कोरोनाको संक्रमण निग्रह गर्न अरु देशमाझैँ नेपाल सरकारले पनि लकडाउन सुरु गर्यो। लकडाउनले धेरैजसोको गरिखाने बाटा लक भए र आर्थिक अवस्था डाउन भयो।
यहि चेपोबाट केही छुटकारा पाउन अधिकांशहरु जुन नाका भएर काठमाण्डौं खाल्डो भित्रिए, सोही नाकाबाट उतैको बाटो फिर्ता गए। मान्छे उही र भित्रिने- बाहिरिने नाका उही। तर फर्कनेका हुलिया फरक।
आउदा चार पांग्रा चढेकाहरुका पासमा फिर्ति हुँदा दुई पाँउ थिए। त्यो पनि दोरंगी चप्पल वाला। लकडाउन त निहुँ मात्र थियो, तर उनलाई उनीहरुकै पूर्खादेखि हक लाग्दै आएको गरिबी र प्रारब्धले लुटेको थियो।
कोरोनाले भित्र बस र सुरक्षित बन भन्यो। तर पेटले राति १२ बजे नै कोठा छोडेर भाग भन्यो। धुर्मैला परिधान र शिथिल चेहेराहरुको लर्को बर्दिबासको बाटो तिर लाग्यो।
जहाँबाट संकटको मार सुरु भएर अरु कुरा मर्न थाल्छ, तब त्यहाँ मानवता मुर्झाउन थाल्छ। त्यसैले त रणभूमिमा समेत संहार मचाई सकेपछि रिपुहरुलाई दोसल्ला ओढाइन्छ।
बिरामी पशुलाई दाम्लोमा बाँधिदैन। गोरु जोतिरहेको बेला मलामीको लर्को देखेमा दाहिने गोरुको काँधबाट जुवाँ फुकाली स्वस्फुर्त रुपले समवेदना दिइन्छ। मुर्दा नउठेसम्म चुल्होमा आँगो बल्दैन। पानी पर्ला जस्तो भएमा जसको घरको बिस्कुन भएपनि भिजेको देख्नेले तुरुन्तै उठाउँछ।
भोकले रोईरहेको बच्चालाई खाना खुवाउने अधिकार छर–छिमेकी जो कोहीसँग सुरक्षित हुन्छ। जन्मकैद सुनाएको कैदीलाई मर्ने बेलामा जेल मुक्त गरिन्छ। यसरी संकटमा के गर्ने भन्ने विषयमा नेपाली समाजमा धेरै प्रथाहरु प्रचलित छन्।
अस्ती मात्रै लकडाउनमा घर जानेहरुका लागि केही युवा मनहरुले धुलिखेलमा चप्पल र सामलको व्यवस्था गरे। हुनत बटुवाहरुको लागि पँधेरो, चौतारो र पाटी बनाउने चलन निकै पुरानो हो। बटुवाहरुलाई बास बस्न बिसेतले बनाएको काष्ठमण्डप बहत्तर सालको भुइँचालोमा मात्र भत्किएको हो।
कोरोनाको विश्वव्यापी महामारीले फेरि एक पटक सामाजिक पुँजी ठूलो कि आर्थिक पुँजी भन्ने विषयमा बहस सुरु गरेको छ। सामाजिक पुँजीअन्तर्गत सम्बन्ध, नातागोता, संगठन र सँस्कृती आदि पर्दछन। नेपालमा २००८ सालबाट मात्र बजेटको व्यवस्था सुरु भएको हो।
त्योभन्दा पहिले सामाजिक पुँजिले नै डाँडो चिरी कुलो ल्याइन्थ्यो। देउरालीमा चौतारो उठाइन्थ्यो। पाती चढाउने थापना स्थापना हुन्थ्यो। श्रमदानले पाठशाला खुल्थ्यो। अर्मपर्मले खेती लाइन्थ्यो। अइचोपैँचोले गर्जो टारिन्थ्यो। कोदोसँग स्याउ साटिन्थ्यो। कसैको घरमा बिहे र भोज परेछ भने सबै गाँउलेले दाउरा पुर्याउनु पर्थ्यो। नयाँ अन्न खानुभन्दा पहिला सो अन्नको प्रसाद बनाएर सबै छिमेकीलाई दिनु पर्थ्यो।
गाँउमा मुर्दा परेछ भने १३ दिनसम्म गोरु जोत्न मिल्दैन्थ्यो। तर, आज आर्थिक पुँजीको प्रभुत्व भएको भएर मात्र श्रमदान हराएर गयो र पाँच लाख रुपैयाँ माथिको कार्यलाई टेण्डर खुलाउनु पर्छ।
सामाजिक पुँजी कति उत्कृष्ट थियो भने कुनै बटुवाले खाना पकाउन गुफाभित्र आगो बालेछ भने आगो बोक्न छुटेका बटुवाहरुलाई सजिलो होस् भनेर आगोको कोईला ढुंगाले घेरेर जाने गर्छ। लामाहरुले आफू बसेको ठाँउमा भोटे चिया छोडेर जान्छन् ताकी अरु बटुवाले पनि चिया खान सकोस्।
आलोक भन्ने जोगीलाई भिक्षा र बास बस्न दिइन्छ। हिड्दा–हिड्दैँ रात परेका मान्छेहरुलाई सुत्ने ठाँउ मिल्छ। पानी परेछ भने या घाम लागेछ भने जसको घर भएपनि घामछायाँ गर्न मिल्छ। छोरीचेलीको लागि जन्मथलोका सबै माईती ठानिन्छन्। छोरी पराई घर जादा सामल र दक्षिणा दिने चलन अझै बाँकी छ।
