स्वास्थ्य पेशा विशेषगरी आफ्नो ज्यान जोखिममा राखेर अरुको ज्यान जोगाउने पेशा हो। स्वास्थ्यकर्मीहरु, जो महामारी तथा आकस्मिक सेवामा कार्यरत छन् र जो खतरापूर्ण परिस्थितिमा अग्रपंक्तिमा बसेर काम गरिरहेका छन्, उनीहरु निकै साहसी तथा बहादुर हुन्।
ती सम्पूर्ण स्वास्थ्यकर्मीहरुमा हामी भित्रि हृदयदेखि नै धन्यवाद तथा कृतज्ञता अर्पण गदछौं। यस कठिन परिस्थितिमा आफ्नो ज्यानको बाजी लगाएर, आफ्ना परिवार र आफन्तबाट टाढा भई मानवताको उच्चतम उदाहरण उनीहरुले दिएका छन्।
विशेषतः अहिलेको कोभिड-१९ को परिस्थितिमा सेवारत स्वास्थ्यकर्मी तथा नागरिकको सुरक्षाको लागि दिनरात सडकमा खटीरहेका सुरक्षाकर्मी, अत्ति जोखिमपूर्ण अवस्थामा छन्। जसले तपाई हाम्रो जीवन बचाउन ठूलो योगदान पुर्याइरहेका छन।
अग्रपक्तिमा रहेका स्वास्थ्यकर्मीहरुका बारेमा र उनका विभेदित व्यवहारहरु तथा प्रतिक्रियाहरुका बारेमा विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा अप्रिय घटना तथा हल्ला फैलिरहेका छन्। ती घटनाहरु तथा हल्लाहरुले अवश्य पनि आम-जनमानसको मनस्थितिमा खैलाबैला मचाउने गरी तनावपूर्ण अवस्था खडा गरेको छ।
यस्तो तनावमा हाम्रो मस्तिष्कले कार्यसंगत वा कारणसहितका विचारहरु दिन सक्दैन। बरु तुरुन्तै पूर्वग्राही प्रतिक्रियाहरु दिन्छ जुन तनावको कारण स्वाभाविक रुपमा निस्किरहेको हुन्छ। आम-मानिसको यस्ता प्रतिक्रियाले अग्रपंक्तिका स्वस्थ्य कार्यकताहरुको साथै समस्त स्वास्थ्य सेवामा लागेका व्यक्तिहरुको मनोबल कमजोर बनाइराखेको छ। जसमा हामी सबैको ध्यानाकर्षण हुन जरुरी छ।
हामी नेपालीहरु, डाक्टर र नर्सलाई भगवानको रुप मान्दछौं र उनीहरुलाई दिइने आदर र सम्मान निकै नै सराहनीय रहन्छ। तर जब यस्ता महामारीको अवस्था आईपर्छ, हामी आतिन्छौँ र उनीहरुप्रतिको हाम्रो प्रतिक्रिया ठिक उल्टो हुन्छ। यस्तो बेलामा स्वयं स्वास्थ्यकर्मीहरु पनि आत्तिएका हुन्छन्। उनीहरु पनि भगवानलाई पुकारीराखेका हुन्छन्।
अहिलेको सन्दर्भमा भने हाम्रो मुलुकमा अत्यावश्य स्वस्थ्य सामाग्री तथा जोखिम न्यूनिकरण गर्ने श्रोत तथा साधनको अभाव छ। यसले गर्दा कोभिड-१९ सर्छ कि भन्ने डर र त्रास स्वयं स्वास्थ्यकर्मीहरुलाई पनि छ।
हतास भएर यस्तो परिस्थितिमा कोभिड-१९ का बिरामी तथा कोरोना शंका लागेको व्यक्तिको सेवामा लागेर कही हामीले गल्ती पो गर्यौँ कि भन्ने भावना उनीहरुमा आउनु स्वभाविक हो। तर सँगसँगै आफूले पेशामा प्रवेश गर्दा खाएको सपथलाई सम्झेर उनीहरुमा पश्चातापको भावनाहरु पनि आउन सक्छ।
