कोभिडको अन्त छिट्टै होस्, सबैको यहि कामना छ। लामो दौडधुपमा रहेको मानिसको जीवन घरमै लकडाउनमा बस्दा पक्कै पनि अत्यास लाग्दो त छ नै, तर यसको अर्को उपयुक्त विकल्प पनि त छैन।
यस समय आत्मसमीक्षा गर्न सके पक्कै पनि आउने दिन उपलब्धिमूलक हुनसक्छ। यसो हुनुपर्छ र त्यसो हुनुपर्छ भनेर त सबैले भनेकै छन्, मौका पाएको बेलामा गर्न सकियो कि सकिएन मूल प्रश्न यहि हो।
विगत त विगत भइहाल्यो। भविष्य के हुन्छ कसैलाइ थाहा छैन्। जे छ वर्तमान मात्र आफूसँग छ। तसर्थ अहिले के गर्दै छ भन्ने विषय अत्यन्त महत्वपूर्ण छ। घरमा लकडाउन भएको बेला अहिले गर्न सकिने भनेको आत्मसमीक्षा हो। तसर्थ शिक्षाका विषयमा केही आत्मसमीक्षा गरिहेरौँ न त।
पहिलो समीक्षा हरेकले आफ्नै कार्यबाट हेरौँ। विगतदेखि अहिलेसम्म सबैको समय बदलियो, उमेरमा बढ्यो, पढ्ने विषयवस्तु बदलिए, विद्यालयको संरचना बदलियो, साथीसंगीका व्यवहार बदलिए र धेरै थोरै अभिभावक पनि बदलिए।
अब प्रश्न उठ्छ, शिक्षा पद्धति संचालन गर्ने हर्ताकर्ता कति बदलियौँ त? प्रधानाध्यापक र शिक्षक कति बदलिए त? साथै पढ्ने विषयवस्तुलाई समयानुसार कति बदल्न सकियो त? समग्रमा भन्नुपर्दा शिक्षा पद्धति कति बदलियो त? हामीले विगतमा गरेका केही काम हेरौँ।
हामीकहाँ विगतमा पनि बालमैत्री विद्यालय, कक्षा, शिक्षण जस्ता अवधारणा नभएको होइन। व्यवहारमा के कति कार्यान्वयन भए भन्ने मात्र हो। अहिले कतिपयले यसका बारेमा यसरी बोल्छन् कि नेपालको शिक्षा प्रणालीमा यी चीजहरु विगतमा कहिल्यै पनि थिएनन्।
हामीले यस्ता अवधारणा बुझेकै थिएनौँ वा सुनेकै थिएनौँ जस्तो गरी अहिले व्याख्या हुने गरेको देखिन्छ। विगतमा हामीले प्रयोगमा ल्याएको ठूलो वर्णमाला पुस्तकमा के थिएन र? भाषा त्यहिँ थियो, सामाजिक सीपका विषयवस्तु त्यहिँ थिए, गणित त्यहिँ थिए।
यीनका साथमा दैनिक जीवनका लागि आवश्यक धेरै सीपहरु त्यसमा समाविष्ट थिए। साना कक्षामा सस्वर वाचन गर्नुपर्छ भन्ने अवधारणा समेत त्यसैमा थियो। तर जानेर नजानेर यी सबै पक्षहरु हामीले चटक्कै छोड्यौं।
अहिले आएर फेरि पढाई र यससँग सम्बन्धित सीपका बारेमा कुरा गर्न थालेका छौँ। विगतमा थिएन नभनौँ। यी र यस्तै थुप्रै उपयोगी चीजहरु विगतमा पनि थिए, तर हामीले छाड्यौँ भनौँ। अहिले आएर फेरि सुरु गरेका छौँ भनौँ। विगतको अभ्यास छोड्दा पनि जवाफ दिनु नपर्ने र फेरि नयाँ सुरु गर्दा पनि जवाफ दिनु नपर्ने कस्तो सजिलो प्रणाली छ हामीकहाँ।
