आविष्कार र विकास। यी दुई शब्दले दिएका प्रतिफलहरुसँग हामी सबैलै जीवनदेखि मरणसम्म साक्षातकार गरेका छौं। हामीले प्रयोग गर्ने हरेक चीजमा कसै न कसैको नविन एवं श्रृजनात्मक सोच र त्यस्तो सोचलाई प्रतिफलमा बदल्ने अटुट मिहेनत एवं धैर्यताले काम गरेको हुन्छ। जसलाई हामी वैज्ञानिक भनेर चिन्छौं।
तर नेपाली भएर सम्झदा वर्तमानका हामी नेपालीले उपभोग गर्ने यस्ता आविष्कारहरुको श्रृजना र विकास गर्न हामीले कति योगदान गरेका छौं त? अथवा महशुस गर्न सक्नेगरीको नेपाली वैज्ञानिकले गरेको सामाग्री एवं उपकरण कति छ हामीसँग? यी करिब करिब व्यवस्थित जवाफ नआउने प्रश्न हुन हामी सबैका लागि।
यसको पछाडि दुई वटा कारण हुनसक्छ। पहिलो, हामीले गरेका आविष्कार प्रतिश्पर्धी हुन सकेनन्। दोस्रो, प्रतिश्पर्धी हुनसक्ने उत्पादनको बजारिकरण गर्न सकिएन। त्यसैले त नेपालीको जीवनयापन जीविकोपार्जनमूखी छ भनिएको होला।
कोभिड-१९ पछि देशै बन्दाबन्दीमा छ। भारत तथा खाडीमा गएका युवा श्रमिकहरु दुःख गरेर भएपनि स्वदेश फर्कन बाध्य छन्। कृषि उत्पादन न्यून छ। भएको पनि बन्दाबन्दीको मारमा बजारसम्म पुग्न नसकेर खेतमै कुहिएको छ। कुखुरा फार्मका कुखुरा सुँगुरको चारो बनेका छन्। चल्लाहरु माटोमा गाडिएको छ। अर्को तर्फ भारतबाट बन्दकै अवस्थामा चार अर्बको तरकारी आयात भएको समाचार सार्वजनिक भएको छ।
नेपालको कस्तो दुर्दशा आफ्ना भएका उत्पादन खाडलमा हालेर विदेशबाट किनेर खाने। यसले कृषि प्रणालीमा वैज्ञानिक व्यवस्थापन अर्थात विधि प्रविधि र प्रयोगमा नयाँ आविष्कार अति आवश्यक भईसकेको देखाएको छ। अन्यथा हालको जस्तो उत्पादन र आपूर्तिप्रणाली कदापी दिगो हुन सक्दैन।
देश भित्रै दिगो उत्पादन गरी किसानले उचित मूल्यमा आन्तरिक माग पूरा गरी निर्यात गर्ने क्षमता नबनुन्जेल संविधानमा लेखिएको खाद्य संप्रभुताको हक र अन्य ३० वटा मौलिक हकहरुको प्रचलन गर्नु पनि आकासको फल जस्तै हो।
वर्तमान अवस्थामा, सर्वसाधारण नेपालीका लागि भोलिको सपनाभन्दा पनि आजको गुजारा चुनौतीपूर्ण हुँदै गएको छ। भोलिको विषयमा बाटो देखाउन उनीहरुले सरकारको अभिभावकत्व खोजेका छन्। आम-नेपालीको जीवन प्रतिको भरोसा श्रृजना गर्ने कुनै आविष्कार र विकास खोजेका छन्।
आविष्कार र विकासको कुरा गर्दा अहिलेको अवस्थालाई विश्वले नै कोरानाको महामारीको त्राससँगै एउटा विशिष्ट अवसरको रुपमा समेत चर्चा गरेको छ। कोरोना जस्ता महामारीसँग सघर्ष गर्दै भविष्यको लागि जीवनयापन गर्नुपर्ने वैकल्पिक मार्गहरु खोजी भईरहेका छन्। कोरोनाले श्रृजना गरेको मानवीय पीडालाई थाती राखेर यसले श्रृजना गरेका अवसरहरुलाई हेर्ने हो भने सुमधुर भोलि देख्न पनि सकिन्छ।
