विगत केही महिनादेखि महामारीको रूपमा फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९) ले व्यक्तिलाई मात्र नभई संसारकै अर्थतन्त्रमा नराम्ररी असर गरेको छ।
यसले मानिसको सामाजिक गतिविधि तथा दैनिकीमाथि उथलपुथल पारिरहेको हामी अनभुव गरिरहेका छौं। लाखौं मानिस घरभित्र बस्न बाध्य छन्। स्कुल, कलेज, संघ संस्था प्राय:सबै बन्द नै छन् र केहीले प्रविधियुक्त सुविधा अनुसार घरबाट नै काम गरिरहेका छन्।
संयुक्त राष्ट्र संघले हालैमात्र सार्वजनिक गरेको तथ्य अनुसार संसारमा १.५२ अर्ब विद्यार्थी घरभित्र छन्। यस कोभिड-१९ को असर सर्वत्र परेता पनि यसले समग्र महिलामाथि अझ नराम्ररी प्रभाव पारिरहेको कुरा प्रष्ट देखिन्छ। बालबच्चा हेरचाह गर्ने, घरायसी काम गर्ने, बिरामी स्याहार्ने मात्र नभई संसारको स्वास्थ्य सेवाको ठूलो हिस्सा महिलाले ओगटेको तथ्यांक पाइन्छ।
महिला नै स्वास्थ्य सेविका, नर्स, वृद्धवृद्धा, बिरामीको हेरचाह गर्ने साथै घरको बालबच्चा तथा दैनिकीमा धेरै नै संलग्न भएको पाइन्छ। तै पनि यी आदि/इत्यादि कामको पारिश्रमिक नपाउनु, पाए पनि काम अनुसारको थोरै पाउनु तथा कामको मूल्यांकन नहुनु, सामान्य जस्तो भइसक्यो।
हालको कोभिड-१९ को सबभन्दा बढी असर महिलामाथि पर्नुको अर्को मुख्य कारण धेरै महिला अनौपचारिक सेवामा पुरूषको तुलनामा बढी नै छन्।
त्यसमा पनि सबभन्दा बढी घरमूली, एकल महिला, स‑साना बच्चाको आमा तथा शारीरिक रूपले असक्त समस्यामा परेको पाइन्छ।
नेपालका धेरै महिला घरायसी कामसँगै सानातिना उत्पादनमूलक काम गर्ने गर्छन्। अहिले लकडाउनले बजार बन्द छ, कच्चा पदार्थको अभाव, सुरक्षा सर्तकता आदिले गर्दा आफूले आर्जन गरिरहेकोबाट पनि उनीहरू बञ्चित हुन पुगेका छन्।
अमेरिकामा हालैमात्र गरेको एउटा सर्वेले पनि कोरोनाको कारणले परिवार बिरामी हुने चिन्ता, काम बन्द भएर आम्दानी घटेकोले महिलाहरू बढी चिन्तित र यसले मनोवैज्ञानिक असर परेको तथ्यांक सार्वजनिक गरेको छ।
यस्तो महामारीको बेलामा पनि महिला नै बढी स्वास्थ्य सेवाका क्षेत्रमा रहेका देखिन्छ तर उनीहरू निर्णय गर्ने नेतृत्व भूमिकामा छन् कि छैनन् भन्ने कुराको मूल्यांकन गर्न जरूरी देखिएको छ।
अझै पनि पृत्तिसत्तात्मक सोचबाट हुर्केका हामी पुरूषलाई घरायसी काममा संलग्न गराउन हिच्कियाउँछौं। पुरूषको एक खालको जमात पनि घरेलु काम भनेको महिलाहरूकै हो भनेर अगाडि तम्सिदैनन्।
