एक महिना भयो। घरिघरि झल्याँस्स हुन्छु— के म न्यूयोर्कमै छु?
अरू बेला यहाँ एकैछिन उभिएर हेर्दा लाग्थ्यो— मान्छेहरू हिँड्दैनन्, दौडिन्छन्। कहिलेकाहीँ आफ्नै लयमा विस्तारै हिँड्दा मान्छेहरू छड्के परेर हेर्थे।
न्यूयोर्कको त्यो लय एकाएक उल्टियो। मान्छेको भिडले अत्यास लाग्ने ठाउँमा मान्छे देख्न अत्यास लाग्न थालेको छ।
सावधानीका उपाय अपनाएर बाहिर निस्कनै बन्देज त छैन। तर एउटा अदृश्य डर दैलोनेरै बसेको छ— हामी त्यसलाई नाघेर जान सक्दैनौं। छिनछिनमा भयानक सपनाबाट ब्युँझिएजस्तो सन्नाटा छाइरहन्छ।
अर्कोतिर समय अनुपम पनि छ। प्रत्येक सेकेन्डको हिसाब राख्नुपर्ने हामीलाई गते, बार याद हुन छोडिसक्यो। खानेकुराको अभाव छैन। किराना र अरू घरायसी सामान किन्न बाहिर जान डर नै लागे अनलाइनबाट घरमै मगाउन सकिन्छ। मन लागेको फिल्म हेर्न, किताब पढ्न वा साथीभाइ र परिवारसँग बेफिक्री गफिन समय अभाव छैन।
पहिले घरबाट निस्कनुअघि बाक्लो वा पातलो कपडा छान्न मोबाइलमा मौसम हेरिन्थ्यो। अहिले पनि पानी, घाम, बतास र बादल उस्तै बेफिक्री भएर आउँछन्, हामीलाई नतताई, नभिजाई आफ्नै लयमा फर्किएर जान्छन्। घन्टौं झ्यालबाट टोलाएर हेरिरहँदा अचेल प्रकृतिको असाध्यै माया लाग्न थालेको छ।
अनुमान गर्नुस्, दुई हजारभन्दा बढी मान्छे भेला हुँदाको माहोल कस्तो हुन्छ? त्यो कुनै खुसीयालीको माहोल हो भने कति भव्य हुन्छ? अब सम्झनुस्, त्यही संख्यामा मृतकलाई भेला पारियो भने?
कति-कतिखेर लाग्छ, हामी शान्त लाशहरूको भिडमा शान्ति खोजिरहेका छौं।
हामी घरभित्र सबै सुविधासहित बसेका किन नहोऊँ, हाम्रा आफन्त र नजिकका साथीभाइ सुरक्षित रहेका किन नहोऊन्, हाम्रै वरिपरि भइरहेको त्यो भयानक सन्नाटाको तरंगले बाटो छलेर जाँदैन रहेछ। निकै टाढासम्म पछ्याउँदै बन्द झ्याल–ढोकाबाट छिरेर त्यो दिमागसम्म पस्दो रहेछ। र, बेला–बेला झस्काउँदो रहेछ।
अनि, यस्तोबीच आँखामा आफ्नै मृत्युको भय बोकेर अरूलाई बचाउन प्रत्येक पल प्रयत्न गरिरहेका स्वास्थकर्मीहरूको यत्न देख्दा मन र मस्तिष्क हल्लिँदो रहेछ। उनीहरूको त्यो यत्नबीच आशाका मसिना झिल्काहरू प्रवाह भइरहँदा रहेछन्। बाँच्ने आशा अझ अग्लिएर शिखर पुग्ने रहेछ।
अस्पतालमा अत्यावश्यक सामग्री ओसार्ने कामदार, घर बस्ने हाम्रा लागि खाद्यान्न उत्पादन, बिक्री र वितरणमा खटिएका कर्मचारी, हामीले बनाएको फोहोर उठाएर लैजाने मजदुर, भर्याङ र ढोकामा कीटनाशक औषधि छरेर हामीलाई सुरक्षित राख्ने श्रमिक र यो प्रक्रियामा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्नेहरूबीचको तादतम्यबीच जुर्मुराउँदै गरेको दैनिकीमै टेकेर त हो भोलिको दिन उदाउने।
नत्र हामीबीचका निराशा, निन्दा, गुनासा, आरोप र प्रत्यारोपले मात्रै त यो संकट कसरी पार लाग्नू?
