विश्व कोरोना महामारीको त्रासदीपूर्ण अवस्थामा छ। मानवीय क्षतिले स्तब्ध छ। अप्रिलको १४ सम्म २१० देशका १९ लाख २४ हजार ६७९ मानिस संक्रमित रहेका छन् भने १ लाख १९ हजार ६९२ ले ज्यान गुमाईसकेका छन्।
विश्वव्यापी वन्दि (लकडाउन) र आपतकालीन स्वास्थ स्थितको सिर्जना भएको छ। एउटा अदृश्य जिवाणुले विश्वको अर्थव्यवस्था र मानवजीवनलाई चुनौती दिहरेहेको छ। यो शताब्दीको आर्थिक मन्दी पश्चातको ठूलो मानव विपत्तिसंगै गाँसिएको आर्थिक संकट विश्वासामु आइपरेको छ।
एकाइसौँ शताब्दीको गतिशील समाज आज बन्द कोठाभित्र थुप्रिएको छ। यस संकटको निवारण हेतु विश्वशक्ति र सरकारहरु भर्मादुर प्रयत्नरत छन्। सबैले के बुझेका छन् भने यस महामारीसँगको जीत मनावजगतकै पक्षमा छ। विश्व सामान्य अवस्थामा फर्कन्छ तर सोको लागि के कति मूल्य तिर्नुपर्ने भने अध्ययन, अनुसन्धान, खोज अड्कलबाजी हुँदैछ।
हाल महामारीसँग त्यस पश्चातको अर्थव्यवस्था, सामाजिक-राजनीतिक अवस्था, स्वास्थ्य, मानव जीवनको कल्याण, जलवायु मुद्दाहरू के कस्तो हुने भन्ने व्यापक बहस चलिरहेको छ। यस्तो अवस्थामा संयुक्त राष्ट्र संघको दिगो विकास कर्यक्रमका लक्ष्यहरु अछुतो रहन सक्दैन।
महामारीबाट दिगो विकास कर्यक्रमका लक्ष्यहरु कसरी प्रभावित हुन्छ भन्ने ध्यान गर्नु उतिकै आवश्यक छ। किन पनि छ भने दिगो विकासका लक्ष्यले विविध अन्तरसम्बन्धित विषयवस्तुहरु मानव जीवनको कल्याण, शान्ति सुरक्षा, आर्थिकदेखि वातावरणीय र जलवायु एकीकृत रुपमा उठान गरेको छ।
संयुक्त राष्ट्र संघको नेतृत्वमा विश्वका साझा समस्यालाई सामूहिक र एकरूपताका साथ सम्बोधन गर्ने प्रयासको रूपमा सन् २०१५ सेप्टेम्वर २५ मा राष्ट्रसंघीय महासभाबाट पारित विश्व विकासको १५ वर्षे (सन् २०१६–२०३०) मार्गचित्र नै दिगो विकास लक्ष्य हो । दिगो विकासको लक्ष्य यस महामारीबाट अवश्यपनि प्रभावित हुनेछ। ती प्रभावहरुमाथि थोरै विचार विमर्श गरौ।
गरिबीको र भोकमरी अन्त्य
सबै खालका गरिबीको अन्त्य र खाद्य सुरक्षाको प्राप्ति र पोषणको सुनिश्चिततासँगै भोकमरीको अन्त्य दिगो विकास लक्ष्यको स्तम्भ १ र २ हुन्। कोरोना महामारीको प्रकटसँगै अप्रिल ९ मा अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुखले कोरोनाभाइरसको महामारीले विश्व अर्थतन्त्रलाई सबैभन्दा गहिरो मन्दीमा धकेल्ने र विश्वका गरीब देशहरूले सबैभन्दा बढी दुख भोग्ने अभिव्यक्त गरे ।
हाल विश्वमा ६० करोडभन्दा बढी जनसंख्या अत्ति गरिब रहेकोमा महामारी पश्चात ७.८ करोड नाघ्ने संयुक्त राष्ट्रसंघको अध्यनले भनेको छ। तसर्थ महामारीको कारण आर्थिक मन्दीले मध्यम आयको समाज र अति नै संवेदनशील वर्गलाई गरीबीको रेखामुनि धकेल्ने खतरा बढेर गएको छ।