सामान्य अवस्थामा गर्ने नसकिने काम अहिले प्राकृतिक रुपमा नै सम्भव भएका छन्। हाम्रो वरपरको वातावरण तथा खोलानाला स्वच्छ हुँदै गएको छ। परिवारको एकता भएको छ। भविष्यलाई कसरी सन्तुलित ढंगले विकास गर्ने चाहना आम रुपमा विकास भएको छ।
करिब तीन महिना अघि विश्वव्यापिकरणमा जकडिएको विश्व अहिले देशको सीमा भित्र, अझ भनौं देश भित्रको पनि समुदाय र परिवार भित्र खुम्चिएको छ। शक्तिशाली राष्ट्रहरु हायल कायल भएकै अवस्थामा पनि कोरोनालाई जितेर अघि बढ्ने सोचमा छन्। देश-देशका केही विशिष्टता बाहेक समग्र विश्वको अबको चिन्तन प्रकृतिमैत्री दिगो विकासतर्फ बढ्नेछ भनेर सहजै अनुमान लगाउन सकिन्छ।
अन्तर्राष्ट्रिय स्तरको म्यागसेसे पुरस्कारबाट विभुषित नेपाली समाजमा अब्बल छवि बनाएका सूचना प्रविधि विज्ञ महावीर पुनले श्रृजना गरेको राष्ट्रिय आविष्कार केन्द्र नेपालका योग्य युवाहरुको वैज्ञानिक सोचलाई आविष्कारमा परिणत गर्ने राम्रो थलो बनेको छ।
केन्द्र खुलेको एक वर्षमा नै तीन वटा नयाँ आविष्कार तयार भईसकेका र २८ वटा अन्तिम चरणमा पुगेका छन्। केन्द्र सञ्चालन गर्न श्रोत व्यवस्थापनका विषयहरुमा खानुपरेका हन्डरहरुका बाबजुत उनको अविचलित सोच र कडा परिश्रमको परिणाम स्वरुप यो संगठनले विस्तारै आम-विश्वास आर्जन गर्दै सामाजिक संस्थाको स्वरुप पाउँदै गएको छ।
अझ कोभिड-१९ ले आक्रान्त बनाएको वर्तमान अवस्थामा केन्द्रका वैज्ञानिकहरु रात-दिन नभनी मास्क, होल बडी सेनिटाइजर, पिपिई, चिकित्सकले प्रयोग गर्ने सुरक्षित चेकिङ बुथ निर्माण गरी आपूर्ति गरिरहनु हामी सबैका लागि गौरवको विषय हो।
महावीर पुन र उनलाई नजिकबाट सघाउने केही व्यक्तिको पहलबाट त यति आशालाग्दो काम हुँदो रहेछ भने भरपर्दो श्रोत र अवसर नपाएर गाउँ-गाउँमा रहेका युवा वैज्ञानिकहरुको दमित श्रृजनात्मक शक्तिलाई आविष्कारका माध्यामबाट प्रस्फुटन गर्न नेपाल सरकारले अर्जुनदृष्टि राख्ने बेला आएको छ।
आविष्कार भन्नाले आधुनिक वैज्ञानिक उत्पादनलाई मात्र बुझिदैन। यो त हाम्रा पिता पूर्खाको वर्षौ मिहेनत र अनुभवले खारिएर बनेको रैथाने उत्पादन, चलन र जीवनशैली पनि हो। किनकी यी सबैले जीवन सहज बनाउन योगदान गरेका हुन्छन्। जसरी वैज्ञानिक आविष्कारले गर्दछन्। यी पुर्ख्यौली आविष्कारहरुको जगेर्ना र संरक्षण पनि आज चुनौती बनेको छ।
