कुल गार्हस्थ्य उत्पादन, रोजगारी र वैदेशिक मुद्रा आर्जनमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण छ।
'वर्ल्ड ट्राभल एन्ड टुरिजम काउन्सिल' को प्रतिवेदन-२०१७ ले हाम्रो कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको ७.५ प्रतिशत योगदान देखाएको छ। वार्षिक ९१ अर्ब योगदान रहेको यो क्षेत्रमा ४ लाख २७ हजार प्रत्यक्ष रोजगार छन्। नौ लाख ९६ हजार जनशक्ति आबद्ध छन्।
अर्थतन्त्रमा पर्यटनको योगदानका आधारमा विश्वका १८५ मुलुकमध्ये नेपाल ३७ औं राष्ट्रमा पर्ने प्रतिवेदनमा उल्लेख छ।
माओवादी-युद्धले थिलोथिलो हाम्रो पर्यटन ०६२-०६३ को जनआन्दोलपछि उठ्दै थियो। २०७२ सालको भुइँचालोले फेरि लडायो। २०७४ सालमा पर्यटनमा उत्साहजनक सुधार देखियो। विदेशी पर्यटक संख्या झन्डै १२ लाख पुग्यो। तर कोरोना भाइरस महामारीले फेरि पूरै संकटग्रस्त बनाइदियो। २० लाख पर्यटन भित्र्याउने महत्वकांक्षी लक्ष्यसहितको भ्रमण वर्ष रद्द भयो।
विश्व पर्यटन संगठन भन्छ– महामारीबाट प्रभावितमध्ये प्रमुख क्षेत्र हुनेछ अन्तर्राष्ट्रिय पर्यटन।
कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय पर्यटनमा २० देखि ३० प्रतिशत संकुचन आउने संगठनको प्रारम्भिक विश्लेषण पनि छ। यो प्रतिशतअनुसार विश्व पर्यटनले ३० देखि ५० अर्ब अमेरिकी डलर गुमाउन सक्ने देखिन्छ।
साना र मध्यम व्यवसायी अझै बढी प्रभावित हुने संगठनको आकलन छ। यसको असर पर्यटनमा आश्रित करोडौं श्रमिकमा पर्नेछ। अर्थतन्त्रमा रेमिट्यान्स र पर्यटनको क्रमशः झन्डै ३० र ८ प्रतिशत योगदान रहेको हाम्रो देश दोहोरो मारमा पर्ने निश्चित छ।
तत्काल हामीकहाँ महामारी बिकराल नबने पनि विश्व आर्थिक मन्दीले हाम्रो पर्यटन अछुतो रहन सक्दैन। संसारकै मान्छेको किन्ने क्षमता कमजोर हुने पक्का छ। विश्व बजारको माग, पूर्ति, उत्पादन, लगानी, आयात, निर्यात प्रत्यक्ष प्रभावित हुन्छ। करोडौं बेरोजगार बन्छन्। काम हुनेसँग पनि घुमफिर र मनोरञ्जनका लागि पर्याप्त समय र पैसा दुवै हुँदैन। फलतः समग्र अन्तर्राष्ट्रिय पर्यटनले समेत दुरावस्था भोग्नुपर्ने छ।
यद्यपी, पुनर्लाभका उचित उपाय र निधानका सही रणनीति अवलम्बन गर्न सके केही हदसम्म भए पनि हाम्रो पर्यटन क्षेत्रले राहत महशुस गर्न सक्छ।
पुनर्लाभ योजना र रणनीतिः
कोरोनाको असरले हाम्रो पर्यटन क्षेत्र पुरानो अवस्थामा फर्किन कम्तीमा २–३ वर्ष लाग्ने जानकारहरूको अनुमान छ। यो संकटग्रस्त अवस्थाबाट पाउन प्रभावकारी पुनर्लाभ योजना तयार गर्नु जरुरी छ। त्यसको आवधिक समीक्षा र मूल्यांकन पनि प्राथमिकतामा राखिनुपर्छ। आगामी छ महिनादेखि एकवर्ष पर्यटन क्षेत्रको अग्रगामी छलाङभन्दा यसको निधान र पुरानो अवस्थामा फर्काउने रणनीति अवलम्बन गर्नु उचित देखिन्छ।