त्यसैगरी विश्वमा २०१९ को विश्व भोकमरी सूचांकअनुसार दुई करोड मानिस भोकमरीको शिकार रहेका छन्। यस्तो ठूलो आँकडा एकातिर रहिरहँदा त्यसमाथि महामारीले विश्वव्यापी खाद्य उत्पादन र वितरण, सुरक्षा र पोषण सुनिश्चिततालाई चुनौती गर्दै अवरोध पुर्याउन थालेको छ।
विश्वव्यापी उत्पादनमा ह्रास तथा वितरणमा पनि ठूलो विभेद हुनाले भोकमरीको आँकडालाई झन् वृद्धि गर्ने पक्का छ। हालको अध्ययनले २ प्रतिशतका दरले भोकमरीको वृद्धि हुने प्रक्षेपण गरेको छ।
त्यसमा पनि मासुको सेवनले महामारी फैलिने त्रासका बीच मासु बजार काफी हदसम्म ओरालो लाग्ने छ र यसले अपर्याप्त आहार (अपर्याप्त पोषण)ले भोकमरीमा झन् वृद्धि हुनेछ। यसबाहेक, आर्थिक मन्दीका कारण गरिबी र गरिबीले भोकमरीलाई बढावा दिने पक्का पक्कि छ।
यस अर्थमा कोरोना महामारीले दिगो विकासका यी दुई महत्वपूर्ण स्तम्भलाई नमाज्जाले हल्लाउने स्पष्ट रहेको छ।
सबै उमेर समूहका लागि स्वस्थ जीवनको सुनिश्चितता
कोरोना महामारीले स्वस्थ जीवनको सुनिश्चितताको लक्ष्यलाई व्यवाहारिकभन्दा बढी काल्पनिकनै रहेको भन्दै चुनौती दिएको छ। स्वास्थ जीवन कतिको सुनिश्चित छ भन्ने अहिलेको महामारीले स्पष्ट पारीदिएको छ। यस महामारीले भने आश्चर्यजनक प्रकोपको सामना गर्न सक्षम स्वास्थ प्रणालीको निर्माण भने आवश्यक रहेको पाठ सिकाएको छ।
राज्यको स्वास्थ नीति, कार्यक्रमहरु, पूर्वाधारहरुमा लगानी र निगाह अब बढ्ने देखिन्छ। त्यसैगरी सबै उमेर समूह र मुलतः रोग प्रतिरोधात्मक शक्ति कमजोर रहेको जनसंख्या समूह (बालक, वृद्ध, गर्भवती महिला, अपांग र अन्य लक्षित समूदाय)को स्वास्थ सुनिश्चिततामा राज्यको भूमिका बढेर जानेछ। यो राम्रो संकेत हुँदाहुँदै पनि स्वास्थ्य सम्बन्धि विनाशकारी जोखिम भने व्याप्त रहेको छ।
सबैलाई समावेशी, समतामूलक गुणस्तरीय शिक्षा
युनेस्कोको अप्रिल १३, २०२० सम्मको तथ्यांकअनुसार कोरोना माहामारीले विश्वभरीमा १९२ देशका शैक्षिक संस्था बन्द रहेको छ। करिब १ अर्ब ५७ करोडभन्दा बढी नियमित विद्यार्थीहरु तथा ९१ प्रतिशत अध्यनकर्ताहरु प्रभावित रहेका छन्। दुर-शिक्षा र अनलाइन प्रविधिको अध्यन पनि विश्वभरीमा सम्भाव्य रहेको छैन।
मुलत तेस्रो मुलुकको विद्यार्थीहरु आर्थिक संकटले पढाई छोड्नु पर्ने अवस्थामा धकेलिएका छन्। पढ्न विदेशिएका विद्यार्थीहरु धेरै लामो लकडाउनले पढाई छोड्नुपर्ने अवस्थामा पुगेका छन्। यसले गुणस्तरीय र उच्च शिक्षाको लक्ष्य सहज नहुने अनुमान सहजै लगाउन सकिन्छ।