अतः प्रस्तुत लेखमा चर्चा गर्न खोजिएको विषय कृषि आविष्कार केन्द्र यस्तै आधुनिक तथा रैथाने प्रविधिको मिश्रणलाई गाउँघरमामा पुनरुत्थान सम्बन्धी समुदाय स्तरको परियोजनाको अवधारणा हो। परियोजनाबाट देशका योग्यतम् युवाहरुमा भएको वैज्ञानिक सोचलाई प्रस्फुटन गरी सरल, प्रभावकारी र दिगो उत्पादनबाट देशको मुहार फेर्न सकिन्छ।
नेपाल सरकारले आगामी वर्षको बजेट तथा कार्यक्रम तयारी गरिरहेको सन्दर्भमा कुनै नयाँ र दिगो काम गरौं भन्ने सोचलाई केन्द्रभागमा राखिएकै हुन्छ।
वर्तमान आवश्यकताको परिपूर्तिसँगै नयाँ आविष्कारको माध्यबाट सुमधुर र दिगो भविष्यतर्फ डोहोर्याउन सरकारले कुनै बहुआयामिक प्रतिफल भएको आयोजना कुनै अब्बल व्यवस्थापकीय विधिबाट सञ्चालन गर्न सक्नु पर्दछ। यसमा एउटा नयाँ अवधारणको रुपमा कृषि आविष्कार केन्द्रको सञ्चालन गर्न सकिन्छ।
राज्यको लगानी र सिमित निगरानी तथा स्वतन्त्र योग्यतम स्थानीय युवाको व्यवस्थापनमा देशभरका स्थानीय पालिकाहरुका दुईदेखि तीन वटा वडा क्षेत्र समेटर कूल २७१४ वटा स्थानमा उत्पादन तथा आपूर्ति श्रृंखलाका आधारभुत पक्षहरुलाई समाएर कृषि आविष्कार केन्द्र (अनुसन्धान र विकास), कृषि आविष्कार केन्द्र(उत्पादन), कृषि आविष्कार केन्द्र (बिक्री वितरण) र कृषि आविष्कार केन्द्र (रोजगारी) खोल्न सकिन्छ।
कसरी चल्छ त कृषि आविष्कार केन्द्र ?
हाम्रो देशमा संस्था खोल्नभन्दा सफल रुपमा चलाउन निकै गाह्रो छ। विभिन्न लोकप्रिय नामबाट विगतमा ल्याइएका कार्यक्रमको सुस्त प्रगतिको कारण मानिएको जडसुत्रवादी कर्मचारीतन्त्र राजनैतिक हस्तक्षेप र सुपेरिवेक्षक निकायको अस्वभाविक त्रासबाहिरबाट (आउट अफ दि बक्स) नतिजा दिनुपर्ने तर्फ सोच्नुपर्ने देखिन्छ।
फेरि आविष्कार केन्द्र नाम वा कामको प्रकृतिलेनै सञ्चालन स्वायत्तता माग गर्ने सञ्जालमा आधारित संगठन हो। देशका योग्यतम युवाहरुलाई विश्वास गर्ने हो। न्यूनतम पुँजी र कार्यमुलक पद्धती सरकारले निर्माण गरी दिनुपर्छ।
केन्द्रहरुको सामान्य अनुगमन र नियन्त्रण जनप्रतिनिधि र समुदायले आदर्श मानेका स्थानिय सरकारी, सामुदायिक तथा निजी स्कूल, कलेजका शिक्षक तथा प्राज्ञ रहेको समितिले गर्ने गरी व्यवस्था मिलाउनु पर्छ। जसले गर्दा युवाको जाँगर र बुढाको अनुभवको उचित समिश्रणबाट भरपर्दो नतिजा निकाल्न सकिन्छ। यसमा कुनै ठुलो पुँजी, सामर्थ्य र कानुनी प्रबन्ध पनि जरुरी छैन।
सरकारले स्थानी तहमा वर्षेनी विनियोजन गर्दै आएको तर खर्च नभएको विशेष अनुदानको रकम वा सांसद विकास कोषको रकमलाई उपयोग गर्न सकिन्छ। यसको लागि वर्तमान सरकारको इच्छाशक्त्ति पर्याप्त छ। एक पटक सरकारले सुरुआत गरी मार्गनिर्देश गरे जनताले दिगो रुपमा अपनत्व लिनेछन्। किनभने कृषि आविष्कार केन्द्र उनीहरुकै छोराछोरीले काम गर्ने थलो हो।