मार्च १५ सम्म वेपरवाह रहेको न्यूयोर्क सहर मार्च १६ देखि सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने राज्य सरकारको घोषणापछि एक्कासि आत्तियो। भित्रभित्रै सल्किसकेको कोरोना संक्रमणको डढेलोले मार्चको अन्तिममा आइपुग्दा यो सहर आक्रान्त बनिसकेको थियो।
नसोचेको संख्यामा बिरामी थपिएपछि आवश्यक स्वास्थ्यकर्मी, उनीहरूलाई चाहिने व्यक्तिगत सुरक्षा सामग्री र बिरामी राख्ने ठाउँ मात्रै होइन, भेन्टिलेटर जोहो गर्न राज्य र केन्द्र सरकारलाई हम्मे–हम्मे परिरहेको थियो।
त्यो बेला न्यूयोर्कलाई नजिक या टाढाबाट देखेर सबैको सुस्केरा छुटिरहेको थियो। र, त्यति नै बेलाका केही दृश्यले मेरो हृदय हल्लाए। सामान्य लाग्ने ती घटनाले मलाई निथ्रुक्क भिजाए।
जर्जिया राज्यको एटलान्टाबाट साउथवेस्ट एअरको विमानमार्फत मार्च २७ मा स्वास्थ्यकर्मीहरूको टोली सहयोगका लागि न्यूयोर्क विमानस्थलतर्फ लाग्दै थियो। विमान उड्नुअघि दर्जनौंको संख्यामा रहेका स्वास्थ्यकर्मीले मास्कभित्रबाट मुस्कुराउँदै पञ्जा लगाएका हातका औंलाले मुटुको आकार बनाएर तस्बिर खिचे।
त्यो तस्बिर भोलिपल्ट सामाजिक सञ्जालमा भाइरल बन्यो। जलिरहेको न्यूयोर्कलाई दिएको त्यो प्रेमपूर्ण ढाडस महामारीबीच आशाको एक शक्तिशाली झिल्को थियो।
अप्रिल २ मा संक्रमणको केन्द्र बनेको क्विन्सस्थित अर्ल्महर्स्ट अस्पतालअगाडि न्यूयोर्क फायर डिपार्टमेन्टले स्वास्थ्यकर्मीलाई धन्यवाद र हौसला दिन दर्जनौं 'फायर ट्रक' जम्मा पार्यो। साँझको समय आपतकालीन साइरनसहित ट्रकको छतदेखि सडकसम्म उभिएका 'फायर फाइटर'ले ताली र सिटी बजाउँदाको ध्वनि अरू बेलाको जस्तो कर्कस थिएन, त्यो संगीतमय सुनिन्थ्यो।
अस्पतालवारिबाट स्वास्थ्यकर्मीले नीला पञ्जा लगाएका हात हल्लाए, केहीले नीलै गाउनसहित हावामै अँगालो मारे। त्यो क्षण उत्पन्न भएको तरंगले नै त हो अँध्यारो चिरेर भोलिको उज्यालो छर्ने।
अप्रिल १२।
इसाई धर्मावलम्बीको महत्वपूर्ण पर्व 'इस्टर'। जिसस क्राइस्ट मृत्युबाट उठेर भगवानको सन्तानका रूपमा पुनर्जन्म लिएको विश्वासका आधारमा चर्चमा प्राथना गरेर यो पर्व मनाइन्छ। यो पटक इतिहासमै पहिलोपटक रित्तो चर्चमा एकोहोरो घन्टी बजाइयो। अरू वर्ष खचाखच भरिने न्यूयोर्कको प्रसिद्ध चर्च 'सेन्ट पेट्रिक क्याथड्रल' यसपटक रित्तो थियो। रित्तो चर्चमा पोपले प्रार्थना पढे। उनको आवाज भित्ताहरूमा ठोक्किएर उनकै कानमा गुञ्जियो।
पोपलाई लाग्यो होला— त्यो प्रार्थना अन्तिम अवस्थामा 'गुड बाई' र 'आई लभ यु' भन्न नपाएका, लाश हेर्न र छुनसमेत नपाएका मृतकका आफन्तको मनसम्म पुग्यो।