निजी अस्पतालमा बिरामी जाच्न नमानेको, एम्बुलेन्सको ड्राइभरले सेवा नदिएको तथा नेपाल सरकारले स्वास्थ्यकर्मीहरुको लाइसेन्स खारेजी गर्ने चेतावनी दिएका जस्ता समाचारहरुले पक्कै पनि सबैको मन हतास तुल्याउँछ।
यस्ता समाचारहरुले आम-मानिसमा आक्रोश पैदा हुनु मानवीय स्वभाव हो भने अर्कोतिर स्वास्थ्यकर्मीहरु तथा स्वास्थ्य संस्थामा काम गर्ने व्यक्तिहरुमा पनि यस्ता समाचारले एक किसिमको दिक्दारी तथा आक्रोशको भावनाहरु पनि उब्जाएको छ। यस अवस्थालाई मनोवैज्ञानिक रुपमा नियाल्ने हो भने यो महामारीको अवस्थामा आईपर्ने मनोवैज्ञानिक प्रक्रिया हो।
मानव मनोविज्ञान यसरी बनेको छ कि, आफ्नो रक्षा बिना यसले अन्य कार्य सही ढंगले गर्न सकिदैन। किनकी यस्तो अवस्थामा मानव मन मस्तिष्क कि त जम्छ अथवा फ्रिज हुन्छ, कि त डराएर भाग्छ वा भनौँ ज्यान जोगाउनको लागि कुलेलाम ठोक्छ, या त झगडा अथवा आक्रमण गर्छ। यो अधारभुत प्रतिरक्षा प्रणाली हो। विशेषत जीवन मरण बीचको तनावमा हामीहरुमाथि भनिएका तीन प्रतिक्रिया मध्य एक प्रतिक्रिया अपनाउने गर्छौँ।
जब हामीले नसोचेका घटना तथा आकस्मिक अवस्थाहरु हाम्रो जीवनमा आइपर्छ। यस्तो अवस्थामा मान्छेलाई शारीरिक साथै मानसिक रुपमा पनि असर पर्छ। जसलाई आघात (ट्रमा) भनिन्छ। हालको यो महामारी पनि एक किसिमको मानसिक ट्रमा नै हो। किनकी यो आकस्मात आइपरेको विपत्ति हो। अहिले हामी सबै जीवन र मरणको चिन्ता तथा डरमा छौँ।
यस्तो अवस्थामा डाक्टर तथा नर्सहरु पनि शारीरिक रुपमा बिरामीको नजिक भएपनि उनीहरुको मनमा भने डर र त्रास हुन्छ। आखिर उनीहरु पनि हामी जस्तै आम-मानिस नै हुन्। डर तथा त्राससँग लड्ने शक्ति उनीहरुमा स्वतं हामीमा भन्दा बढी हुन्छ वा हुनुपर्छ जस्तो हामीलाई लाग्न सक्छ। तर उनीहरुको मन पनि आघातबाट मुक्त हुँदैन।
त्यसैले हालको कोभिड-१९ को महामारीमा शंका लागेका व्यक्तिहरुलाई स्वास्थ्यकर्मीहरुले गर्ने केही व्यवहारहरु आम-मानिसका लागि अप्रिय लाग्न सक्ला। यद्यपी यस्ता व्यवहार, स्वास्थ्यकर्मीको मनमा उब्जने विविध मनोवैज्ञानिक प्रक्रिया मध्यको एक हो।
उदाहरणको लागि कोरोनाको शंका लागेका व्यक्तिहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संघ/संस्थाहरुले प्रत्यक्षरुपमा सेवा नदिनु, पिपीई नभईकन शंकास्पद व्यक्तिको उपचारमा संलग्न नहुनु वा कोभिड-१९ का बिरामीहरुलाई उपचार गर्ने क्षमता तथा पूर्व तयारी नभएको अवस्था देखाउनु इत्यादी। स्वास्थ्यकर्मीको यस्ता व्यवहारहरुमा आम-मानिसहरुको भनाई यस्तो रहेको छ कि- 'उनीहरुले हाम्रो जीवन बचाउने जिम्मा लिएका छन् र त उनीहरु डक्टर नर्स भएका छन्। उनीहरुले कोरोनाको डर मान्न कहाँ मिल्छ? उनीहरुलाई हामीले भगवान ठान्छौँ अहिले आएर सामान्य मानिसझैँ भाग्न मिल्छ?’