गाउँ-गाउँबाट १० कक्षा र स्नातक वा स्नातकोत्तर तहमा उपल्लो अंक ल्याएर उत्तिर्ण भएका युवाहरुलाई संविधानले परिकल्पना गरेको नागरिकको कर्तव्य अन्तर्गत उनीहरुको शैक्षिक उपलब्धीसँगै आवद्ध गरेर कृषि आविष्कार केन्द्रमा एक वर्षे प्रयोगात्मक सामाजिक सेवा स्वरुप उनीहरुकै जिम्मामा केन्द्र सञ्चालन गर्न सकिन्छ।
यहि प्रोजेक्ट वर्कका आधारमा उनीहरुलाई राष्ट्रसेवाको योग्यताको प्रमाणपत्र दिन सकिन्छ। यसका लागि युवाहरुले सरकारले बनाईदिएको कार्यविधिमा टेकेर कृषि आविष्कार केन्द्रमा काम गर्नेछन्।
साथै विदेशबाट काम सिकेर गाउँ फर्किएका युवाहरु र गाउँमै काम गरेर बसेका युवाहरुलाई अगुवा किसान स्वयंसेवक बनाएर कार्यक्रममा सक्रिय सहभागि गर्न सकिन्छ। अझ व्यवस्थित गर्न देशको माध्यमिक, स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक पाठ्यक्रमको प्रयोगात्मक भागको रुपमा अनिवार्य गर्नुपर्दछ।
युवाहरुलाई यस काममा आकर्षित गर्न एक वर्षभरी न्यूनतम फेलोसिपको रकम उपलब्ध गराउने, राष्ट्रसेवाको योग्यताको प्रमाणपत्रको आधारमा लोकसेवा आयोगले लिने सरकारी सेवाको परीक्षामा खुला प्रतिस्पर्धाको कुल सीटको ५० प्रतिशत आरक्षण दिने, उच्च अध्ययनको लागि विश्वविध्यालयमा प्रवेश परीक्षा दिनु नपर्ने सुविधा दिने जस्ता व्यवस्था गर्न सकिन्छ।
यसरी आ-आफ्ना गाउँमा खुलेका कृषि आविष्कार केन्द्रमा यी जेहेन्दार विद्यार्थीहरुले पूर्णरुपमा खोज, सिक र सिकाउ भन्ने मान्यतामा आधारित भएर स्थानीय कृषि सम्भावनाको अन्वेषण गर्ने, कृषि उत्पादनलाई माटो र मौसम सुहाउँदो बनाउन किसानका घरआँगनमा पुगेर आफूले जानेको प्रमाणित विधि र आविष्कार गरेका नौला उपकरण एवं प्रविधि बाड्न सक्छन्।
विद्यार्थीले एक वर्षभरी गरेको प्रयोगात्मक सिकाई र सेवाको गुणस्तर मापन गर्ने कार्यविधि बनाई लागू गरेमा केन्द्रको वित्तिय सुशासन समेत कायम हुन्छ। केन्द्रले गर्ने हरेक खर्चमा औचित्यता, मितव्ययीता, नियमिता, प्रभावकारिता र कार्यदक्षतालाई उनीहरूको व्यवस्थापन क्षमता मूल्यांकनको आधार बनाउन सकिन्छ।
२१ औं शताब्दीको शासन सञ्चालनको सह–निर्माण, सह–उत्पादन र सह-आविष्कारको मान्यतामा समेत यो अवधारणा मिल्न जान्छ। किनभने संघीय सरकार, स्थानीय सरकार, स्थानीय योग्यतम युवा र किसानहरुको सामुहिक प्रयासमा कृषि आविष्कार केन्द्रले नतिजा दिन्छ।
के गर्छ कृषि आविष्कार केन्द्रले ?
