विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण अर्थात् कोभिड–१९ ले २१औं शताब्दीको मानव सभ्यतालाई नै चुनौती दिइरहेको छ। यसले मानिसको ज्ञान र मनोविज्ञान मात्र नभएर आधुनिक चिकित्सा विज्ञानलाई नै घेराबन्दीमा पारेको छ।
त्यसैगरी, संक्रमणररुपी भाइरसले व्यस्त जीवनशैलीलाई सुस्त मात्र बनाएनकी घरभित्रै उपवास बस्नपर्ने अवस्थामा पर्याइदियो। चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाइरसले आजसम्म लगभग विश्वयात्रा नै गरिसकेको छ। यो रोगले विश्व समुदायमा यसरी संत्रास फैलाएको छकि, यसलाई तेस्रो विश्वयुद्धकै संज्ञा पनि दिन थालिएको छ।
हुन त मै हुँ भन्ने शक्तिशाली देश, जो परमाणु हतियारले पनि सुसज्जित छन्, आज तिनै मुलुक एउटा अदृश्य भाइरसबाट त्राहिमाम बनेका छन्। कोरोनाको कहर यति तन्किदै गयोकी मानवीय गतिशिलतामाथि एक किसिमको शिथिलता छाउन पुग्यो।
वर्तमान समयमा कोरोनाबाट सिर्जित रोग, भय, अभाव, असहजता र असुरक्षाले आक्रान्त समाजनै टक्क रोकिएझैँ लाग्छ भने अर्कोतिर मानिसहरु तीनछक्क परे झैँ। विभिन्न देशमा वैज्ञानिक, चिकित्सक र अनुसन्धानकर्ताहरु यस रोगलाई परास्त गर्ने खोप तथा औषधिको परीक्षणमा अहोरात्र लागिरहे पनि हाललाई व्यक्तिगत सावधानी, सरसफाई र निश्चित भौतिक दूरी कायम राख्दै अलग बस्ने विधिहरुमा सिमित हुनुपर्ने अवस्था छ।
खयर, आजको कोरोना केन्द्रित लडाईले केही देखिन थालेको त केही देखिन सक्ने परिवर्तनको पथ भने खुल्ला गरिदिएको छ।
सामाजिक, सांस्कृतिक र आर्थिक धरातल
कोरोना महामारीले निजी स्वार्थ र सामाजिक विभेदलाई केही हदसम्म घटाएको महशुस हुन थालेको छ भने भोलिका दिनमा अझ घट्दै जानेछ भन्ने अपेक्षा गर्न सकिन्छ। हाम्रो सामाजिक परिवेश यति विचलित र साघुँरो बन्दै गएको थियो कि कोही कसैलाई सामाजिक उत्तरदायित्व र स्वार्थरहित सहयोग बारे सोच्नेसम्म फुर्सद नै थिएन, वा सोचै थिएन।
तर आज कोरोनाले घेरा हाल्दै जाँदा सामाजिक मूल्य मान्यता, पारस्परिक सहयोग, सीमा रहित व्यवहार र भाइचाराको रंग बदलिन थालेको छ। नेपाली परिपेक्षमा पनि सहयोगी हातहरु धमाधम बढ्न थालेका छन् भने नजिकमा दुख व्यहोरेकालाई भरथेक गर्न थालिएको छ। मानिसलाई आफ्नो घर, परिवार, साथी र दैनिकिको ख्याल हुन थालेको छ।
आखिर अन्तिम बिन्दुमा लिनु दिनु केही रहेनछ भन्ने कटु यथार्थको आभाश पनि हुन थालेको छ। यी र यस्तै क्रियाकलापहरु महामारी पछि थप मजबुत बन्न सक्ने संकेत हुन्, जसले सामाजिक न्याय र एकताले मलजल गर्नेछन्। यसैगरी मानवीय व्यवहार र संस्कारले पनि काँचुली फेर्ने सक्ने देखिन्छ। हाम्रा पूर्खा र अग्रजहरुले सुझाएको आनीवानी, सांस्कृतिक चालचलन प्रकृति प्रेम र कतिपय धार्मिक अभ्यासहरु वैज्ञानिक रहेछन भन्ने सोच पलाउन थालेको छ।