लैँगिक समानता र महिला तथा बालबालिकाको सशक्तिकरण
कमआय मुलुकका महिलाहरु निर्वाहमुखी आर्थिक क्रियाकलाप (ज्याला मजदुरी)मै निर्भर रहने गर्दछन्। तसर्थ महामारी पश्चातको आर्थिक संकट र बेरोजगारीको चर्को मूल्य तिनैले तिर्नु पर्ने बाध्यात्मक स्थिति सिर्जना हुन्छ। यस्तो समयमा धेरै जसो महिलाहरु श्रम कानुनको उल्लंघन हुँदा पनि त्यस्ता जोखिम मोल्दै असुरक्षित, कडा र ओभरटाइम जस्ता कामहरुमा संग्लन हुन सक्ने चुनौती रहन्छ।
त्यसैगरी लकडाउनकै क्रममा पनि महिलाहरु घरेलु हिँसाको उच्च जोखिममा रहेका छन्। अझ स्वास्थ सेवा, डिपार्टमेन्ट स्टोर, ग्रोसारिसमा महिलाहरुले नै धेरै सेवा दिने हुँदा तिनीहरु माहामारीको उच्च जोखिममा छन्। यी यस्ता समस्याहरुले लैंगिक समानताको लक्ष्यलाई आघात पुर्याउने छ।
सबैका लागि सुरक्षित खानेपानी र सरसफाईमा दिगो व्यवस्थापन
कोरोना संक्रमणको रोकथामका विभिन्न तरीकामध्ये एक 'हात धुनु वा सेनिटाइजर' को प्रयोग गर्नु हो। यद्यपि, विश्वव्यापी रूपमा तीन बिलियन मानिससँग घरमै प्राथमिक हात धुने सुविधाको पहुँच छैन। खानेपानी पहुँचको कमीले विशेष गरी दुर्गम क्षेत्र र सुकुम्बासी बस्तीहरूमा संक्रमणको जोखिमलाई झनै बढावा दिने गर्दछ।
सहरी क्षेत्रमा सुरक्षित खानेपानी आपूर्ति र फोहोर व्यावस्थापन जस्ता समस्याहरु लकडाउनको बेला बढ्ने सम्भावना हुन्छ। सरसफाई सम्बन्धित सामग्रीहरुको उत्पादन र वितरणको अभावले बजारमा उक्त सामग्री अभाव हुन्छ, जसले महामारीको जोखिम झनै बढ्ने खतरा हुन्छ। तथापि महामारी पश्चात भने मानिसहरू बीच सरसफाई अभ्यासको व्यवहारिक परिवर्तन भने आउने छ।
समावेशी र दिगो आर्थिक वृद्धि तथा उत्पादनमूलक रोजगार प्रवर्द्धन
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले गरेको अनुमानअनुसार करोना भाइरसको महामारीले उत्पन्न हुने आर्थिक संकट र श्रम संकटका कारण करिब २.५ करोड मानिसहरु आफ्नो रोजगार गुमाउन सक्छन्। आईएलओका वरिष्ठ अर्थशास्त्री जेनिन बर्गले भने अनुसार अनौपचारिक रोजगारीमा संग्लन हुनेहरुलाई आर्थिक संकटको बेलामा सामाजिक सुरक्षा हुँदैन।
यस अर्थमा आर्थिक गतिविधिहरूको दीर्घकालीन निस्कृयताले श्रमिकहरुमा जीविकोपार्जनको समस्या, चरम गरिबी, भोकमरी, कम आय, बचत र बेरोजगारी बढ्न सक्नेछ। महामारी पश्चात सरकारको बजेटको ठूलो हिस्सा आर्थिक क्षेत्रहरुमा लगाउनेभन्दा स्वास्थ्य सेवा प्रबन्ध र समाज कल्याणको लागि बढी केन्द्रित हुने सम्भावान हुन्छ।
त्यसैगरी बैंकिङ क्षेत्रबाट कम नगद प्रवाह र बढ्दो ऋणका कारण अधिकांश उद्यमहरू ठप्प हुन सक्छ। यस्ता समस्याहरुले दिगो आर्थिक वृद्धि लक्ष्यको गति सुस्ताउने पक्कापक्की छ।
