लण्डनभन्दा करिब ७४ किलोमिटर पश्चिम–दक्षिणमा पर्ने बेलायतको एल्डरमास्टनस्थित बेसिङस्टोक नर्थ ह्याम्पशायर अस्पतालमा स्टाफ नर्सका रूपमा कार्यरत छु।
म काम गर्ने अस्पतालमा पहिले मेडिकल वार्डमा जिम्मेवारी थियो। कोभिड–१९ को संक्रमण बढ्दै गएपछि त्यो वार्डलाई संक्रमितहरूकै हेरचाह गर्नका लागि विशेष रूपमा जिम्मेवारी दिइएको थियो । संक्रमण भएका धेरै बिरामी आइरहेका थिए। बिरामीलाई हेरचाह गर्ने क्रममै कुनै माध्यमले मलाई पनि संक्रमण सरेको रहेछ।
यो एक महिनाअघिको कुरा हो।
म काम गर्ने वार्डमा २० जना संक्रमित थिए। करिब १२ घण्टा बिरामीसँग बित्थ्यो। हेरचाह, जाँच गर्दा एक पटकमा १० देखि १५ मिनेट एक जना बिरामीसँग नजिकै भएर बस्नुपर्थ्यो। कामबाट फर्केपछि एक दिन हल्का टाउको दुखेको जस्तो भयो। सामान्य होला भन्ने ठानें। अर्को दिन अलि बढी दुख्यो। तेस्रो दिन खोकी पनि लाग्न थाल्यो।
त्यति बेलासम्म सामान्य रूघाखोकी नै होला भन्ने भयो। तर जब अर्को दिन ज्वरो पनि थपियो, अनि शंका लाग्यो। अस्पतालमा सम्पर्क गरेर घरमै आइसोलेसनमा बसें। आइसोलेसनमा बसेको भोलिपल्ट जीउ दुख्ने र ज्वरो निरन्तर बढ्ने भएपछि परीक्षण गराएँ। रिपोर्ट कोभिड पोजिटिभ आयो। त्यसपछिको एक साता निकै बिरामी परें।
पहिलो साता त लक्षण थाहा पाउँदा पाउँदै बितिहाल्यो। सुरूको साता नै मेरो श्रीमान र छोरालाई मबाट संक्रमण सरिसकेको रहेछ।
सुरूमा उति डर लागेको थिएन। पोजिटिभ रिपोर्ट आएपछि अलि डर लाग्यो। सहन नै नसक्ने गरि जिउ दुख्थ्यो, ज्वरो त्यत्तिकै आउने। श्रीमान र ठूलो छोरामा पनि देखिएपछि त झन् डर हुने नै भयो।
आफ्नो भन्दा पनि परिवारको डर बढी लाग्ने, सानो १२ वर्षीय छोरालाई यसबाट बचाउनु पर्ने अर्को कठिन परीक्षा थियो। बिचरा ऊ मलाई देख्ने बितिकै''कोरोना कोरोना'' भन्दै आफ्नो कोठामा भाग्थ्यो।
यतिखेर मनमा धेरै कुरा खेल्थ्यो। आफू बिरामी भएको कुरा अरूलाई थाहा दिन पनि सोच्नुपर्ने, किनकी घर अनि माइतमा बृद्ध बुवा-आमा, यस भाइरसको बारेमा धेरै नै आतंक फैलिएकोले गर्दा उहाँहरूले धेरै पिर गर्नुहुन्थ्यो।
आफूहरू बाहिर निस्कन पनि नमिल्ने, अरूलाई भाइरस सर्ने डरले। तर दाजु भाउजूले दैनिक प्रयोगमा आउने सामानको जोहो गरिदिनुभयो,जसले गर्दा धेरै सजिलो भयो।
हामीले घरमा सबै किसिमका सावधानी अपनायौं। घरभित्र पनि मास्क लगाएर अनि एकापसमा दूरी कायम गरेर बस्यौं। चर्पी, भाँडाकुँडा, कपडा सबै भिन्दाभिन्दै उपयोग गर्यौं। १४ दिनसम्म बाहिर निस्किएनौं। त्यो क्षण एकदम कहालीलाग्दो थियो, मन आत्तिन्थ्यो, तर सबभन्दा ठूलो कुरा मनोबल उच्च बनायौं। यसबाट संक्रमित तथा निको भइसकेका साथीहरूसँग कुरा गर्दा झन् सजिलो हुँदै गयो।
टिभी समाचार हेर्न कम गर्दै गयौं, किनकी समाचारमा यही मात्रै कुरा आउने , यति संक्रमित, यति मृत्यु भन्ने समाचारले मानसिक तनाव झन् बढ्दो रहेछ।