सबै वर्ष आइतबार मनाइने 'इस्टर' अगाडिको शुक्रबारलाई 'गुड फ्राइडे' भनिन्छ। त्यो शुक्रबार साँझ न्यूयोर्क हेल्थ डिपार्टमेन्टले स्वास्थ्यकर्मीसँग खुसी बाँड्न अस्पतालहरूमा 'इस्टर एग' पठायो। चकलेटले भरिएका केही पोका 'इस्टर एग' अस्पतालअगाडि रोकिएको गाडीबाट झारेपछि स्वास्थ्यकर्मीले टाढैबाट तान्दाको क्षण शब्दमा व्यक्त गर्न नसकिने थियो।
न्यूयोर्ककै उपल्लो ग्रामीण भेगका निजी स्वास्थ्य सेवाप्रदायक संस्थाले होस् वा संक्रमणको कम प्रभावमा परेका छिमेकी राज्य सरकारले न्यूयोर्कको सहयोगका लागि पठाएका भेन्टिलेटरहरू ! ती केवल भेन्टिलेटर मात्रै थिएनन्, भगवानले पठाएका आशीर्वादजस्ता थिए।
न्यूयोर्क राज्य सरकारले अप्रिल ३ मा हरेक व्यक्तिको फोनमा एउटा आपतकालीन सूचना पठायो। यसमा लाइसेन्सप्राप्त स्वास्थ्यकर्मीलाई स्वेच्छिक रूपमा सहयोग गर्न आग्रह गरिएको थियो। सरकारकै अनुरोधमा यहाँका विश्वविद्यालयहरूले चिकित्साशास्त्रका विद्यार्थीको दीक्षान्त पनि समयअगावै गरे। स्वास्थ्य सेवाका लागि बाटो तयार गरिदिए।
सेवानिवृत्त भएका स्वास्थ्यकर्मी वा पढिरहेका विद्यार्थीलाई स्वयंसेवाका लागि अनुरोध गरियो। यो प्रयासमार्फत कति संख्यामा स्वास्थ्यकर्मी थपिए, यसको हिसाब पछि गरिएला। तर, उनीहरूको प्रयत्नले अस्पतालको प्रांगणमा पाल टांगेर सुताइएका केही बिरामीले मृत्यु जितेर त पक्कै फर्किए।
विश्व स्वास्थ्य संगठनले संसारभर १० प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएको बताएको छ। ५२ देशका २२ हजार ७३ स्वास्थ्यकर्मीलाई संक्रमण भएको जनाउँदै गर्दा संगठनले आफूसँगको तथ्यांकले वास्तविक अवस्थाको आँकलन गर्न नसकिने पनि स्वीकार गरेको छ। किनकि महामारीले विश्व यति आक्रान्त छ कि संक्रमितहरूलाई पेशा, जात, धर्म वा राजनीतिका आधारमा वर्गीकरण गर्ने सहुलियत र फुर्सद अहिल्यै कसैले पनि पाएका छैनन्।
सिएनएनको पछिल्लो एक रिपोर्टले बेलायतमा मात्रै अत्यावश्यक सेवामा सक्रिय कामदारहरूमध्ये एकतिहाइमा संक्रमण भएको जनाएको छ। अरू विभिन्न सञ्चार माध्यमहरूले विश्वभर २ सयभन्दा बढी स्वास्थ्यकर्मीको संक्रमणका कारण मृत्यु भएको जनाएका छन्।
केही दिनअघि भर्जिनियामा नर्सिङ काम गर्ने नेपाली महिला अभिलाषा शर्माले कोरोनालाई जितेपछि लेखेका शब्द पढ्दा मैले ती संसारभरिका स्वास्थ्यकर्मीलाई सम्झिएँ, जसले आफू मरेर अरूलाई बचाइरहेका छन्।
बिरामी संख्याको तुलनामा स्वास्थ्यकर्मी कम भएकाले बढी घन्टा काममा खट्नुपर्ने बाध्यता छ। तालिम अभावमा व्यक्तिगत सुरक्षा सामग्रीको उपयुक्त ढंगले प्रयोग भएको छैन। त्यस्ता सामग्री सुरूमा पर्याप्त पनि थिएनन्। फोहोर फाल्ने प्लास्टिकलाई समेत 'गाउन' बनाएर उनीहरूले सेवा दिए। यी र यस्ता धेरै कारणले स्वास्थकर्मीहरू आफैं जोखिममा रहेको स्वास्थ्य संगठनको ठम्याइ छ।