यस्तो विपद् मानिसले पछ्याएको विवेकहीन बाटो र बिर्सिदै गरेको मानवीयताकै उपज हुनसक्नेतर्फ पनि बहस मोडिन सक्छ। पूर्वीय संस्कृति र परम्पराहरु जीवनमा सामिप्यता बढाउने र व्यवहारमा हार्दिकता झल्काउने खालका छन्। र यिनीहरुको महत्व, वास्तविकता र वैज्ञानिकताको कसीमा राखेर थप बढ्दै जानेछ भन्न सकिने अवस्थामा हामी पुग्दौछौँ।
नेपालीहरु माँझ प्रचलित ‘नमस्कार’ आदरार्थी शब्द मात्र नभएर कति वैज्ञानिक रहेछ भन्ने विश्वमंच मै छर्लगं भइसकेको छ। आधुनिकता र अन्धविश्वासका नाममा उपेक्षा गरिएका हाम्रा खाने, लाउने, बसोबास गर्ने र रीतिरिवाज मान्ने तौरतरीका पुनः फर्काउने मोडमा पुगेको छ पश्चिमा संस्कृतिले गाँजेको नेपाली युवा पुस्ता। कोरोनाले देखाएको एउटा महत्वपूर्ण आश भनेकै आफ्नै पनमा रम्नु र रमाउनु हो।
बाँच र बचाउ भन्ने नेपाली मान्यता थप गर्विलो बन्नु पर्दछ र बन्नेछ। अब कारोनाले हल्लाएको आर्थिक पाटोलाई हेरौँ। यस्तो महामारीले विश्व अर्थतन्त्रमा ह्रास आउनु स्वभाविक नै हो, नवउदार पुँजीवादी अर्थ व्यवस्थालाई प्रजातान्त्रिक समाजवादी धारले पछार्न सक्ने ठाउँहरु देखिदै छन्। स्पेनका निजी अस्पतालहरुलाई गरिएको राष्ट्रियकरण, चीनले संक्रमण रोक्न अवलम्बन गरेको तरिका, विश्वव्यापि संकट र नेपालमा पछिल्लो चरणमा उठ्न थालेका आवाजलाई आधार मान्ने हो भने समाजवाद उन्मुख अर्थनीतिले प्रश्रय पाउने ठाउँ देखिन्छ।
अझ संकटको घडीमा देखिने सरसामानको अभाव, कालोबजारी एवं कुनै एउटा उत्पादक कम्पनीले कमाउने मुनाफालाई आँकलन गर्ने हो भने अहिलेका धेरै राष्ट्रहरुले अवलम्बन गरेको उदार अर्थनीति छचल्किन सक्छ। हाम्रो जस्तो मुलुकलाई भने कृषि र स्थानीय स्तरमा लगानि बढाएर आत्मनिर्भर हुँदै आर्थिक उपार्जन गर्ने मौका पनि हुनसक्दछ।
तत्काललाई चलायमान अर्थतन्त्र डगमगाए पनि भविष्यमा अवलम्बन गरिने साझा नीतिले मुलुक बद्लिन सक्छ। कठिन परिस्थितिलाई अवसरमा बदल्न सक्नुपर्दछ।
शैक्षिक विधि र प्रकृया
आज विश्वका अधिकांश मुलुकमा शैक्षिक संस्था ठप्प छन्, यो शिक्षा क्षेत्रमा कल्पना नगरिएको अवस्था हो। जस्तै विषम् परिस्थीति आएपनि शैक्षिक प्रकृया रोक्न मिलेन र मिल्दैन पनि। कोरोना संक्रमणले शैक्षिक संस्थाहरु बन्द छन्, तर सिकाई भने रोकिएको छैन, खाली विधि मात्र फरक बनेको छ।
विकसित मुलुकहरुमा त इन्टरनेट तथा विद्युतिय माध्यमबाट पढ्ने, पढाउने अभ्यास खासै नौलो भएन, तर नेपालमा भने फाट्टफुट्ट चल्दै गरेको अनलाइन एजुकेशन र दूर शिक्षा फस्टाउने संभावना प्रवल छ। रेडियो, टिभी, कम्प्यूटर र मोबाइल जस्ता संचार र संचालनका माध्यम प्रयोग गरेर घरमै बसीबसी गुणस्तरीय शिक्षा संचालन गर्न सकिन्छ र गरिनुपर्दछ भन्ने सन्देश दिएको छ कोरोना कष्टले।
उच्च शिक्षा अध्ययन गर्नेहरुलाई लेखन र अनुसन्धानात्मक कार्य गर्ने अवसर यथेष्ट देखिन्छ भने विद्यालय स्तरका विद्यार्थीहरुलाई गरेर सिक्ने अवसर जुराइदिएको छ कोभिड–१९ ले। भविष्यमा होम स्कुलिङको अवधारणा आउने संभावना पनि उत्तिकै देखिन्छ। जीवन उपयोगी सिकाई र खाली समयमा पढ्ने बानीको विकास हुँदै जानेछ भन्नेमा आशावादी बन्न सकिन्छ।