भ्रमण वर्षलाई लक्षित गरी अधिकांश उद्योगी, व्यवसायीले लगानी बढाएका थिए। यसले व्यवसायीका थाप्लोमा थप व्याजभार थपिएको छ। यो यथार्थप्रति राज्य गम्भीर बनेर उचित सहुलियत र राहत प्याकेजका योजना गम्भीर हुनुपर्ने देखिन्छ। अल्पकालीन र सहर केन्द्रित लगानी हाल थाती राख्नु उचित हुन्छ।
उपलव्ध लगानी दुर्गम स्थानका नयाँ पर्यटकीय गन्तव्यमा आकर्षण गर्न सके अझै फलदायी हुन सक्छ। सहरी पर्यटनमा दीर्घकालीन लगानी मात्र प्रोत्साहित गर्नुपर्ने हुन्छ। अबका केही वर्ष महत्वकांक्षी लगानी निराशाको कारण बन्न सक्छ। यसतर्फ सम्पूर्ण सरोकारवालाको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ।
महामारीले विश्व अर्थतन्त्रमा पार्ने क्षति र अन्तर्राष्ट्रिय पर्यटनमा ल्याउने सम्भावित उतारचढावको तथ्यगत विश्लेषण आधारमा हाम्रो पर्यटन क्षेत्रको पुनर्व्याख्या र पुनर्संरचना राज्य सरकारले आफ्नो प्राथमिकतामा राख्नुपर्ने देखिन्छ।
महामारीको यो असर पर्यटन क्षेत्रको क्षति र नोक्सानी मात्र पक्कै होइन। विद्यमान स्वरुप र संरचनाको प्रतिमान वा दृष्टान्त परिवर्तनको अवसर पनि हो। हाम्रो सरकार र नेतृत्व यो अवसरको भरपुर सदुपयोग गर्ने क्षमता राख्नुपर्छ।
हिमाल आरोहण रोयल्टी र अर्धनिषेधित क्षेत्रका प्रवेश शुल्क पुनरावलोकनः
सामान्य अवस्थामा रोयल्टी तथा शुल्क घटाएर पर्यटक बढाउने नीति गुणस्तरीय पर्यटन दृष्टिकोणले उचित मान्न सकिन्न। तर विषम परिस्थितिमा पर्यटन क्षेत्र जोगाउने र जगाउने सवाल महत्पूर्ण छ। देशमा पर्यटक भित्र्याउने सबै बिकल्प प्रयोग बुद्धिमानी ठहर्छ।
हिमाल आरोहण र अर्धनिषेधित क्षेत्रका पदयात्रा दुवै खर्चिलो पर्यटकीय गतिविधिमा पर्छन्। यो शुल्क घटाएर केही पर्यटकको आवागमन सुनिश्चित गर्न सकिन्छ। नचढिएका हिमाल आरोहण अनुमति खुला गरेर पनि पर्यटक तान्न सकिन्छ। यसतर्फ सरकारको गम्भीर चासो खाँचो छ।
सरकारले लामो समयदेखि थुप्रै स्थानलाई अर्धनिषेधित क्षेत्र घोषणा गरेर नियन्त्रित पर्यटनको अवधारणा अवलम्वन गर्दै आएको छ। त्यस क्षेत्रको वस्तुगत अध्ययन गरी विद्यमान अर्धनिषेधित अवस्थालाई निरन्तरता दिने वा परिमार्जन गर्ने, यस सम्बन्धमा पुनर्विचार गर्ने उचित समय पनि हो यो।
नियन्त्रित पर्यटनबाट स्थानीयमा अति कम लाभ पुगिरहेको छ। निश्चित पूर्वाधार र मापदण्ड पूरा भइसकोका अर्धनिषेधित क्षेत्र विदेशी पर्यटकका लागि खुला गर्नेतर्फ पनि राज्यको ध्यान पुग्नु जरुरी छ। राज्यको यो निर्णयले पनि संकटग्रस्त पर्यटनलाई टेवा पुर्याउन सक्छ।
कृषि–पर्यटनको प्रवर्द्धनः
कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको करिब २७ प्रतिशत र पर्यटनको ८ प्रतिशत योगदान छ। कृषि–पर्यटन प्रवर्द्धनबाट यो प्रतिशत चमत्कारी ढंगले बढाउन सकिन्छ। यसको लागि सरकार र सरोकारवाला दुवैको सकारात्मक सोच र प्रतिबद्धता खाँचो छ। महामारीले निम्त्याएको यो संकटले यसको आवश्यकता पनि संकेत गरिरहेको छ।
