नसक्ने रहेछ।
घर आएँ, कोठामै बस्न थालें। दिनहरू बित्दै गए, खानाको स्वाद हरायो, खाने मन पनि भएन, भोक लाग्न छोड्यो, वाकवाकीले प्रेग्नेन्सीका दिनहरू सम्झाइदियो। टाउको दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेले त जिन्दगीसँग मितेरी लाइसकेका थिए। कुनै दिन उठेर इमर्जेसी रूमसम्म पनि पुगें। जिन्दगीमा बाँच्नभन्दा गाह्रो मृत्युको भय रहेछ।
कोरोनाको कहरमा ममात्रै कहाँ परेकी थिएँ र?
मेरा दुई छोराछोरी पनि छन्। म बिरामी परेलगत्तै छोराछोरीको दिनचर्या समेत फेरियो।
स्थानीय स्वास्थ्य संस्थानले आएर उनीहरूलाई पनि मेरो कोठाको ढोका र हेण्डल नछुन, छोइहाले २० सेकेण्डसम्म राम्रोसँग हात धुने निर्देशन दिएको थियो। उनीहरूले त्यो निर्देशन एकदिन पनि उल्लंघन गरेनन्।
छोराछोरी गाडी कुदाउन सक्दैनन् त्यसैले म कोठामै थुनिएपछि उनीहरू पनि आफ्नै कोठामा थुनिए। मेरा आफन्त र साथीले खाना हाम्रो घरको मूल ढोकासम्म ल्याएर छोडेर जान्थे। छोराछोरीले त्यही तताएर मेरो कोठाको ढोकासम्म ल्याइदिन्थे।
कहिले बाहिरैबाट बोलाउँथे र सञ्चो-बिसञ्चो सोध्थे। कहिले फेसटाइम गर्थे।
मसँग टाँसिएर बस्न पर्ने छोराछोरीहरू २ हप्तासम्म आँखाले देख्ने तर हातले छुन नसकिने दूरीमा बसे। छोरी आएर ढोकाबाट मलाई हेरी बस्थी। मैले के हेरेको भन्यो भने हैन यत्तिकै भनेर छड्किन्थी। कहिले भने तिमीले मलाई हेरेकी छौ कि जस्तो लागेर भन्थी। म उसलाई यसो नगर, त्यसो नगर भन्थें। भन्दाभन्दै भित्र कमजोर भैसकेकी हुन्थें। मान्छेको जातलाई आफ्नाको नजिक जान नपाइने कुराले सबभन्दा कमजोर बनाउने रहेछ।
कोभिडको लागि जँचाउन पठाएपछि मेरा दिनहरू लामा अनि रातहरू अत्यासलाग्दा र पट्यारलाग्दा भएका थिए। 'सुतेको बेला निमोनियाले गाँजेर अवस्था जटिल हुन सक्छ,' भन्ने डाक्टरको सुझाव सम्झेरै सुत्न डर लाग्थ्यो।
निदाएपछि उठिँदै नउठिने त हैन? भन्ने त्रासले निदाउन दिन्नथ्यो। जुन बेला बिमारीले च्याप्थ्यो, त्यो बेला अब मरिन्छ जस्तो लाग्ने। बिमारीले थोरै कम च्यापेको बेला मनमा आउने अनेकन तर्कना र सोचहरूले एन्जाइटीको शिखर चुम्थ्यो।
ल अब त निको हुन थाल्यो जस्तो धेरै चोटि भयो। अनि फेरि सहनै नसकिने गरी निस्कने अर्को चरणका लक्षण देखिन्थे। बिरालोले मुसा खेलाए झैं कोरोनाले मलाई खेलाएको थियो। म मरी मरी बाँचीरहें।
आफन्त र साथीसंगीले दिएको भरले नै कोरोनासँग लड्ने आत्मविश्वास दिलाइरह्यो। यी दिनमा छोराछोरीलाई राम्रोसँग हेर्न पाएकी थिइनँ। सञ्चो भएको पनि ७२ घण्टासम्म उनीहरूलाई अंगालोमा बेर्न पाइनँ। किनभने यहाँको स्थानीय स्वास्थ्य संस्थानको निर्देशन थियो- तिमीले आफन्तको नजिक जान लक्षण नदेखिएको सात दिन र ज्वरो नआएको ७२ घण्टाभन्दा बढी समय पर्खिनू।
केसहरू बढेसँगै सहर चकमन्न हुँदै गएको छ। फेरि कतै कसै गरी भाइरसले आक्रमण गर्ला भन्ने डरले म भने आतंकित छु। घरमा बाबु नानीले अलि जोडले खोके भने पनि म छांगाबाट खसेजस्ती हुन्छु।
यो लेख तयार पार्दासम्म विश्वभरि कोरोना संक्रमितको संख्या १४ लाख कटिसकेको छ। शासक अदूरदर्शी, जिद्धी र महामूर्ख भयो भने अमेरिका जस्तो शक्तिशाली राष्ट्रको पनि यो हविगत हुने रहेछ। ठूलो, सानो, धनी, गरिब केही नछुट्टाउने यो भाइरसबाट बच्न नियमहरू पालना गरौं।
सरकारले दिनेभन्दा ठूलो भर हामीलाई सहनै नसकिने सामाजिक दूरीले दिनेछ।