कृषि आविष्कार केन्द्रमा आबद्ध विद्यार्थी र स्वयंसेवक अगुवा किसानले देहायका कामहरु गर्नेछन्:
- आफू सिक्ने र किसानलाई सिकाउने।
- आफ्नो उत्पादन र आपूर्ति श्रिंखलाको अनुसन्धान र विकास गर्ने
- माटोको गुणस्तर मापन गर्ने
- मौसम, माटो, पानी, बीउ, मल र किटनाशकको अध्ययन गर्ने
- सजिला कृषि औजार र प्रविधिको खोजी गर्ने र विकास गर्ने
- खाद्य वस्तुको संचय र सुरक्षा गर्ने प्रभावकारी उपाय विकास गर्ने
- जमिन लिजमा लिई किसानसँगै नमुना उत्पादन गर्ने
- खेतीको लागि पानी, मल, किटनाशक, भण्डारण, कोल्ड स्टोर आदिको व्यवस्था गरिदिने
- किसानलाई समय-समयमा वैज्ञानिक उत्पादन विधिका विषयमा प्रशिक्षण दिने
- उत्पादनको आँकलन गरी बिक्रीको लागि सम्भावित बजार र समयको अध्ययन गर्ने र किसानलाई सुझाउने
- बिक्री गरिने वस्तुको प्याकेजिङ र सुरिक्षत ढुवानीको व्यवस्था गर्ने
- प्याकेजिङ र प्रोसेसिङका उपकरणहरु खरिद गरी दिगो रुपमा सञ्चालन गर्ने
- उत्पादन तथा आपूर्ति श्रृंखलामा आवद्ध सबै किसानको लगत राख्ने
- किसानलाई संगठित गरी तालिम र क्षमता विकासका क्रियाकलापमा सहभागी गराउने
- तुलनात्मक लाभका क्षेत्र पहिचान गरी सोही बमोजिम लगानी गर्न तथा पारिश्रमिक बढाउन प्रेरित गर्ने।
- अनुसन्धान र विकास उत्पादन बिक्री र रोजगारी सम्बन्धी सबै गतिविधिको भावी अध्ययनका लागि व्यवस्थित अभिलेख राख्ने।
सरकारले किन लगानी गर्ने ?
कृषि आविष्कार केन्द्रले एकै पटक दिगो कृषि उत्पादन शिक्षा स्वास्थ्य र रोजगारीमा गुणात्मक ढंगले सकारात्मक प्रभाव पार्न सक्ने भएकोले यसबाट राज्यलाई र जनतालाई बहुआयामिक फाइदाहरु हुन्छन्। जुन निम्न बमोजिम छन्।
- एकै पटक देशभरी लागूहुने र देशैभरीका किसान तथा युवालाई प्रभाव पार्न सकिन्छ।
- कृषिको अनुसन्धान र विकासमा ठूलो फड्को मार्न सकिन्छ।
- कोरोनाको असर घरघरमा खेर गईरहेको श्रमशक्तिलाई कृषि प्रणालीमा वैज्ञानिक तवरमा आवद्ध गर्न सकिन्छ।
- वैदेशिक रोजगारीको भरपर्दो विकल्प दिनुपर्ने सरकारको बाध्यता सम्बोधन गर्न सकिन्छ।
- उत्पादनको आधारभूत तह अर्थात कच्चा पदार्थ तहमा निजी क्षेत्र आकर्षित नहुने भएकोले सरकारको लगानी अनिवार्य छ।
- खाद्यान्न र पशु उत्पादनमा देशलाई दिगो रुपमा आत्मनिर्भर तुल्याउन। वार्षीक रु २०० अर्बभन्दा माथिको खाध्यवस्तुको आयात रोक्न।