तर मनोवैज्ञानिक दृष्टिकोणले यी सबै प्रतिक्रियाहरु स्वभाविक छन् र जबसम्म उनीहरुलाई आफू सुरक्षित छु भन्ने हेक्का भित्रैबाट हुँदैन उनीहरु पनि हामीझैँ आफ्नो जीवन रक्षाको लागि यो कोरोनाको युद्ध मैदानबाट बच्न पाउँछन्। किनभने यो नितान्त व्यक्तिगत स्वतन्त्रता तथा व्यक्तिगत मानसिक स्वास्थ्यको रक्षा प्रणाली पनि हो।
यस्तो परिस्थितिमा निरन्तर सेवा प्रदान गर्दागर्दै पनि कतिपय डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरु अहिले विभिन्न किसिमका मनोवैज्ञानिक जटिलतामा जेलिएका हुनसक्छन्।
जसले गर्दा उनीहरु आफ्नो जीवनको अनिश्चितता सँगसँगै आफ्ना बालबच्चा तथा परिवारको चिन्ताका कारण अचानक तर्सने, निन्द्रा नलाग्ने, निन्द्रा लागिहाले पनि डरलाग्दो सपना देखेर ब्युउँझने, अस्वभाविक रुपमा धेरै निन्द्रा लाग्ने, साविक खाना नरुच्ने, वा धेरै खाने, दिक्क मान्ने, हतोत्साही हुने, बेला बेलामा झनक्क रीस उठ्ने तथा अफनै पेशाप्रति असन्तुष्ट भएर यो पेशा अपनाउनु नै गलत थियो कि भन्ने भावनाहरु आउन पनि सक्छ।
यद्यपी यो सब एक संकटको अवस्थामा हुने मानसिक प्रक्रिया हो र यो उचित तरिकाले व्यवस्थापन हुन सकेको अवस्थामा आफैँ हराएर जान्छ। तर समयमा यसको व्यवस्थापन नभए विभिन्न किसिमका मानसिक रोगहरुबाट पीडित बन्नु पर्ने हुनसक्छ। जस्तै चिन्ता, डिप्रेसन, ओसिडी, पिटिएसडी तथा अन्य कडा किसिमका मानसिक रोगहरु। मानसिक रोगहरुले कहिले पनि जात धर्म, पेशा र औकात भनेर छुटाउदैन। यो जो कसैलाई पनि लाग्न सक्छ।
यस्तो परिस्थितिमा हामी सबैले एक पटक धैर्य गरी शान्त मनले सोच्नु पर्ने समय आएको छ। स्वास्थ्यकर्मीहरु सबै हामीझैँ घर, परिवार, बालबच्चा भएका सामाजिक व्यक्तिहरु हुन्। त्यसैले उनीहरुको पनि हाम्रोझैँ सबैभन्दा पहिलो प्रथमिकता आफ्नो जीवनको सुरक्षा र परिवारको रक्षा गर्नु हो।
यस महामारीको घडीमा उनीहरुको मनोसामाजिक अवस्थालाई बुझिदिएर उनीहरुको जीवन रक्षा गर्न सहयोग गर्नु, हाम्रो पनि जिम्मेवारी हो। नत्र समस्या बिग्रदै जानसक्छ र अग्रपंक्तिमा बसेर काम गर्ने स्वाथ्यकर्मीहरु पछि हटे भने के हामीहरुले स्वास्थ्यकर्मीले झैँ अग्रपंक्तिमा बसेर कोभिड-१९ का बिरामीको उपचार गर्न हामीसँग प्राविधिक तथा मनोसामाजिक क्षमता छ त?
होइन भने यस घडीमा स्वास्थ्यकर्मीहरुको मनोबल कसरी बढ्न र बढाउन सकिन्छ भनेर सोच्नु हामी सबैको आम दायित्व हो।
कृतज्ञता तथा आभार
कोभिड-१९ को यो महामारीमा अग्रपंक्तिमा बसेर सेवा गरीरहेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन, उनीहरुको सेवा र सहयोगको लागि हाम्रो भित्रि हुदयदेखि नै उनीहरुलाई मात्र नभई उनीहरुको परिवारलाई समेत कृतज्ञता व्यक्त गर्न जरुरी छ।
किनभने उनीहरुका परिवार तथा आफन्तहरुले गरेको त्याग र तपस्याका कारण ती स्वास्थ्यकर्मीहरु आफ्ना परिवारबाट टाढा बसी कोभिड-१९ का बिरामी तथा कोभिड शंका लागेकाहरुको लागि क्वरेन्टिनमा बसेर सेवा गर्न सक्षम भएका छन्।