खानपिनदेखि स्वअनुशासनमा एकदम ध्यान दियौं। बिस्तारै बिस्तारै श्रीमान र छोरालाई लक्षण कम हुँदै गयो। उनीहरूले यसलाई जिते जस्तो लाग्न थाल्यो, तर मलाई चाहिँ अलि च्यापेको जस्तो भयो। कहिलेकाहीँ त आफ्नो जिउ पनि आफ्नो होइन जस्तो लाग्ने। डाक्टरहरूसँग नियमित सम्पर्कमा बसें, सकारात्मक सोच राखें। १३ औं दिनपछि भने अलि आराम हुँदै गयो। मैले हस्पिटलमा आफू ठीक भएको र अब ड्युटीमा जान इच्छा राखें। चार साता बिरामी भएर घरै बसेपछि निको भएर फेरि काममा फर्केकी छु।
एकपटक संक्रमण भएपछि प्रतिरोधक क्षमता बढ्छ भन्ने छ। तर कतिपयलाई दोहोरिएर संक्रमण पनि देखिएको छ। अब झन् बढी सतर्कता अपनाएर काम गरिरहेका छौं।
गाह्रो चाहिँ अति नै हुने रहेछ। तर अरू कतिपयको अप्ठ्यारो देख्दा आफूलाई भने सहजै भयो भन्ने लाग्छ। कतिपय अस्पतालमै बस्नुपरेको अवस्था आफैंले देखें। मैले नै हस्पिटलमा सेवा गरेका कोरोना पीडित एक जना मुटु रोग विशेषज्ञ महिला डाक्टर अत्तालिएको अनि छटपटिएको दृश्य सम्झन्थें, म त बरू घरमै छु त भन्ने लाग्थ्यो। यसरी आफूलाई चित्त बुझाउँथें।
बाहिरको खबर सुन्ने हो भने डरलाग्दो अवस्था नै हुन्छ। तर काममा लागिसकेपछि उति डर लाग्ने भएन। नर्सिङ पढेकै यस्तै काम गर्न हो भन्ने लागेकाले पनि मन दह्रो बनाएर काम गरें।
सेनामा जागिर खाएकोले लडाइँमा जान नडराए जस्तै हामी नर्सले पनि जुनसुकै अवस्थामा पनि बिरामीको सेवा गर्न तयार हुनुपर्छ भन्ने कुरा मनमा थियो, तर पनि बाहिरबाट काममा जाँदासम्म डरै भइरहने तर हस्पिटलभित्र छिरिसकेपछि एकखाले आत्मविश्वास जागेर आउँछ। त्यसबेला सबैकुरा बिर्सन्छु, मात्रै कोरोना संक्रमितलाई कसरी सेवा दिने होला भन्ने मात्रै सोच्न आउँछ।
त्यत्ति हो, आफू ड्युटीमा रहँदा फेरि संक्रमित हुने वा परिवारलाई सार्न सक्ने सम्भावनाबाट भने बेला बखत मन कस्तो कस्तो भइरहन्छ। आफूसँगै काम गर्ने कतिपय साथीहरू पनि बिरामी भएका थिए। कति नर्स डाक्टरको यसबाट मृत्यु पनि भएको छ।
निको भएर फर्केपछि पनि म कोभिड संक्रमित भएका बिरामीकै हेरचाह गरिरहेको छु। आफू पनि संक्रमित भएर निको भएकोले होला यसबाट संक्रमित बिरामीलाई सान्त्वना दिन र आत्मविश्वास जगाउन धेरै सजिलो भएको छ।
हाम्रै अस्पतालका एक जना डाक्टर अलि सिकिस्तै बिरामी हुनुभएको थियो। उहाँलाई भएको अप्ठ्यारो देख्दा निकै गाह्रो लागेको थियो। आत्मविश्वासका साथ सही तरिकाले हेरचाह भयो भने यसबाट निको भइन्छ भन्ने धेरै उदाहरण छन्।
अहिले पहिलेभन्दा बिरामीको चाप घटेको छ। सिकिस्त हुने खालका बिरामी पनि घटेका छन्। आफूले हेरचाह गरेका धेरैजना निको भएर घर फर्केका छन्। यसले पनि उत्साहित बनाएको छ। डिस्चार्ज भएर घर पुगेपछि धेरैले प्रशंसाका पत्रहरू पठाएका छन्।
धेरै संघ-संस्थाहरूले हामी ड्युटीमा हुँदा खाना हस्पिटलमै ल्याइदिने गरेका छन्। कतै सपिङ वा कतै जाँदा 'म हस्पिटलमा काम गर्छु' भन्दा लाइनमा नबसी सपिङ गर्न पाउने अनि सम्मान देखाउने गरेको देख्दा निकै आनन्द अनुभव हुन्छ। अनि आफ्नो नर्सिङ पेशाप्रति झन् गर्व महशुस हुन्छ।