शिक्षामा गरिने हरेक परिवर्तन अध्ययन अनुसन्धानको आधारमा हुनुपर्छ त भन्ने गरिन्छ। तर यस धारणालाई कार्यान्वयनमा ल्याउन कहिले सकिने होला? अब त सबैले मनन गरौँ, सोचौं र बोलौं कि शिक्षामा अबका दिनमा अध्ययन अनुसन्धानले देखाएका क्षेत्र र स्थानमा मात्र परिवर्तन हुन्छन भनेर।
कुनै लहडमा परिवर्तन गरेर भोलिका पुस्ताका लागि अनावश्यक प्रभाव र असर सृजना नगरौँ। दिगो विकास लक्ष्यको अवधारणा पनि यहि नै भन्छ।
परिवर्तन क्रमिक र क्रान्तिकारी दुवै ढंगबाट हुन्छ भन्ने गरिन्छ। क्रमिक परिवर्तन ढिलो गतिमा हुन्छ तर दिगो हुन्छ। क्रान्तिकारी परिवर्तनले छिटो नतिजा त दिन्छ तर त्यसको दिगोपना र स्थायित्वका सम्बन्धमा राम्रो तयारी र कार्यान्वयनमा थप चुस्तता एवम् प्रभावकारीता पनि चाहिन्छ। कुन चाँहि परिवर्तन गर्ने हो सोका बारेमा बुझेरमात्र आफ्ना काम अगाडि बढाऔँ।
शिक्षा विकास र समाज विकास एक आपसमा अन्तरसम्बन्धित छन्। एउटाको विकास वा विनाशले अर्कोलाई प्रभाव पार्न सक्छ। समाज विकासले शिक्षालाई प्रभावित गरे जस्तै शिक्षाले पनि समाज विकासलाई प्रभावित गर्न सक्छ। वि.सं. २०११ सालको शिक्षाको प्रतिवेदनलाई अलग राखेर हेर्ने हो भने हामीले शिक्षालाई एकांकी ढंगबाट विकास गर्न खोज्यौं।
टुक्राटुक्रामा सुधार गरेर समग्र शिक्षामा सुधार हुन्छ भन्ने अवधारणा बमोजिम नै काम गर्यौं। हामीले खोजेको समाज कस्तो हो, समाजलाई कुन ढंगबाट विकास गर्ने भन्ने सोच नराखिकन शिक्षामा सुधार खोज्यौं। समाज र शिक्षा वि.सं. २०२८ सालसम्म केही मात्रामा जोडिएको थियो, त्यस पछि त झन शिक्षा एक्लै हिड्यो।
शिक्षाको विकास एकांकी ढंगबाट अगाडी बढाइयो। अर्कोतिर समाज पनि आफ्नै गतिमा हिड्यो। यीनै प्रयासको नतिजा अहिले देखिएको हो। अहिलेको शिक्षाको नतिजा पाउन त अर्को २० वर्ष थप कुर्नुपर्छ। यहि गतिमा हिड्ने हो भने त्यतिबेला पछुताउनु बाहेक केही बाँकी नरहन सक्छ।
शिक्षामा जे गर्नु पर्ने हो, हाम्रा आफ्ना अभ्यासमा थप गर्दै जाउँ। आयातित विचार मात्र ल्याई हाम्रा अभ्यास चटक्क नछोडौँ। राम्रा कुरा जहाँबाट लिए पनि हुन्छ। त्यसलाई हाम्रो परिवेशअनुसार ढालेर मात्र प्रयोग गर्ने सोच ल्याउँ।
