सायदै कसैले सोचेको थियो लकडाउन हुन्छ। कोरोनाको खबर आउँदै थिए, तर महामारी रूप लिएर आफ्नै संघारमा आइपुग्छ भन्ने दक्षिण एसियामा कसैलाई कल्पना थिएन। सब आ-आफ्ना काममा व्यस्त थिए, लागिराखेका थिए।
कोही पेशागत सभा, सेमिनारमा, कोही भोजभतेरमा, पारिवारिक कार्यक्रमहरूमा त कोही धार्मिक सभा सेमिनारमा, कोही सत्संगमा, कोही पर्यटनमा, सबैको दिनचर्या सामान्य चल्दै थियो।
छिमेकी मुलुक भारतमा २२ मार्चका दिन 'नागरिक कर्फ्यू' भनेर भन्दा भोलिको गम्भीरताको छनक आइसकेको भए पनि सरकारको अर्को कदम के हुन्छ, स्पष्ट थिएन। भारत र नेपाल दुवैमा विदेशी नागरिक समेत, जो जहाँ फँसेका थिए, घर फर्किने प्रयासमा थिए।
अफवाहको बजार गरम थियो। यो सबबीच केही सनसनीखेज, जिम्मेवारीरहित मिडियाले प्रमुखताका साथ दिल्लीको निजामुद्दीनमा तब्लिगी जमातको गोष्ठीका सहभागी 'लुकेको' आरोप लगाउन थाले।
मननीय के छ भने, यी उस्तै अवस्थामा जुन शब्द प्रयोग भए, ती फरक थिए। अन्य भीडभाड अथवा जमावडामा भएका व्यक्तिलाई 'फसेको' भनियो भने एक समूह विशेषका ती सहभागीलाई यो घटनापछि जानी-जानी 'लुकेको' आक्षेप जोर-शोरका साथ लगाइरहियो। एक विशेष किसिमको मिडियाबाट सनसनी फैलाइ रहियो।
देखासिकी अथवा बदनियत केले हो, नेपालमा पनि त्यस्तै घृणा-अन्वेषी, उत्तेजना, अफवाह फैलाउने र सनसनी खोज्ने तत्त्व सामाजिक सञ्जालमा सल्बलाउन थाले र यो रोग केही सञ्चारमाध्यममा पनि सर्यो। केही जिम्मेवार र अन्य बेला विवेकपूर्ण व्यक्तिहरूको ह्यान्डलबाट पनि फैलियो। तर क्रमशः बहुसंख्यक बुद्धिजीविहरूले कुरा बुझे। थप बोलेनन्।
अब्दुल्लाह मियाँको कान्तिपुरमा एक लेख पनि आयो जसमा तब्लिगी जमातको उद्देश्य र वास्तविकताबारे प्रकाश पारिएको थियो। जति सुकै राम्रो उद्देश्य भए पनि, जुनसुकै ठूलो सार्वजनिक संस्थामा सदस्य हुने हरेक व्यक्तिको ग्यारन्टी कसैले लिन सक्दैन।
तर छिमेकी मुलुकको फेशन, सिनेमाबाट अन्धाधुन्ध प्रभावित हुने, ह्वाट्सएप विश्वविद्यालय, सनसनीखेज मिडियाबाट प्रभावित हुने एक वर्ग आँखा चिम्लेर यसको पछि लाग्यो।
उदयपुरमा षड्यन्त्र देख्न थाल्यो। कुनै समुदाय विशेषका एक सार्वजनिक व्यक्तिले छिमेकी मुलुकमा कोरोना बम बनाएर कोरोना फैलाउन षड्यन्त्र गरेको, उनीलाई नेपाल पुलिसले समतिसकेको समाचार बाहिर आए।
पर्सा घर भएका ती 'कोरोना बम निर्यातक' का संरक्षणमा रहेका सबै कुनै एक समुदाय विशेषका नेपाली व्यक्ति छिमेकी मुलुक र नेपालमा कोरोना फैलाउन, कोरोना बम बनाउन आएको र नेपाल पुलिसद्वारा समातिएको भन्ने अफवाह फैलाउन लागे।
