केही वर्ष अघि एउटा सामाजिक संस्थाले आफूले गरेको काम देखाउन रामेछाप जिल्लाको दुर्गम गाउँ प्रिति लगेको थियो। त्यतिबेला अहिलेको जस्तो कच्चि सडक पनि गाउँमा पुगेको थिएन।
दोलखाको जिरीदेखि रामेछापको रस्नालु र ठोसे शिवालयसम्म हिउँदमा काठमाडौँबाट जाने बसहरु चल्दथे। रामेछापको भुजी, प्रिति, गुप्तेश्वर, कुभुकास्थली, बाम्ति, गुम्देलसम्म र विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार सोलुसम्म त्यहीँबाट हिँड्नु पर्दथ्यो।
अझ वर्षामा त दोलखाको जिरीबाट नै पैदल हिँड्नु पर्थ्यो। रस्नालुबाट हिँडेर गुप्तेश्वर हुँदै दुम्जाखोलामा झरेर प्रिति उक्लिनको लागि ठाडो उकालो हिँड्दै थियौँ। अनकन्टार विकट गाउँको मुलबाटोकै छेउमा चिटिक्क परेको कलधारो देखियो। धारामा एक जना दिदी पानी थाप्दै हुनुहुन्थ्यो।
उकालो बाटो, लेककै भए पनि घाम चर्किसकेको थियो। हामी धाराकै छेउको चौरमा टासाकटुसुक बस्यौँ। पानी भरेर धारा बन्द नगरी ती दिदी पानी बोकेर हिँड्न लाग्नु भयो। मैले सोधेँ- दिदी किन धारो बन्द नगरी हिँड्नु भएको? उहाँले जवाफ दिनुभयो, ‘यो टुटी बिग्रिएको छ। बन्द हुँदैन।’
मैले फेरि भने- एहे पानी नाश भयो नि त, टुटी त बनाउनु पर्ने। उहाँले अझ सहज जवाफ दिनुभयो, ‘यो पहाडीको धारो हो। टुटी बिग्रएको छ। खै कहिले बनाइदिन्छन्।’ यति भनेर उहाँ घरतिर हिँड्नु भयो। खुल्ला धारोबाट गलल्ल पानी झरिरह्यो।
उहाँले भन्नु भएको पहाडीको पूरा नाम पहाडी समाज कल्याण केन्द्र हो। सो संस्थाले गरिवी निवारण कोषसँगको सहकार्यमा सहजिकरण गरी सो गाउँमा खानेपानी योजना निर्माण गरेको रहेछ। त्यो योजनाबाट पानी खेर गइरहेको धारो सहित ६ वटा धाराहरु वितरण गरिएको रहेछ।
बिग्रिएको टुटी मर्मत नगरेर त्यही धाराबाट चौबिसै घण्टा पानी बगेपछि अन्य धारामा के पानी जान्थ्यो होला र। ती दिदीले दिएको जवाफले मेरो मनमा सँधैभरी प्रश्नहरु उब्जिरहन्छ।
आफ्नै लगानीमा, आफैँले पसिना बगाएर ल्याउनु पर्ने धारो कुनै एउटा संस्थाले सहयोग जुटाई बनाई दिएको छ। पानी उनीहरुले खान्छन्। त्यही गाउँ टोलका मानिसहरुलाई सजिलो भएको छ। तर धारोको बिग्रिएको टुटी पनि आफूले मर्मत गर्न नहुने?
प्रयोग आफू गर्ने, सेवा र सुविधा आफू लिने, अनि धारो पहाडीको हुने? अनि हामी कस्ता विकास गर्दै छौँ र हाम्रा नागरिकहरु कता जाँदैछन्? हामी कति स्वार्थी र परनिर्भर बन्दै गएका छौँ? यसले हाम्रो अबको पुस्तालाई कता लैजाला?
