कोरोना युगका मान्छे-१
हामीले पिलो आएको घाउ फुटेर पिपै-पिप र रगतै-रगत भएको त देखेकै छौं।
मानिलिनुस्, त्यस्तो संक्रामक घाउ ठूलो स्याउको दानाजत्रो भयो। फुटेर गन्हाउन थाल्यो। दुवै काखिमुनि, जाँघ, घाँटी, ढाड लगायतमा घाउ आउन थाले, एकाएक फुट्न थाले। शरीरकै सतह पिप र रगतले टन्कियो।
परिवारका मान्छे समेत बिरामीको नजिक जानै नसक्ने हुन्छन्। बिरामीले दुखाइका कारण सुत्न, उठ्न, बस्न, खान र पीडामा कहराउन समेत सक्दैन। बिग्रिएको रगत घाउहरूबाट बाहिर निस्किएर कालै-कालो फिँजमा परिणत हुन्छ।
यस्तो बिमारको कुनै ओखती छैन। अनि यस्तो रोग एक मान्छेबाट अर्कोमा सजिलै सर्न सक्छ भन्ने ज्ञान पनि छैन। त्यसकारण परिवारका अन्य सदस्यमा समेत देखिन्छ, हजुरबुवा-आमादेखि नातिनातिनासम्म। पीडाको चित्कार मिसिएको दुर्गन्धमय घरमा कोही छिमेकी वा आफन्त उद्धारका लागि आउँदैनन्। कराइरहेका बच्चालाई आफ्नै आमाले समेत एकपटक काखमा लिएर दूध खुवाउन सक्दिनन्।
दारूण क्रन्दनका साथ परिवार घरैभित्र नरकीय मृत्यु वरण गर्छन्। शव उठाउन कोही आउँदैन। रोग फैलिइसकेको छ र छिमेक घरमा समेत त्यही अवस्था छ। संक्रमण बढ्दै जान्छ। सहर र गाउँहरू कुहिँदै र गन्हाउँदै गरेका लाशहरूले भरिन्छन्।
गाउँ-सहर हुँदै त्यस्तो संक्रामक महामारी संसारभर फैलिन्छ। सय, हजार जना होइन त्यस्तो महामारीले पृथ्वीकै लगभग एक तिहाइ तत्कालीन जनसंख्या बराबर बीस करोड हाराहारी मान्छेलाई सिध्याइदिन्छ।
केही पीडितको क्रन्दन सुन्न सक्दैनन्, आफ्नो ज्यान बचाउने ध्याउन्नमा हुन्छन् र टाढा-टाढाजंगलतिर भाग्छन्। यिनैमध्ये केही बाँच्छन्।
यो कुनै काल्पनिक कथा होइन। इतिहासमा हाम्रा पुर्खाले भोगेको घटना हो- करिब छ सय पचास वर्षअगाडिको दर्दनाक 'बवुनिक प्लेग' अर्थात 'ब्लयाक डेथ' महामारी। संक्रमित मुसासहित चीनबाट आएको व्यापारिक पानीजहाज हुँदै इटालीका मान्छेबाट फैलिन सुरू उक्त महामारीबाट बाँचेका बलियाबांगाहरूका सन्तान त्यसपछि आएका स्पेनिस फ्लु, बिफर र अन्य प्लेगका महामारी झेल्दै आजको सभ्यतासम्म आइसकेका छन्।
डार्बिनको 'सक्षम नै बाँच्छन्' भन्ने सिद्धान्त मान्ने हो भने अहिलेका मान्छे तिनै निर्दयी, करुणाबिहीन र भगौडाका सन्तान हुन्। मान्छेको अटेरीपन र जंगलीपन जो अहिले 'कोरोना युग'मा आएर सडकमा छाडा देखिएको छ, यसले त्यही 'बवुनिक युग'को स्वार्थी र अविवेकी गुण नै पुस्ताबीच हस्तान्तरण हुँदै आएको हो मान्न सकिन्छ। विशेषगरी पश्चिमा मुलुकमा यो संस्कार देखिए पनि हामी एसियाली पनि यसलाई निरन्तरता दिइरहेका छौं।
वैदिक समयमा राज्यको नियम 'विष्णुको अवतार' जस्तै मान्ने हाम्रो संस्कार थियो। आज हामी सडकमा निस्फिक्री हिँडिरहेका छौं, राज्यले 'बाहिर नडूल' भनेर बिन्ती गरिरहेको छ। तर सहरबाटट गाउँ पसेका 'बुद्धिजीवि'हरू नै अखडा बनाई ठाउँठाउँमा खसी काट्ने, मदिरापान गर्ने र जुवातास खेलिरहेको समेत सुनिएको छ।
'मै हुँ' भन्नेहरूले अटेर गरेर आफ्ना परिवारलाई कोरोना सल्काएर अर्को 'महाकाल' त निम्त्याउँदै छैनन्? राष्ट्रिय विपदका घडीमा परिवारले भनेको नटेरेर 'बिदा' मनाइरहेका महोदयहरूले कोरोना हाम्रोनजिक आइरहेको किन बुझेकै छैनन्? महामारीको गर्जन किन सुन्दैनन् कोरोना युगका मान्छे?
क्रमशः
(लेखक पौडेल, कृषि मन्त्रालयमा 'प्लान्ट क्वारेन्टाइन 'अफिसर (उपसचिव) छन्)