ती व्यक्तिको परीक्षण गरियो। सबै आक्षेप अफवाह र भ्रम सिद्ध भयो। कुनै पनि सामान्य व्यक्तिले आफूमा रहरले संक्रमण गराउँदैन। त्यसपछि फेरि यही दुराग्रह दोहोरियो।
जनकपुरमा समुदाय विशेषका दुई महिलाले 'कोरोना फैलाउने षड्यन्त्रका तहत थूक लगाएको पैसा फ्याँकेर हिँडे' भनेर अफवाह फैलाइयो।
सामाजिक सञ्जाल, सञ्चारमाध्यम ताते। दुई महिलाहरूबाट बैंकबाट झिकेको पैसा झरेको निष्कर्ष निस्केपछि सबै सेलाए। कसैको पनि पैसा झर्न सक्नु सामान्य हो, तर ती कुनै समुदाय विशेषका भएका भरमा ती महिलालाई घरबाट ल्याएर परीक्षण गरियो। हात लाग्यो शून्य।
छिमेकी मुलुकमा समूह विशेषको गोष्ठीमा भाग लिने कुरा छोडी दिऊँ, त्यस समूहसँग कुनै सम्बन्ध नभएकी एक सम्बैधानिक निकायकी जिम्मेवार सदस्यलाई, जसले सधैं निर्धाको आवाज उठाइरहिन्, सार्वजनिक रूपमा सामाजिक सञ्जालमा भनियो-
'तिमी धर्म विशेषकी भएकीले (प्रमाण नभए पनि) तिमीले यात्रा गर्दा त्यस गोष्ठीमा गएकै हुनुपर्छ। तिम्रो गृह जिल्ला नेपालगन्जमा पनि कोरोना फैलियो रे! त्यसैले तिमीले आफ्नो जाँच गराउनु पर्छ। तिमीले आफूमा रोग नभएको भन्ने कुरा सार्वजनिक रूपमा प्रमाणित गर्नु पर्छ। परीक्षण गराएर रिपोर्ट देखाउनु पर्छ। नत्र तिम्रो कार्यालयका साथीहरू त्रसित छन्, तिमीले उनीहरूलाई सार्छौ भनेर। तिम्रो धर्मलाई सम्मान गर्छु, तर तिमीले आफूलाई रोग नभएको प्रमाण दिनु पर्छ।'
अर्थात्, त्यस सत्संगमा भाग लिएको, त्यो सहरमा गएको, उनलाई संक्रमण भएको कुनै पनि प्रमाण बेगर नै 'प्रमाणको अभिभारा' उनीमाथि हालियो। आधार के त भने केवल शंका।
शंकाको आधार? प्रमाण बेगरको गैरजिम्मेवार अफवाह!
स्वाभाविक छ, यसप्रकारको अनर्गल आरोप लाग्दा अरूलाई 'डिफेन्ड' गर्ने व्यक्ति आफैं त्यसको शिकार हुँदा यस प्रवृत्तिबारे आपत्ति जनाइन्।
अनि सामाजिक सञ्जालमा प्रश्न ओइरिए- मेडिकल चेक गराएर रिपोर्ट सार्वजनिक गराए भइहाल्यो नि!
परीक्षण गराएर रिपोर्ट सार्वजनिक गर्नु पर्ने सुन्दा निर्दोष र स्वाभाविक लाग्ला। के भयो त, निर्दोषिताको प्रमाण किन नदिने? यो माग जायज पनि लाग्ला। के बिग्रियो त? सार्वजनिक पदमा रहेका व्यक्तिलाई प्रश्न गर्न नपाइने?
यहाँ आपत्ति के भने, भीडभाडमा जाने, सामूहिक कार्यक्रममा भाग लिने धेरै छौं तर हामीले अन्य कुनै सार्वजनिक पदमा रहेका व्यक्तिलाई, कुनै प्रमाण बेगर, उसको धर्म इंगित गरी, यो प्रश्न किन सोध्यौं?
किनभने सामाजिक सञ्जाल यस्तो सञ्चारमाध्यम हो, जसमा धेरैले विवेक प्रयोग गर्दैनन्। एउटा महत्वपूर्ण पदमा रहेको सो समुदायको व्यक्तिलाई यसरी उत्पीडन गर्न खोज्छौं, 'सिंगल-आउट' गर्छौं भने त्यस समुदायका कमजोर व्यक्तिसँग कस्तो व्यवहार गरिन्छ होला?