- आम-मानिसमा काम नपाएर वा गर्न जाँगर नचलाएर गुम्दै गएको शारीरिक एवं मानसिक सन्तुलनको अवस्थामा घरघरमा काम, दाम र मान भएपछि स्वस्थ जीवन र आशावादी भविष्य तर्फ मोड्न।
- परिश्रमबाट स्वास्थ्य हुने अवसर र कामबाट हुने जीवन उपयोगी शिक्षा सिकाइको अवसर दिन।
- आविष्कार परिष्कृत भई प्रतिस्पर्धी वस्तु उत्पादन गरी निकासी गर्नसक्ने सम्भावना रहन्छ।
- देशभरीमा वार्षिक ४३, हजार ४२४ जना प्रत्यक्ष रुपमा रोजगार हुने। यो संख्या हरेक वर्ष देशको माटो चिन्ने सीपयुक्त योग्यतम् (मेरिट बेस्ड) नागरिक हुने।
- मेरिट स्टुडेन्टको शैक्षिक उपादीसँग आवद्ध गरिएको र स्थानीय प्राज्ञ र जनप्रतिनिधिले अनुगमन मुल्यांकन गर्ने भएकोले दुरुपयोग हुने सम्भावना न्यून रहेको।
- मौलिक एवं रैथाने उत्पादनहरुको अन्वेषण, विकास र व्यवसायिक प्रयोगमा कोशेढुंगा साबित हुने।
- खोज, सिक र सिकाऊमा आधारित वैकल्पिक शिक्षाको उत्कृष्ट नमूना हुने। अनुसन्धान र विकासको बलियो अभिलेखको विकास हुने।
- शैक्षिक पाठ्यक्रमको प्रयोगात्मक भागको रुपमा अनिवार्य गरिएकोले व्यवहारिक ज्ञानको व्यापक रुपमा विस्तार हुने।
- सीप उपकरण तथा प्रविधिको गाउँ गाउँबाट विकास हुने। हाम्रो समाज प्रतिस्पर्धी आर्थिक समाजमा रुपान्तरण हुने।
- आर्थिक संघीयता भित्र स्थानीय स्वायत्त शासनको नमुना कार्यक्रम। समाजवादको नमुना।
- समग्रमा देशको माटो र स्थानीय अवसर चिन्ने कलाबाट राष्ट्रियता र समृद्धि बढ्न जान्छ।
विश्वमा छोटो समयमा विकास भएका मुलुकहरु- सिंगापुर, दक्षिण कोरिया तथा मलेशिया जस्ता देशको उदाहरण हेर्ने हो भने ती देशका राजनीतिक नेतृत्वले आम-जनतालाई नयाँ काम वा आविष्कारहरुमा प्रेरित गर्दै राज्यका तर्फबाट अनुकूल वातावरण श्रृजना गरेको पाइन्छ। आविष्कारले नै मुलुकलाई प्रतिस्पर्धी बनाउने हो। तर सोच, त्यसै नतिजामा परिणत हुँदैन।
यसका लागि सरकारले मनोवैज्ञानिक कानुनी, वित्तिय एवं सांगठनिक रुपमा समयतालिका बनाएर तयारी थाल्नु पर्छ। सरकार युवा शक्त्तिको अविभावक भएकोले कामबाटै उ युवामाझ आदर्श बन्नु पर्दछ। देश विकासमा युवा परिचालन भए मात्र समृद्ध नेपाल सुखी नेपालीको नारा सुमधुर बन्दै जानेछ। तसर्थ, युवाले राष्ट्रसेवा गर्ने बेला आयो, सरकार तयार रहनुपर्दछ।