पृष्ठभूमि
सन् २०१९ डिसेम्बरमा एशिया महादेश अन्तर्गतको चीनको वुहान सहरबाट संसारभरी नै फैलिएको भाइरसको नाम कोरोना(कोभिड-१९) नसुन्नेको संसारमा आजको दिनमा बिरलै होला।
के आर्थिक रुपले सम्पन्न शक्तिशाली देश? के विकसित देश? के अल्पविकसित देश? के अति कम विकसित देश? के भूपरिवेष्ठित देश? संसारको चारैतिर कोरोनाको कहर कायमै छ। एक्काइसौँ शताब्दीको संसारमा विज्ञान र मेडिकलको क्षेत्रमा चमत्कार नै भएको मान्ने गरेको संसारमा आज कोरोना कहर कायमै छ।
अहिले घर-घरमा स्कूल उमेर समूहका बच्चाहरुको मस्तिष्कमा लकडाउन, कोरोना भाइरस जस्ता शब्दहरु उच्चारण गरिरहेको देख्दा उनीहरुमा तनाव र दबाब छ भन्ने कुरा हरेक अभिभावकले आफ्नै आँखाले नियालिरहेको अवस्था छ। यस सन्दर्भमा कोरोना माहामारीको बीच विद्यालय शिक्षाको विकल्प खोज्नु आवश्यक छ।
मानव सभ्यताको उर्लदो विकास यात्रामा उज्यालो पक्ष र अध्यारो पक्ष दुवै रहँदै आएको पाइन्छ। राज्य संयन्त्रमा औपचारिक शिक्षाको प्रावधान, हरेक क्षेत्रमा प्रमाणपत्रको अनिवार्यता रहदै आएको कारणले अहिलेसम्म हामी विद्यालय शिक्षाको विकल्प सहितको न शिक्षा नीति बनायौं न कार्यन्वयन गरियो मात्र औपचारिक उपलब्धिको अनिवार्यतालाई स्वीकार गरियो।
शिक्षा, विद्यालयमा अनिवार्य उपस्थिति भएर मात्र प्राप्त हुन्छ भन्ने यथार्थलाई कानुनी तथा सामाजिक मान्यता प्रदान गरियो। फलस्वरूप यो कोरोना सन्त्रासको बीच विद्यालय कहिले खुल्छ भन्ने मानसिकता मात्र विद्यार्थी तथा अभिभावकमा रहनुले विद्यालय शिक्षाको विकल्प खोज्नु आवश्यक भएको होइन र?
पक्कै पनि हो, किनकी बालबालिकाहरुको वृद्धि र विकास सँगसँगै सिकाई क्रियाकलाप हुनुपर्दछ भन्ने शैक्षिक मनोविज्ञानको स्थापित मान्यता हो।
विद्यालय शिक्षाको विकल्प
कोरोना कहरले औपचारिक चौघेराबाट हुने यान्त्रिक सिकाईबाट सिक्न र सिकाउन पाउने परिस्थितिलाई चुनौती दिइएको हुँदा विद्यालय शिक्षाको कोरोना कालमा देहायमा उल्लेखित विकल्पहरु वर्तमान समय तथा परिवेशमा सार्थक हुनेछ।
विकल्प १:
- होम स्कूलिङको अवधारणालाई व्यवहारमा परिस्कृत गर्ने:
प्राचिन कालदेखि नै विद्यालयलाई बालकको पहिलो पाठशाला घर र आमा-बुबालाई पहिलो गुरुको रुपमा स्वीकार गरिएको समाजमा हामी नेपाली बसोबास गरिरहेको छौँ। तसर्थ, हाम्रो यो परिदृश्यलाई अभिभावकहरुले विद्यार्थीहरुलाई दैनिक पाठ्यपुस्तकका अतिरिक्त पृथक तर जीवनमा अतिउपयोगी हुने सिकाईमा संसार ठूलो छ भन्ने समयको रुपमा प्रयोग गर्नुपर्दछ।
सिकाईमा स्थापित मान्यता 'लर्निङ बाइ डोइङ'लाई व्यवहारमा प्रयोग गर्ने कोरोना कहरमा अवसरको रुपमा लिनुपर्दछ। यसका लागि:
१.घरको कामबाट सिकाउने व्यवहारमा सिकाउने