हाम्रो संविधानले आ-आफ्नो धर्मलाई खुलेआम स्वीकार गर्ने, त्यसको अभ्यास गर्ने र आफ्नो आस्थाका हिसाबले आफ्नो धर्म रक्षा गर्ने मौलिक हक दिएको छ। वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ ले प्रत्येक व्यक्तिको शारीरिक र मानसिक अवस्था सम्बन्धी विषयको गोपनीयता अनतिक्रम्य हुनेछ र कानुन बमोजिम बाहेक वैयक्तिक सूचना संकलन गर्न नहुने भनेको छ।
अब तर्क गरिएला, महामारी बेला व्यक्तिगत जीवनको कुरो हुँदैन। कुनै व्यक्ति जनताका लागि खतरा भए भन्ने शंका भएपछि, उसले प्रमाणित गर्नु पर्छ, स्पष्टिकरण दिनु पर्छ।
कसैको शंकाको भरमा, लकडाउन लगत्तै यात्राबाट फर्केको पैंतालिस दिनपछि, आफैंलाई दुई हप्ता क्वारेन्टिनमा राखिसकेकी स्वस्थ्य ती व्यक्तिले फेरि परीक्षण गराएर सामाजिक सञ्जालमा पोस्ट गर्नु पर्ने? अनि शंका चाहिँ कुनै समुदाय विशेषको भएको आधारमा?
यात्रा गरेका हुनाले क्वारेन्टिन र सामाजिक दुरी पालना गर्दा समस्या देखिएमा सरकारी निकायबाट, कन्ट्याक्ट ट्रेसिङबाट ती व्यक्तिको परीक्षण र चिकित्सा हुनु पर्ने हो। त्यसो नभएर अब सामाजिक सञ्जालमा सफाई दिनु पर्ने?
उहाँ यात्रामा जानुभएको हुनाले र उहाँको धर्मको एउटा कुनै समूहलाई आक्षेप लागि राखेको, बदनामी भइरहेको अवस्थामा 'सहकर्मी मित्र'लाई कार्यस्थलमा 'आफूलाई सर्छ' भन्ने डर लाग्यो रे, यो पनि मानौं। ती 'सहकर्मी' अथवा 'मित्र'ले उहाँलाई सिधै सोध्न सक्नु हुन्थ्यो। सामाजिक दुरी गर्न सक्नुहुन्थ्यो। अँगालो नै मार्न जानुपर्ने अवस्था त पक्कै थिएन होला! तर पीत-पत्रकारिता गर्ने साप्ताहिकहरूमा, सामाजिक सञ्जालमा धर्मको अथवा सम्प्रदायको नाम लिएर प्रश्न गर्ने सोच कसरी आयो?
मुलुकमा लकडाउनअघि र पछिसम्म पनि कतिले जानाजानी अथवा अज्ञानमा नियम पालना गरेनन्। कतिले मजबुरीले सकेनन्। सबैको चासो भयो, हुनु पनि पर्छ। तर ती व्यक्ति कुन वर्ग, लिंग, धर्म अथवा सम्प्रदायका थिए, कसैको चासो रहेन, हुनु पनि हुँदैन।
सीता मादेम्बाको 'विपदमा सामाजिक पूर्वाग्रह' लेखबाट उद्धृत गर्न चाहन्छु- 'समुदाय विशेषको नकारात्मक चित्रण गरिएका कथाले पनि समाजमा विभेद सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्छन्। यस्ता कथा र भाष्यहरूको विनिर्माण जरूरी छ। विपत्तिका बेला बनाइएका लान्छना-कथा समाजमा दोहोरिरहनाले त्यस समुदायमा पनि असुरक्षा भाव बढ्दै जान्छ।'
सार्वजनिक रूपमा साम्प्रदायिकताको विष फैलाउने यो प्रयोग नेपालमा समय परिपक्व भइसक्यो कि भएको छैन, अवस्थाको 'पानी टेस्ट' गर्न, कत्तिको विरोध अथवा समर्थन आउँछ भन्ने परीक्षण गर्न गरिएको हुन सक्छ। यदि त्यो विषवृक्षको बीउ हो भने भोलिका दिनमा यसले विशाल वृक्षको रुप लिने छ।
अनि त्यस साम्प्रदायिक विद्वेषको धमिलो पानीमा माछा मार्न केही 'इन्ट्रेस्ट ग्रुप'लाई सजिलो हुनेछ, अथवा तिनका मालिक खुसी हुनेछन्। सामाजिक द्वेष र द्वन्द्व बाजा बजाएर, घोषणा गरेर आउँदैन। यो त मन्द विष हो, जनमानसमा बिस्तारै घोलिन्छ।
विकासमा पिछडिएको र आर्थिक रूपले कमजोर मुलुकमा साम्प्रदायिक विद्वेषको विष भविष्यको कहर हुनेछ। हाम्रो समाज यस समस्याबाट टाढा थियो। टाढै रहौं। हामी जस्ता छौं, ठीक छौं।