एउटा दु:ख लाग्ने कुरा, कोरोना संक्रमित भएर भर्ना भएकाहरूलाई हेर्न परिवारका कोही आउँदैनन्, आउन दिइँदैन।
यस्तो अवस्थामा आफन्त भेटघाट गर्न नपाउने हुँदा बिरामीलाई नराम्रो लाग्ने नै भयो, अझ मर्दा पनि छेउमा कोही हुँदैनन्, न त बिरामीले आफ्नो मान्छेलाई मर्ने बेलामा देख्न पाउने, न त आफन्तले नै सदाका लागि यो संसार छाडेर जाँदै गरेका आफन्तलाई अन्तिम बिदाइ भेट गर्न पाउने, यो चाहिँ पीडादायी लाग्छ।
तर यही अवस्थामा हाम्रो जिम्मेवारी बढी हुने रहेछ। यो एउटा उपचार मात्र नभएर भावनात्मक पक्ष पनि भएकोले सकेसम्म परिवारको अभाव नहुने किसिमले अपनत्व देखाएर व्यवहार गर्ने र हेरचाह गर्ने गरेका छौं। यसले बिरामीलाई मानसिक रूपले पनि दह्रो बनाउने रहेछ भन्ने अनुभव गरेको छु।
हुन त रोग लाग्नुभन्दा अगाडि रोग लाग्न नै नदिनेतर्फ लाग्नु बुद्धिमानी हो। सरकारले गरेको लकडाउनलाई पूर्ण रूपमा पालन गर्ने, घरबाट बाहिर सकेसम्म ननिस्कने निस्कनु नै पर्ने अवस्था आएमा पनि सतर्कता अपनाउने। हात नियमित रूपमा धोइरहने, मास्कको सदुपयोग गर्ने, पोषण तत्व बढी भएको तरकारी वा फलफूल नियमित खाने, सामाजिक दूरी कायम गर्ने।
अझ बढी सतर्कता कोरोना संक्रमित बिरामीको उपचारमा खटिने डाक्टर, नर्स लगायतका अन्य स्वास्थ्यकर्मीहरूले अपनाउनुपर्ने देखिन्छ, जो प्रत्यक्ष रूपमा संक्रमितहरूसँग नियमित सम्पर्कमा रहेका हुन्छन्।
जसबाट आफ्नै परिवारमा संक्रमण सार्ने सम्भावना बढी हुन्छ, त्यसैले उनीहरूले अस्पतालबाट आइसकेपछि त्यहाँ लगाएका लुगा धोइहाल्ने, घर आउँदा पनि नुहाइहाल्ने, आफूले छोएका ढोकाको ह्यान्डिलदेखि बाथरूमसम्म पनि एन्टिब्याक्टेरियल स्यानिटाइजरबाट पुछ्ने गर्नु ठीक हुन्छ।
आफूले गरेको थोरै असावधानीले परिवारको पूरै सदस्य पीडित हुने सम्भावना रहन्छ।
त्यति मात्रै होइन, यदि एउटा डाक्टर वा नर्स यसबाट संक्रमित भइदियो भने करिब एक महिनालाई ऊ हस्पिटल आउन नसक्ने हुँदा यस्तो महामारीमा स्वास्थ्यकर्मीको कमी हुने डर पनि हुन्छ।
साथै, जो आफू संक्रमित हुनुहुन्छ, उहाँहरूले अरूलाई यसबाट बचाउन आफू जिम्मेवार भएर आफूलाई आइसोलेसनमा बस्नुपर्छ। जो उमेरले पाको अनि अन्य कुनै रोग जस्तै: डायबिटिज, मुटुको रोग, ब्लड प्रेसर, क्यान्सर, किड्नी,दम आदि रोगको रोगी हुनुहुन्छ भने एकदमै सावधानी अपनाउनुपर्ने देखिन्छ, किनकी उहाँहरूलाई यसको संक्रमणबाट बढी नै असर पारेको देखिएको छ। जसलाई यस भाइरसविरूद्ध लड्नसक्ने क्षमता कम देखिएको छ।
सावधानी अपनाउँदा अपनाउँदै संक्रमित भइहाले पनि आत्तिनु भने हुँदैन। यसबाट बच्न सम्भव छ र विशेष सावधानी अपनाए यसबाट निको हुन सकिन्छ भन्ने उदाहरण म र मेरो परिवार नै छ।
म यही कुरा बिरामीहरूलाई भन्ने गर्छु उनीहरूको आत्मबल बढाउने गर्छु। यही कुराले पनि बिरामीको हेरचाह गर्न धेरै सजिलो भएको छ।