भारतको एक जना प्रसिद्ध शिक्षक तथा शिक्षाविद् गिजुभाईका अनुसार बालबालिकाहरुलाई घरको कामबाट व्यावहारिक सीप तथा ज्ञानहरु दिन सकिन्छ भन्ने कुरालाई जोड दिइएको छ।
यसका लागि अभिभावकहरुले आफ्ना बालबालिकाहरुको पठनपाठनमा सघाउ पुर्याउने, सरसफाई, घरायासी कामकाज, नैतिकता, अनुशासन आदि जस्ता पक्षहरुमा ध्यान केन्द्रित गरी सिकाईका स्थापित उपलब्ध तत्वहरुको खोजि गरी घरलाई मिनि-स्कूलको रुपमा स्थापित गर्ने तर्फ अभिभावक अग्रसर हुनुपर्दछ।
२.सिर्जनात्मक काम गराउन सकिन्छ
प्रत्येक व्यक्ति भिन्न हुन् र उनीहरुको फरक क्षमता हुन्छ। बालकमा अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्ने उपयुक्त वातावरण निर्माण गर्ने तर्फ सरोकारवाला अभिभावकहरु आफ्ना महोत्वपूर्ण समय व्यतित गर्नुपर्ने तर्फ ध्यान केन्द्रित गर्नुपर्ने कुरा कोरोनाको कालमा हामीले हाम्रो उत्तरदायित्व र जवाफदेहीताबोध गरेर अगाडि बढ्नुपर्छ।
यसको लागि संगीत, चित्रकला, लेख्न अभ्यास, सामग्री निर्माण, सुक्ष्म परियोजना कार्य आदिको लागि घरमा उपयुक्त माहोलको निर्माण गरिनु पर्दछ।
३.स्वतन्त्र अध्ययनको व्यवस्था
क. टेक्स्ट बुक, रिफ्रेरन्स बुक्स, साहित्यिक पुस्तक
ख. धार्मिक पुस्तकहरु
ग. उपन्यास, जीवनीको अध्ययन
४.खेल
शारीरिक र मानसिक रुपमा व्यस्त हुने खालका खेलहरुबाट पनि बच्चाहरुलाई सिकाईमा सक्रिय गराउन सकिन्छ। जस्तै: अन्ताक्षरी, शब्दजाल, पजल्स, पारिवारिक गेम (लुडो, क्यारमबोर्ड, ब्याडमिन्टन, बास्केटबल,कब्बडी) आदिमा।
अत: इवान इलिचले विद्यालय विहीन समुदाय (दि स्कूलिङ सोसाइटी) भन्ने पुस्तकमा विद्यालयीकरण गर्न नहुने विचार व्यक्त गरेका छन्। रेम्मरले 'दि स्कूल इज डेड' भन्ने पुस्तकमा लेखेर विद्यमान विद्यालय प्रणालीको कटु आलोचना गरेको यथार्थता बोध भईरहेको छ।
यस सन्दर्भमा प्राचिन कालदेखि नै 'घर' पहिलो विद्यालय र आमा-बुबा पहिलो शिक्षक हो भन्ने सभ्यता बोकेको हाम्रो समाज कोरोना कालमा उक्त चरितार्थलाई आत्मसात गर्नुको विकल्प छैन। यसका लागि घरमा अग्रजहरुले आफ्ना नानीबाबुहरुको लागि होम स्कूलिङको अवधारणा अवलम्बन गरिनुपर्दछ।
विकल्प २
ई-लर्निङको वातारण निर्माण
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको मिति २०७६/१२/१२ को पत्रबाट विभिन्न अनलाइन/पोर्टल/वेबसाईटको बारेमा सूचना प्रवाह गरेको हुनाले यी वेब-पोर्टलहरुको बारेमा व्यापक प्रचारप्रसार गरी ई-लर्निङमा जोड दिनुपर्दछ।
- कक्षा ६ देखि ८: अंग्रेजी, हिसाब, विज्ञान कन्टेन्ट- https://moest.himaldthtechies.com
- ई-पुस्तकालय
- निःशुल्क र खुल्ला डिजिटल लाइब्रेरी- https://pustakalay.org
- चिल्ड्रेन्स स्टरिज एन्ड गेम्स- https://pustakalay.org
