गएको फागुन मसान्त यता, विद्यालय बन्द छन्। प्रारम्भिक तहदेखि विश्वविद्यालय तहसम्मै पढाई ठप्प छ। विश्वै कोभिड-१९ महामारीबाट आक्रान्त छ। नेपालमा चैत्र ११ गतेबाट सुरु भएको लोकबन्द (लकडाउन)ले धेरै कुरा स्तम्भित भएका छन्।
अत्यावश्यक सरकारी सेवाबाहेक अन्य उत्पादन प्रशोधन तथा सेवामूलक व्यापार-व्यवसाय ठप्पै छ। नेपाली समाज आज बन्दको अवस्थाबाट गुज्रिरहेको छ। यसले हरेक क्षेत्रमा उत्तिकै असर पारेको छ। लोकबन्द कहिले र कसरी खुल्छ? प्रश्नले सबैलाई सताएको छ, सँगै कोभिड-१९ फैलेर ध्वंसै पार्ला कि भन्ने डरले पनि मनमा घर गरेको छ।
विद्यार्थी र शैक्षिक भविष्यबारे चिन्ता गर्ने बेला भएको छ र क्षणिक क्रियाकलापका लागि कार्ययोजनाबारे सोच्न ढिलो भैसकेको छ।
अब कसरी अघि बढ्ने त ?
शैक्षिक सत्रको व्यवस्थापन कसरी गर्ने र औपचारिकताको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सरकारले कार्ययोजना बनाएर अगाडि आउला भन्ने आशा गर्नुबाहेक हामी नागरिकसँग न कुनै विकल्प छ, न त कुनै समाधानको उपाय नै।
यसका लागि शिक्षाप्रणालीका बारेमा सरकारले केही गर्ला भन्ने आशा साँचेरै बसौँ। जहिले खुल्छ, खुलेपछि त्यता लागौँला। विद्यार्थीमा भविष्यका सम्भावना रोप्नुपर्ने अभिभावक र शिक्षकले के गर्न सकिन्छ? विद्यार्थीले के गर्ने सक्छन्? यो सानो लेखनी त्यतिमा मात्र केन्द्रित छ।
समयतालिकामै चलौँ
पहिलो काम पढाईका लागि समय निर्धारण गरौँ। बन्दमा रहनुपर्दाको जीवनलाई सहज बनाउने एउटा तरिका- घरभित्रै बसे पनि खासखास काम गर्ने योजनामै चल्नु।
सुत्ने/उठ्ने, सरसफाई गर्ने, खाना बनाउने, खाने, पढ्ने, शारीरिक व्यायाम गर्ने, घरभित्रै सम्भव काम हुन् र तिनलाई निरन्तरता दिनुपर्छ। अन्य कुरामा केही तलमाथि गरे पनि कम्तिमा विद्यार्थीको पढाई एउटा निर्धारित समय तालिका बनाएर सम्पन्न गर्नु आवश्यक हुन्छ।
विद्युतमाध्यमको उपयोग गरौ
यो बेलालाई औपचारिक शिक्षालाई पनि बल पुग्ने गरी जीवनोपयोगी सिकाईलाई जोड दिऔँ। हामी बाँचिरहेको विद्युतीय सञ्चार माध्यम (इन्टरनेट) र प्रविधिमार्फत् शिक्षा लिनदिनका लागि असिमित स्रोत उपलब्ध छन्।
विद्यार्थीलाई घोक्ने र घोकाउनेभन्दा कसरी सिर्जनशील सिकाईमा लगाउने भन्ने कुरामा यस बेलामा बढी ध्यान दिनुपर्छ। विद्यार्थी, अभिभावक र शिक्षक जोजोसँग यो प्रणालीको पहुँच छ, यस माध्यमलाई प्रयोग गरेर विषयगत र व्यावहारिक दुवै खाले ज्ञान लिनदिनमा क्रियाशील हुनुपर्छ।
यसका लागि शिक्षकले इन्टरनेटमा फेला पर्ने विषयगत र व्यावहारिक ज्ञानसँग सम्बन्धित सामग्री अभिभावकलाई उपलब्ध गराउने, त्यो सामग्रीमा विद्यार्थी र अभिभावकले घरैमा अन्तरक्रिया गर्ने, घरपरिवारमा भिन्नभिन्न कक्षा वा तहको पढाईमा रहेका दाजु/भाइ/दिदी/बहिनी भए एकआपसमा अन्तरक्रिया गर्ने र आफूले बुझेको कुरा शिक्षकसँग साझेदारी गर्ने गर्नुपर्छ।
सहपठन र सहयोग आदानप्रदान गरौँ
अर्को कुरा, विद्यार्थीले सहपाठीसँग विद्युतीय माध्यमबाटै सहपठन गर्न सक्छन्। विद्यार्थीले आफूले पढेको कुरा सहपाठी साथीलाई यो कुरा यस्तो रहेछ भनेर इमेल, मेसेन्जर आदिबाट पठाएर सहपाठीलाई पढ्नमा उत्प्रेरित गर्न सक्छन्।
सधैँ यी माध्ममबाट इत्रिने, जिस्किने साथीभाइबीचमा पनि अरू बेलाभन्दा अहिले फुर्सद्को समय बढी हुने हुनाले जिस्कने इत्रिने (मन खुशी राख्न यो पनि चाहिने नै कुरा हो) समयलाई मिलाएर ज्ञानगुनको कुरा आदानप्रदान गर्ने वा नजानेको कुरामा संवेदनशीलतापूर्वक प्रश्नोत्तर गरेर अगाडि बढ्नु उपयोगी हुन्छ।