संयक्त राष्ट्र संघको लैंगिक सल्लाहकार नाहलवाल्जी भन्छन्, ‘यो संसारमा कुनै पनि एउटा त्यो समाज छैन जहाँ महिला पुरूषबीच समानता होस्, त्यसैले पनि यस्तो असमान अवस्था भोगिरहेका महिला यो महामारीले अरू बढी हिंसा र शोषणबाट प्रताडित हुन्छन्’
नेपालमा पनि कोरोना भाइरसको सम्बोधनका लागि अपनाइएका लकडाउन, सचेतना कार्यक्रम, राहत वितरण, र्यापिड टेस्ट, क्वारेन्टाइनको बन्दोबस्त आदि/इत्यादि सकारात्मक कार्य हुँदाहुँदै पनि नेपाल सरकारका केही कार्य लैंगिक अवधारणयुक्त नभएको पाइन्छ।
यस्तो अवस्थालाई पार लगाउन जिम्मा लिएको उच्चस्तरीय समितिमा एउटा पनि महिला नहुनु लैंगिक समानता तथा समावेशीका अवधारणयुक्त ठोस नीति नहुनाले पनि यसले महिलालाई नै ठूलो असर गरेको देखिन्छ र स्वास्थ्य सेवाको अग्र पंक्तिमा महिला समर्पित छन् भन्ने कुराबाट अनविज्ञ रहेको अनुभूति हुन्छ।
यस्तो विकराल अवस्थामा महिलामाथि पर्न सक्ने हिंसा तथा असमानतालाई सम्बोधन गर्ने जिम्मा लिएको एउटै मात्र संवैधानिक निकाय राष्ट्रिय महिला आयोग पदाधिकारीकोविहीन छ।
यस अवस्थामा ध्यान दिनुपर्ने कुराहरू :
कोरोना भाइरसको कारणले महिलामाथि के कस्तो प्रभाव तथा असर र त्यसले निम्त्याउने सामाजिक उथलपुथलसम्बन्धी तथ्यको लागि लैंगिक विश्लेषण गर्नु जरूरी छ र साथै यस महामारीबाट कुन वर्गका महिला अझ बढी प्रभावित छन् भन्ने बुझ्न तथ्यांक संकलन गर्न जरूरी छ।
यस्तो महामारीको बेलामा समुदायमा रहेको सबै संस्थाको माध्यमद्वारा आकस्मिक गर्न सक्ने कार्य जस्तै: राहत वितरण, तथ्यांक लिने, हटलाइनबाट मनोपरामर्श गर्ने, सूचना जारी गर्ने, सचेतनाका काम साथै रेफरल कार्य सुरू गर्नुपर्छ। त्यसका लागि स्थानीय सरकारसँग समन्वय गरेर कार्य गर्नु प्रभावकारी रहन्छ।
महिलाहरू धेरै अनौपचारिक कार्यमा काम गर्ने हुनाले र हाल कार्यस्थलहरूले बिना पारिश्रमिक काम बन्द गरी दिनाले आर्थिक बोझ बढेको पाइन्छ। त्यसका लागि आधारभूत आवश्यकता पूरा गर्न स्थानीय सरकार तथा गैर सरकारी संघ संस्थाहरूले मद्दत गर्नु सक्दछ। लामो समयसम्म घरमा बस्नु पर्ने बाध्यता भएका महिलाहरूलाई अहिलेको आवश्यकता परिपूर्ति गर्न सक्ने कार्यको उत्पादनमूलक भूमिकामा परिचालन गरेर आर्थिक आम्दानी गराउन सकिन्छ।
(चीनमा कोरोनाको कारण लकडाउन भएपछि समुदायका महिलाहरूलाई स्वास्थ्य सेवामा चाहिने मास्क, पिपीई, स्यानिटाइजर, साबुनका साथै खाद्यपदार्थ उत्पादन गराउन लगाएको ज्वलन्त उदाहरण हामीसामू छ।)
समुदायमा कोरोनाबाट बच्न सक्ने उपाय तथा लकडाउनका नियमबारे सही सूचना सम्प्रेषण गर्न सकेन भने भयावह अवस्था सृजना हुनसक्ने पक्कै छ। त्यसैले सबैले बुझ्ने गरी श्रव्य, दृश्य वा स्थानीय भाषाबाट संस्कृति अनुसारको सूचना सम्प्रेषण गरी चेतना फैलाएमा प्रभावकारी बन्न सक्छ।