रोजगारीका लागि करिब ५०–६० लाख नेपाली देशबाहिर छन्। गाउँगाउँका जमिन बाँझा छन्। सहरका प्लटिङले टुक्रिसके, सहरका घरैघरले भरिइसके। हरेक साल व्यापार घाटा छ। यो महामारीका कारण वैदेशिक रोजगारीमा जाने लाखौं नेपालीको रोजगारी गुम्न सक्छ। रेमिट्यान्स घट्न थालिसक्यो।
लकडाउनपछि बेरोजगारीका कारण देश फर्कनेको संख्या बढ्ने निश्चित छ। यसले खाद्यान्न लगायत वस्तुको आयात झन् बढाउँछ। बेरोजगारी समस्या झनै थपिन्छ। तसर्थ बेरोजगार जनशक्तिको उपयोग, बाँझो जमिन सदुपयोग, देशलाई खाद्यान्नमा आत्मनिर्भर पार्न र संकटग्रस्त पर्यटन क्षेत्रको उद्धार गर्न कृषि–पर्यटन सबभन्दा उत्तम विकल्प हुन सक्छ।
कृषि पेशाप्रति हाम्रो जनशक्तिमा किन वितृष्णा छ? त्यसको इमान्दार खोजी अब राज्यले गर्नुपर्छ। कृषि कर्म त्यागेर युवा जनशक्ति किन विदेश पलायन हुन्छ? त्यसको तथ्यपरक पहिचानमा अब ढिलाइ गर्नुहुँदैन।
त्यसैका आधारमा कृषि र पर्यटनको संयुक्त योजना निर्माणलाई राज्यले आफ्नो प्राथमिकतामा राख्नुपर्छ। निर्वाहमुखी कृषि प्रणालीमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्नुपर्छ। गुजारा प्रवृत्तिको कृषि परिवर्तन गरी किसानलाई उद्यमी बनाउने राज्यको अबको नीति हुनुपर्छ। बेरोजगार जनशक्तिलाई कृषि पेशामा आकर्षित गर्न सक्नुपर्छ। किसानलाई आफ्नो बचत कृषि–पर्यटनमा लगानी गर्ने अवसर दिनुपर्छ। जसबाट उनीहरूलाई पेशागत विविधीकरणको मौका र आत्मसम्मान दुवै प्राप्त होस्।
कृषि सिंचाइ, नहर, जलाशय निर्माणसम्बन्धी राज्यको योजनामा जलपर्यटनको सम्भावना पनि समेटिनुपर्छ। केही लगानी थप्दा कृषि उत्पादन र जल पर्यटन दुवैलाई टेवा मिल्छ भने राज्यले यसतर्फ उदार नीति लिन कन्जुस्याइँ गर्नु हुँदैन। गाउँमा साना होटल, हामेस्टे, फामस्टेका अवधारणा अघि सारिनुपर्छ।
पर्यटकलाई लक्षित गरी कृषि उत्पादनमा आधारित चिनो, उपहार जस्ता वस्तु तयार गर्न स्थानीयलाई प्रशिक्षिण दिनुपर्छ। यसले थप रोजगारीको अवसर सिर्जना गर्नुका साथै स्थानीय कृषि उत्पादनको खपत पनि बढाउँछ। पर्यटकलाई फरक समुदाय, संस्कृतिको फरक आतिथ्य सत्कारको स्वाद लिने मौका पनि उपलब्ध हुन्छ।
आन्तरिक भ्रमण प्याकेजको प्रवर्द्धनः
विगतमा लाखौं नेपाली विदेश भ्रमणमा जाने गरेको अभिलेख छ। हाम्रा थुप्रै एजेन्सीले विदेश भ्रमण प्याकेज बिक्री गर्दै आएका पनि छन्। यो वर्ष त्यही अनुपातमा नभए पनि केही त विदेश यात्रामा निश्चय नै जान्छन्। राज्यले यो वर्ष त्यस्ता भ्रमणको योजनामा भएका आफ्ना जनतालाई विशेष सहुलियत कार्यक्रम र आह्वानले देश घुम्न प्रेरित गर्न सक्नुपर्छ।
विदेशी प्याकेज बिक्रीकर्ता एजेन्सीले पनि यो अप्ठ्यारो परिस्थितिमा राज्यलाई सहयोग गर्नुपर्छ। यो वर्ष आफ्नो व्यापारलाई आन्तरिक भ्रमण प्याकेजमा केन्द्रित गर्नुपर्छ। देशवासीको विदेश भ्रमणमाभन्दा कम्तीमा दक्षिण एसियाली मुलुकका पर्यटक देश भित्र्याउने योजनामा लाग्नुपर्छ।