विगतमा विद्यालयका सबै विद्यार्थीको नाम शिक्षक र प्रधानाध्यापकलाई कन्ठ हुन्थ्यो। विद्यार्थीको नाम मात्र होइन, उनका अभिभावक र पारिवारिक पृष्ठभूमी पनि थाहा हुन्थ्यो। वास्तवमा विद्यार्थीको पोर्टफोलियो भनेको यहि त थियो नि।
जसलाई सबै कण्ठ हुने पद्धति थियो, त्यसलाई पुरानो भनेर अव्यवहारिक बनाइयो। कागज र फाइलमा पोर्टफोलियो राख्न भनियो जसलाइ नयाँ काम त भनियो, तर त्यो बोझको रुपमा मात्र रह्यो। पुरानो पनि चटक्कै छोड्यौँ तर नयाँलाई कार्यान्वयनमा ल्याउन सकिएन। यी र यस्ता थुप्रै अभ्यासले हामी घर न घाटका जस्ता भयौं।
तसर्थ बाहिरबाट जे ल्याउने हो त्यसलाई हाम्रा सन्दर्भमा कार्यान्वयनमा ल्याउन पनि थप अध्ययन गरौँ, थप अभ्यास गरौँ अनि मात्र ठूलो स्केलमा कार्यान्वयनमा ल्याउँ। यसले गर्दा नयाँ चीज पनि हाम्रै आफ्नै हुन्छ।
गरिआएको अभ्यासमा अलिकति थप गर्दा कसैलाई भार थप भएको महशुस पनि नहुन सक्छ। यसरी थोरै थोरै गर्दै धेरै सुधारका काम गर्न सकिन्छ। तसर्थ अहिलेको परिवेश, स्रोत साधन र हैसियत हेर्दा हामीलाई चाहिएको परिवर्तन क्रमिक नै हो।
प्रविधिले समाजका धेरै पक्षमा प्रभाव पारिसक्यो। हाम्रा बानी व्यवहार, जीवनशैली, सामाजिक सम्बन्धहरु बदलिए, मूल्य मान्यतामा परिवर्तन आए। हामीले चाहे पनि नचाहे पनि यस्तो परिवर्तनले हामी सबैलाई छोइसक्यो, प्रभावित गरिसक्यो। यसले हामीलाई कहाँ पुर्याउछ वा यसको अन्त कहाँ छ भन्ने विषय अनुमान बाहिर छ।
युभल नोहा हरारीका भाषामा भन्ने हो भने ढंग पुर्याउन सकेनौँ भने यसले हामीलाइ थप संकटतिर लैजान पनि सक्छ। यसलाइ छोडन पनि नसकिने, लिएर यसैको पछि मात्र लागिरहँदा कस्तो दिन आउला भन्ने अनुमान पनि हुन नसक्ने। कस्तो बिचित्र अवस्था।
अहिले विधि पुर्याउन नसके पछि हामीसँग आफ्नोपन केही नरहन पनि सक्छ। सबै जना यन्त्र मानव जस्ता बन्न सक्छौं। तसर्थ सोचौँ र सोही बमोजिममात्र आफ्ना कदम चालौँ।
प्रविधि मानवीय जीवनका लागि हो न कि मानव प्रविधिको प्रयोगका लागि। हाम्रै आफ्नो जीवन पद्धतिलाई सहज बनाउन प्रविधिलाई जोड्नु आवश्यक देखियो। हाम्रा मूल्य मान्यता वास्तवमै मानव भलाई र हीतका लागि कति उपयोगी छन् भन्ने त कोरोना संक्रमणको बेलामा पनि देखिई सक्यो। हाम्रा मूल्य मान्यता छोडेर अरुका पछाडि दौड्यौं अहिलेसम्म।
अब हाम्रै आफ्ना पद्धतितर्फ फर्कने बेला आएको छ। तसर्थ अहिलेको घटनाले हामीलाइ एकपटक सोच्ने अवसर दिएको छ।
अब के गर्ने त ?