स्थानीय तहमा यस्तो महामारीको अवस्थामा हुन सक्ने तथा भइरहेको हिंसालाई ध्यानमा राखेर सुरक्षा नीति बनाउन जरूरी छ। हिंसा भएमा तुरून्तै खबर गर्ने माध्यम, टोल-टोलमा समुदायका अगुवा महिलाहरूको परिचालन, महिला प्रहरी परिचालन गर्नु आवश्यक छ।
(राहत बाँड्न जाने बेलामा भेट भएका केही महिलाहरूले रक्सी पसलेहरू पछाडिबाट रक्सी बेच्ने गरेकोले श्रीमानले रक्सी पिएर पिट्ने गरेको घटना सुनाएका थिए। यो बेलामा रक्सी पसलहरू खोल्ने वा बेचेमा कडा कारबाही गर्नको लागि प्रभावकारी कदम चाल्न पर्ने हुन जान्छ।)
स्थानीय सरकारले बाँड्ने गरेको राहत सामग्रीमा खाद्य वस्तुको साथै महिलाको लागि चाहिने अपरिहार्य सामान जस्तै: स्यानिटरी प्याड, परिवार नियोजनका साधन, बच्चाका लागि खानेकुरा, गर्भवती महिलालाई चाहिने पोष्टिक आहारको साथै वृद्धवृद्धा तथा शारीरिक अपांगता भएका व्यक्तिहरूलाई मध्यनजर गरेर चाहिने आवश्यक सामग्री पनि समावेश गर्न जरूरी देखिन्छ। किनकी यस्ता अतिआवश्यक सामग्रीको अभावमा महिला तथा शारीरिक आपंगता भएका महिला अझ बढी पीडित भएको पाइन्छ। राहत सामग्री बाँड्ने क्रममा स्थानीय स्वंयमसेवीले राहत प्राप्त गर्ने सूची लैंगिक समावेशी भए/नभएको हेर्नु पर्दछ।
(एक जना ह्विल चेयरमा मात्र बस्नुपर्ने बहिनीले म खाना बिना केही दिन बाँच्न सक्छु तर मैले लगाउने डाइपर र स्यानिटरी प्याड नभएमा मलाई गाह्रो हुन्छ भनेको मार्मिक कुरा पत्रिकामा आएको थियो।)
यस्तो अवस्थामा महिला/ पुरूष अति विपन्न मात्र नभनिकन ज्येष्ठ नागरिक, एकल महिला, शारीरिक अपांगता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिलाहरूको विशेष ध्यान राख्नु पर्दछ।
सबभन्दा ठूलो कुरा यस महामारीबाट दीर्घकालीन आर्थिक प्रभाव र त्यसको कारणले बढ्ने लैंगिक असमानतालाई मध्य नजर राखेर अहिलेकै अवस्थादेखि कार्यसम्पादन गर्नु/गराउन जरूरी तथा बुद्धिमानी देखिन्छ।
पछिसम्म आत्मनिर्भर हुन सक्ने कार्यक्रम, स्थानीय क्षेत्रको परिचालन, पारम्परिक सीप, खाद्य सुरक्षा तथा संवर्द्धनको सीप तथा त्यसका लागि नीति, लैंगिक कार्य सम्पादन तथा बाँडफाँटबारे सचेतन, जोखिम नियन्त्रण विधिबाट पाठ्यक्रम तथा पठनपाठनको साथै मुख्यतया महिलाहरूलाई स्वास्थ सेवासम्बन्धी नेतृत्वदायी भूमिकामा अगाडि ल्याउन सकेमा भविष्यमा कुनै पनि महामारी आएमा सामना गर्न सक्ने समाजको निर्माण हुनेछ ।