विदेश भ्रमण योजनामा रहेका देशवासी पनि देशको अवस्थाप्रति गम्भीर बन्नुपर्छ। विदेश यात्रा रद्ध गरेर यो साल आफ्नै देश घुमेर देशको पर्यटनको उद्धार गर्न सहयोग गर्नुपर्छ। विदेश भ्रमण स्वास्थ्य हिसाबले जोखिमपूर्ण हुनसक्नेतर्फ पनि सचेत रहनुपर्छ।
चिनियाँ र भारतीय पर्यटकलाई प्राथमिकताः
चीनबाट फैलिएको महामारीले विश्वलाई आक्रान्त बनाएको छ। विश्वकै उत्पादन, आयात, निर्यात, आपूर्ति तथा उपभोग प्रणाली, पर्यटन लगायत अर्थतन्त्रका अवयव प्रभावित छन्। पूरै विश्व आर्थिक मन्दीमा धकेलिरहेको छ। पछिल्लो समय युरोप, अमेरिका र मध्यपूर्वका राष्ट्र यो महामारीबाट अझै प्रभावित छन्।
बढ्दो संक्रमण अनुपातले महामारी नियन्त्रणमा आउने टुंगो देखिँदैन। नियन्त्रणमा जति समय लम्बिन्छ त्यसले भोलिको पुनर्लाभ (रिकभरी) समय पनि लम्ब्याउँछ। पुनर्लाभको समय लम्बिनु भनेको आर्थिक संकटको अवधि लम्बिनु हो।
खराब अर्थतन्त्रको प्रभाव त्यस देशको नागरिकका पर्यटकीय संस्कृतिमा पनि पर्ने प्रायः निश्चित छ। महामारीको उद्गम राष्ट्र चीनले यो संकटमाथि करिब विजय हासिल गरेसरह छ। लकडाउन हटाएर जनजीवन सामान्य बन्दैछ। विस्तारै उत्पादन प्रणाली पनि चलायमान बन्दैछ।
आजको पूरै विश्व चीनको उत्पादनको बजार हो। महामारीका कारण कतिपय उत्पादन र बजार दुवैमा चीनको एकाधिकार कायम हुन सक्ने देखिन्छ। यसले संकेत गर्छ, महामारीको पहिलो शिकार चीनले राष्ट्रिय अर्थतन्त्रको उपचार र पुनर्लाभ पनि अरूले भन्दा अगाडि नै गर्छ।
सन् २०१९ मा पनि नेपाल आउने पर्यटकमा चिनियाँ पर्यटक संख्या भारतपछिको दोस्रो छ। यसर्थ यो वर्षभित्रै चिनियाँ नागरिकको राष्ट्रिय, अन्तर्राष्ट्रिय पर्यटकीय गतिविधिमा सुधार आउने अपेक्षा गर्न सकिन्छ।
भारतमा पनि हालसम्म तुलनात्मक हिसाबले महामारी प्रभाव कम छ। यद्यपी लकडाउनका कारण अथतन्त्र गम्भीर प्रभावित छ। तर पनि महामारीमाथि भारत नियन्त्रण कायमै राख्न सफल भयो भने नेपालका लागि पनि यो धेरै हिसाबले सुखद हुन्छ।
नेपाल आउने धार्मिक पर्यटकको ठूलो हिंसा भारतकै छ। धर्मसँग मानवीय भावना, स्वभाव, मनोविज्ञान र संस्कार जोडिएको हुन्छ। हरेक मानव समुदायले धार्मिक कार्यका लागि संकटमा पनि विशेष जोहो गर्ने गर्छ।
नेपालले भारतीय नागरिकको यो धार्मिक आस्थाको फाइदा उठाउन सक्छः भारतीय धार्मिक पर्यटक प्रवर्द्धनका लागि विभिन्न धार्मिक गतिविधि गरेर र भारतीयको आस्थाका नेपाली पवित्र तीर्थस्थलको व्यापक प्रचारप्रसार गरेर।
कोरोनाको महामारी मत्थर भएपछि यो वर्ष नेपालले आफ्नो पर्यटन प्रवर्द्धन गतिविधिलाई यूरोप, अमेरिका र मध्यपूर्वका राष्ट्रमाभन्दा भारत र चीनमा केन्द्रित गर्दा बढी लाभ लिन सक्छ।