यति मात्रै पनि होइन, छोरीचेली सुत्केरी भईछे भने माइतीबाट सुत्के वाणो पुर्याइन्छ। यस बारेमा त एउटा गीत नै छ,
अनमनी साउनका मैना सौराई लाग्दी बर्खा
नपुगे माईत है दिउलो घर खा चेली घर खा।।
आर्थिक पुँजीले वर्ग संघर्षको अवस्थामा पुर्याउछ। तर सामाजिक पुँजीले समाजमा न्याय स्थापना गर्दछ। अहिले व्यापारीले मन्दिर बनाएर नागरिकलाई धर्म कमाउने बाटो दिन्छ। तर पहिले धर्मले व्यापार गर्ने बाटो देखाउथ्यो।
आफूले गरेको धर्मले सबैको पाप पखाल्न प्रयोग हुन्थ्यो। तीर्थ गएपछि गाँउमा तीर्थे भोज गरी प्रसाद बाँडेपछि मात्र धर्म कमाइन्छ भन्ने विश्वास छ। एक जनाले हरिद्वारको जल ल्याएमा सबै छिमेकीले शिरमा अभिषेक गर्न पाउँछ।
मन्दिरमा पुजा गर्न सरकारले बजेट छुट्टयाउनै पर्दैन। घर–घरबाट सिदा, अर्घे, पुष्प, र गक्षअनुसारको द्रव्य आउँछ। कसले कति सिदा दियो भनेर लेखाजोखा राखिदैन र सबैको सिदा बराबर मानिन्छ। सबै बाटो राजाको हो भनेर बाटोको विभेद हुँदैन।
सबैले पुज्ने एउटै देउता। सबैले हिड्ने एउटै बाटो। सबैले बस्ने एउटै चौतारी। सबैको एउटै पानी नौलो। भोग चलन गर्ने सबैको एउटै साँझा वन। आहा! सामाजिक पुँजी बसाले कस्तो दामी व्यवस्था।
घरबेटीले भाडामा बस्नेसँग बोल्न रुचाउदैन्थे। तर भुइँचालोपछि घरबेटीको छोरी र म एउटै स्कुलको चौरमा चिउरा चपाउदै रात कटाएको हिजो जस्तै लाग्छ। भुइँचालोले धर्ति मात्रै हल्लाउदो रहेनछ। मान्छेको अहम र दम्भलाई पनि हल्लाउदो रहेछ र आफूभित्रको 'म'लाई प्रस्फुटन गर्दो रहेछ। संसारै जित्ने लक्ष्य बोकेकाहरु पनि यो विपदबाट बच्न पाए हुन्थ्यो भन्थे।
घर गाडी सबै छुट्छन भन्ने लागेपछि मान्छेसँग मानवता बाँकी रहदो रहेछ र सामाजिक पुँजी अझ उन्नत बनेर जुर्मुराउदो रहेछ। आर्थिक पुँजी त जीवन सुखको लागि मात्र हो भन्ने कुरा त कोरोनाको मारपछि रोमका गल्लीहरुमा मिल्काइएका दौलतबाट प्रष्ट हुन्छ।
कोरोनाको विश्वव्यापी मारमा छ मानव आज। कमाएको धन र ठड्याइएका महलहरु निरिह छन् र खाँचो सामाजिक पुँजीको छ। संक्रमित जतिलाई शुभेच्छा शुभकामनाको खाँचो छ र संक्रमणबाट जोगिएकाहरुलाई सल्लाह सुझावको खाँचो छ।
सामाजिक पुँजीको आधुनिक आधार सामाजिक सञ्जाल पनि हो। जसबाट हामी बीच नयाँ सम्बन्ध स्थापना भएको छ। सामाजिक सञ्जालको पार्दुर्भावबाट बोल्ने, खेल्ने र जीवन जीउने तरिका बदलिदै गएका छन्। आज सामाजिक पुँजी संरचनागत परिवर्तनको संघारमा छ।
नजिककालाई तोड्ने र टाढाकालाई जोड्ने सामाजिक सञ्जाललाई अब सम्बन्ध जोड्न र टिकाउन मात्र प्रयोग गरिनु पर्दछ। कोरोनाले भौतिक दूरी बढाएको भए पनि सामाजिक सञ्जालबाट मनको दूरी शुन्य पार्न सक्छौँ। यसबाट के स्पष्ट भएको छ भने संकटमा चाहिने भनेको सामाजिक पुँजी नै हो, चाहे त्यो प्रथाले निर्माण गरेको सामाजिक पुँजी होस् या प्रविधिले निर्माण गरेको सामाजिक पुँजी होस्।
त्यसैले धुलिखेलमा चप्पल र सामलको व्यवस्था गरेजस्तै तपाई हामी सबैले आआफ्नो ठाँउबाट आफूले सक्ने जति सहयोग गरौँ। फरक अवस्थामा बाँचिरहेका सबैलाई सहयोग गरी सामाजिक पुँजीको परिष्कृत रुप आउने पुस्तालाई हस्तान्त्रण गर्न सकौं।
(लेखक सामाजिक बीमा विशेषज्ञ तथा सो सम्बन्धी स्वतन्त्र परामर्शदाता हुन्।)