न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयु क्योमोले प्रत्येक दिन गर्ने पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्तिप्रति लक्षित गर्दै भन्छन्, 'यो भाइरसलाई कुनै देश, जात, धर्म, भाषा वा राजनीतिसँग दाँजेर नहेरौं। कोरोना संक्रमणका कारण ज्यान गुमाउने मेरो राज्यका १० हजारभन्दा बढी मानिसप्रति मेरो सधैं प्रार्थना छ र उनका परिवारमा गहिरो समवेदना।'
क्योमोले जात र देश नछुट्टाऊँ भनिरहँदा नेपाली समुदायमा यहाँको संस्था 'अधिकार'ले गरिरहेको पहललाई कसरी बिर्सिने? नेपालीभाषीको अधिकारका लागि विगतदेखि नै लड्दै आएको यो र अन्य नेपाली संस्थाले संक्रमित व्यक्ति र उनका परिवारसँग निरन्तर गरेको सोधीखोजी यो अन्धकारका बेला अर्को आशाको झिल्को हो।
'इटाली, चीन र स्पेनमा त मान्छेहरूले झ्यालबाट थाल बजाउन थाले रे !'
'भारतमा पनि कोरोना भगाउन थाल ठटाइयो रे !'
'नेपालमा मैनबत्ती बालियो, राष्ट्रगान गाइयो रे !'
सामाजिक सञ्जालमा यस्ता खबर सुनिरहन्छु। सुरूमा त घरभित्र बस्दा–बस्दा आत्तिएर मनोरञ्जनका लागि गरिएको उट्पट्याङ होला भन्ने लाग्यो। तर, अप्रिलको पहिलो सातातिर एकदिन बेलुका ७ बजे हामी बस्ने अपार्टमेन्टको पारिपट्टिका मान्छेले झ्यालमा निस्केर ताली र सिटी बजाउन थाले। त्यसदिन हामीले पनि केही नबुझेरै ताली बजायौं।
यो क्रम हरेक दिन ७ बजे नियमित हुन थाल्यो। अर्को दिन मैले हिस्पानिक छिमेकीलाई यसको कारण सोधेँ। उसले भनी, 'स्वास्थ्यकर्मी र अरू अत्यावश्यक काममा खटिएका कर्मचारीलाई धन्यवाद दिन र सम्मान गर्न यस्तो गरिएको हो।'
त्यसयता हामी हरेक साँझ ७ बजे झ्यालमा निस्केर ताली बजाउँछौं। ४ वर्ष पुग्दै गरेको मेरो सानो छोराले पनि मेरो पछिपछि ताली बजाउँछ र भन्छ, 'ब्राभो गाइज !'
उसले त्यो बुझेर भनेको होइन, हामीले सिकाएको पनि होइन। ताली बजाउनुको अर्थ कसैलाई 'स्याबास' भन्नु हो भन्ने उसले आफैं सिकेको हो। अचानक उसले निकालेका शब्दले मेरा आँखा रसाए।
हरेक दिन हजारभन्दा बढीको मृत्यु। लामा–लामा ट्रलीभित्र फ्रिज गरिएका लाश। आफ्नै आँखामा छाएको मृत्युको सन्त्रासबीच अरूको प्राण बचाउन दिनरात तल्लीन स्वास्थ्यकर्मी। मलाई लाग्छ, हाम्रो तालीको आवाज संगीतजस्तै उनीहरूको कानसम्म गुञ्जियोस्, ती मास्क अड्याएका कानहरूसम्म।
मलाई थाहा छैन तर हरेक दिन ताली बजाउँदा मलाई उनीहरूका नाममा पूजा गरेझैं लाग्छ। एउटा कम्प पैदा हुन्छ र हराउँछ। मेरो अन्तरमनले भन्छ— त्यो कम्पन कुनै तरंगमार्फत उनीहरूसम्म पुगिरहेको होला!