यी बाहेक पनि बजारमा विभिन्न टिचिङ एप्सहरु निर्माण भई पठनपाठनको लागि प्रयोग भईरहेको छ। जस्तै ई-मिदास(E-midas) लगायतका अन्य टिचिङ-लर्निङ एप्सहरुमा विद्यार्थीहरुको पहुँच पुग्नु आवश्यक छ। साथै विभिन्न ब्राउजरहरुको पहिचान तथा अध्ययन कार्य गर्न सकिन्छ।
विकल्प ३
लर्निङ याट होम फ्रम थर्ड पार्टी
नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइएको हुँदा स्थानीय तहहरुले विद्यालयसँग समन्वय गरी स्थानीय एफएम, रेडियो, टिभिबाट 'लर्निङ याट होम'को कार्यक्रम संचालन गर्न ढिलो गरिनु हुँदैन।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले प्रदेश अन्तर्गतको जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाई (इडिसियू)हरुसँग समन्वय गरी सिकाईको प्याकेज, अनलाइन कोर्सको निर्माण गरी शैक्षिक कार्यक्रम संचालन गर्न गराउन आवश्यक पहलकदमी तत्कालै हुनुपर्छ।
संघ सरकार मातहतको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सौजन्यमा एनटिभि प्लसबाट एसइई लक्षित भर्चिओल क्लासेस संचालन भईरहेको अवस्था रहेको भएतापनि आगामी दिनमा सबै कक्षाका सबै विषयहरु भर्चिओल कक्षाका पाठहरू उत्पादन गरी सबै केन्द्रिय रेडियो र टेलीभिजनबाट सहकार्य र समन्वय गरी प्रसारण गर्ने व्यवस्था मिलाउनुपर्छ।
विकल्प ४
विद्यालयलाई विद्यार्थीको घर-घरमा पुर्याउने
इन्टरनेटको पहुँच वृद्धि गरी विद्यालयबाट संचालन हुने शिक्षण सिकाई क्रियाकलाप (टिएलए) र मुल्यांकन प्रणालीलाई अनलाइन कोर्स पढाई र परीक्षा प्रणाली विकास गरी कोरोना जस्ता महामारी विपद परेको बेला विद्यालयलाई विद्यार्थीको घर-घरमा पुर्याउनु पर्दछ। यसको लागि आवश्यक विज्ञको अध्ययन तथा अनुसन्धान आवश्यक पर्दछ। तसर्थ तीनै तहको सरकारको यस विषयमा गम्भीर हुनुपर्नेछ।
अन्त्यमा,
लकडाउनमा केही काम छैन भनेर अभिभावक भुल्नुभन्दा आफ्ना नानीबाबुहरुको गतिविधिमा संलग्न भई जीवनपयोगी तथा सांस्कृतिक ज्ञान हस्तान्तरण गर्न एक किसिमले विद्यालयको विकल्प पनि हो। यसले घरायसी माहोल विद्यालय जस्तै हुने साथै एक किसिमले घरभित्रै रमाइलो र दुई पुस्ताबीच सांस्कृतिक संस्कार हस्तान्तरणको अवसरको रुपमा रहनेछ।
अहिलेको कोरोना कालमा हाम्रो देश नेपालको तीनै तहको सरकारहरुले नेपालको शिक्षाको क्षेत्रमा औपचारिकता मात्र खोजी कार्यमा सिमित नराखी विद्यालयहरुको लागि अनलाइन कक्षा, भर्चुअल कक्षा, डिजिटल कक्षा, श्रव्य-दृश्य कक्षा जस्ता विभिन्न प्रविधिहरुको प्रयोग गरी सिकाई अगाडी बढाउन सकिन्छ। यो विकल्पहरु कोरोना कालमा विद्यालय शिक्षाको स्वर्णिम सेतु बन्न सक्नेछ।
(लेखक शिक्षा विकास तथा समन्वय इकाई बाराका प्रमुख हुन्।)