उनीहरुको सहयोग र सेवाको लागि हामीले व्यक्त गरेको कुतज्ञता र आभारले स्वास्थ्यकर्मीहरु र उनीहरुको परिवार र हाम्रो मनमा समेत एक किसिमको सकारात्मक तरंग उत्पन्न हुन्छ। जसले गर्दा मानिस-मानिस बीचको गहिरो आफ्नोपन, एकअर्का प्रतिको करुणा तथा पवित्र मायाको सुमधुर सम्बन्धको बोध हुन्छ।
यस्तो अवस्थाबाट परोपकारी भावना बढ्छ र मानव जाति प्रती गर्व महशुस हुन्छ। यसरी आभार प्रकट गर्दा मन खुशी, आनन्दित र आदरपूर्ण हुन्छ किनकी यस्तो बेलामा हामी एकअर्काको लागि सहयोगी बनिरहेका हुन्छौँ र यहि नै हाम्रो खुशी बनिरहेको हुन्छ। अहिले विश्वका हरेक व्यक्तिको भित्री मनलाई छाम्ने हो भने माया, करुणा समुदायीक भावना उर्लेर आएको अवस्था छ।
यसरी हरेक मान्छेको मनमा उर्लेको करुणा, कुतज्ञता तथा आभारबाट आएको सकारात्मक भावलाई हाम्रा स्वास्थ्यकर्मीहरुसम्म पनि पुर्याउन सके उनीहरुमा पनि एक किसीमको उत्साह, नयाँ जोश जाँगर अनि मनमा शान्ती आउँछ। जुन आनन्द न त पैसाले मिल्दछ न त पदले दिलाउँछ।
कोभिड-१९ का बिरामी, कोरोनाका शंका लागेकाहरुहरुलाई क्वरेन्टिनमा सेवा गर्न स्वास्थ्यकर्मीको मन आनन्दित, हर्षित तथा शान्त हुनु अत्यावश्यक छ। जसका कारण स्वास्थ्यकर्मीहरुले दिने सेवाहरु बढी करुणामयी तथा सेवामूखी हुन्छ। यसले स्वास्थ्यकर्मीको मात्र मनोबल बढाउँदैन, बरु कोभिड-१९ भएका बिरामीहरुको र कोरोनाको शंका लागेका व्यक्तिहरु, तथा उनीहरुको परिवारको समेत मनोबल तथा आत्मबल बढ्छ।
विज्ञानले पनि पुष्टी गरीसकेको छ कि मनोबल बलियो भए, मन स्वस्थ्य र शान्त भए शारीरिक शक्ति तथा रोगसँग लढ्ने शक्ति पनि बढ्छ। जसले गर्दा स्वास्थ्यकर्मीहरुले दिने प्राविधिक तथा मनोसामाजिक उपचारको सकारात्मक असर पर्छ र शारीरिक साथै मानसिक स्वास्थ्यमा पनि बढावा भई लाखौको ज्यान बच्न सक्छ।
त्यसैले घर घरमा बसेर हामी सबैले सम्पूर्ण अग्रपक्तिमा बसेर सेवा गरीराखेका स्वास्थ्यकर्मीको लागि शान्ती, धैर्यता तथा करुणाको लागि प्राथनामा विश्वास गर्नेहरुले प्राथना गरौँ। अनि आफ्नो मनबाट नै उनीहरुको सेवा र योगदानको लागि आभार प्रकट गरौँ।
भनिन्छ डराएर मर्नु हुँदैन। तर यो पनि सत्य हो कि, डर त लाग्छ। स्वास्थ्यकर्मीहरु पनि कोरोनाको डरबाट अछुत भने छैनन्। त्यसैले डरले चितामा पुर्याउनु अघि डर विरुद्ध लड्ने उपायहरु तथा उपयुक्त स्रोत साधनको प्रयोग गरेर यसको विरुद्धमा लड्नु पर्छ। डरसँग जुध्न ज्ञान, सीप तथा आँट हुनु आवश्यक हुन्छ।
स्वास्थ्यकर्मीहरुलाई कोरोनको विरुद्ध जोखिम कसरी कम गर्ने तथा यससँग सम्बन्धित आफूसँग भएका ज्ञान, सीप तथा आँटलाई त्यही उचाईमा राख्नको लागि हामी सबैले उनीहरुलाई बेलाबेलामा उनीहरुले छानेको पेशालाई सकारात्मकरुपमा हेरी दिनु पर्छ। ताकी हाम्रा हरेक प्रत्यक्ष तथा अप्रत्यक्ष व्यवहारहरुमा उनीहरु प्रति केवल सकारात्मक भाव तरंगित होस्।
यसरी हामीले उनीहरुप्रति देखाएको अनुग्रहित भावनाले उनीहरु उच्च मनोबलका साथ आफ्नो पेशामार्फत आम-मानिसलाई पूर्ण स्वस्थ्य सेवा प्रदान गरिरहन सकुन्। यसरी नै नेपाली र विश्वलाई नै यस कोभिड-१९ को महामारीबाट नेपाल लगायत सम्पूर्ण विश्वलाई नै बचाउन सकुन्। हाम्रो यहि शुभकामना।
(लेखक किलिनिकल साइकलोजिष्ट हुन्।)