चाखको विषयका लागि समय दिऔँ
एकातिर यो बन्दअवस्था चुनौती हो, तर स्वअध्ययनको हिसाबले यो राम्रो अवसरको विषय हो। आफूलाई चाख लागेको विषयमा घरमा उपलब्ध सामग्री र साधनका आधारमा विषयगत स्पष्टता हासिल गर्ने र विज्ञानसम्बन्धी सानातिना प्रयोगलाई अगाडि बढाउन सकिन्छ।
उदाहरणका लागि- वनस्पतिको विकासबारे घरवरिपरिकै बोटविरुवाको विकास वा लक्षण अवलोकन गर्ने, पानीको वाष्पीकरण, विद्युत प्रवाहको सामान्य परीक्षण गर्ने जस्ता प्रयोगात्मक अभ्यास गर्न गराउन सकिन्छ। यस्तै सरसफाइ र प्रशोधनसँग सम्बन्धित प्रयोग र अभ्यासलाई अगाडि बढाउन सकिन्छ।
अर्को कुरा, आफूमा अन्तरनीहित प्रतिभा तिखार्ने यो मौका हो। प्रतिभालाई प्रष्फुटित गराउन र गुणस्तरीय बनाउनका लागि आफ्नो सिर्जनशील पक्षको पहिचान गरी त्यसैअनुसार अभ्यास गरौँ। गीत, कविता, कथा लेख्न आउनेले लेखन तथा परिमार्जनको काम गर्न सकिन्छ। चित्र बनाउने प्रतिभाले चित्रमै निखार ल्याउन लागौँ।
नाच्न, गाउन वा वाद्यवादन आउनेले नाच्ने, गाउने र बजाउने कुरालाई पनि समय तालिकासाथ अगाडि बढाऊँ। अन्य अनेक सीपमूलक काम गर्न सकिन्छ। जस्तो भनौँ कसैले कागजका फूल बनाउने, कुचो सुन्दर तरिकाले बाँध्ने, उध्रेका कपडा सिउने वा यस्तै मर्मतका काम मन लगाएर गरेर सीपमूलक काम गरौँ।
सामान सजाउनेदेखि गमला फूलबारी करेसाबारीमा फूल तथा बोटबिरुवाको स्याहार गर्नेसम्मका कलात्मक काम गर्न सकिन्छ।
भान्सालाई प्रयोग गरौँ, फोहर सम्हाल्ने आदत बसालौँ
यो समयमा विद्यार्थीलाई पाकशिक्षा अभिभावकले नै दिन सक्छन्। हाम्रो समाजमा भान्साको काम प्रायः आमाले नै गर्ने हो। विद्यार्थी छोराछोरीलाई भान्साको काममा सहभागी गराउँदै उनीहरूलाई पाकशिक्षामा निपुण बनाउन आमाहरूले यो समयलाई सदुपयोग गर्नुपर्छ। यसका लागि परम्परागत पाक पद्धतिमा रहेका वैज्ञानिक र अवैज्ञानिक तरिकाको विद्यार्थीले अवलोकन गर्न सक्छन्।
उदाहरणका लागि, आमाले तेल तातो पारेर मेथी पड्काउनुहुन्छ। त्यहाँ बेसार र नुन राखेपछि मात्र सब्जी ओइरिने गर्ने गर्नुभएको हुनसक्छ। अब छोराछोरीले तेलमा बेसार र नुनचाहिँ सब्जी ओइरिएपछि मात्र हाल्ने र फरक स्वादको पारख गराउन सक्छन्।
घरायसी फोहरको व्यवस्थापनमा विद्यार्थीले सहभागी हुने अर्को उपयोगी सिकाइ हुनसक्छ। सहरमा बस्ने परिवारका विद्यार्थीले यो फुर्सदिलो समयमा कम्तीमा सड्ने र नसड्ने फोहरलाई अलगअलग राख्ने बानी विकास गर्न समयको उपयोग गर्न सक्छन्। सड्ने फोहरलाई मल बनाउने र गमला वा करेसाबारीमा त्यो मलको प्रयोग गरी बोटबिरुवा स्याहार गर्न सकिन्छ। गाउँमा पनि सड्ने वस्तुबाट मल बनाउने कुरा सहयोगी नै हुनेछ।
घरै विश्वविद्यालय घरै अनुसन्धानालय
अनुसन्धान भनेको कम्तिमा दुई चरहरूबीचको अन्तर्क्रियात्मक सम्बन्धको जाँच हो। यसैले भान्सा वा घरको हाताभित्रै खोज र अनुसन्धान गर्ने अनेक विषय छन्। भान्सामै जीव, वनस्पति र रसायन विज्ञानको अभ्यास भैरहेको हुन्छ।
पानी परेको तेल तताउँदा किन पोल्छ र फोका उठ्छ? तोरीकै तेलमा पकाउँदा तोरीको साग लतक्क किन भएको होला? तातो पानीले पखालेको चामलको भात किन छिटो पाकेका होला? सड्ने फोहर खुला राख्दा छिटो मल बन्छ कि छोपेर राखेमा?