देशभित्र तथा बाहिरको असमानताको अन्त्य
महासंकटमा मुलत महिला र बालबालिका, अपांग, सीमान्तकृत, विस्थापित र समाजका सबैभन्दा कमजोर व्यक्तिहरूले उच्च मूल्य तिर्दछन्। यस महामारीले आर्थिक लाभ र सामाजिक कल्याणको असमान पहुँच र वितरणको कारण विश्वमा विद्धमान रहेको असमानताको छविलाई मुखाकृत गरिदिने छ। महामारीसँगको लडाईमा केही देशहरूले अपनाएका हत्कनण्डा अशोभनिय र अमानविय हुनसक्छ।
दोस्रो देशका नागरिक, श्रमिक र शरणार्थीको अधिकार खतरामा पर्न सक्ने र भेदभावमूलक व्यवहारको शिकार बन्ने ढिलो चाँडो देखिन्छ। धेरै व्यक्तिहरुका लागि सुरक्षित बाटो बन्द भए खतराको स्थितिमा फर्कन बाध्य पर्न सक्छ। यस महामारीले विश्वमा विद्यमान असमानतालाई नमज्जाले नंग्याइदिने सामर्थ्य राख्दछ।
यो लोकतन्त्र र मानव अधिकार प्रत्याभूतिको परिक्षणकाल पनि हुन् जान्छ। यो महामारीले विश्व समानता र एकताको नारालाई नमाज्जाले गलाउने सक्ने हुकुमत राख्दछ।
शान्त समावेशी समाजको सुनिश्चितता, दिगो उत्तरदायी संस्थाको विकास
संयुक्त राष्ट्र संघका महासचिवले हालसालै दिएको अभिव्यक्तिमा भनेका छन्- 'द फ्युरी अफ द भाइरस इलुस्ट्रेट फोली अफ दि वार' अर्थात भाइरसको क्रोधले युद्धको मूर्खतालाई चित्रण गर्दछ। यस अभिव्यक्तिले महामारीले बढाउने असमानताले र त्यसले निम्त्याउने युद्ध जोखिमको चित्रण एवम् आतंककारीहरूले कोरोनालाई जैविक हतियारको रूपमा प्रयोग गर्ने खतरालाई संकेत गर्दछ।
तसर्थ यो महामारीभित्र लुकेको अदृश्य उथलपुथल र अस्थिरताले शान्ति, न्याय र बलियो संस्थागत विकास हुने सजिलो बाटो नरहेको स्पष्ट हुन्छ।
कोरोना महामारीले माथि उल्लेखित दिगो विकासका सूचांक मध्ये अरु पनि सूचांक थोर बहोत असर पार्नेनै छ तर दिगो विकासको लक्ष्य २०३० लाई यसले पर धकल्ने सक्ने क्षमता भने राख्दैन। हाल महामारीले मानवीय र आर्थिक संकट व्याप्त रहेपनि अहिलेको सामाजिक स्थितिलाई पछाडी धकेल्ने खालको क्षति भएको छैन।
केहि जिम्मेवारी र आँकडा थपिएको हो। दिगो विकासका लक्ष्यहरु समयसिमाभित्र सन्तोषप्रद रुपले परिपूर्ति गर्न सकिने वातावरण र सुविधा अझै पनि छ। तर त्यसलाई विश्वव्यापी अठोट र एकता चाहिन्छ। महामारीले थपिदिएको चुनौती, दिगो विकासको उद्देश्य प्राप्तिबाट उम्किनुको बाटो कुनै राष्ट्रलाई नबनोस। भविष्यमा यस्ता मह्व्याधिको उत्पति र त्यसका मानवीय, आर्थिक, सामाजिक र वातवरणिय क्षतिमा कमि ल्याउन सक्ने उत्तम बाटो दिगो विकासको लक्ष्यको प्राप्ति नै हो।