केही साना कामबाट शुरुवात गरौँ किनकी अहिले ठूलो कुराले केही हुनेवाला छैन। साना कामका नतिजा छिट्टै आउन पनि सक्छन्। यसैबाट अरुको विश्वास जित्दै अगाडि बढ्न नै उपयुक्त हुन्छ होला अबका दिनमा। हेरौँ केही उपयोगी हुन सक्ने उपायहरु।
१. अबको समाज कस्तो बनाउने भन्ने विषय एउटा विद्यालय, स्थानीय तह वा प्रदेशले गर्न सक्ने विषय होइन। यसको लागि संघीय सरकारले सोच्नुपर्छ। यस्तो सोच अथोरिटीको निर्णयभन्दा पनि अध्ययन अनुसन्धानबाट तय गर्नुपर्छ, शोधकर्ताहरुसँगको अन्तरक्रियाबाट तय गर्नुपर्छ।
२. शिक्षा स्वास्थ्यजस्ता नागरिकका आधारभूत विषयहरु राज्यको दायित्वमा रहनु पर्छ भन्नेमा कोभिड-१९ को रोकथाममा क्रममा सबैलाई बुझ्नेगरी घटनाले देखाएकै हुनुपर्छ। निजी क्षेत्रले गर्न सक्ने कामहरु धेरै छन्, शिक्षा स्वास्थ्य बाहेक पनि। तसर्थ अब क्रमश शिक्षा र स्वास्थ्यलाई राज्यको पूर्ण दायित्वमा ल्याउने काम गरौँ।
हिजोसम्म सरकारी अस्पताल भनेर होच्याउने गर्यौँ, तर आजको महामारीमा त यीनै मात्र काम लाग्ने देखिए। यसमा कत्ति पनि अबेर नगरौं। अहिले भएका संस्थाको सुदृढिकरणमा लागौं। क्वारेन्टाइन, आइसोलेसन र सघन उपचार जे भने पनि सरकारी निकाय र संरचना चाहिने रहेछन् भन्ने देखिइसकेपछि वा बुझेपछि अब किन ढिला गर्ने त?
३. बिना प्रश्न प्रत्येक सामुदायिक विद्यालयमा खाजा खाने व्यवस्था गरौँ। यसका लागि स्थानीय उत्पादन नै प्रयोग गर्ने वातावरण बनाऔं। विद्यालय परिसर सफा र स्वच्छ बनाऔं। यसको लागि रकम र समय लाग्छ भन्न सकिन्छ। तर अहिले भएझैँ स्थानीय सरकारको नेतृत्वमा यी कामहरु अगाडि बढाउन सकिन्छ, एकपटक सरसफाई र वातावरण सुधारका लागि स्वयमसेवक परिचालन गरौँ।
राष्ट्रिय रुपमा पनि आह्वान गरौँ। हामीले जे जति सम्भव हुन्छ सो सफा गरेर देखाऔँ। सबैले आ-आफ्नो स्थानमा सहयोग गरौँ। यस्तो काम सेल्फी खिच्नका लागि नभएर कामै गर्नका लागि गरौँ। एकपटकका लागि सेल्फि खिच्ने काम नै बन्द गरौँ न यस्ता काममा। गरे नहुने छैन। मजाले गर्न सकिन्छ।
मात्र यस्ता काम स्थानीय तहकै नेतृत्वमा हुनुपर्छ। तर यसलाइ राष्ट्रिय अभियान भने बनाउनु पर्छ। मुलुकका लागि एकपटक यो काम गर्नु पर्ने भयो ल सहयोग गर्नुस भनेमा सहयोग जुट्न सक्छ।
४. प्राथमिक तह (कक्षा १-३) सम्मका बालबालिकालाई आवश्यक पर्ने पाठ्यपुस्तक र शैक्षिक सामग्री विद्यालयबाट नै व्यवस्था गरौँ। सबैका सामग्री विद्यालयमा नै राख्ने व्यवस्था गरौँ। विद्यालयबाट घर फर्कदाँ कुनै कापीकलम बोक्न नपर्ने अवस्था बनाऔँ। अहिले भएकै रकमबाट यसको व्यवस्था हुनसक्छ।
५. अब प्रश्न रह्यो विद्यालय र शिक्षकले कसरी काम गर्ने त? आ-आफ्नो स्थानमा बालबालिकालाई सकृय बनाउन, सहयोगी कृयाकलाप गराउन आफैँले कृयाकलाप तय गर्ने गरौँ। प्रत्येक पालिका तहमा विषयगत शिक्षक समूहले यस्ता कृयाकलाप तय गर्ने र सहयोग गर्ने वातावरण बनाऔँ।