हामी केटाकेटी हुँदासम्म गाउँमा धेरै सामाजिक काम हुन्थे। त्यसमा कतैबाट पैसा आएको हुन्न थियो। गाउँलेहरु आफै मिलेर श्रमदान गर्दथे। कुनै सामान किन्न पर्यो भने घरलौरी पैसा उठाएर किन्थे र सामाजिक काम गर्दथे। हुनेले पैसा दिन्थे, नहुनेले अन्न दिन्थे। त्यो पनि नसक्नेले श्रमदान गरेर योगदान गर्दथे।
वर्षा सकिएर दशैँ तिहार आउनु अघि गाउँको सिरानदेखि पुछारसम्म बाटो मर्मत गरिन्थ्यो। गाउँमा दशैँ तिहारमा आउने पाहुनालाई र मंसिरमा धान परालको भारी बोकेर हिँड्न सजिलो होस् भनि गाउँलेहरु मिलेर बाटो सफा गर्दथे।
गाउँका हरेक घरलाई बाटो सफा गर्ने भाग लगाएको हुन्थ्यो। हामी पनि काका बाहरुसँग गएर दिनभरि बाटो खन्ने, ढुँगा टिप्ने र बुट्टा फाँडेर बाटो बनाउने काममा सहयोग गर्दथ्यो।
गाउँमा चौर तथा बाटो छेउमा बर, पिपल, स्वामीका विरुवाहरु रोपेर हुर्काउने। ती रुखहरुमा चौतारो बनाउने काम हुन्थे। बोटामा भारी बिसाउने ठाउँहरुमा देउराली र बिसौनाहरु बनाइन्थे। ती कुनै पनि काममा न सरकारलाई गुहारिन्थ्यो न कुनै दातृ संस्थाको नै खोजि गरिन्थ्यो।
सबै गाउँलेहरुले श्रमदान गरेर चौतारा देउराली र बिसौना बनाउँथे। वर्षा लाग्नु अघि टोलभरिका मानिसहरु मिलेर आहाल सोहोरेर पानी जम्ने ठाउँ बनाउँथे। अझ ठाउँठाउँमा नयाँ आहाल पनि खन्थे। त्यसको लागि कुनै दातृ निकायको अवश्यक पर्दैन थ्यो। कसैले त्यहाँ पैसाको अपेक्षा नै गर्दैन थिए।
त्यतिमात्र हैन, हाम्रा पूर्वजहरुले श्रमदान गरेरै पौवा बनाए, पाटी बनाए। सत्तल बनाए। ठूला-ठूला मन्दिर बनाए। कतिपय ठाउँमा विद्यालय भवन बनाए। उनीहरुले सामाजिक काममा रगत पसिना बगाए। त्यसैले त्यहाँ सबैको अपनत्व थियो।
बिग्रदा-भत्कदा सबैलाई चोट लाग्थ्यो। उन्नति-प्रगति हुँदा सबैको मन पुलकित हुन्थ्यो। अहिले अनुदानमा हुने विकासका संरचना बिग्रिदा कसैको चित्त दुख्दैन। कसैको मन कुँढिदैन। अहिले हामी यति परनिर्भर र द्रव्य पिपासु भयौकी आफ्नै घरको काममा पनि भ्रष्टाचार गर्न लाग्यौँ।
सरकारले बलियो घर बनाउन दिएको अनुदान रकममा पनि हामी भ्रष्टाचार गर्न पछि हटेनौँ। सरकारले दिएको तीन लाखबाट एक लाख नाफा निकालेर दुई लाख रुपैयाँमा चर्पी जत्रा एककोठे टहरा बनाएर गौरवसाथ भन्ने गर्छौँ, ‘एक लाख त नाफै निकालेँ।’
त्यतीमात्र हैन, मन्दिर बनाउन सरकारसँग पैसा मागेर मन्दिर बनाउँदा समेत भ्रष्टाचार गर्न पछि हट्दैनौँ। खानेपानीका मुहान मर्मत गर्न आएको पैसाबाट नाफा निकालेर पेट भर्दा पनि पापको भय राख्दैनौँ।
अहिले घरमाथिबाट भल पसेर घर पुर्न लाग्दा पनि हामी त्यो भल आफू काट्न तयार छैनौँ। त्यसको लागि सहयोग गर्ने निकाय वडा कार्यालय हो कि गाउँपालिका हो खोज्दै हिँड्छौँ। जताजता मिल्छ, त्यतै निवेदन तेर्स्याउँछौँ। सडकमा देखिएको ढुंगो छेउमा राख्न दाता चाहिएको छ। आफ्नै बारीमा बिरुवा रोप्न दाता चाहिएको छ।
आफ्नो खेतमा पानी ल्याउने कुलो सोहोर्न दाता चाहिएको छ। चौतारो बनाउन दाता, मन्दिर बनाउन दाता, धाराको मुहान सफा गर्न दाता, आफ्नै गाईगोठ बनाउन दाता, बाख्राको खोर बनाउन दाता, भकारो बनाउन दाता, खेतका गरा बनाउन दाता।
आफ्नो स्वास्थ्य जाँच गराउन जान पनि दाता। अनि तिनै दाताले दिएको दान र अनुदानमा पनि भ्रष्टाचार। यसरी कसरी अघि बढ्न सक्छ समाज?