पुरानो शैक्षिक विधि र परम्परा केही हदसम्म पक्कै फेरिनेछ। आगामी दिनमा शिक्षा हासिल गर्न विद्यालयको चार दिवार भित्रैकै जानुपर्छ भन्ने मान्यतामा सुधार आउनेछ। लचिलो र बहुआयामिक शैक्षिक पद्धतिको विकासमा महत्वपूर्ण कडी बन्न सक्छ अहिलेको कोरोना कहर। अझ भन्ने हो भने सामाजीक दूरी कायम राख्दै शैक्षिक दूरी घटाउने सोपानको रुपमा स्वीकार गरिदै छ वर्तमान चुनौतीलाई।
स्वास्थ्य र सुरक्षा
कोरोना भाइरसको महामारीले विशेषगरी नेपालको स्वास्थ्य प्रणाली र वितरणमा ठूलो पाठ सिकाएको छ, र त्यसकै जगमा टेकेर भोलिको स्वास्थ्य नीति, कार्यक्रम र गुणस्तरमा सुझबुझपूर्ण कदम चालिनेछ भन्ने आम अपेक्षा रहेको छ। अहिले जेजस्तो समाचार सुनिए पनि आगामी दिनमा सरकारी, सामुदायिक र निजी जुनसुकै स्वास्थ्य संस्थामा पनि उपचारको पहुँच र प्रक्रृया समान र सुदृढ हुनुपर्दछ भन्ने सन्देश वर्तमानमा उभिएर भविष्यलाई दिन सकिन्छ।
कोरोनाबाट सिृर्जित मनोविज्ञानले गर्दा जानी नजानी कहीकतै स्वास्थ्यकर्मीबाट पेशागत धर्म विपरित काम भएको वा स्वास्थ्यकर्मीमाथिको विश्वास टुटेको भए अबको केही दिनहरुमै फरक अनुभूति हुनेछ भन्ने विश्वाश गर्न सकिन्छ।
किनकी स्वास्थ्यकर्मीले सर्वप्रथम आफू सुरक्षित महशुस गर्न पाउनुपर्दछ। सुरक्षा कवज विनाको सजगताले मात्र काम गर्दैन। र आम जनमानसमा स्वास्थ्यकर्मी प्रतिको थप समान र सामिप्यता बढेर जाने पक्का छ। मानवीय सेवा र जीवन रक्षामा उनिहरुको भूमिकालाई नजरअन्दाज गर्न सकिन्न। त्यसैगरी, सामाजिक सुरक्षार्थ खटिने प्रहरी र सेनामाथि पनि गहिरो साथ र सम्मान जाहेर हुने नै छ।
स्वास्थ्य र सुरक्षा एक अर्काको परिपूरक भएकाले आगामी योजना र कार्यक्रम त्यही अनुरुप तर्जुमा गरिने आधार तयार भएको छ। अत्यावश्यक तथा जीवन बचाउने स्वास्थ्य सामाग्री र उपकरणहरुको उपलब्धता र व्यवस्थापनको अपरिहार्यता सम्बन्धित निकायले बेलैमा सोच्नुपर्ने तथ्य उजागर भएको छ। अझ महत्वपूर्ण कुरा त के भने स्वास्थ्य सेवा र प्रणाली व्यापक रुपमा संगठित, व्यवस्थित, विकेन्द्रित र नाफा रहित हुनुपर्दछ। जसको लागि सरकारी र निजी क्षेत्र बीचको खाडल पुर्दै सुमुधुर सहकार्य र सेवामूलक समर्पण आवश्यक हुन्छ। यी र यस्ता अतिनै संवेदनशील पक्षहरुमा नयाँ सोच र निस्वार्थ मनोभाव विकसित हुने साइत जुराइदिएको छ कोरोना संक्रमणले।
अन्त्यमा, देश भित्रिरहेका प्रयोगशाला, स्रोत साधन र चिकित्सकीय सीप, शैली तथा अनुसन्धानलाई आक्रमक रुपमा वृद्धि र विकास गर्नुपर्ने टड्कारो आवश्यकतालाई अहिलेको महामारीले प्रष्ट औल्याइँदिएको छ। कामना गरौं, मानवीय प्रयासले संक्रमणलाई चाडै नै पराजित गरोस्।
(लेखक सामाजिक–सांस्कृतिक मुद्दामा सकृय अनुसन्धानकर्ता हुन्।)