६. विद्यालय र स्वास्थ्य केन्द्रको बीचमा अन्तरक्रिया गर्ने वातावरण स्थानीय तहले बनाऔँ। विद्यालयका काममा स्वास्थ्यकर्मीले सहयोग गर्ने र स्वास्थ्य सेवाका काममा विद्यालयले सहयोग गर्ने पद्धति कार्यान्वयनमा ल्याउने काम तत्काल सुरु गरौँ।
विद्यालय तहमा यी र यस्ता साना साना कार्य स्थानीय सकृयतामा हुने वातावरण तयार गर्नु अहिलेको आवश्यकता हो। यदि हामीले वातावरण तयार गर्ने हो भने स्थानीय तहकै सकृयतामा धेरै काम हुन सक्छन्। विगतमा जस्तो केन्द्रमा मात्र जान्ने मान्छे बस्छन्, त्यहाँमात्र सामग्री पाइन्छ, स्रोत सामग्री उनीहरुसँग मात्र हुन्छ भन्ने अब रहेन।
जोश र जाँगर छ भने अब विद्यालयका शिक्षक तथा कर्मचारीले धेरै स्रोत-साधन संकलन गर्न सक्छन्, प्रयोगका विधि र उपाय संकलन गर्न सक्छन्, आफ्नो आफ्नो स्थानमा प्रयोगमा ल्याउन सक्छन्।
अब प्रश्न उठ्छ, यस किसिमको वातावरण कसरी बनाउन सकिन्छ त?
डेल कार्नेगीले सन् १९३७ तिर 'हाउ टु वीन फ्रेन्डस एण्ड इन्फ्लियून्स पीपुल' भन्ने पुस्तक अमेरिकामा प्रकाशित गरेका थिए। यो पुस्तक बिक्रीका हिसाबले सर्वत्र खोजिएको वा पढिएको पुस्तक भन्न सकिन्छ। यीनले उल्लेख गरेका विचारहरु आजका दिनमा पनि उत्तिकै उपयोगी र मूल्यवान छन्। उनका अनुसार हरेक व्यक्तिमा 'डिजाएर टु वि इम्पोर्टेन्ट' हुने चाहना हुन्छ। भनाइको मतलब हरेक व्यक्तिले स्वयम आफू अरुको नोटिसमा आउने चाहना राखेको हुन्छ।
हामीले अहिलेसम्म शिक्षकलाई गाली गरेर वा तर्साएर काम गर्न खोज्यौं। एक पटक यो सोच बदलौं। अब हरेक स्थानमा शिक्षकलाई सम्मान दिन सुरु गरौँ। क्षमता नै छैन, हैसियत छैन भने पनि शिक्षकलाई सामाजिक सम्मान दिएर परिवर्तन गर्न उनीहरुलाई उत्प्रेरित गरौँ। यस्तो सम्मान विभिन्न तरिकाले गर्न सक्छौं।
शिक्षक जुन तहको भए पनि नमस्कार गरौँ। पालो, लाइन आदिमा शिक्षकलाई प्राथमिकता दिउँ। अस्पतालमा शिक्षकका लागि छुट्टै लाइनको व्यवस्था गरौँ। शिक्षकलाई राजनैतिक संघ संगठनले पदाधिकारी पदमा होइन कि सल्लाहकारमा नै घोषणा गरेर नै राखौं।
जब समाजले शिक्षकलाई यी र यस्तै प्रकारको सम्मान दिन्छ त्यसको बदलामा शिक्षकले अवश्य पनि राम्रो काम गर्न सुरु गर्छन्। कार्नेगीकै भनाईअनुसार पनि अरुसँग अपेक्षित व्यवहार लिन पहिला आफूले नै सकारात्मक व्यवहारको सुरुआत गर्नु पर्छ।
यस्तै काम अरुको हकमा पनि लागू हुनसक्छ। मात्र कार्यान्वयन गर्ने प्रतिवद्धताको खाँचो छ। यसका लागि सबैले आ-आफ्नो तहबाट आत्मसमीक्षा गर्नु आवश्यक हुन्छ। अरुले अरुका लागि आत्मसमीक्षा गरेर हुने होइन।
(लेखक सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, धनगढीका सचिव हुन्।)