यी विज्ञानका प्रश्न होइनन् र हामी घरमै अनुसन्धान गर्न सक्दैनौँ। घरमा भएका पुस्तकहरू हामीले एकोहोरो नपढीकन त्यसलाई हो कि हैन भन्ने सन्देहसाथ हेर्ने बानी बसाल्न सकेमा, त्यही हैन विश्लेषणात्मक अध्ययन र वैज्ञानिक सोचाइ (क्रिटिकल थिङ्किङ)?
असल सांस्कृतिक पक्ष चाहारौँ
कोभिड-१९ ले हाम्रो नमस्कार गर्ने चलन त बडो राम्रो रहेछ भन्ने कुरामा विश्वलाई नै शिक्षा भएको छ। यो मात्र हैन, हाम्रो संस्कृतिमा धेरै विज्ञानसम्मत थितिहरू छन्। बिहान चाडैँ उठ्नेदेखि घाम अस्ताउनु अगाडि नै बेलुककाको खाना खाइसक्ने हाम्रा पूर्वजका थिति अनेक पुस्ताको अनुभव आर्जित वैज्ञानिक निष्कर्ष हुन्। चन्द्रमाको गतिका आधारमा औँसी, पूर्णिमा मान्ने र यी पर्वमा नुहाइधुवाइ गर्ने चलन होस् वा जेठको गर्मीमा सर्वत खुवाउने (अक्षयतृतीय) चलन होस्, धेरैजसोमा वैज्ञानिकता छ।
त्यसैले हाम्रै सांस्कृतिक सम्पदाका रूपमा रहेका थिति र चलनबारे अभिभावकहरूले जानकारी दिऔँ। नैतिक र मानवीय आचरणको महत्वबोध गराऔँ।
अन्त्यमा
लोकबन्दीको समय वास्तवमै व्यावहारिक र मानवीय बन्ने समय हो। एकलकाटे सहज जीवनको मात्र अनुभव भएका हाम्रो समाजका नवोदित सदस्य (बालबालिका र युवा)लाई किताबी किरो बनेर हैन, व्यवहारबाट सिक्नुपर्छ भन्ने पाठ कोभिड-१९ को संक्रमणले सिकाउन खोजेको छ।
आफू बाँच अनि मात्र अरूका लागि केही गर्न सक्छौँ भन्ने यसको पाठ त सरकारले पनि बुझेरै यसलाई घरैमा बसेर गरिने युद्ध भनेको छ। हामीले डाक्टर, इन्जिनियर वा पाइलट बन्नुपर्छ भनेर हाम्रो इच्छा उनीहरूमार्फत लाद्ने कुरा ठीक होइन भन्ने पनि सिकाउन खोजेकै छ।
हाम्रो भविष्यका सुन्दर फूलका कोपिलालाई तिनका आफ्नै रुचिमा, घरैमा प्रतिभा फुल्न फक्राउन देऊँ भन्ने सन्देश पनि पठाएको छ। पढाईका लागि जीवन भन्ने चेतलाई उल्ट्याएर जीवनका लागि पढाईको महत्त्व बढी छ र त्यसैबाट सफलता हासिल गर्न खोज्नुपर्छ कुरा सूचित गर्न खोजेको छ।
कठिनाइबाटै पनि सिक्ने क्षमता अझ बढाऔँ र सबै समाधान किताबी पढाईबाट निस्कन्छ भन्ने भ्रमबाट अब मुक्त बनौँ। गौतम बुद्धलाई पञ्चशीलको ज्ञान विद्यालय गएर भएको थिएन। राइट दाजुभाइले इन्जिनियर नपढी उड्ने जहाजको परिकल्पना साकार पारे।
आइन्सटाइन विद्यालय पढाईमा लद्दू नै गनिन्थे। माइकल फेराडेले बाबुसँग किताब बाँध्ने (बुकबाइन्डिङ) काम गर्दा बिजुली निकाल्ने बुद्धि प्रयोगात्मक र आनुभाविक कामबाट भएको हो। यसैले हामी पनि सिर्जनात्मकता र नवीनताको खोजीमा हामी हाम्रा बालबालिका र युवालाई लगाऔँ।