अहिले गाउँगाउँमा बन्ने उपभोक्ता समितिमा बस्न तँछाड मछाड हुन्छ। उपभोक्ता समितिमा बस्न ठूला राजनीतिक दलकै आशिर्वाद पाउनु पर्छ। राज्यले दिएको योजनाहरुको उपभोक्ता समितिमा बस्नु भनेको कामलाई राम्रोसँग सम्पन्न गराई समाज सेवा गर्नु हो। स्वयमसेवी रुपमा खटेर काम राम्रो गराउनु हो।
तर त्यहाँ बसेपछि योजनामा आएको पैसा खेलाउन पाइन्छ। पेसा तलमाथि गर्न पाइन्छ। केही न केही पैसा त पक्कै लप्काउन पाइन्छ भनेर उपभोक्ता समितिमा बस्न तँछाड-मछाड र कतिपय ठाउँमा त कुटाकुटनै हुन्छ।
सेवा नै गर्ने मनसाय हो भने त त्यो समितिमा नबसी पनि गर्न सकिइहाल्छ नि। त्यसो हैन, अहिले उपभोक्ता समितिमा बस्ने भनेकै कमाउनको लागि हो भन्ने भएको छ र कमाई पनि रहेका छन्।
राजश्व, देवश्व र पितृश्व खान हुँदैन। यो खायो भने सन्तानलाई खिया लाग्छ। अर्थात्, यसले सन्तानलाई समेत पिरोल्छ भन्ने पूर्विय संस्कारमा हुर्किएका हामी। हाम्रो संस्कार र संस्कृत कति उच्च थियो। हाम्रा बाबु बाजेले हामीलाई आशिर्वाद दिँदा सधै भन्ने गर्दथे, ‘सँधै हात माथि परोस्, कहिल्यै तल नपरोस्।’
अर्थात् सधैँ दान दिन सक्ने हुनु, कहिलै कसैसँग हात थापेर खान नपरोस् भनेर हाम्रा पुर्खाले आशिर्वाद दिइरहे। तर हामीले त्यसको ठिक विपरित आचरण गर्दै गयौँ।
हामी यति धेरै परनिर्भर बन्दै गयौ कि हामीलाई हरेक कुरामा अनुदान र सहयोग चाहिने भयो। संकटको बेलामा समेत घरभरि अन्न थुपारेर खान पाइनँ भनेर रोईकराई गरेर हिँड्न सक्ने निर्लज्ज भयौँ। घर भरी खानेकुरा हुँदाहुँदै कसले कहाँ राहात बाड्छ भनेर दिनभरि घरको काम बिताएर राहत खोज्न भौतारिने पापिष्ट बन्यौँ।
बारीमा पाकेको बाली सडाएर राहतमा आएका सडेका चामल च्यूरा थाप्दै हिँड्ने अधर्मी भयौँ। घरमा आफैँले बनाएको गुन्द्रुक फालेर कुहिएका भटमासका मस्यौराको राहात लिन हारालुछ गर्ने कृतघ्न बन्यौँ। आफू सम्पन्न हुँदाहुँदै भिक मगुवा आचारणहीत बन्यौँ।
हाम्रो धर्म, संस्कार, संस्कृती, मुल्य मान्यता र आचरण सबैलाई त्याग्यौँ। जसले धर्म, संस्कार, संस्कृति, मूल्य-मान्यता र आचरण सबै त्याग्छ, त्यसको कहिलै उन्नति हुँदैन। उसको सधैँ अधोगती हुन्छ। त्यसैले उठौँ जागौँ।
आफ्नो धर्म, संस्कार, संस्कृति, मूल्य मान्यता र आचरणलाई जोगाउँ। सभ्य नागरिक बनौँ। विपदको बेलामा लिन हैन, दिन जानौँ। देश र समाजसँग लिनमात्र हैन, दिन पनि सिकौँ।